३ मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

उत्सवमय सेरीकी धान चुटाइ

कृषिप्रधान हाम्रो देशमा परापूर्वकालदेखि नै धान मुख्य बालीका रूपमा रहँदै आएको छ । तराई त धानको भणडार नै भयो । उच्च पहाडी जिल्लाहरूमा पनि वातावरण अनुकुल स्थानीय जातको धान उल्लेख्य मात्रा उत्पादन हुन्छ । त्यसै मध्येको एउटा जिल्ला बझाङ हो जहाँ  ‘धानको भँडारै (भण्डार) रै’ छ छान्नो र थलारो  भन्ने भनाइ प्रख्यात छ । छान्ना र थलारा बझाङका धान फल्ने प्रधान ठाउँ हुन् । अन्य अन्नबालीको दाँजोमा धान बढी नै फल्छ यी ठाँउमा।

धान फल्ने खेतहरुका फाँट वा मैदानलाई स्थानीय बोलीमा जिउलो भनिन्छ । मानव सभ्यताको विकाससंगै खेतीयोग्य जमिन प्राय राजामहाराजा वा तत्कालिन सामन्त वर्गको नियन्त्रणमा हुने र त्यो जमिन कुनै न कुनै बहानामा जीवन जीउनलाई सर्वसाधरणलाई जिउनी बक्सनी हुने हुँदा धान फल्ने फाँटलाई जीउलो भन्ने गरेको इतिहास पाइन्छ । जयस्थिती मल्लले मानवन्यायशास्त्रमा क्षेत्र निर्णय भनी जग्गाको उत्पादकत्वको आधारमा सिम, चाहार, अब्वल र दोयम गरी जग्गा जमिनलाई चार भागमा बाँडेका थिए । सोही बमोजिम कर (पोतो) तिर्ने चलन हिजोसम्म पनि प्रचलन थियो । यस्तै बझाङको छान्ना र थलारातिर जिउलोलाई सेरीखेत भन्ने चलन पनि छ । यी ठाउँमा प्रशस्तै धान फल्ने थुप्रै सेरी जिउलाहरू छन्।

हाम्रो बझाङमा धान चुटाइलाई पर्वका रूपमा मनाइन्छ । धान चुटाइ सकिएपछि किसानहरूलाई चरम सन्तुष्टिको अनुभूति हुन्छ । यो मौसममा प्रायः गरेर रोजगारीका लागि शहर तथा देशविदेश गएका स्थानीय युवायुवतीहरू आफ्नो गाउँघर र धान चुटाइका लोभलाग्दा दृष्यहरूलाई आँखामा सजाएर बस्ने गर्दछन्।

अब लागौ बझाङ, छान्नाका केही सेरीखेतको धानबाली भित्र्याउने समयमा धान काट्ने र चुट्ने प्रचलनतिर, जसलाई समग्रमा सेरीकी धान चुटाई भनिन्छ । बझाङको छान्नाका सेरीजिउला मध्ये ओडगाउँ जिउलो, वालु जिउलो र माँझिगाँउको जिउलो प्रमुख हुन । यसका अतिरिक्त अन्य दर्जन जती साना–ठूला सेरी जिउला छन् । यस ठाँउका किसान प्रायजसो मध्ये असारसम्म सबै सेरी जिउलोमा धान रोपी सक्छन् । यहाँको हावापानीसंग मेल खाने स्थानीय जातका धान लगाउने गरिन्छ, जस्लेगर्दा समयमै पेलाम्बे भई धान पाक्छ । शरदको खुल्ला आकाशमा उत्तरतिर सफा कञ्चन सेताम्मे धानचुली हिमालतिर हानिदै गएका बथानका बथान चरासंगै मनोरम हुन्छ दृष्य पनि । जब किसानका खेतमा धान पाक्छ तब उत्तम साइत हेरी उपयुक्त अन्न प्रासन मुहूर्त हेरी नङ्ग खाने (नयाँ अन्न प्रसाद स्वरुप सबैले चाख्ने वा प्रसादको रूपमा ग्रहण गर्ने) र धान काट्न सुरु गर्ने (आँसी हाल्ने) भन्ने चलन हुन्छ।

