वर्षातको मौसम । पानी परेकै तीन दिन भइसकेको थियो । आज भने अलि रोकिए जस्तो भयो । ‘आज पनि घाम लाग्ला जस्तो छैन हगि नानी ?’ आमाले भन्नुभयो । ‘त्यही त, कालो बादल घुमिरहेका छन् ।’ मैले आकाशतिर हेर्दै भनेँ।
‘यो झोल पनि कति परेकोे...!’ आमाले झिँजार मान्दै भन्नुभयो ‘न गाईबाख्रा चर्न जान पाए । न यसो लुगा धोएर सुकाउनै पाइयो । सबैतिर ग्याजग्याज हिलो छ । खुट्टाभरि हिले घाउ भएको छ, हरे...।’ हिलोले खाएर आमाको गोडाभरि घाउ भएको थियो । उहाँलाई हिँड्न पनि अप्ठेरो भइरहेको थियो । त्यसैले आमा झिँजार मानिरहनु भएको थियो।
बाँ..बाँ... म्याँ म्याँ... ! गाईबाख्रा खुबै कराउन लागे । ‘खानै नपाएर मर्ने भए गाईबाख्रा पनि...।’ आमा आकाश हेर्दै फतफताउन लाग्नुभयो । ‘बरु जङ्गलमा गएर एक भारी घाँस लिएर आउनुपर्छ कि क्या हो ?’ मैले आमासँग सल्लाह गरेँ । ‘यसै त हिलोले खाएका खुट्टा, झन् यो हिलोमा हिँड्यो भने त...।’ आमाले लामो सास फेर्नुभयो ।
‘तपाईँ घरमै बसिरहनुस् । म गएर घाँस ल्याउँछु ।’ मैले आमालाई भनेँ, ‘मैले ल्याएको घाँसले सास त धान्न सकिएला नि वस्तुभाउको।’
आमाले मलाई हेर्दै भन्नुभयो, ‘तिमी भुरीले ल्याएको घाँसले कति नै पो पुग्ला र ? त्यही नै एक्ली जानुहुँदैन ।’
‘होइन आमा, मैले एक ठाउँमा धेरै लहरालुहुरी देखेकी छु । डाले घाँस पनि छन् त्यता । एकैछिनमा काटेर ल्याइहाल्छु ।’ मैले हँसिया र नाम्लो ठीक पारेँ । ‘खाजा बनाएर राख्नु है आमा ?’ आमाले नजाऊ भन्दाभन्दै म जङ्गलतिर लागेँ।
आकाशमा कालो बादल नाच्दै थियो । चिसोचिसो बतास चल्दै थियो । म फटाफट जङ्गलमा पुगेर घाँस काट्दै थिएँ । पानी पो छिट्याउन लाग्यो । ‘जङ्गलै आइसकेपछि घाँस त लानै पर्यो ।’ हतारहतार लहराहरू तान्दै थुपार्न लागेँ । वनमाराको झाङ्मा हरियो लहरा जेलिएको देखेँ । ‘यति तानेपछि त भारी पुग्छ अनि गइहाल्छु ।’ सोच्दै लहरालाई आफूतिर तानेँ । स्वार्र.. लहरा मतिर आयो । लहरा सँगसँगै वनमाराको सिन्का पनि आएछ । सिन्का त मेरो नाकभित्र स्वात्तै पस्यो।
‘आइयाः !’ एक्कासि चिच्याएँ । नाकको प्वालभित्र कान्छी औँला बिस्तारै छिराएर छामेँ । औँलाले सिन्कालाई छोयो । नाकबाट रगत पनि बग्न लाग्यो । अब सिन्कालाई कसरी झिक्ने ? एकछिन झिक्ने कोसिस गरेँ । अहँ ! केही सीप लागेन । ‘अब घरै जान्छु । आमालाई देखाउँछु ।’ घाँसको भारी बोकेँं । नाकबाट बहेको रगत पुछ्दै घरतिर लागेँ ।
