नेपालमा आरु फुल्दा उता जापानमा साकुरा फुल्दो हो । समय र प्रकृतिको संवाद सायद यसरी नै हुन्छ होला, यसरी नै फुल्छ होला ।
अहिले नेपाली साहित्यमा प्रचलित साकुरा हाइकु हावाले पहिलो चोटी सायद आरुकै बोटमा छोयो होला ! पाँच–सात–पाँच अक्षरको बुनोटमा कुँदिने शब्दकलालाई हाइकु भनिन्छ । जापानमा सत्रौँ शताब्दीबाट सुरु भएको हाइकु नेपालमा भने तीन शताब्दीपछि मात्रै भित्रियो । जापानमा हाइकुको लोकप्रियता बढाउन माचुओ बासाकोे ठूलो योगदान रहेको मानिन्छ । उनलाई हाइकु सम्राटै मान्छन् । यो उतैबाट आएको हो । नेपालमा भने हाइकु निबन्ध शिल्पी शंकर लामिछानेले भित्र्याए ।
नेपालमा पनि अचेल हाइकुको निकै हैकम छ । लामिछानेले बासो, बुसोन, सिकीका अदिको हाइकु अनुवाद गरी नेपाली साहित्यमा हाइकु यस्तो हुन्छ भनेर चिनाए ।हजार हाइकु : हाइकुका अन्वेषक, अनुसन्धाता रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त कृति हो । हजार हाइकुमा पाँडे र प्रकाशका ५००-५०० हाइकु छन् । शिखा बुक्सले बजारमा ल्याएको यो कृतिगातासहित २८८ पृष्ठको छ । दुई खण्डमा विभक्त हजार हाइकुको पहिलो खण्डमा रामकुमार पाँडेका ५०० हाइकु छन् भने दोस्रोमा प्रकाश पौडेल ‘माइला’का ५०० हाइकु छन् ।
पाँडे हाइकुका हस्ती र माइला हाइकुका माली हुन् । पाँडे घरदेशमै बसेर हाइकुको विकास, विस्तार र अन्वेषणमा लागे भने माइला हाइकुको उद्भवभूमि सूर्योदयको देश जापान पुगे । प्रस्तुत कृतिमा पाँडेले हाम्रो हजार ; हाइकु र हजार शीर्षकमा नेपालमा हाइकु प्रवेशदेखि हालसम्मको उपलब्धीको नालीबेली उतारेका छन् । उता जापानमा नेपाली हाइकुको गोडमेल गर्ने माइलाले जापानी साहित्यको पृष्ठभूमिदेखि हाइकुको प्रभाव र विश्व लोकप्रियताको सविस्तार दिएका छन् । यसर्थमा यो कृतिभित्रका यी दुई महत्वपूर्ण आलेख पढेपछि हाइकुमा अभिरूचि राख्ने जो कोहीले सजिलै जान्न र बुझ्न सक्छन् ।हाइकु साहित्यको सार्है संक्षिप्त विधा हो । पहिलो पंक्तिमा पाँच, दोस्रोमा सात र तेस्रो तथा अन्तिममा पाँच अक्षरमा संरचित काव्यकलालाई नै हाइकु भनिन्छ।
शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ ।
-शंकर लामिछाने
लामिछानेले यो हाइकु २०२७ सालको असोजमा ‘रूपरेखा’ पत्रिकमा छापेका थिए । त्यहाँदेखि यहाँ (आज) सम्म आइपुग्दा नेपाली हाइकुले निकै फड्को मारिसकेको छ । अहिलेसम्म नेपालमा निस्केका हाइकु कृतिमा हजार हाइकु यो विधाकै लागि विशिष्ट कृति यस मानेमा हो कि– यसमा नेपाली र जापानी स्वाद पाउन सकिन्छ । माइलाले यसअघि जापानमै नेपालीलाई स्थलगतरूपमा हाइकु लेखाएर तातेसिना निकाले।
हाइकु लेखनको प्रवृत्ति र स्वरूप भनेको बिम्ब विधान नै मुख्य मानिन्छ । हाइकुले समात्ने भनेकै प्रकृतिको ऋतुगत बिम्ब हो, यसलाई हाइकुको आत्मा मानिन्छ । तीन पंक्तिमा कतै न कतै प्रकृति र हृदय झल्केकै हुनुपर्छ । सूत्रवद्ध शैलीमा लेखिने हाइकु पढ्दा जति मज्जा आउँछ, परिपु¥याएर लेख्न भने उत्तिकै कठिन हुन्छ । जापानीहरूले किगो भनिने रुख भाषा त हाइकुमा जरूरी नै मान्छन् । जापानमा रुख भाषा नै हाइकुको कसी हो ।साहित्यको विधा जे लेखे पनि कवि, लेखकले लेख्ने भनेको समय अनुभूति, भोगाई र जिन्दगी नै हो । हाइकुमा अभिव्यक्त हुने कुरा पनि यी र यस्तै हुन्छन् ।
हाइकु ऐना
नबुझेझैँ गरेर
रूप मेटियो ।
कोइली गीत
वसन्त सकियो कि?
बैँस सकियो ?
