यो नानीको शिरैमा इन्द्रकमल फूल
‘यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो, मगमग चल्यो वासना...’, प्रेमध्वज प्रधानको यो गीत घन्किँदा इन्द्रकमल फूलको वासनाले जो कोहीलाई लोभ्याउँछ । नेपालीमाझ यो गीतले इन्द्रकमल फूलको बास्ना र सौन्दर्यको महिमा झन् बढाएको बताउँछन्, वनस्पति विज्ञ कुमार केसी । मायालुलाई आकर्षित गर्ने किसिमको यो गीतले इन्द्रकमलको वासनाको चर्चा गरेको बताउँछन् केसी ।
इन्द्रकमलको वासना नेपालीलाई अति मर्ने बास्ना हो भन्छन्, केसी । ‘धेरै कडा पनि नहुने आनन्दित बनाउने मधुर बास्ना हुन्छ,’ केसी भन्छन् । वासना पाँच मिटर टाढासम्म लिन सकिने केसीको भनाइ छ ।
इन्द्रकमल सेतो रङको फुल्छ । भित्री मधेस र महाभारत क्षेत्रमा राम्रै फुल्ने फूल हो इन्द्रकमल । यो करिब १० फिटसम्मको हुने केसी बताउँछन् । यो सदावहार फूल हो । थोरै घाम लाग्ने ठाउँमा पनि यो फूल फुल्ने पुष्प व्यवसायी बताउँछन् । ५ डिग्री सेल्सियस भन्दा धेरै तापक्रम भएको ठाउँमा यो फूल फुल्छ ।
वसन्त ऋतुको समयमा इन्द्रकमल फूल फुल्छ । यो फूल आकर्षकरुपमा फुल्छ । फ्लोरिकल्चर एसोसिएन नेपाल (फ्यान) का सचिव विश्वमणि पोख्रेल इन्द्रकमल नेपालको रैथाने भएको बताउँछन् । यो झाडी किसिमको बिरुवा हो । यसलाई छाँटकाँट गरेर सानो पोथ्रो आकारको बुस बनाएर फुलाउन सकिन्छ । यो सानै बिरुवाबाट फुल्न सक्ने बिरुवा हो।
काठमाडौंको स्वयम्भूस्थित मुस्कान नर्सरीका महेन्द्र सुवेदीका अनुसार इन्द्रकमलको कलमी तथा कटिङ गरेर पनि नयाँ बिरुवा बनाउन सकिन्छ । केसी पनि पर्खालमा लहरै गलाएर घरलाई सुन्दर बनाउन सकिने बताउँछन् ।
इन्द्रकमल नेपालको सहरमा मात्रै हैन गाउँगाउँमा पाइने फूल हो । गाउँमा यसलाई घरको आँगनमाथि फूलबारीमा रोपिन्छ । असार, साउन महिनामा हाँगा काटेर पनि सजिलै सर्ने भएकाले यसको फैलावट गर्न सजिलो छ । सुन्दर र मगमग बास्ना आउने भएकाले सहरी क्षेत्रमा पनि गमलामा लगाउने गरिन्छ ।
अंग्रेजीमा इन्द्रकमललाई ‘गार्डेनिया’ भनिन्छ । यसको उद्गम थलो एसिया मानिन्छ । नेपाल, भारत, चीन, जापानलगायतका ठाउँमा पाइन्छ । यसको उत्पादन एक हजार वर्ष पहिले चाइनाबाट भएको पाइन्छ । यसको पहिचान भने सन् १७६१ मा अंग्रेजी ‘बोटानिस्ट जोन इलिस’ले गरेको पाइन्छ ।
लाहुरेको चिनो लालुपाते
‘लालुपाते नुग्यो भुइँतिर, किलाउ माया मै तिर कि लाउ उइतिर ए निर नलाउ दुईतिर...’ यो नेपाली लोक गीतले एकताका खुब चर्चा पाएको थियो । लालुपातेको मनमोह दृश्यले लोभ्याएर नै रचनाकारले गीत रचेको हुनुपर्छ । लालुपाते फुल्दा लालीगुराँस भन्दा कम सुन्दर देखिँदैन ।
यो फूलको ऐतिहासिक पाटो भने अलिक फरक छ । वनस्पति विज्ञकुमार केसी लालुपातेको इतिहास खोज्न मेक्सीकोतर्फ फर्किन्छन् । लालुपाते मेक्सीकोबाट बेलायत आइपुगेको उनी बताउँछन् ।