घर पुगेर घाँसको भारी बिसाएँ । मलाई देखेर आमाले आँखाभरि आँसु पार्नुभयो । ‘यत्रि भुरी मान्छे, कति दुःख गछ्र्याै बा !’ आमाले मेरो टाउको मसार्नुभयो । ‘नाक भित्र सिन्का पसेको छ भनेर आमालाई कसरी भन्नु ? आमा पक्कै रुनु हुन्छ ।’ म अलमल भएँ।
आमाले बाख्रालाई घाँस हालिदिनुभयो । म बिस्तारै हातमुख धुन लागेँ । नाकबाट रगत बग्न अलि कम भएको थियो । दुखेको पनि थिएन । मनमा डर भने एकदमै बढिरहेको थियो । ‘नाकको सिन्का निकाल्न सकिएला कि नसकिएला ? के भयो होला मेरो नाक भित्र ?’ के के सोच्दै गाईलाई घाँस हालिदिएँ । ‘खाजा खान आऊ नानू ।’ आमाले भान्छामा बोलाउनुभयो । ‘नाकबाट रगत बगेको छ कि ?’ छामेँ । अलिकति बगेको रहेछ । हातैले पुछेँ अनि भान्छामा गएँ । आमाले भुटेको मकै र गुन्द्रुक साँधी अचार बनाउनुभएको रहेछ । भुङ्ग्रामा हालेर भुङ्गे्र रोटी पनि बनाउनु भएको रहेछ । ‘किन यति धेरै खाजा बनाउनुभएको ?’ आमालाई सोधेँ । ‘खाऊ न, धेरै भोक लागेको होला ।’ आमाले थालमा हालेर दिनुभयो । ‘तपाईँ पनि खानु न ।’ आमालाई भनेँ । आमाले पनि खाजा लिनुभयो।
अरुको पालो मिच्दै, जति चाँडो गर्छु भन्दा पनि धेरै बेरपछि मेरो पालो आयो । अङ्कल मलाई देखेर छक्क पर्नुभयो । ‘नाकभित्रै सिन्का रे ? दुखेको छैन ? कत्रो सिन्का पसेको ? एक्लै आएकी ?’ धेरै प्रश्न सोध्नुभयो । मैले सबै कुरा सुनाएँ । म नआतिएको देखेर उहाँ छक्क पर्नुभयो । अरु मान्छे पनि छक्क परे ।
‘छ नि आमा...’ मैले आफ्नो नाकतिर देखाउँदै भनेँ ‘मेरो नाकमा नि... वनमाराको सिन्का पसेको छ । मलाई दुखेको चाहिँ छैन ।’ मैले यति भन्दा नभन्दै आमा धेरै आतिनुभयो । ‘लौ हेर, अघि नै भन्नु पर्दैन ? हिँड डाक्टरकोमा जाऔँ ।’ आमाले खाजा खानै छोडेर मेरो नाकभित्र हेर्नुभयो । आमाको आँखा फेरि आँसुले भरिए । ‘म डाक्टरकोमा गइहाल्छु । डाक्टरले निकाल्दिहाल्नु हुन्छ नि । किन आँतिनुभएको ?’ मैले आमालाई खाजा खान भनेँ । पीर मानीमानी खाजा खायौँ।
दिन ढल्किसकेको थियो । मैले कोठाबाट साइकल निकालेँ । ‘म पनि जान्छु ।’ आमा फरिया मिलाउँदै तयार हुनुभयो । ‘होइन आमा, म भए साइकलमा जान्छु । छिटो पुग्छु । तपाईँलाई त हिँड्नुपर्छ । ढिला हुन्छ ।’ म साइकल चढेँ । मलाई सिटमा बसेर साइकल हाँक्न आउँदैन थियो । साइकलको कैँची आकारबाट एउटा गोडा छिराएर पाइडल घुमाउँदै अघि बढेँ । आमा मतिर हेर्दै हुनुहुन्थ्यो।
