सानो झुपडी। झुपडीभित्र असरल्ल छरिएका फलामका टुक्राहरू। थोत्रो प्लास्टिकमा पोको पारिएको कोइला। कोइला पोल्न प्रयोग गरिने भत्किएको चुलो। चुलो नजिकै घन र हतौडा।
यो दृश्य हो, तार्केश्वरस्थित फलामको सामग्री बनाउने आरनको। महेश बिक (४७) आरनमा बसेर फलामका सामग्री बनाउने काम गर्छन्। उनले आरनमा फलामका सामान बनाउन थालेको दुई दशक भइसक्यो।
उनले बुबाबाट आरनको काम सिकेका हुन् । ‘आरनको काम गरेर नै बुबाले हामीलाई पाल्नुभयो,’ मलिन स्वरमा उनले भने । अहिले उनी आरनको काम नियमित पाउँदैनन् । सुरुवातमा आरन व्यवसाय राम्रो रहे पनि अहिले भने फस्टाउन नसकेको उनी बताउँछन् । उनले काम गरेबाफत बाली लिन्छन्।
‘आरनको काम सुरु गर्दा बालीप्रथा थियो, अहिले पनि त्यही छ,’ उनी भन्छन्, ‘पैसा हातमा आउनासाथ मासिन्छ, बाली लिँदा फाइदा नै हुन्छ।’ फलामका समान बनाएबाफत उनी वार्षिक १५ पाथी बाली लिने गर्छन्।
आरन व्यवसायमा मेहनत धेरै गर्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘गर्मीमा आगोसँग खेल्नुपर्दा निकै गाह्रो हुन्छ, आगोमा फलाम गलाउनुपर्ने हुदा मेहेनत बढी गर्नुपर्छ ।’ आरनमा फलामको काम गर्नुपर्ने भएकाले काममा ध्यान दिनुपर्ने र मेहेनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यवसायलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ। ‘आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय लोप हुँदैछ ,’ उनले भने।
आरन व्यवसायबाट जीविकोपार्जन गर्न गाह्रो हुने गरेको उनी बताउँछन्। ‘आरनलाई दलित समुदायको पुख्र्याैली पेशाको रूपमा म्युजियममा सजाएर राख्ने दिन आए अब,’ उनी भन्छन्, ‘आरनमा बनाइने ठूला औजारमध्ये हलो, बञ्चरो, कोदाली, खुकुरी, हँसियालगायत लोप भएका छन्।’
गाउँघरमा मकै गोड्ने कोदालो, घाँस काट्ने हँसिया, फलामका छुरीलगायत औजार बनाउन आउने उनी बताउँछन्। कोइला, गोलको कमी हुँदा आगोमा हराउने तरिका हराउँदै गएको उनी बताउँछन्।
उनी भन्छन्, ‘जगंल त बढेको छ । तर, जंगलमा जान रोक लगाइएको छ, दाउराको अभावले कोइला उपलब्ध हुनै छोड्यो फलामका औजार बनाउनै छोडियो ।’ राम्रो कोइलाले मात्र फलाम गल्न सजिलो हुने उनी बताउँछन्।
महेशको घरभन्दा माथि बजारमा ग्रिल उद्योग छ । उनी व्यावसायिक रूपमा सटर, ग्रिलको काम गर्छन् । महेशले फलामको औजार बनाएर व्यापार भने गर्दैनन्, कसैले भने मात्र गर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘पहिलेदेखि नै काम गर्दै आएका बूढाहरूले बनाइदेऊ भने पछि मात्र बनाउँछु, नत्र ग्रिलको काम गर्छु ।’ आरनको भरमा घरपरिवार पाल्न गाह्रो भएपछि ग्रिलको काम सुरु गरेको उनी बताउँछन्।
उनी भन्छन्, ‘पुरानै प्रविधि प्रयोग गरेर आरन व्यवसाय गरेर केहि गर्न सकिँदैन, पढलेखेका नयाँ पुस्ताले अन्य कुनै नयाँ व्यवसाय गरुन् जस्तो लाग्छ।’