नेपालमा भने लालुपाते एक शताब्दीभन्दा अगाडि भित्रिएको केसीको अनुमान छ । नेपालमा सर्वप्रथम पोखरामा लालुपाते भित्रिएको केसीको भनाइ छ ।
पोखराका लाहुरेदाइ ब्रिटिस सेनामा गएका रहेछन् । ब्यारेक वरिपरि लटरम्म लालुपाते फूलेको देखेर उनी लोभिएछन् । ब्रिटिससेनाबाट फर्किएर आउँदा ती लाहुरेदाइले केही तालुपातेका हाँगा काटेर झोलामा हालेछन् । पोखरामा ल्याएर लालुपातेका हाँगा गाडेछन् ।
केसीका अनुसार लालुपाते सरेछ । पोखरामा बिस्तारै लालुपाते फैलियो । पछि काठमाडौंलगायत सबैतिर लालुपाते फैलियो । लाहुरेले चिनोको रुपमा ल्याएको लालुपाते आज देशैभरि फैलिएको केसी बताउँछन् । लालुपाते फुल्ने समयमा फेवाताल नव दुलही बेहुलीले घुम्टो ओढेजस्तै ढपक्क देखिने सम्झिन्छन्, केसी । माछापुच्छे्रको छायाँ र लालुपातेको फूलले फेवातालमा छोडेको मुस्कान पर्यटकको आकर्षणको केन्द्र भएको समेत केसी बताउँछन् ।
लालुपाते जाडो महिनामा फुल्ने बिरुवा हो । झट्ट हेर्दा यो फुलेको जस्तो देखिने भए पनि जाडो सुरु भएपछि फूलको आकारमा यसको पत्ता नै रातो हुन्छ । त्यसैले फुलेकै भन्न मिल्छ । जाडो मौसममा प्रायः फूल नफुल्ने भएकाले पनि यसको महत्व झन् बढेको हो, भन्छन् मुस्कानका सुवेदी । कात्तिकदेखि फागुन, चैतसम्म लालुपाते फुल्छ । यो फूल टिक्ने पनि हुन्छ।
महेन्द्र सुवेदी क्रिसमसको समयमा फूल्ने भएकाले पनि लालुपातेलाई क्रिसमस फूलले पनि चिनिने गरेको बताउँछन् । यो रातो, पहेँलो छिरबिरे लगायतका विभिन्न रङको हुने बताउँछन्, फ्यानका सचिव पोख्रेल । लालुपाते लालीगुराँसजस्तो डल्लो आकारमा पनि फुल्छ भने अर्को किसिमको लालुपाते पत्ता आकारमा पनि फूल्छ ।
लालुपातेलाई गमलामा पनि रोप्न सकिन्छ । गमलामा होचोहोचोमा फुलाउन सकिन्छ । यो फुल्ने बिरुवा भएकाले घाममा राख्नु नै उपयुक्त हुन्छ । केसीका अनुसार घाममा राख्दा राम्रोसँग लालुपाते फुल्न सक्छ । जमिन तथा गमला दुवैमा रोप्न सकिन्छ । सहरी क्षेत्रमा गमलामा राखेर कौशि तथा छतमा पनि आकर्षक लालुपाते फुलाउन सकिन्छ । लालुपातेमा सामान्यतयाः कम्पोस्ट मल हाल्नु नै उपुक्त हुन्छ । फुलिसकेपछि अनावश्यक आएका हाँगा तथा टुप्पा काटेर मिलाउन सकिन्छ ।
लालुपातेको पहिचान सन् १८२५ मा बेलायतमा भएको पाइन्छ । यो फूलको नामकरण वैज्ञानिक, जोयल रोबर्ट पोइन्सेटबाट भएको पाइन्छ । त्यसैले यसलाई अंग्रेजीमा पोइन्सेटिया पनि भनिन्छ । लालुपातेलाई युफरबीया पनि भनिन्छ ।
