२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

दशैँको बास्ना

नजीकै रेडियोमा बजिरहेको थियो मालश्री–धून। यही धूनसँगै आँगनमै दशैँ भित्रिसकेको सङ्केत थियो । तर दशैँकै बेला मात्रै किन बज्छ यो धून ?... त्यतिबेला सोध्नु थिएन मलाई। मलाई त केवल थाहा थियो– दशैँ। मान्छेहरू भन्थे– रावणको वध गरेर रामले विजय हासिल गरे । त्यसैको यो विजय पर्व हो। अर्का कोही, भित्तामा टाँसिएको आकर्षक पोष्टर देखाउँथे, जहाँ देवी भगवतीले कथित कुनै राक्षसको छातीमा टेककी थिइन्। भन्थे– भगवतीले राक्षसलाई मारेकाले त्यसैको खुशीयाली मनाउने दिन हो दशैँ।

तर म मदमस्त !
कसले कसलाई मार्यो ?
कसले कसलाई जित्यो ?... मलाई के मतलब !
मलाई त अब आफ्नै दशैँ मनाउनु थियो ।

दौडँदै, भर्खरै सेट गरिएको रोटेपिङनजीक पुग्नु थियो। लिङ्गेपिङका पालैपालो मच्चिरहेका साथीभाइ, दाजु, दिदीबहिनीहरूको आँखामा चम्किरहेको खुशी नियाल्नु थियो। र, त्यही खुशीमा आपूm रमाउनु थियो । त्यसो त त्यो खुशी मनाउनु मेरो बाध्यता पनि थियो । किनकि मैले आपूmले कहिल्यै पिङ चढिनँ भन्दा पनि हुन्छ, यदाकदा चढेको भए पनि ओर्लिहाल्थेँ । रोटेपिङमा माथिबाट तलतिर झर्दा एक किसिमले म आत्तिन्थेँ, झन् लिङ्गेपिङको त कुरै भएन । त्यसैले अरूले पिङ चढेको हेर्दा नै म रमाउँथेँ। 

जुन दिन दशैँको टीका थापिन्थ्यो निधारमा रातो अक्षेताको, त्यो दिन लङ्गुरबुर्जाले ‘क्लाइमेक्स’को रूप लिन्थ्यो । टीका लगाउँदा सँगसँगै पाइएका ‘दक्षिणा’–स्वरूपका टाकनटुकन सिक्काहरू, एक र दुई रुपैयाँको सुकिला नयाँ नोटहरू खल्तीभरि लिएर पुगिन्थ्यो लङ्गुरबुर्जाको खालमा ।


पिङकै प्रसङ्गमा, दशैँछेककै कुनै एक दिन ठूलो बरको निकै मोटो र धेरै परसम्म लम्बिएको लामो हाँगामा हामी आफ्ना उमेरका १०–१२ जना केटाकेटी मच्चिरहेका थियौँ । जमीनमा रहेका कुनै साथीले लहरा समातेर बेस्कन हल्लाइरहेको थियो।

अचानक, चररर... बरको हाँगा भाँच्चिएर हामी सबै साथीहरू एकमुष्ठ पछारिएका थियौँ, जमीनमा। आज, जमीनमा पछारिँदाको त्यो समय सम्झँदा आनन्दित–पीडाको अनुभूति हुन्छ। दशैँको आगमनमा मन फेरि त्यही बाल्यपनमा गएर दौडिरहेको छ। 
०००
दशैँ लागेपछि बीच–बजारमै बज्ने एउटा अनौठो आवाजले मेरो बाल–मनलाई तत्कालै आकर्षित गरिहाल्थ्यो । ट्यान्ट्राङ–टुन्टु्रङ त्यो आवाजले अर्थ हुन्थ्यो– लङ्गुरबुर्जा खेल खुलेको सङ्केत। जब लङ्गुरबुर्जा खुलेको आवाज कानमा ठोकिन्थ्यो– दशैँ आइपुगिहालेको आभास हुन्थ्यो सामुन्ने नै । पाँच पैसादेखि लिएर दश पैसा, सुका–मोहर र भर्खरै टक्सारले निष्काशन गरेको टलक्क टल्किएको ‘डबल’ (एक रुपैयाँको सिक्का) थापिएका हुन्थे– लङ्गुरबुर्जाको खालमा । र, त्यो खालवरिपरि जम्मा भएकाहरूबीच म पनि सामेल हुन्थेँ।

