म प्रायः विदेशी पर्यटक लिएर पदमार्गमा निस्कन्छु । यसपाली फरक सन्र्दभमा यात्रा गरियो, पर्यटन सम्बन्धि पढाई हुने ‘नेपाल कलेज अफ ट्राभल एण्ड टुरिज म्यानेजमेन्ट’का २१ जना विद्यार्थीको हुलमा । त्यही हुलमा थिइन् जीवनसाथी सुजिता पनि।
हाम्रो गन्तव्य थियो–मर्दि हिमाल बेस क्याम्प । कलेजले हामीलाई पदयात्रामा ध्यान दिनुपर्ने कुरा अघिल्लै दिन जानकारी गराएको थियो–कस्ता लुगा लैजानेदेखि के के खानेसम्मको । हामी बिहान ७ बजे कलेजमा जम्मा भयौं र यात्रा थाल्यौं।
यात्राले छुट्टै रौनकता ल्याएको थियो । साथीहरु बीचमा गाडीमा खुब रमाइलो गर्दा मलेखु पुगेको पत्तै भएन । मलेखुमा खाना खाएर कसैले गीत गाउने, कसैले शिक्षकहरुको क्यारिकेचर गर्ने काम भैरह्यो गाडीमा।
थकाइलाई रमाइलोले के छेक्थ्यो, मादलको तालमा नाच्न र गाउन थाले सबै। खाना खाएपछि पनि रमाइलोको समय सकिएन् । झन खानापछि रेशम फिरिरिको गीतले ततायो माहोल।
खैरेनीटार पुगेपछि देखियो माछापुच्छ्रे हिमाल । साथीहरु धमाधम क्यामेरामा कैद गर्न थाले कुमारी माछापुच्छे« । सुजिता र मेरा लागि भने नौला थिएनन् ती दृश्य । मनमा आनन्द र खुसी त हामीलाई पनि भयो साथीहरु दंग देखेर।
खासमा हिमाल जति हेरे पनि अघाइन्न । जति हे-यो उति हेरिरहुँ झैं लाग्ने । त्यसैले होला, धेरैपटक देखेको हिमाल देख्दा पनि वाउ भइहाल्ने!
पोखरा पुग्यौं हामी । त्यहाँबाट धम्पुस थियो हाम्रो गन्तव्य । पोखराबाट जति अघि बढ्यो, त्यति हाम्रो नजिक हिमाल देखिन्थ्यो । हिमालको काखमा छौं जस्तो अनुभूती हुन्थ्यो । धम्पुस पुग्दा चिसो वातावरणले हिमालसँगको नाता नजिक बनायो । पहिलो दिनको यात्रा धम्पुससम्म बसमा भयो । त्यसपछि २ घण्टा हिँडेर प्रितम देउरालीसम्म पुग्यौं।
कतिपय साथीलाई विल्कुल नौलो लागिरहेको थियो । नलागोस् पनि किन ? काठमाडौं खाल्डोको उकुसमुकुस बाहेक तस्बिरमा मात्रै प्राकृतिक ठाउँ देखेका थिए सबैले । ‘भन्दैथिए स्वर्ग त काठमाडौंभन्दा बाहिर पो रहेछ।’
प्रितम देउराली पुगेर होटल व्यवस्थापन ग¥यौं । मौसम धमिलो थियो, हिमाल देखिने सम्भावना भएन । बादलले हामी बस्ने होटललाई समेत घुम्टो ओढाइदियो।
जाडो थियो, डाइनिङ हलमा हिमाली शैलीमा टिनको भाँडाभित्र दाउरा राखेर हिटर बालिएको थियो । सबै साथीका लागि कोठा भन्दा डाइनिङ हल प्यारो भयो । आगोको महत्व धेरैले थाहा पाए । हिमाली जीवन विस्तारै बुझ्न थाले साथीहरु । डिनरपछि मैले सबैलाई हाई अल्टिच्युड सिकनेस बारेमा जानकारी गराएँ । विदेशी लिएर टे«किङ गइरहेकाले यसबारे राम्रै ज्ञान थियो मसँग।
..
