९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

‘काठमाडौंलाई रहर पूरा गर्ने टेकोमात्रै बनाइयो’

शंकर कार्की, मुख्य पौडी प्रशिक्षक

तपाईको बुझाइमा सहर के हो?
सहर सुविधायुक्त र जनघनत्व बढी भएको ठाउँ हो । हरेक पक्षमा अग्रणी भूमिका सहरले खेलेको हुन्छ । सुरक्षाको हिसाबमा पनि सहर उत्तिकै संवेदनशील मानिन्छ । सहरमा हिजोको कला संस्कृति र पूर्खाले सिर्जेका सम्पत्ति हुन्छन् ।

गाउँ र सहरको सम्बन्ध कस्तो हुनुपर्छ?
गाउँ र सहर एक आपसमा परिपूरक हुन्छन् । गाउँबिना सहर अपूरो हुन्छ, सहरबिना गाउँ । गाउँमा उब्जाउ भएको अन्नवाली सहरमा पुगेको हुन्छ । सहरको सेवा सुविधा पनि बिस्तारै गाउँतर्फ केन्द्रित भएको हुन्छ । अर्को कुरा, आज कंक्रिटले झाँगिएका सहर हिजो गाउँ थिए । एक हिसाबले भन्ने हो भने सहरको साख भनेकै गाउँ हो । त्यसैले पनि सहर र गाउँ एकअर्कामा सम्बन्धित छन्।

कुन–कुन देशका सहर घुम्नुभएको छ?
खेलकुदकै क्रममा म धेरै देशका सहर घुम्ने र त्यो सहरलाई बुझ्ने अवसर पाएको छु । इटली, टर्की, पाकिस्तान, बंगलादेश, भारत, कतार, अमेरिकालगायत धेरै देशका सहर पुगेको छु।

घुमेकामध्ये मन परेको सहर कुन हो?
म खेलाडी र प्रशिक्षक र टीम कोच भएर विभिन्न देशका सहर घुमेको छु । त्यसमध्ये मलाई मलाई टर्की र इटली निकै सुन्दर र मौलिक लाग्यो । इटलीका सहर ज्यादै मौलिक र व्यवस्थित छन्।

ती सहरको कुन पक्षले ध्यान तान्यो?
एसियाको टर्की र इटलीका सहर निकै फरक छन् । त्यहाँका दृश्य मनमोहक लाग्छन् । ऐतिहासिक भवन, प्राचीन कला संस्कृति त्यहाँका सहरमा भेटिन्छ । एक हिसाबमा भन्ने हो भने नेपालकै हनुमान ढोका र उपत्यकाका तीन जिल्लाका दरबार क्षेत्र जस्तै छन् त्यहाँका ठाउँहरू । प्रकृतिले पनि यी सहरलाई सुन्दर बनाइदिएको छ । सहरमा ‘स्मार्ट सिटी’को अभ्यास पनि भएको छ, तर मौलिकतालाई उच्च विन्दुमा राखिएको छ।

हामीभन्दा बाहिरी मूलुक कुन–कुन पक्षमा भिन्न रहेछन्?
म पुगेका देशहरू हामी भन्दा ३०/४० बर्ष अगाडि नै छन् । हामीलाई राम्ररी अभ्यास नै गरेर काम गर्ने हो भने त्यहाँ पुग्न त्यति नै बर्ष लाग्छ । विदेशी मुलुकमा विकास गर्दा दीर्घकालीन योजना बनाइन्छ, ताकि भोलिको पुस्तालाई असहज नहोस् । विकासगर्दा किन र कस्का लागि भनेर सोचिन्छ । हाम्रोमा नेताको रजाँई र सोच अनुसार सहरको ‘मोडल’ तयार पारिएको हुन्छ । सहर कस्का लागि बनाउने र किन बनाउने भन्ने सोच हाम्रा विकास गर्ने निकाय र व्यक्तिहरूसँग नै छैन।

हामी विकास निर्माणका कार्यमा कहाँनिर चुक्यौं?
मुख्य त विकास गर्ने ढाँचा र शैली भएन । कति समयको लागि बनाउने भन्ने योजना भएन । विकास निर्माणका काम गर्दा आजलाई मात्रै हेरियो । आजको विकासले भोलिलाई अप्ठेरो र विनास गर्छ भनेर हेरिएन । सडककै कुरा गर्ने हो भने आज बनायो भोलि बिग्रन्छ । सहरका योजना दल–दलमा फसेका छन् । पार्टीपिच्छे फरक फरक योजना ल्याइएको छ । तर, तीनलाई मूर्त रुप दिन कुनै पनि नेता र पार्टीले दृढताकासाथ काम गरेको देखिन्न । विकासका काममा सरकारी निकायबीच पनि समन्वय भएको छैन।

विदेशका सहरमा नभएको र हामीकहाँ भएको पक्ष?
हामीसँग निकै भिन्न कुरा छन् । हाम्रोमा जस्तो मौलिकता र भातृत्व कतै छैन । नेपाली मन संसारमा कहिँ भेटिन्न । नेपाल एउटा आत्मियता र सहयोगले चलेको देश पनि हो । प्राकृतिक पक्ष, मौलिकतामा पनि हामी सबैभन्दा अघि छौं।

सहरको विकासको लागि कस्ता योजना ल्याउन आवश्यक छ?
कुनै पनि योजनालाई बेवास्ता गर्दा त्यसले विकास होइन, विनास निम्त्याउँछ । हामीकहाँ योजना नै स्पष्ट भएनन् । कहिले सुरु गरेर कहिले सकाउने भनेर कुनै नीति र काननु बनाइएको छैन । भएको कानुनको परिपालना पनि भएको छैन । विकास निर्माणका कार्यमा ठेकेदारप्रथा हाबी छ । ठेकेदारलाई जे मन लाग्यो त्यही गर्छन् । सरकारले त्यसमा कडाइ गर्न सकेको छैन।