चोकमा एउटा मेडिकल थियो डाक्टर अङ्कलको । गाउँमा एउटा मात्र मेडिकल भएकाले सधैँ भिडभाड भइरहने । आज पनि भिडभाड थियो । झाडापखाला, रुघाखोकी, ज्वरो, हिलोले खाएको, कान पाकेको के के समस्या लिएर बिरामीहरू आएका थिए । म मेडिकल भित्र पसेँ । डाक्टर अङ्कललाई साह्रै व्यस्त देखेँ ।
बिरामीहरूको लाइन लागेको थियो । के गरौँ ? म अल्लजिल्ल भएँ । मैले अरु बिरामीलाई आफ्नो व्यथा बताएँ । अरुको पालो मिच्दै, जति चाँडो गर्छु भन्दा पनि धेरैबेर पछि मेरो पालो आयो । अङ्कल मलाई देखेर छक्क पर्नुभयो । ‘नाकभित्रै सिन्का रे ? दुखेको छैन ? कत्रो सिन्का पसेको ? एक्लै आएकी ?’ धेरै प्रश्न सोध्नुभयो । मैले सबै कुरा सुनाएँ । म नआतिएको देखेर उहाँ छक्क पर्नुभयो । अरु मान्छे पनि छक्क परे।
अङ्कलले लाइट बालेर मेरो नाकभित्र हेर्नुभयो । उहाँ केही आतिनुभयो । मेरो मन डरले ढुकढुक गर्न लाग्यो । उहाँले मेरो अनुहारमा हेर्नुभयो । ‘नानी, यो सिन्का म निकाल्न सक्दिनँ । तिमी ठूलो मान्छेको साथमा अञ्चल अस्पताल गइहाल ।’ उहाँले सल्लाह दिनुभयो । म त डरले कालीनीली भएँ ।
पीरले होला, छाती नै खुम्चेको जस्तो लाग्यो ।‘नआतिऊ तर अस्पलात चाहिँ गइहाल ।’ उहाँ अर्को बिरामी हेर्न लाग्नुभयो । मेरो आँखाभरि आँसु भयो । म मेडिकलबाट बाहिर आएँ । ‘मेरो नाक के हुने होला ? निको होला कि नहोला ! आमा कति रुनुहुन्छ होला ।’ मनमा कुरा खेलाउँदै साइकलनेर आएँ । आँखाको आँसु बरर भुइँतिर झर्न लागे । नाक पिरो भयो।
‘हा...छ्यूँ...!’ एक्कासि हाछ्यूँ आयो । मैले हातले नाकलाई थुनेर हाछुयूँ गरेँ । ‘आहा..! मनैले भन्यो । एक्कासि मन रमायो ।’ एक इन्चभन्दा लामो वनमाराको सिन्का, रगतले बेरिएको अवस्थामा मेरो हातमा आयो । म त खुसीले फुरफुर भएँ । म फटाफट डाक्टरकोमा गएँ । सिन्का देखाएँ । उहाँ त छक्कै पर्नुभयो । खुसी पनि हुनुभयो । अरु मान्छे पनि अचम्मित भए।म त्यहाँ धेरैबेर बसिनँ । फटाफट साइकल चलाएर घर पुगेँ । आमा चिन्ता मान्दै बसिरहनु भएको रहेछ । मैले आमालाई सबै कुरा सुनाएँ । हिलोले खाएको खुट्टाको केही वास्ता भएन आमालाई । उहाँ त रमाएर दुईफन्का नाच्नुभयो।
आमाले सिन्कालाई सफा कपडाले पुछ्नुभयो । अनि एउटा सफा बोतलमा हालेर राख्नुभयो । त्यसपछि जो कोही हाम्रो घरमा आउँदा पनि आमा त्यो सिन्का देखाउँदै यसको कथा भन्न थाल्नुहुन्थ्यो । मानिसहरू पनि खुब चाख मानेर सुन्दथे । अचम्म मान्दथे अनि अरुलाई पनि सुनाउँथे ।यो एउटा प्रचलित कथा जस्तो पो बन्दै थियो, मेरो गाउँतिर अनि वरपर गाउँमा, अनि कताकता ...!
प्रकाशित: ५ श्रावण २०७५ ०५:०१ शनिबार