जुन दिन दशैँको टीका थापिन्थ्यो निधारमा रातो अक्षेताको, त्यो दिन लङ्गुरबुर्जाले ‘क्लाइमेक्स’को रूप लिन्थ्यो । टीका लगाउँदा सँगसँगै पाइएका ‘दक्षिणा’–स्वरूपका टाकनटुकन सिक्काहरू, एक र दुई रुपैयाँको सुकिला नयाँ नोटहरू खल्तीभरि लिएर पुगिन्थ्यो लङ्गुरबुर्जाको खालमा।

‘ल... ल... खाली... खाली...।’ लङ्गुरबुर्जा खेलाउने कृष्ण अवाले गोल्टिन बट्टामा गोटी हल्लाउँदै कराइरहेका हुन्थे– ‘पान... चिँडी... सुरोथ... इँटा... झन्डी... बुर्जा... ।’

नभन्दै, पैसा थापेपछि एकको दुई हुन्थ्यो, कहिले त एकको तीन पनि । तर कहिले फेरि साँवा नै पनि गुम्न पुथ्यो ।
यसभन्दा अघि, दशैँको टीका थाप्दा पाइएका रकम एकमुष्ठ गनिन्थ्यो । गन्दै जाँदा हिसाब गरिन्थ्यो मनमनै–

– कसले कति दियो ?
– सबैभन्दा धेरै दिने को ?
– अनि सबैभन्दा कम दिने को ?

खास गरेर आफ्नै घर–परिवारभित्र सबैभन्दा सानो सदस्य (कान्छो) भएका नाताले आपूmले टीका लगाएपछि पाउनुपर्ने दक्षिणा सबैको भन्दा धेरै हुनुपर्ने भए पनि छोरामान्छेलाई दक्षिणा दिन नहुने वा दिनु नपर्ने नियम जारी हुने गरेकाले आपूmलाई ठगिएको महसुस हुन्थ्यो जहिले पनि । तर घरबाहिर अन्य घरका नातेदारबाट टीका लगाइँदा, नाता–क्रममा सानो भइएकै कारणले आफ्नो घरमा भएको नोक्सानीको क्षतिपूर्ति हुन्थ्यो । अझै केही नाफैमा पो गइन्थ्यो कि!
०००
सनाही बज्थ्यो बिहान सबेरैदेखि, टीकाको दिन । कसो–कसो ‘दमाईदाइ’को त्यो सनाहीको गुञ्जनमा गहिरो मुटु–स्पर्शी ध्वनि हुन्थ्यो । आजकल दशैँको सनाहीको आवाज गाउँघरमा सुनिन्छ कि सुनिन्न कुन्नि ! गाउँको दशैँ नमनाइएको धरै वर्ष भएछ। तैपनि सनाहीको त्यो आकार सम्झनामा आइरहेछ । सनाहीको त्यो आवाज अभैm पनि मन–मष्तिस्कभरि गुञ्जिरहेछ। साँच्चै त्यो सनाहीबाट निस्कने आवाज कति सुरिलो, कत्ति लयात्मक हुन्थ्यो ! शब्दबिनाको त्यो धून !! ओहो, कति मीठो– दशैँ–परिवेशको प्रतिध्वनि!

किर... किर... झ्याउँकीरीहरू भुनभुनाएर उडिरहेका हुन्थे । त्यही भुनभुनाइ पनि कत्ति श्रवणीय ! सम्झँदैमा पनि रोमाञ्चित भएर जुर्मुराउँछ शरीर।

खास गरेर, दशैँ आइसकेपछि कोठा–भित्तासमेत पूरै घरलाई सेतो कमेरो छ्यापेर सुकिलो–सफा बनाइँदा स्पर्श गरेको एक किसिमको अनौठो ‘बास्ना’का साथ राजधानीदेखि लगिएको ‘बार्नेस–तार्पिन’ मिसाएर काठका झ्याल–ढोकाहरूमा पोलिस गरिने ‘इनामेल’को बास्ना कुनै पनि स्वर्गीय सुगन्धभन्दा कमको लाग्दैनथ्यो । आज पनि शहरभित्रै किन नहोस्, यदाकदा इनामेलको बास्ना आयो भने मलाई त्यो बाल्य–दशैँको स्मृतिमा पुर्याइदिइहाल्छ। दशैँको सबैभन्दा आकर्षणको विषय हुन्थ्यो– नयाँ लुगा; नयाँ पहिरन । अरू समयमा फेरिने भन्दा दशैँमा फेरिने कपडा विशेष लाग्थ्यो । आहा, त्यतिखेरको ‘टेरलिन’ सर्ट र नयाँ–नयाँ चलेको ‘पोलिस्टर’को पाइन्टको अस्तित्व नै अर्कै!
०००
घरको आँगनमा आएको दशैँ गाउँ बजारभरि छरिएको देखेपछि अनेक कुरा खेल्थे मनमा । के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?... के खानु हुन्छ ? के खानु हुँदैन ? मानौँ कुनै कुराको बन्देज थिएन दशैँमा । आँखैसामु जुवा–तास पूर्ण रूपमा खुल्ला हुन्थ्यो; जाँड–रक्सीको प्रयोगमा बेपर्वाह छुट थियो । तर हामी बालबच्चा ती ‘विसङ्गति’बाट बीसहात पर थियौँ । केवल हेरिरहन्थ्यौँ, नियालिरहन्थ्यौँ हामी तिनको दुरुपयोगलाई । तर यसैबीच पनि जाँड–रक्सीको मात चढेपछि छिमेकी दाजुभाइले देखाउने तमासाले हामी बालकमा गजबको रोमाञ्चकता पैदा गथ्र्यो । र, त हामी तमासे ताली पिटी–पिटी रमाउँथ्यौँ।