कानो घोडाले
दिशा पाएन कि क्या
यो राजनीति ।
आफैँ तातेर
हिउँ पनि पग्लन्छ
आफैँ मातेर ।
पटकैपिच्छे
ढलेको धरहरा
उठेर सुत्छ ।
रुखको काप
रसिलो झ्याउमाथि
ढुकुर बास्यो ।
मुक्के राणाको
हुक्के महाराजको
टुक्के लोकको ।
मिल्यो चरित्र
कुकुर र नेताको
उस्तै खानाले ।
विश्वविद्यालयमा प्राध्यापनको लामो अनुभव संगालेका प्रा. रामकुमार पाँडे साहित्यका विविध विधामा आफ्नो सग्लो नाम भएका स्रष्टा हुन् । व्यंग्यवाण उनको कलमको विशिष्ट कला हो । पाँडेका माथिका हाइकुमा लुकेको अभिव्यक्तिभित्र लुकेको गहनभाव नै उनको अभिव्यक्ति विशिष्टता हो । हाइकुमा पाँडे यौन बिम्ब थाहै नदिई यसरी घुसाउँछन् कि पारखी पाठकले मात्रै बुझ््छन् । पढ्दा छोटो छ, अर्थ कति मोटो छ, बुझ्नका लागि बोधो दिमाग तिखार्नुपर्छ ।
कृतिको दोस्रो खण्डमा रहेका कवि प्रकाश पौडेल ‘माइला’ घरदेश छँदैदेखि धारिला प्रतिभा हुन् । रोजगारी र उद्यमका लागि जापान पुगेका माइलाले सहित्य–मोह छोड्न सकेनन् । उनकै पहलमा उतै स्थलगत लेखिएको संयुक्त कृति ‘तातेसिना’ नेपाली हाइकुको अर्गानिक उपज हो।
३१ अक्षरीय तान्काको पूर्णविकसित रूप हाइकुले दिनप्रतिदिन विश्व व्यापकता पाउँदै जाँदा जापानमै बसेर उनले हाइकुलाई मलजल गरे । माइलाले नेपालमा पनि हाइकु जापानमाजत्तिकै लोकप्रिय छ भनेर जापानको साहित्यिक माहोललाई सूचित गराए । सुनेको थिएँ – उता उनले जापिनिजहरूसित हाइकुमै कुरा गर्छन् अरे ! माइला भन्छन् – उता १७ अक्षरीय संरचनालाई हाइकु भनिँदैनथ्यो । होक्कु मात्रै भनिन्थ्यो । हाइकु नामकरण भएको त धेरैपछि हो ।
समयको गतिसँगै यो शैलीले पनि स्पष्ट अभिव्यक्ति र कवितात्मक आस्वादन दिन थाल्यो ।
आराकिदा मोरीताके (१४७३ –१५४९) ले पहिलोपटक हाइकाइलाई होक्कु अर्थात् हाइकुमा रूपान्तर गर्न सफल भए । माचुओ बासो (१६४४–९४) हाइकु साहित्यका आधारस्तम्भ हुन् । हाइकाइ अर्थात् ताङ्काका विशिष्ट कविकारूपमा समेत कहलाएका बासोले ५–७–५–७–७ ढाँचाभित्रको ३१ अक्षरीय संरचनाको हाइकाइलाई १७ अक्षरीय (५–७–५) उत्कृष्ट लघुत्तमरूपमा प्रस्तुत गरेर जापानी वाङ्मयमा सुनौलो आयाम थपे ।
डायस्पोरिक लेखनको विशेषता भन्नु घरदेको चिन्ता र चासो हो । वातानूकुलित कोठामा निदाए पनि सपना त नेपालकै देख्छन् नेपालीहरू ।
हिमाल चढ्दै
लालीगुराँस टिप्छु
मनको खल्ती ।
पानीपँधेरो
सान्नानीको पटुकी
गाग्री भरियो ।
झुपडीभित्र
उत्साहको गोधूलि
गाउँले प्रेम ।
फुजीयात्रामा
मनहरू निस्किए
तन बाँकी छ ।
फुस्रे बालुवा
फुजीको उकालोमा
कुवा खोज्दै छु ।
फुजी चढेर
हिउँको आरोहण
श्रीखण्ड भेटेँ ।
थुम्का थुम्कामा
साकुरा फुलिरह्यो
मार्च–अप्रिल ।
सूर्योदयको देश, फुजी पहाड र साकुरा फूल जापान चिनाउने बिम्ब र निधि हुन् । जापानी साहित्यका अलावा अन्य देशका कवि, लेखकहरूले फुजी र साकुरालाई त्यत्तिकै बिम्ब बनाएर लेख्ने गर्छन् । सगरमाथा त विश्वकै शिर र निधि भयो । छोटो, मिठो र समय सापेक्ष–डिभाइस विधा भएकोले पनि हाइकुको लोकप्रिता बढ्दो छ । रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त कृति हजार हाइकु–पढ्दा जति मज्जा आउँछ, पाठकलाई उत्ति नै गम्भीर बनाउँछ ।
प्रकाशित: २३ असार २०७५ ०१:४८ शनिबार