यो फूल दुईदेखि १३ फिटसम्म उचाइको हुन्छ । फुल्दै जाँदा यसको बिस्तारै रङ परिवर्तनसमेत हुन्छ । यो फूल १६ औं शताब्दीमा मेक्सीकोबाट क्रिस्मस फूलका रुपमा मान्न थालिएको पाइन्छ । पश्चिमा राष्ट्रमा पनि लालुपाते निक्कै चर्चित फूल हो । क्रिसमसको समयमा क्रिश्चियन धर्मावलम्बीहरुले घर तथा अफिसमा आकर्षक ढंगले सजाउने गरेको पाइन्छ । उत्तरी अमेरिकामा पनि यो फूल चिर्चित छ । अमेरिकामा डिसेम्बर १२ मा राष्ट्रिय लालुपाते (पोइन्सेटिया) दिवससमेत मनाउने गरेको पाइन्छ । सन् १८६० को दशकमा इजिप्टबाट लालुपातेको खेतीको सुरुवात भएको पाइन्छ । त्यहाँ एक सयभन्दा धेरै किसिमका लालुपातेको खेती भएको बताइन्छ ।
जति घाम भयो त्यति फूल्ने बगेनबेलिया
बगेनबेलियालाई नेपालमा कागज फूल, विष्णुमति फूल, गेट फूल जस्ता नामले चिनिन्छ । बगेनबेलियालाई बेगमबेली, बगनबेली पनि भनिन्छ । बगेनबेलिया लहरे जातको बिरुवा हो । बगेनबेलिया लामो समयसम्म फूल्ने फूल हो ।
नेपालीमा एउटा उखान छ,‘रातो राम्रो, गुलियो मिठो ।’ त्यसैले पनि नेपालीले प्रायः रातै फूल मनपराउने अनुभव सुनाउँछन्,केसी । बगेनबेलिया पनि रातै मन पराउने बताउँछन्, उनी ।
बगेनबेलियालाई तातो ठाउँ चाहिन्छ । यो काँडा हुने फूल हो । बगेनबेलियालाई जमिनमा रोप्दा धेरै ठाउँ चाहिन्छ । यो लहरा पनि जान्छ । यस फूललाई चिसो ठाउँमा फुल्न मुस्किल हुन्छ । त्यसमाथि पनि सहरी क्षेत्रमा त झन् एउटा घरलाई अर्को घरले छल्ने भएकाले सबै घरमा घाम लाग्दैन । त्यसैले प्रायः दक्षिणी मोहोडामा घाम लाग्ने भएकाले घरको दक्षिणी मोहडा पारेर बगेनबेलिया रोप्ने केसी सुझाउँछन् ।
घाम नभई बगेनबेलिया फुल्दैन । जति चर्को घाममा राख्यो त्यति नै राम्रो फुल्छ बगेनबेलिया । बगेनबेलियालाई घाम चर्को भयो भनेर डराउनु पर्दैन । यसको आयु ५० वर्षभन्दा धेरै हुने केसीको भनाइ छ । पुरानो बोटमा पनि त्यतिकै राम्रो फूल फुल्ने बताउँछन्, सुवेदी ।
गमलामा फूलेको बगेनबेलिया जमिनको भन्दा आकर्षक देखिन्छ । किनकि गमलामा आवश्यकताअनुसारको आकार पनि दिन सकिन्छ । सचिव पोख्रेलका अनुसार गमलामा रोपेर बोनसाइ आकारको बनाएर फुलाउँदा सुन्दर देखिन्छ ।
काठमाडौंजस्तो सहरी क्षेत्रमा छतमा राम्रो फुलेको देखिन्छ । किनकि छतमा घाम पुग्छ । वर्षमा ३/४ पटक फूल्ने भएकाले पनि यो आकर्षक फूल मानिन्छ । एकपटक फूलेको फूल ३/४ महिनासम्म टिक्छ । सुवेदी भन्छन्,‘घर तथा कौशीमा विभिन्न रङका लहरै बगेनबेलिया फूलाएर घरलाई सुन्दर बनाउन सकिन्छ ।’
यसको प्रायः उत्पादन कटिङ (कलमी) गरेर गरिन्छ । कटिङ गरेर उत्पादन गर्न सजिलो विधि हो भने गुटि बाँधेर र बीउबाट पनि उत्पादन गर्न सकिने केसी बताउँछन् ।
रातो, पिंक, सेतो, प्याजी, सेतोमा–रातो तथा पिंकमा–सेतो मिक्सलगायतको रङमा बगेनबेलिया फुल्छ । पानी १०/१२ दिनमा हाले पुग्ने बताउँछन्, केसी । यसलाई सुख्खा पारिदिइरहनुपर्छ ।