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
घरबाट निस्केर सडकमा आउनासाथ म बसेको ठाउँ सुरक्षित छ भन्ने महसुस होस् । असुरक्षित यात्रा गरिहेको अनुभूति नहोस् । सहरका हरेक पक्ष व्यवस्थित होउन् । बातावरण पनि स्वच्छ होस् । मानिसले हरेक सेवा– सुविधा समान ढंगले सहजै पाउन् । सहरमा मानवता र आत्मियताको खडेरी नपरोस् । दुःख पर्दा सघाउने हातहरू भेटियोस् । यति भयो भने सहरमा बसेको अनुभूति हुनेछ।

सहरवासीको बानी कस्तो लाग्छ?
सहरवासी अव्यवहारिक र लाचार छन् । झ्यालबाट फोहर फाल्छन् , आफ्नो ढोका र आँगन बाहिर फोहर मिल्काएर भाग्छन् । सडकमा अवरोध देखेपनि त्यसलाई पन्छाउन तर्फ लाग्दैनन् । आफ्नो मात्रै सोच्छन् । आफ्ना घरमात्रै सफा होस् बाहिरको कुनै मतलब नै राख्दैनन् । यस्तो प्रवृतिले पनि हो सहर बिग्रिएको । सहरवासीको यस्तै बानीले सहर रूखो र आत्मियता हराएको जस्तो लाग्छ।

काठमाडौं चैं कस्तो लाग्छ?
निकै अस्तव्यस्त लाग्छ । यो सहरलाई मानिसले टेकोमात्रै बनाए । सहरको भविष्यबारे न त नेताले नै सोचे न त सहरवासीले नै । गाउँका मान्छे सहरसम्म विदेशीने क्रम बढेको छ । काठमाडौंलाई विदेश जाने टेको बनाइएको छ । आफ्ना रहर पूरा गर्ने टेको बनाउँदा सहर झन् झन् बिग्रँदै गएको छ।

काठमाडौंको मनपर्ने पक्ष?
यहाँको हावापानी र प्राकृतिक पक्ष सुन्दर लाग्छ । काठमाडौं मन्दिरै मन्दिरको सहरले पनि चिनिन्छ । तर, पछिल्लो समय पुराना संस्कृति र परम्परा जोगाउन मुस्किल भइरहेको छ । यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ।

तपाई पौडी खेलको प्रशिक्षक हुनुहुन्छ, यो खेलको लागि सहर कत्तिको उपयुक्त छ?
उपयुक्त छ छैनभन्दा पनि हामीले उपयुक्त र अनुकुल बनाउने हो त्यसमा भर पर्छ । अरू देशका सहरमा पौडी र अन्य खेललाई निकै प्राथमिकतामा राखिएको हुन्छ, हाम्रो राज्यस्तरबाट पनि पौडी वा अन्य खेलको लागि त्यतिधेरै लगानी भएको छैन । यदि पौडी खेलको महत्व बुझ्ने हो भने हामीलाई पनि पौडी खेलाडीहरू निकै आवश्यक छ । किनकि विपत्ति भन्ने कुरा कहिले आउँछ भन्ने थाहा छैन । संसारभरको आँकडालाई हेर्ने हो भने पानीमा डुबेर एक बर्षमा ३ लाखभन्दा बढी मानिसको ज्यान गएको छ । त्यसैले हामीले यसतर्फ सोच्न जरुरी छ । अरु देशका सहरले खेललाई मुख्य स्थानमा राखेका छन् ।
सहरमा भएभरको खाली ठाउँ कंक्रिट भवनले ओगटेको छ, खेलमैदान र आराम गर्ने ठाउँको अभाव छ,

यसबारे सरकारले कसरी काम गर्नुपर्ला?
सरकारले लगानी गर्नुपर्छ । आज संसारका अरु मुलुकको खेलकुद क्षेत्रमा ठूलो लगानी छ । त्यसको तुलनामा हाम्रोमा न्यून लगानी छ । खेलकुद क्षेत्रमा राज्यले लगानी गर्न सकेको छैन । यद्यपि लगानी नै नभएको होइन पर्याप्त भएन भन्न खोजेको हो।

काठमाडौं के कारणले अस्तव्यस्त भएको होला?
देशका हरेक सेवा–सुविधा यही सहरमा मात्रै थुपारियो । मानिसहरू सुविधा खोज्दै यही आए । यदि यहाँ भएका सुविधा अन्तका सहरमा  विकेन्द्रीकरण गर्ने हो भने सहर अलि खुकुलो बन्न सक्छ।

नेपालभित्र मनपर्ने सहर?
पोखरा, धरान र इलाम मनपर्छ । पोखरा सुन्दर र व्यवस्थित छ । लाहुरेहरूबाटै सजिएको घरान सहर  पनि राम्रो लाग्छ । इटहरीबाट धरान पुग्ने सडक निकै मनमोहक लाग्छ । पूर्वकै इलाम पनि सुन्दर ठाउँमध्ये गनिन्छ।

उपत्यकाको मन नपर्ने पक्ष?
सहर सारै अस्तव्यस्त भयो । सरकारी सेवा सुविधा पनि काठमाडौं केन्द्रित भएकाले मानिसको चाप पनि यहीँ बढेको हो । यसलाई व्यवस्थित पार्न यहाँका मुख्य सेवा–सुविधा अन्तका सहरका सहरमा सार्नुपर्छ ।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: ११ भाद्र २०७५ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App