३ मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

‘सहरवासी अराजक र स्वार्थी भए’

शिवहरि बैरागी, हास्य कलाकार

तपाईँको बुझाईमा सहर के हो?
कानुन र नीतिले चलेको एउटा व्यवस्थित बस्ती नै सहर हो । सहर सफा हुनुपर्छ । त्यहाँका मान्छे सभ्य हुनुपर्छ । उनीहरूको सोच र विचार सफा हु्नुपर्छ । तर, हाम्रोमा न सहर सफा छ न त सहरवासी नै।

सहर बिग्रनुको कारण के होला?
सहर कुनै कारणले बिग्रिएको होइन । सहरमा बस्नेहरूकै मानसिकताले बिग्रिएका हो । सहरमा बस्नेको काम विचार सकारात्मक भएन । खाली आफ्नो फाइदा मात्रै बिक्ने सहरवासीको प्रवृत्ति भयो । आफ्ना कारणले अरुलाई मर्का पर्छ भनेर कसैले पनि सोचेनन् । आफूलाई जे सही लाग्छ त्यही गरे । हाम्रो हो भन्ने भावना धेरैको मनमा जागृत नै भएन।

सहरलाई व्यवस्थित बनाउन के गर्नुपर्ला?
सबैभन्दा पहिले आफू सुध्रनु प-यो । मेरो सोच र काम सही भएपछि देश बन्छ भन्ने भावना सबैको मनमा आउनुप¥यो । अर्को कुरा, घना बस्ती भएको सहरलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा त्यहाँको सरकारले सोचेको हुनुपर्छ । सहर बिग्रन थाल्यो भने राज्यले नै कुनै नियम लागू गरेर सहर बनाउनतिर ध्यान दिनुपर्छ । तर, यहाँ त रक्षक नै भक्षक छन् । सरकारी तहमा रहने कर्मचारी, नेता र आम जनता आफ्नो फाइदाको लागि मात्रै कुद्छ्न । देश रहे हामी रहन्छौं भन्ने सोच राख्दैनन् । अझ काठमाडौंको कुरा गर्ने हो भने त झन् भयाभह भएको छ । जनप्रतिनिधिले सिन्को पनि भाचेको देखिन्न । विकासको नाममा एकरति काम भएको छैन।

कुन देशका सहर घुम्नुभएको छ?
त्यति धेरै घुमेको छैन । अलि बढी घुमेको ठाउँ भारताको सिीक्कम हो । त्यहाँका डाँडाकाँडा सबैतिर पुगेको छु । हङकङ र चीनका केही भाग पनि घुम्ने मौका पाएको छु।

काठमाडौं कहिले छिर्नुभयो?
२०३१ सालमा काठमाडौं आएको थिएँ । त्यो पनि मोटर चढेर । त्यतिबेला पुरानो बानेश्वरबाट डिल्लीबजारमा केही घर देखिन्थे । पानी चिसो पानी हुन्थ्यो । नुहाउन जाँदा आइस जम्थ्यो । जाडोले खान्छ भनेर सबै डराउँथें।

पछिल्लो समय काठमाडौं कस्तो लाग्छ?
अहिले काठमाडौंमा पानी नै पाइन्न । त्यो बेलाको काठमाडौं निकै शान्त थियो । सबैतिर सुन्दर थियो । हरियाली थियो । तर, अहिले काठमाडौं अस्तव्यस्त भएको छ । जताततै फोहर मात्रै छ । सडकको दुरावस्था छ । हिजोको काठमाडौ यस्तो थिएन । सरकार र आम नागरिक नै जिम्मेवार नभएकोले काठमाडौं यति फोहर भएको हो।

तपाईको विचारमा काठमाडौं कस्तो ठाउँ हो?
सपना बुन्ने र पूरा गर्ने ठाउँ हो । मैले आफ्नो खास सपना पनि यहीबाटै पूरा गरेको थिएँ । धेरै वर्षअघिदेखि मैले उपत्यकालाई चिन्न पनि पाएँ । यहाँको हावापानी र प्रकृतिसँग रमाउन सिकें । म जस्ता लाखौं मानिसहरूको सपना पनि काठमाडौंबाटै पूरा भएको छ । यसले नेपालको पहिचान पनि बोकेको छ । यहाँ विभिन्न संस्कृति, जातजाति, भेषभूषा पाइन्छ।

नेपालभित्र मनपर्ने ठाउँ?
सबैजसो ठाउँ मनपर्छ । हाम्रो देशका सबैजसो सहरको एउटै समस्या छ । त्यो सरकार र नागरिकले नै निम्त्याएको हो।

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
धेरै कुरा देख्ने इच्छा छ । सहरमा अग्ला घर नहौऔन् । सबैको घरमा एम्बुलेन्स छिरोस् । सबैले समान अधिकार पाउन् । कोही हिँड्दा कसैलाई धक्का नलागोस् । नागरिक सभ्य र हैसियत अनुसारको काम गरुन् । सहरमा सडक व्यवस्थित हुनुपर्छ, हरियाली पार्कहरू हुनुपर्छ । धुँवा, धुलो, प्रदूषणजस्ता समस्या देखिनुहुँदैन । यीसँगै सहरवासीले चाहेका सबैखाले सेवा–सुविधा भेटिनुपर्छ । म बसेको सहर पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ । हाम्रो देशका सुनका टुक्रा जस्तै रहेका मुक्तिनाथ, गोसाइकुण्ड, पशुपतिनाथ हिमाल, गौतमबुद्ध हामीले कहिल्यै भुल्नु हुन्न । यसले हामीलाई चिनाएको छ।