किसान घरपरिवारका सदस्यहरु जुनेली झिसमिसेसंगै हातहातमा हँसिया (आँसी) बोकी सित पन्छाउदै खेततिर लाग्छन धान काट्न र गुन्जन्छन् देउडा गीतहरू पनिः
सेरी जिउला धान पाक्याको लसरी पसरी ।
रैबार लाउला आइझाया प जसरी तसरी ।।

यहाँ प्राय मार्सी प्रजातिका धानहरू बिहान काटेर त्यसको नल र फल सुकाउने गर्छन, जसलाई स्थानीय भाषामा ’निन’ हाल्ने भन्ने गरिन्छ । यसरी ’निन’ हाल्दा लहरै मिलाई सुकाउने र दुईरचार दिनपछि मुठा (पुला) बाँधी कुन्यु लगाई धान चुटाइ गर्ने चलन छ । यसरी जिउला ’निन’ हालेका आलीमा दलहन बालीका बोटले बयाली खेलिरहँदा यहाँको लोक संस्कृति डेउडा प्रेमीलाई यो सुन्दरताले सिर्जनाका लागि प्रोत्साहन मिलिरहेको हुन्छः
सेरीजिउला निन हाल्याका खेत कुनयानाई।
म जसो दिनदुस्खी मान्छे देश दुनियाँनाई ।।

मार्सी धान प्रजातिका अतिरिक्त थावाचिन, लट्टे, हिमाली, लगायत थुर्पै धानबाली लाइन्छ यहाँ । जुन धान बिहान काटेर सान(साना अगाला बनाई राख्ने र दिउँसो सोही खेतमै धान चुट्ने खलो बनाई धान चुटाइ गरिन्छ । चाहे ’निन’ हाली कुन्यु बनाई होस वा अँगाला राखी होस धान चुटाइ भब्य हुन्छ । प्राय सबैको संगसंगै धानचुटाई हुने हुदाँ ’खलो’ले सेरीजीउलाको सोभालाई झिलीमिली बनाई दिएको हुन्छ । यतिखेर त्यहाँको दृष्यले हाम्रा गाउँहरू साँच्चै कृषिप्रधान नै रहेको वास्तविकरूपले  अनुभूत गराउँछ।

सबै किसानहरूले धान चुटाइका लागि खेतमा छुट्टाछुट्टैरूपमा निजी खलो अनिवार्य बनाएका हुन्छन् । आ–आफ्ना खेतको सबैतिरबाट उपयुक्त हुने ठाँउमा खलो बनाइन्छ । खलो बनाउँदा दिशा र दुरी मिलाइएको हुन्छ । दुईटा ढुङ्गा (एउटा डल्लो र एउटा लाम्चो चेप्टो जसलाई स्थानीय भाषामा छोर्या–बोर्या भनिन्छ) मुनी निगालोको चोयाबाट बनाइएको पलङ्गो (मान्द्रोको ठूलो रुप) बिछ्याइन्छ । धान खेर नजाओस भनेर पलङ्गोको वरपर दन, (गलैचा), राडी, लिउ, पाल लगायत बिछ्याइएको हुन्छ । स–साना गहरा हुने हुँदा भित्तामा पनि पाल (उपलब्ध भएसम्म) टाँसिएका हुन्छन् भने डिलतिर चाररपाँच वटा मसिना लठ्ठी (जाल्या भाँटा) गाडेर पवित्र पोसाक धोती लगायतले बार बनाइएको हुन्छ । यसलाई समग्रमा धानचुट्न्या खलो भनिन्छ।

अब सुरु हुन्छ धान चुटाई । बोर्याको मुनी धान लिन भुतप्रेत नआउन भनी हँसिया (आँसी) राख्ने प्रचलन छ । धानका साना दुईमुठा बाँधेर एक पटक मात्र बोर्या ढुङ्गामा हानी उत्तर वा अन्य कुनै ठाँउमा राखी देवतालाई चढाइन्छ (पछि अन्तिममा फेरि चुटिन्छ) र अनि सुरु हुन्छ मुख्य काम धान चुटाई । निन हालेर सोही दिन मुठा बाँध्ने (स्थानीय भाषामा ’पुला बाध्ने’) भए सामान्यत महिलाहरूले मुठा बाध्दै गर्छन । दश–प्रन्ध वर्षका केटाकेटीले पुला (मुठा) बोक्ने र तन्नेरीले चुट्ने गर्छन । यदि सोही दिन धान काटेर चुट्ने भए अगाला बोक्दै गर्छन र पराल पुनः सुकाउनलाई महिलाहरुले फिजाउँदै गर्छन । तर कुन्यु लगाएको छ भने कुन्युको नजिकै खलो लगाई चुट्ने गरिन्छ।