तथापि बालकै भए पनि हामीमा चेतना भने जरुर थियो । अपवादको रूपमा लङ्गुरबुर्जाको आर्थिक रमाइलोबाहेक वास्तवमै हामीले आफूलाई नैतिकवान् सम्झन्थ्यौँ । नसम्झनु पनि किन ? हामीलाई शिक्षा दिलाउने गुरुहरूले हामीलाई नैतिकताको पाठ घोकाएका थिए । त्यसैले त्यो नैतिकतामा किञ्चित् हामी तल–माथि हुन्नथ्यौँ, अडिग थियौँ । त्यो किन पनि भने हामी हाम्रा गुरूहरू एकनास सबैलाई महान् नैतिकवान् सम्झन्थ्यौँ । म सम्झन्छु गुरुहरूको अनुहार– मैले धर्ती टेकेदेखि नै देखिआएका तीलविक्रम रोकासर, पुष्पलाल (हरिकाजी)सर, चिनी गुरुमा र अलिक पछिदेखि देखिएका मेघराजसर, ध्रुव घिसिङसर, ध्ुव योञ्जनसर, पुष्पा गुरुमा । स्मृति–पटमा अभैm पनि उत्तिकै ताजा छन् ती अनुहारहरू । धर्मानन्दसरसँग त यदाकदा भेट भइरहन्छ छ।

गजबकै हुँदो रहेछ बालापनको त्यो छोटो अवधि पनि । आँकलन गर्दा केही वर्ष मात्रै भए पनि सम्झँदै गर्दा जुगौँ जुगजस्तो ! बरु पछिको युवावस्थाको कतिपय समयलाई समयकै प्रवाहले बिर्साउँदै लगिसकेको छ, तर त्यो बालापनले अभैm उत्तिकै पछ्याइरहेकै छ । त्यसमाथि, जब–जब दशैँ भनेर बजारमा होहल्ला बढ्न थाल्छ तब नोस्टाल्जिक बन्छ मन–मस्तिष्क, एउटा अनौठो नशा लागेजस्तो !
०००
बाटोको पल्लो किनाराबाट हिँड्ने कथित ‘दलित’ले च्यापेको सुङ्गुरको पेरुङ्गोले खास दशैँ आएको सूचना प्रवाहित गर्थ्याे। फूलपातीकै दिन, बीचबजारमै दुई–चार राँगा ढालिन्थे र दशैँको वातावरण सिर्जना गरिन्थ्यो । हुन त त्यो समाजमा मान्यता स्थापित थियो– जनावर–बध मनुष्यजातिका निमित्त कलङ्क हो, अपराध हो । यसका अलावा, देवी–देउतालाई कुखुराको भाले वा बोकाको रगत चढाएर खुशी पारेपछि वरदान प्राप्त हुन्छ भन्ने मान्यतालाई सर्वोपरी ठानिन्थ्यो, तर पनि जसमुताबिक त्यस्तो कु–कर्म गर्न पनि स्वीकार्य थियो।
खोई आज त्यो बाल्यकालको गाउँघरको मीठो दशैँ ? 
– शहरमा चौरासी व्यञ्जन छ, 
– प्रदशर्नी–स्थलमा ठूला–ठूला अग्ला रोटेपिङ रोपण गरिएका छन्,
– कमेरोको सट्टा ह्वाइट सिमेन्ट पोतिँदै छन् भव्य बङ्लाहरूमा ।
...सब थोक ‘एडभान्स’ छ शहरमा र’पनि दशैँको अनुभूति छैन । 
खोई किन होला ? ? ?

प्रकाशित: २७ आश्विन २०७५ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App