सहरवासीको बानी व्यवहार कस्तो लाग्छ?
सहरवासी निकै अराजक र स्वार्थी स्वभावका छन् । उनीहरू कसैको बारेमा सोच्न भ्याउन्नन् । आफ्नै धुनमा हुन्छन् । कम्तीमा सरोकारवाला विषयमा सहरवासी एकजुट भएको भए, दुःख पर्दा छिमेकीलाई सघाउने स्वभाव भए सहर बैराग लाग्दो हँुदैन्थ्यो । कसैले पनि पहिला स्थानमा देश र त्यसपछि म रहन्छु भन्ने सोचेनन् । पश्चिमा संस्कृतिले सबैलाई उत्ताउलो बनाएको छ । नयाँ पुस्ताले आफ्नो मौलिकता बिर्सदै छन् । दियो बालेर जन्मदिन मनाउने छाडेर केक काट्न थालेका छन् । त्यो हाम्रो संस्कार होइन।

सहरका विकासको लागि सरकार र नागरिकले कस्तो भूमिका निर्वाह गर्नुपर्ला?
सुरुवात आफैबाट गर्नुपर्छ । सबै नागरिक एक भएर सहरको विकासमा लाग्नुपर्छ । सरकारी तहबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुन जरुरी छ । कागजको विकासलाई व्यवहारमा परिवर्तन गर्नुपर्छ । हाम्रोमा अहिले विकास बजेटको ४० प्रतिशत काम हुन्छ, अरु सबै फ्रिज । हिउँदमा बनाएको सडक बर्खामा भत्कने समस्या छ । यस्तो विकासको गतिले देश कदापि सम्मुनत बन्दैन । काठमाडौं यस्ते समस्या देखेर मैले २० वर्षअघि नै काठमाडौंको अर्को नाम राखिदिएको थिएँ, लखनपुर । खन्दै पुर्ने भएकाले यो नाम फुरेको हो मलाई।

उपत्यकाबाहिर कत्तिको जानुहुन्छ?
धेरै नै जाने गरेको छु । वातावरणीय हिसाबले उपत्यका बाहिरका ठाउँ राम्रो नै लाग्छ । मलाई सारै मन परेको अर्को ठाउँ सिमभञ्ज्याङ पनि हो । उपत्यका भन्दा बाहिरका सहर अली शान्त र व्यवस्थित पनि लाग्छ । मानिसको भिडभाड र सरकारको काम गर्ने शैली नमिलेका कारण बिग्रिएको हो।

नेपाल र बाहिरी मुलुकका सहरबीच कस्तो भिन्नता पाउनुभयो?
मौलिकता र ऐतिहासिक पक्ष हेर्दा हामी अरु मुलुकभन्दा धेरै नै माथि छौं । अन्य देश नेपालजस्तै बन्न सक्दैनन् । यहाँका ऐतिहासिक सम्पदा र मठ–मन्दिरले आज विश्वको ध्यान तानेको छ । आधुनिकतालाई हेर्दा हामी पछि छौँ । विकासमा काम शुन्यतामा छन्।

काठमाडौंको मनपर्ने पक्ष के हो?
मौसम र मठ–मन्दिर राम्रो लाग्छ । यहाँको नेवारी संस्कृति पनि मलाई प्यारो लाग्छ । उपत्यका मन्दिरै–मन्दिरले सजिएको छ । जता फर्के पनि भगवान नै देखिन्छन् । अर्को कुरा यो ठाउँ केन्द्रीय राजधनी हो । यहाँ ठूला योजना बन्छन् । विश्व सम्पदा सूचीमा परेको ऐतिहासिक स्थल पनि यही नै छन्।

यहाँको मननपर्ने पक्ष?
काठमाडौंमा धनी र कमाउने वर्गले गरिब र डेरामा बस्नेलाई हेप्छन् । यो पक्ष एकदमै मन पर्दैन । धुँवाधुलो, ट्राफिक, अस्तव्यस्त सडक सम्झँदा दिक्क लाग्छ।

उपत्यकामा कतै घुम्न जानुप¥यो भने कुन ठाउँ रोज्नुहुन्छ?
शिवपुरी, हात्तिवन, गोदावरीलगायत ठाउँतिर जान्छु । मलाई अलि चिसो र अग्लो सितल ठाउँ मनपर्छ ।

यहाँको मनपर्ने खाने कुरा के हो?
सधैं खाने खाएर कहिल्यै नघाउने दाल, भात र तरकारी नै मिठो लाग्छ ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो?
एक चोटी जान मन लागेको देश अमेरिका हो ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १२ आश्विन २०७५ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App