देशैभरि मनाउने दसैंमध्ये फरक हुन्छ, भक्तपुरको दसैं । यहाँं दसैंको क्रममा नवरात मेला, खम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षणहरू रहने गर्छन् । यीबाहेक पनि दसैंको दस दिन भक्तपुर नगरका ठाउँठाउँमा विभिन्न मेला जात्रा हुने गर्छन्।
भक्तपुरमा घटस्थापना अर्थात् प्रतिपदाको दिनदेखि नवरात जाने चलन चलिआएको छ । दसैंको पहिलो घटस्थापनाको दिन भक्तपुरको पूर्व पर्ने ब्रम्हायणी मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । यस दिन कुनै एक नजिकको तीर्थस्थलबाट माटो लिएर आएर घरमा जमरा राख्ने गरिन्छ।
दसैंको १० नै दिन भक्तपुरका १० ठाउँमा विशेष मेला लाग्ने गर्छ, जसलाई स्थानीयहरू नवरात्र भन्छन्। दसैंको प्रतिपदा अर्थात् पहिलो दिन घटस्थापनामा ब्रम्हायणी, दोस्रो दिन द्वितीयामा महेश्वरी, तृतीयामा अर्थात् तेस्रो दिन कुमारी, चतुर्थी अर्थात् चौथो दिन भद्रकाली, पञ्चमी पाचौं दिन बाराही, षष्ठी छैटौ दिन इन्द्रायणी, सप्तमी सातौ दिन महाकाली, महाअष्ट्रमी आठौं दिन महालक्ष्मी, महानवमी नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ । पहिलो र अन्तिम दिन ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्छ । यस दिन यो ठाउँमा भक्तपुरसहित काठमाडौं, ललितपुर र भक्तपुरबाट दसौं हजार जात्रालु ब्रम्यहाणी जाने गर्छन् । दश दिन नै बिहान र बेलुका भक्तपुर दरवार स्क्वायरस्थित तलेजु मन्दिर विशेष मेला लाग्ने परम्परा छ । मेलामा नगरभरिका भक्तजनहरू बाजागाजाका साथ उल्लासमय रूपमा सहभागी हुने गर्छन्।
नवरात्रको समयमा भक्तजनहरू एकाबिहानै मेला भर्न जाने गर्छन् । टोलटोलबाट सयौं बाजागाजाका साथ श्रद्धालुहरू नवरात्रको मेलामा पुग्छन् । दैनिक बिहान र बेलुकी गरी दिनमा एक ठाउँंमा प्रत्येक दिन फरकफरक ठाउँमा मेला भर्न जाने गर्छन् । नवरात्र दिनको दुई पल्ट बिहान र बेलुकी जाने गरिन्छ।
नवरात्रको क्रममा बालकालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने गर्छन् । तर पनि युवा उमेरका युवायुवती बढी रमाउने गर्छन् । यो बेला तन्नेरी उमेरका युवायुवती एक–आपसमा जिस्काएर रमाउने गर्छन् । यो अहिलेको नभई उहिलेदेखिकै चलन हो । एकजना वृद्ध रामकृष्ण कोजू पहिला–पहिला युवाहरूले युवतीहरूलाई जिस्क्याउने सम्झन्छन्। ‘पहिला हाम्रो पालामा अरुबेला केटीहरूलाई जिस्काउन हुँदैनथ्यो । तर, दसैंमा नवरात आउने केटीहरूलाई जिस्क्याउन भने छुट थियो, त्यसकारण त्योबेलाको रमाइलो नै भिन्नै थियो,’ उनी स्मरण गर्छन्।
दसैंको यो दिनहरूमा छुट्टाछुट्टै विशेष जात्राहरू हुने गर्छन् । साथै घरघरमा विशेष भोजहरू पनि हुने गर्छ । अष्टमी अर्थात् महाअष्टमीको दिन कुछी भ्वय (दुई माना चिउरा राखेर खाने विशेष भोज) चलन छ । परिवारका प्रत्येक सदस्यलाई दुई–दुई माना चिउरा नापरै राखेर खानुपर्ने चलन छ । त्यसको भोलिपल्ट महानवमीको दिन ढुकुटीमा पूजाआजा गर्ने परम्परा छ । यो दिन आफूले वर्षेभरि चलाएका सामानहरूलाई राखेर पूजा गर्ने परम्परा छ।
भक्तपुरको दसैको अर्काे एउटा विशेष आकर्षण हो, खम्य जात्रा अर्थात् राँगो दौडाउने जात्रा । दसंैको महानवमीका साँझ भक्तपुरको नवदुर्गा मन्दिरमा पालेर राखेको खम्ये (राँगा)लाई दौडाएर जात्रा हुन्छ । नवदुर्गाबाट राँगालाई रक्सी खुवाएर मातन लगाई भक्तपुर नगरभरि दौडाउने चलन छ । राँगालाई ब्रम्हायणीमा त्यही साँझ पु¥याइन्छ । यो जात्रा हेर्न नगरभरिका बाटाहरूमा हजारौं नगरवासीहरू उत्सुकतापूर्वक जात्रा हेर्न गर्छन् । त्यही राति त्यो राँगालाई तान्त्रिक विधि अनुसार बलि दिने चलन छ । साथै घण्टाकर्णदेखि बनाउन सुरु गरेको १३ मुकुण्डोहरू यो दिन ब्रम्हायणीमा देखाउने परम्परा छ।
संस्कृतिविद् ओम धौभडेल दसैं देशभरि मनाउने गरे पनि भक्तपुरको दसैं विशेष आकर्षण रहने सुनाउँछन् । उनका अनुसार दसैंको १० दिनमा भक्तपुरमा विशेष भोज, जात्रा, मेला लाग्ने गर्छ । ‘प्रत्येक दिन एकएक शक्तिपीठमा जात्रा हुने दसैं हो,’ उनले भने, ‘नवदुर्गाको भवानीको उत्पत्ति हुने दशमीको अर्को पक्ष हो ।’ भलबल अष्टमीको दिन मरेको देउता यस दसंैमा उत्पत्ति हुने गर्छ । साथै तलेजु पनि अर्को महत्वपूर्ण पक्ष हो । भक्तपुरमा दशमीको दिन तलेजु मन्दिर पूजा हुने गर्छ।
उनका अनुसार विजयादशमीको दिन तलेजुमा खड्गको पूजा हुन्छ । यसलाई नेवारीमा पायोन्हायाकेगू भन्ने चलन छ । यो दिन प्रेम सम्बन्धमा बसेका जोडीहरूले भागेर विवाह गर्ने गरिन्छ । यसरी यो दिन विवाहलाई कानुनी मान्यता दिइन्छ । यस दिन भागी विवाहबाहेक मागी विवाह, ब्रतबन्ध आदि शुभ कार्यहरू गर्ने चलन छ । यो दिनलाई शुभ साइतको रूपमा लिने गरिन्छ । यस दिन साइत नजुडेका जोडीहरूको विवाह गरिदिने चलन छ।
प्रकाशित: २६ आश्विन २०७५ ०४:५४ शुक्रबार