मुठ्ठी
थाहा छैन को किन भेटिन्छ र कहाँ पुगेर छुट्छ,
चिनिँदैन को आफू लुटिन्छ को अरूलाई लुट्छ ।
बस् यति थाहा छ मलाई हिजो पनि र आज पनि,
भोकले आन्द्रा बटारिएपछि उसको मुठ्ठी उठ्छ ।
नेता
बगरकाहरूलाई सगरमा पु¥याउँछु भनेर आयो,
आयो आफन्त जस्तै मुस्कुराउँदै म नेर आयो ।
मैले दिएर पठाएँ आशीर्वाद सुधो गाई बन्नू भनी,
हाँस्दै सदन छिरेको ऊ आज साँढे बनेर आयो ।
दुर्दिन
जे हुन्छ गुराँसबाट रातो रङ हराएपछि,
त्यही हुन्छ स्यालसँग बाघ डराएपछि ।
यस्तै यस्तै असंभव सम्भावना देख्छु म,
एका बिहानै दाहिने आँखा फर्फराएपछि ।
परजीवी
आरक्षणका नाममा योग्यलाई पाखा लगाएसम्म,
देशको उर्बर माटोले पसिनाको बीउ नपाएसम्म ।
यी नेपालीहरु आत्मनिर्भर बन्न सम्भव देखिँदैन,
मकै भट्ट भुलेर करमकरम कुरकुरे चपाएसम्म ।
राजनीति
घोषणापत्रमा मजदूर र किसानको राजनीति,
कहिले ’फ्युजन’ त कहिले ‘फिसन’को राजनीति ।
गणतन्त्रमा पनि छ सानालाई ऐन ठूलालाई चैन,
जब चल्छ पूर्वमा पश्चिमी मिसनको राजनीति ।
गाउँ
युवा बाहिर्याछन् गाउँमा आइमाई बालक बुढा,
सुख दिन्या भनी नेता हमीको सपना सब लुटा ।
नाइँ बदल्न्या जिन्दगी यी राजनीतिले अझै पनि,
घोडा चढ्न्या घोडा चढ्या मूढा चढ्या मूढा ।
इतिहास
लाखौँ मिलेर एउटालाई मालिक किन बनाउनु,
संशोधन गरीगरी बेठिकलाई ठिक किन बनाउनु ।
आफैँले बनाएर इतिहासका पाना रंगाई सकेपछि,
आफैँले ढाल्ने हो भने शालिक किन बनाउनु ?
दृष्टिकोण
उही बिरुवा घरि फुल घरि काँडा कसरी हुन्छ,
उही नाता घरि नजिक घरि टाढा कसरी हुन्छ ।
एउटा गम्भीर मुद्दाको फैसला गरिदिनु महाशय,
उही मान्छे घरि भलाद्मी घरि छाडा कसरी हुन्छ ?
बेथिति
इतिहासमा शत्रुका किल्ला ढलाउने देश हो मेरो,
पसिना रोपी सुनका बाला फलाउने देश हो मेरो ।
सगरमाथा र बुद्धलाई बोकी शान्ति गीत गाउँदै,
सेनाले बन्दुक छोडेर स्कुल चलाउने देश हो मेरो ।
न्याय
कोही उठ्नेवाला छैन यहाँ ठुलै प्रलय नहुञ्जेल,
आश हुन्छ फोक्सोमा एक मुठी सास बहुञ्जेल ।
नसोचे हुन्छ निमुखाहरू हो न्याय पाउँला भनेर,
गधालाई गाईको खोल ओढाउनेहरू सरकारमा रहुञ्जेल ।
प्रकाशित: २३ भाद्र २०७५ ०६:४७ शनिबार