८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

भाषा सुधार अभियान

अभिव्यक्तिका हिसाबले भाषाका मूलतः दुई रूपहरू हुन्छन्—लेख्य र कथ्य । लेख्य भाषाले लिपिको माग गर्छ अनि लिपिबद्ध भएपछि मात्र यो अस्तित्वमा आउने गर्छ तर कथ्य भाषा चाहिं लिपिबिना पनि बोलीचालीमा अस्तित्ववान भइरहेकै हुन्छ । संसारमा रहेका सबै भाषाको प्राथमिक रूप भनेको कथ्य रूप नै हो, त्यसपछि मात्र लेख्य रूप आउने हो । आज पनि संसारका धेरै भाषा कथ्यस्तरमै सीमित छन्, धेरैको लेख्य रूप नै छैन । कुनै पनि भाषा लेख्य रूपमा आउनका लागि सबैभन्दा पहिले त्यसको लिपि चाहिन्छ । साथै वर्ण निर्धारण, व्याकरण लेखन, शब्दकोश निर्माणजस्ता केही भाषिक काम सम्पन्न भएको हुनुपर्दछ । अझ महत्वपूर्ण कुरा त त्यस भाषाको मानकीकरण र स्तरीकरणका सार्थक प्रयास पनि सँगसँगै अगाडि बढेको हुनुपर्छ । यसरी आएको भाषाको लेख्य रूप तुलनात्मक रूपमा अलि बढी दीर्घकालीन महत्वको आधिकारिक सामग्री बन्न सक्छ।

विदितै छ, नेपाल एउटा वहुभाषिक देश हो । यहाँ करिब सवा सय बढी भाषा अस्तित्वमा देखिन्छन् । तिनका पनि अनेक भाषिका, उपभाषिका र स्थानीय भेद छन् । तीमध्ये नेपाली भाषा नेपालको सबैभन्दा विकसित र सम्पन्न भाषा हो । आज यो कुनै जाति विशेष वा समुदाय विशेषको भाषा मात्र नभएर सबै नेपालीको साझा र सम्पर्क भाषाका रूपमा स्थापित पनि छ । इतिहासको कुनै विन्दुबाट नेपाली भाषाले नेपालभित्र र बाहिरका सबै नेपालीहरूलाई एउटै सूत्रमा जोड्ने महत्वपूर्ण काम गर्दै आइरहेको छ । आजसम्म यस भाषाको मानकीकरण र स्तरीकरणका अनेक प्रयास हुँदै आएका छन् । विभिन्न ऐतिहासिक कालखण्डहरूमा यस भाषाको सुधारका  धेरै  प्रकृतिका अभियान र प्रयास भएका छन् । कतिपय सन्दर्भमा बेलाबखत केही प्राज्ञिक विवाद र विमर्शहरू पनि चल्दै आइरहेका देखिन्छन् । कुनै जीवन्त र गतिशील भाषाका लागि समयसमयमा देखिने बौद्धिक जिज्ञासा र विमर्शहरू पनि स्वाभाविक मान्नुपर्छ । समयक्रममा तिनको उचित समाधान पनि हुँदै जान्छ । यो त संसारका सबै भाषामा चलिरहने नियमित प्रक्रिया नै हो।

दाङमा केही समयअघि देखि एउटा सकारात्मक अभियान प्रारम्भ गरिएको छ–बजारका साइनबोर्डमा भाषिक सुधार अभियान। दाङको पहिलो मात्र नभएर नेपालकै एक ऐतिहासिक पुस्तकालयका रूपमा रहेको सर्वोदय पुस्तकालय तथा वाचनालय (२०१०) को पहलमा प्रारम्भ भएको अभियानमा धेरै व्यक्ति, संस्था र समुदायको साथ छ।

समयानुकूल केही परिवर्तनहरू भइरहेको भए पनि नेपाली भाषाको एउटा निश्चित लेख्य मानक बनिसकेको छ । खासगरी वर्णविन्यास सम्बन्धी यसका आफ्नै खास नियम र मान्यता छन् । यसको अर्थ के हो भने नेपालभित्र मात्र होइन संसारभरि नै नेपाली भाषाको लेख्य रूप एउटै छ, हुनु पनि पर्छ । बोलीचालीमा नेपाली भाषाका अनेक भौगोलिक र सामाजिक भेदहरू छन् । यो स्वाभाविक पनि छ । यसको अर्थ लेख्य रूपलाई पनि फरकफरक बनाउनु पर्छ भन्ने कदापि होइन । भाषाको लेख्य रूपको प्रयोग विश्वविद्यालयदेखि विद्यालय तह अनि सबै औपचारिक भाषिक अभिव्यक्तिदेखि सञ्चार र सिर्जना क्षेत्रहरूमा भइरहेको छ।

मानव समाजमा भाषा अभिव्यक्तिको माध्यम मात्र नभएर इतिहास र संस्कृतिको अभिलेख पनि हो । अझ यो ज्ञान विस्तार र विकासको शक्तिशाली साधन पनि हो । यति महत्वपूर्ण भाषा प्रयोगमा भने समाजमा अझै त्यति जागृति आउन सकिरहेको देखिदैन । खासगरी नेपाली भाषाको लेख्य स्तरमा देखिएको अराजकता र बेथिति चिन्ताजनक छ । भाषा सुधारमा ध्यान दिनुपर्ने राज्यका विभिन्न निकाय, बौद्धिक समुदाय र सञ्चार जगत् पनि आज बेखबर जस्तै देखिएका छन् । हिजोआज विभिन्न नाममा आइरहेका अनलाइन, रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूमा प्रयोग भइरहेका नेपाली भाषालाई हेर्दा उदेकलाग्दो अवस्था छ । यसले आम समुदायमा कस्तो भाषिक ज्ञान र सीप प्रवाह गरिरहेको छ भन्ने बारेमा कुनै छलफल नै हुँदैन।