लुरे बिक (५२) सानै उमेरदेखि आरन व्यवसाय गर्दै आएका हुन् । उनले आरनमा फलाम पिट्ने काम गरेर जीविकोपार्जन गर्ने बताउँछन्। गाईवस्तुलाई कुडो पकाउने ठूला दिप्चे, कोदालो, हँसिया, बञ्चरोलगायत विभिन्न औजारहरू बनाएका लुरे हिजोआज हँसिया तथा कोदालो बनाउने र धार लगाउने काम गर्छन् । आरनमा हँसिया धार लगाउदै गरेका लुरे भन्छन्, ‘सबै परिवर्तन भएको छ, हलो जुवाको सट्टा ट्याक्टरले एकै छिनमा काम गर्दिन्छ, भन्नेबित्तिकै काम गर्न सजिलो भएको छ।’
उनले पनि सुरुवातमा बालीप्रथाबाट काम गरे । तर, अचेल भने उनी काम गरेबाफत पैसा लिने गरेका छन्।
अधिकांशले पुरानै औजार मर्मत गर्न आरन आउने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘पहिलेजस्तो आरनमा बसेर फलाम पिट्ने काम गर्न सकिँदैन।’
उनले यही पेशाबाटै परिवारको खर्च धानेका छन् । अचेल भने अर्डर आएपछि मात्रै काम गर्ने गरेको उनी बताउँछन् । ‘आरनमा दुःख गरेको देख्दा छोराले काम नगर्नु भन्छन्, पुख्र्याैली पेशा भएकाले चट्टै छोड्न सकिन्न,’ उनले भने। आरनको काममा मेहनत अनुसारको पारिश्रमिक नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘सुरुमा काम गर्दा आरनमा बस्न ठाउँ नै पुग्दैनथ्यो, अहिले भने तीन जना मात्र काम गर्छौं ।’ आरनमा काम गर्ने तरिकामा परिमार्जन हुन जरुरी रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘नयाँ पुस्ताले नयाँ तरिका ल्याउन सके आरन व्यवसायले निरन्तरता पाउँछ । नत्र आरन दन्ते कथा नहोला भन्न सकिन्न।’
तार्केश्वरकी ज्ञानु बिकले (६५) सानै उमेरमा विवाह गरिन् । त्यो समयमा आरन व्यवसायीसँग विवाह गर्नु भविष्य सुनिश्चित हुनु मानिने उनी बताउँछिन् । उनी भन्छिन्, ‘सीप भएको, इलम गर्ने केटोको निकै महŒव हुने समय थियो त्यो।’
समयसँगै आरनको महत्व निकै कम भएको उनको अनुभव छ । ‘अचेलका पुस्तालाई न आरनको बारेमा केही थाहा छ न त आरनको कामलाई महŒव नै दिन्छन्,’ उनले भनिन्।
आरनको व्यावसायीकरण हुन नसक्दा आरन लोप हुने अवस्थामा पुगेको उनको अनुमान छ । ‘काम नै गर्छु भनेर लाग्न चाहनेहरूलाई व्यवसाय गर्न समस्या परेको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘अहिलेको पुस्ता देशमा आरनको काम गर्नुभन्दा विदेश जान रुचाउँछ।’
आरन व्यवसाय गरेर नै दुई छोरा पढाएका दलबहादुर बिक (७५) अहिले कहिलेकाहीँ मात्रै काम गर्छन् । खेतबारीमा प्रयोग गरिने औजारको खपत हुन छाडेपछि व्यवसाय धरापमा परेको उनको बुझाइ छ।
एक हँसिया बनाउन एक दिन लाग्ने भएकाले काम गर्न निकै दुःख रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘सानै उमेरदेखि आरनकै काम गरियो, अरु इलम पनि जानिनँ ।’ श्रम अनुसारको आम्दानी नभएर आरन व्यवसाय लोप हुन लागेको उनको बुझाइ छ।
प्रकाशित: ५ श्रावण २०७५ ०२:५९ शनिबार