विद्यार्थी बनेर गएका थिए सबै । अनुशासन पालना राम्रै हुन्थ्यो । भनेकै समयमा सबै तयारी अवस्थामा थिए ब्रेकफास्टका लागि । खाजामा नयाँँ प्रकार स्वाद चखाउन लागेका थियौं । गुरुङ ब्रेड, अण्डा र तरकारी । धेरैका लागि फरक स्वाद थियो यो खाजा । त्यसपछिको यात्रा तय भयो फरेस्ट क्याम्पसम्म।
टोलीलाई म र सुजिताले गाइड गरेका थियौं । बाटोमा कोही अगाडि, कोही पछाडि भइरहने । सुजिता अगाडि बाटो देखाउने, म पछाडि बसेर सबैलाई लैजाने । जंगलको बाटो फोन नलाग्न सक्थ्यो । यस्तो अवस्थामा सुजिता र मैले सिठ्ठीको साहरा लिएका थियौं । मैले लामो सिठ्ठी बजाए भने उसले अगाडि सबैलाइ रोकेर बस्नु पथ्र्यो । मैले छोटो छोटो दुई चोटी बजाएँ भने हामी तिम्रै पछाडितिर छौं भन्ने संकेत हुन्थ्यो । हामी एक अर्काले सिठ्ठी सुनिने दुरिको फरकमा हिँड्थ्यौं।
बाटोमा अन्नपूर्ण बेस क्याम्प जाने बाटो देखिन्थ्यो । ठूलो पहाडको किनारकिनारै हिँड्ने बाटो र त्यसलाई पछाइरहेको खोलाको दृश्य रमणीय थियो । थकाइ र भोको पेट समेत दृश्यमा रमाइरहेको थियो।
दिउँसोको भोजनपछि पनि यात्रा निरन्तर भयो । बाटोमा पानी दर्कियो । ठूल्ठूला असिना वर्षिए । जे होस् रेनकोट वा छाता साथमा बोक्नुपर्ने पूर्व जानकारीले कसैले रुज्नु परेन । यात्रा उचाइतिर बढ्दैथियो । जति उक्लिन्थ्यौं, त्यति चिसो बढ्ने।
हामी लो क्याम्प पुग्यौं । त्यहाँ व्यवस्थित होटल कम छन् । तीन वटा मात्रै होटल । त्यही होटलको तातो चियाले फुर्तिलो बनायौं शरीर । त्यहाँ पुगेपछि थाहा भयो सबैलाई एक कप चियाको महत्व । शरीर फुर्तिलो त मौसमले पनि बनायो । बादल फाट्दै गएर हिमाल देखिँदै गयो । हिमाल नजिकै देखिएपछि के चाहियो अरु ! रमाउँदै क्यामेरा तेर्साउन थाले सबै । कोही हिमालका फोटा खिच्थे, कोही फोज पोजमा आफैं स्मृति बनाइरेका थिए।
बादल डाँडा पुग्नु थियो हामीलाई । लो क्याम्पबाट १ घण्टा टाढा । त्यहाँ पुग्दा थाक्यौं हामी । थकाइलाई रमाइलोले के छेक्थ्यो, मादलको तालमा नाच्न र गाउन थाले सबै । खाना खाएपछि पनि रमाइलोको समय सकिएन् । झन खानापछि रेशम फिरिरिको गीतले ततायो माहोल । निन्द्रा भन्दा रमाईलो प्यारो भइराख्यो सबैलाई । तर, भोलीको यात्रा त बाँकी थियो । केही व्रिफिङ गराएर शुभरात्री ग-यौं।
विहान उठेर कोही सूर्योदयको टाइम ल्याप्स त कोही हिमाललाई पोज दिँदै फोटा खिचिरहेका । यत्तिकैमा खाजा खाने समय भयो र सबै भेला भए । खाजा खाइसकेपछि हामीले सबैलाई लाइनमा राखेर २० मिनेट एक्सरसाइज गरायौं र लाग्यौं हाई क्याम्पतर्फ जहाँ पुग्न दुई घन्टा लाग्थ्यो।
आज भने सर्वोच्च शिखर चढेको अनुभूति भयो । डाँडाको माथि माथि हिँड्दै गर्दा अन्नपूर्ण वेस क्यामप जाने बाटोहरुले तलतिरबाट पछ्याइ रहेको थियो । त्यस ठाउँबाट अन्नपूर्ण बेस क्याम्प जाँदा ३ दिन लाग्ने बाटो एकै दिनमा छर्लङ देख्न पाइन्थ्यो । त्यो सबै बाटो विद्यार्थीलाई देखाँउदै हिँड्दा २ घण्टा समय बितेको थाहै भएन । हामीलाई बेस क्याम्प पुगेर फर्कनु थियो, त्यसैले खाना खान ढिला नगरी झोला राखेर हामी बेस क्याम्पतिर लाग्यौं।
करिब २ घण्टा हिँडाइपछि भ्यू पोइन्ट पुग्यौं । त्यहाँबाट देखिएको दृश्यको म बर्णन गर्न सक्दिन । माछापुच्छ्रे हिमालको काखमा बसेर अन्नपूर्ण साथमा नजिकबाट हेर्न पाउँदा हाम्रो टोलीमा खुसी छायो । अब अन्तिम लक्ष थियो बेस क्याम्प, केहीबेर अगाडि बढे पछि हिउँले ढाकेको बाटो आयो र यात्रा अघि बढ्न सकेन । हामीले कति प्रयास ग¥यौं तर सकेनौं । अनि फर्कन करै लाग्यो।
बेलुका फेरी मादलुको तालमा भाका फुर्न थाल्यो, ‘तिमीलाई नि टाढा, मलाई नि टाढा माछी काँडे, डाँडैमा घर सार’ । नाचगान सकेर सुत्न बेडतिर जाँदा रातको ९ बजिहाल्यो।
बिहान सबैजना चाँडै उठे, हामीले फोटा खिच्यौं, खाजा खायौं अनि फर्कियौं पोखरातिर । सिदिङ गाउँसम्म ५ घण्टा हिँडेपछि हाम्रो जिप आइपुग्यो । बाटोका अग्ला झर्नाहरुलाई जिपको झ्यालबाटै बिदाई गर्दै हामी पर्यटकीय नगरी पोखरा पुग्यौं।
यसरी हामीले मर्दि हिमालको यात्रा बिट मारेर काठमाडौं फर्कियौं।
(लेखक पर्यटनकर्मी हुन्।)
प्रकाशित: २३ भाद्र २०७५ ०६:०५ शनिबार