भाषिक प्रयोगमा देखिएका कतिपय अराजकताबारे चासो र चिन्ता विभिन्न अवसरमा प्रकट भइरहेका भए पनि तिनको तथ्यपरक समाधानका लागि कमैको ध्यान गइरहेको छ । यसै परिपे्रक्ष्यमा दाङमा केही समयअघि देखि एउटा सकारात्मक अभियान प्रारम्भ गरिएको छ, बजारका साइनबोर्डमा भाषिक सुधार अभियान । दाङको पहिलो मात्र नभएर नेपालकै एक ऐतिहासिक पुस्तकालयका रूपमा रहेको सर्वोदय पुस्तकालय तथा वाचनालय (२०१०) को पहलमा प्रारम्भ भएको अभियानमा धेरै व्यक्ति, संस्था र समुदायको साथ छ । पहिलो चरणमा घोराहीको ट्राफिक चोकदेखि रझेना चोकसम्मका तीनवटा टोलभित्र पर्ने पसलका साइनबोर्डहरूलाई सुधार गर्न खोजिएको छ भने क्रमशः घोराही क्षेत्रका अन्य टोलहरूमा पनि यसको विस्तार गर्ने लक्ष्य राखिएको अभियानको नेतृत्व गरिरहेको संस्था सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमले बताएका छन्।

पुस्तकालयद्वारा गठन गरिएको भाषा सुधार उपसमितिका संयोजक पद्यप्रसाद शर्माले भाषा सुधार अभियानमा स्थानीय तहदेखि सरोकारवाला सबै निकायको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउँछन्।

धेरै व्यवयायीको भनाइमा साइनबोर्ड लेख्नेहरूको अधूरो व्यावसायिक सीपका कारणले भाषिक त्रुटि भएका हुन् । उनीहरुको भनाइमा धेरै सत्यता रहेको मान्न सकिन्छ । त्यसपछि उद्योग वाणिज्य संघ र सर्वोदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा कार्यक्रम गरियो —भाषा शुद्धीकरण प्रशिक्षण । प्रशिक्षणमा खासगरी साइन बोर्डमा धेरै प्रयोग भइरहेका शब्द र तिनमा देखापरेका त्रुटिहरूबारे छलफल भयो । त्यस्तै व्यवसायीहरूलाई तत्सम, तद्भव र आगन्तुक शब्दको प्रयोग, विभक्ति, वचन, लिड्ग र वाच्यको प्रयोग, समस्त र द्वित्व शब्दको प्रयोग, विशेषण र विशेष्य शब्द प्रयोग, सर्वनाम, क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादिबोधक, निपात आदि शब्दको प्रयोग, वहुप्रचलित चिन्हहरूको प्रयोग, पदक्रम र पदसड्गतिको प्रयोग, शीरविन्दु र चन्द्रविन्दुको प्रयोग, य र व को प्रयोग, श, ष र स को प्रयोग, भाववाचक नामको प्रयोग, तुल्यतावाची शब्दको प्रयोग, पदयोग र पदवियोगको प्रयोगजस्ता वर्णविन्यासबारे आधारभूत जानकारी दिने काम भयो । प्रशिक्षणमा सहभागी व्यवसायीहरु जिज्ञासु र उत्साहित बनेका छन् । साथै आगामी दिनमा आफूहरूले साइनबोर्ड लेखनमा धेरै सुधार गर्ने प्रतिबद्धता पनि प्रकट गरेका छन् । भाषिक सुधारसम्बन्धी कार्यक्रमहरुलाई अझै नियमित र फलदायी बनाउनेमा सबैको एकमत छ । यसरी अभियानले विस्तारै एउटा मोड लिइरहेको छ।

दाङमा प्रारम्भ भएको भाषिक सुधार अभियानसँगै देशभित्र र बाहिरबाट समेत अनेक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । स्थानीयदेखि केही राष्ट्रिय पत्रपत्रिका र एफएम रेडियोदेखि बिबिसि नेपाली सेवाबाट समेत यससम्बन्धी विविध सामग्री प्रकाशन तथा प्रसारण भएका देखिन्छन् । यसरी सञ्चार माध्यमको ठूलो सहयोग र साथ दखिन्छ । धेरैको जिज्ञासा के छ भने यो अभियान दाङमा मात्र सीमित रहन्छ वा देशव्यापी पनि हुन्छ ? यसमा अभियन्ताहरूको भनाइ के छ भने यो अभियान नेपाली भाषाको मौलिक पहिचानको रक्षा तथा लेख्यस्तर वा मानकस्तरमा एकरुपता होस् भन्ने पवित्र भावनाबाट प्रेरित स्वतःस्फूर्त एउटा प्रतीकात्मक अभियान मात्र हो।

नेपाली भाषामा सुधार गर्नुपर्ने कुरा नेपाली विषयका केही शिक्षक, प्राध्यापक र लेखकसाहित्यकारहरूको मात्र चासो र चिन्ताको विषय होइन, यो सबैको साझा दायित्व हो । यो कुनै क्षेत्र विशेष वा समूह विशेषको प्राज्ञिक विमर्शको सन्दर्भ मात्र पनि होइन । त्यसैले सबैले आजै आ–आफ्ना क्षेत्र र तहबाट भाषा सुधार अभियानमा लागाैँ। यदि समयमा ध्यान दिन सकिएन भने कुनै बेला नेपाली भाषाको मौलिक स्वरूप र पहिचान नै धुमिल बन्नसक्छ।

प्रकाशित: १६ भाद्र २०७५ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App