बगेनबेलियालाई ठूलो गमला चाहिन्छ भन्ने पनि हुँदैन । १२ इन्चको गमलामा पनि आकर्षक फुलाउन सकिन्छ । बगेनबेलिया फुलिसकेपछि काट्नु पर्छ । गमलामा भएको बिरुवालाई मिलाएर गोलो हुने किसिमले काट्दा फुलेपछि राम्रो देखिन्छ । फुलिसकेपछि काटेर मल हाल्नु पर्छ । मल हाल्दा पाएसम्म हड्डीको धूलो र पीना मिक्स गरेर हाल्नु पर्छ । हड्डीको धुलो नपाएको खण्डमा पीना मात्रै हाल्न पनि सकिन्छ । तर गाईको गोबरले कीरा लाग्ने जोखिम भएकाले गोबर भने नहालेकै राम्रो ।
मल हाल्दा माटो बाहिर मल देखिनु हुँदैन । गमलाको वरिपरि खाल्डो बनाएर माटोले छोपिदिनु पर्छ । बाहिरबाट मल देखिएमा कीरा लाग्नेदेखि लिएर बिरुवा मर्ने सम्मको जोखिम हुन्छ । १२ इन्चको गमलामा सय ग्रामसम्म मल हाल्न सकिन्छ । गर्मी महिनामा १२ इन्चे गमलामा छ भने सय ग्रामभन्दा कम मल हालेको राम्रो । किनभने गर्मीमा मल बढी भयो भने मलको तातोले बिरुवा मर्ने समेत जोखिम हुन्छ ।
सामान्यतयाः यसको जाडो महिनामा पात झर्छ । र जाडोमा कम फुल्छ । यसलाई जति होचोमा फुलायो त्यति नै आकर्षक देखिन्छ । जाडो मौसममा छाँटकाँट गर्नुपर्ने सुवेदीको तर्क छ । जाडोबाहेक प्रायः सबै महिना फुल्छ । ४० फिटभन्दा धेरै लामो हुन्छ । तीन सयभन्दा धेरै जातको बगेनबेलिया पाइने अनुमान छ । केसी करिब ३२ जातको बगेनबेलिया आफूले थाहा पाएको बताउँछन् ।
हेविस्कस
हेविस्कसलाई नेपालीमा सोली फूल भनिन्छ । केसी भन्छन्, ‘हेविस्कसका करिब २५ प्रकारका जात पाइन्छन् । ‘हेविस्कस पनि एक बहुवर्षीय फूल हो ।
हेविस्कस जाडो महिनाबाहेक प्रायः फुलिनै रहन्छ । जाडो महिनामा हेविस्कसको पात झर्छ । हेविस्कस चिसो ठाउँमा पनि फुल्छ । तर चिसो ठाउँमा कमै मात्र फूलेको देखिन्छ भने पात धेरै आउँछ । यो गर्मी सहने बिरुवा हो । तातोमा पनि हुने भएकाले तराईमा राम्रैसँग फुल्ने पोख्रेल बताउँछन् । १० डिग्री तापक्रम भएको ठाउँमा पनि फुल्ने बताइन्छ ।
जमिन र गमला दुवै ठाउँमा हुन्छ । यो डबल र सिंगल दुई किसिमको हुन्छ । सिंगलभन्दा डबल निक्कै आकर्षक देखिन्छ । रातो रङको डबल हेविस्कस फुल्दा लालीगुराँस जस्तै मनमोहक देखिन्छ । यो पनि हेजका रुपमा घर कम्पाउण्डमा लगाउन सकिने सुवेदी बताउँछन् ।
सामान्यतया हेविस्कस रातो, सेतो, पिंक, प्याजीलगायतको रङमा पाइन्छ । यो जमिनमा रोप्यो भने १० फिटभन्दा अग्लो पनि हुन सक्छ । तर गमलामा भने आवश्यक मात्राको हाइटमा राख्न सकिन्छ । सामान्यतया गमलामा ३÷४ फिटको हाइटमा फुल्छ ।
जाडो महिनामा चिसोले पत्ता झर्ने भएकाले जाडो महिनामा न्यानो ठाउँमा राख्नु उपयुक्त हुन्छ । पुस महिनातिर माथिमाथिको टुप्पो काटेर मल हालिदिनु पर्छ । तोरीको पीना उपयुक्त मल हो । गर्मी लागेपछि फुल्छ । जाडो मौसमबाहेक सबै महिनामा फुल्छ । पुस–माघ महिनामा काटछांट गर्नुपर्ने केसी बताउँछन् ।
हेविस्कस सामान्तयाः १२ इन्च वा त्यसभन्दा ठूलो गमलामा राम्रो फुल्छ । यो निक्कै आकर्षक फूल मानिन्छ ।