धानका मुठा वा पुला बालातिर बोरामा हाल्दा छर्रछर भई मसिनो आवाज आउँछ भने मुठो बाँधेकोतिर हान्दा डम्म–डम्म गरी आउने आवाजले सेरी जिउलो गुन्जायमान हुन्छ । दिउसो देखिने राता, सेता, पहेँला लगायतका जाल्या बारका रङ्गले रङिन बनाएको हुन्छ सेरी जिउलो।

काममा ऐँचो/पैँचो, पर्मपरेली (स्थानीय भाषामा अडिमु पडिमु) चल्छ । मध्ये दिउँसो धानचुटाइ हुन्या घरबाट प्राय आमाहरूले एक जर्किन पानी, हरिया क्राँक्रा र चुकिलो अचार सहित रोटी खाजा धान चुट्न्या खलामै ल्याई पु-याएपछि खाजा इत्यादी खाई बेलैमा काम सकिन्छ । खेतमा पनि वनदेवी हुने विश्वास रहेको हुँदा ठूला नालीखेतमा झ्याँउको (पकवान बनाउने झ्याँउ गरेर) हाल्ने चलन हुन्छ। झ्याँउको पाक्दै गर्दा बाले धानको पोलो छुट्याउन (बताउने) हावाले उडाउदै गर्छन । झ्याँउको खाएपछि दमाहा बजाई जन्तब्रत धान्ने र लुगा सिलाउने दमाई, फलामको काम गर्ने शिल्पकार लुहार, सुनको गहना बनाई जीवन शुसोभित पार्ने साहु (सुनको काम गर्ने साहु स्थानीय भाषा हो), काठका ठेकी बनाउने चुनारा, छालाको काम गर्ने भुल लगायतलाई खलाबाटै अन्न बाली सुप्पाले (नाङ्लो) भरेर दिने प्रचलन छ, जसलाई स्थानीय भाषामा ‘खलोविडो’ भरेर दिइन्छ । यसरी झ्याँउको खाई खलो(विडो समेत दिइसकेपछि धानचुट्न्या खलो उठाइन्छ र सेरीकी धान चुटाइ सकिन्छ।

यहाँ धान चुटाइलाई एउटा भव्य उत्सव या पर्वको रूपमा मनाइन्छ । धान चुटाइ सकिएपछि किसानहरूलाई चरम सन्तुष्टिको अनुभूति हुन्छ । यो मौसममा प्रायः गरेर रोजगारीका लागि शहर तथा देशविदेश गएका स्थानीय युवायुवतीहरू आफ्नो गाउँघर र धान चुटाइका लोभलाग्दा दृष्यहरूलाई आँखामा सजाएर बस्ने गर्दछन् । धान चुटाइमा सहभागी हुन नपाएकोमा नरमाइलो महसुस हुने गर्छ, मानौं कि उनीहरू कुनै चाडबाडमा परिवारभन्दा टाढा भएका छन्।

यसरी मन, बचन र कर्मले गरिने सेरीको धान चुटाइको तौरतरिकाले स्थानीय संस्कृति, रितीथिती एवं सामाजिक जीवनशैली धानेको छ । तसर्थ यो क्षेत्र संस्कृति अध्येताहरूको लागि खुला विश्वविद्यालय हो । तर आजभोलि चाँडै धनी हुने चाहना, आधुनिक प्रबिधी को प्रयोग र सुख सयलको खोजी गर्ने प्रवृतिको कारण यी सुन्दर एवं वैभवशाली संस्कार र संस्कृति विस्तारै लोप हुँदैछ । विकास र उन्नति सँगै यसको जगेर्ना गर्नु पनि जरुरी छ।

प्रकाशित: १० कार्तिक २०७५ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App