यो १६ फिटसम्मको हुने बताइन्छ । यसको नामकरण १७५३ मा भएको पाइन्छ । हेबिस्कस मलेसियाको राष्ट्रिय फूल पनि हो । यसको पहिचान १२ शताब्दीमा भएको मानिन्छ ।
केमेलियाको फूल टिक्छ
केमेलियालाई नेपालमा चिनियाँ गुराँसको नामले पनि चिनिन्छ । यो फूल नेपालमा चीनबाट भित्रिएको मानिन्छ । यसको बोटानिकल नाम केमेलिया भएको बताउँछन्, केसी ।
यो फूल हत्तपत्त ओइलिँदैन । कम्तीमा तीन महिना टिक्ने बताउँछन्, सुवेदी पनि । फूलको पत्ता बाक्लो हुने भएकाले पनि फूल टिक्ने पुष्प व्यवसायीको भनाइ छ ।
केमेलिया फागुनदेखि झण्डै जेठ महिनासम्म फुल्छ । यो फूल रोप्दा बढी घाम नलाग्ने ओसिलो ठाउँमा रोप्नु उपयुक्त हुने केसीको सुझाव छ । घाममा रोप्दा फूल पनि नटिक्ने र बिरुवासमेत त्यति राम्रो नहुने बताउँछन्,उनी ।
गमला तथा जमिन दुवै ठाउँमा यो फूल लगाउन सकिन्छ । गमलामा रोप्दा यो बुुस किसिमको पोथ्रो बनाउन पनि सकिन्छ । रातो रङको केमेलिया फुल्दा गुराँसजस्तै मनमोहक देखिन्छ । यसको फूलले घर नै सुन्दर बनाउँछ ।
सामान्यतया रातो, छिरबिरे, सेतो पिंक, बैजनीलगायतको रङ पाइने सुवेदी बताउँछन् । यसको पहेँलो रङ भने दक्षिण चाइना तथा भियतनाममा मात्रै देखिएको बताइन्छ । यो फूल पात नझर्ने बिरुवा हो
यो फूल १५ सयभन्दा माथिको हाइटमा अझ राम्रो फूल्ने फ्यानका सचिव पोख्रेल बताउँछन् । यो जंगली बिरुवा भएकाले चिसो हावापानीका साथै पत्कर तथा कम्पोस्टमल यसले धेरै मन पराउने पोख्रेल बताउँछन् ।
केमेलिया पूर्वी तथा दक्षिण एसियाबाट उत्पत्ति भएको मानिन्छ । हिमालय पूर्वको क्षेत्रदेखि जापान र इन्डोनेसियालाई यसको उद्गम थलो मानिन्छ । यो ६६ फिटसम्म अग्लो हुने बिरुवा हो ।
हिउँदमा काटछाँट
विशेषगरी हिउँद महिनामा बिरुवा सुसुप्त अवस्था हुने भएकाले खाना खाँदैनन् । त्यसैले हिउँदमा काटछाँट गर्नु राम्रो हुने फ्लोरिकल्चर व्यवसायी सुझाउँछन् । मानिस निदाएको समयमा स्वास फेरेजस्तै हिउँदको समयमा बिरुवा पनि केही पानी र खाद्य पदार्थ खान्छन् तर गर्मी महिनामा जस्तो खाद्यपदार्थ नखाने केसीको भनाइ छ । बिरुवाको मूल जरा (ट्याब रुट), चारैतिर फैलिने जरा (बे्रसरुट) र कपाल जस्तो मसिनो (फाइबर रुट) हुने बताउँछन्, केसी । त्यसैले पनि प्रायः बिरुवालाई जाडो महिनामा काटछाँट गर्नु पर्ने केसीको भनाइ छ ।
सामान्यतयाः गमला वा जमिनमा भएको बिरुवामा साहिँली औंला घुसाउँदा औंलाको टुप्पामा चिसो लागेन भने बीरुवामा पानी सुख्खा छ भनेर जान्नुपर्ने केसी बताउँछन् ।
बिरुवालाई नाइट्रोजन, फस्फोरस तथा पोटासियम खाद्यपदार्थ आवश्यक हुन्छ, जसलाई एनपीके पनि भनिन्छ । हड्डी, पीना, गोबर तथा प्रांगारिकलगायतका मल बिरुवामा लगाउन सकिन्छ ।
प्रकाशित: १ आश्विन २०७५ १०:३५ सोमबार