२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

खेल्नकै लागि किशोरावस्थामा नेपाल फर्किनु पहिलो ‘टर्निङ पोइन्ट’

पछिल्लो दुई वर्षमा सन्दीप लामिछानेले हासिल गरेको सफलता उनको मिहिनेत र परिश्रमकै नतिजा हुन् । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने भारतीय क्रिकेट क्लब दिल्ली डेयर डेभिल्स्मा अनुबन्धित भएपछि खेल जगतमा उनको एकाएक चर्चा चुलियो । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं छोटो समयमै प्रगतिपथमा लम्केका उनको सफलताको यात्रा समेत खेल जस्तै रोचक रहेको छ । 
उनले पछिल्लोपटक जेठ १७ गते इंग्ल्यान्डको लन्डनमा मैत्रीपूर्ण टी–२० खेल खेलेका छन् । विश्व ११ र वेस्ट इन्डिजबीचको खेलमा सहभागी हुनका लागि उनलाई जेठ २ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व ११ टिममा समावेश गरेको थियो । विश्व ११ को कान्छा खेलाडीका रूपमा उनी सहभागी भए । 

देशकै नामबाट खेल्नका लागि नेपाल फर्किएपछि क्रिकेटर सन्दीप लामिछानेले एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । आईपीएल खेल्ने पहिलो नेपाली बनेका उनले आईपीएलमा गरेको प्रदर्शनीले पनि उनको चर्चा थप बढायो । टिनएजमै क्रिकेट खेलेरै विश्वमा पहिचान बनाउन सफल बनेका सन्दीपको बलिङ शैलीलाई उनको विशेषता मानिन्छ । पछिल्लो दुई वर्षमा निरन्तर सफलताको सिँढी उक्लिरहेका उनलाई बुबाले भने इन्जिनियर बनाउन चाहन्थे । 

त्यसअघि उनी क्रिकेटको महा भिडन्त इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी भएका थिए । भारतको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएलसम्म पुग्नु कम चुनौतीपूर्ण होइन् ।  आईपीएलको हिस्सा भएपछि पनि देखाएकै धैर्यताले उनलाई उत्कृष्ट प्रदर्शन गर्न हौसाएको थियो ।  

२ अगष्ट सन् २००० मा सन्दीप स्याङ्जाको आरूचौर तालपोखरीमा जन्मिएका थिए । चन्द्रनारायण लामिछाने र कोपिलादेवी दम्पतीको तीन छोरी र दुई छोरामा कान्छा सन्तान हुन् सन्दीप । स्याङ्जामा बाल्यकाल बिताए पनि चन्द्रनारायण भारतमा काम गर्थे । हरियाणा राज्यको जिन्द जिल्लामा रेल्वे सेवामा कार्यरत थिए । स्याङ्जामै बस्ने उनी आमासँगै भारत पुगे । भारतमा चर्चा परिचर्चा क्रिकेटकै भइरहन्थ्यो । सन्दीपको परिवारमा सबै सदस्य टेलिभिजनमा क्रिकेट हेर्थे । यसले पनि सन्दीपलाई क्रिकेटप्रति रुचि जगाएको बाबु चन्द्रनारायण बताउँछन् । 

इन्जिनियर बनाउने ईच्छा 

सामान्य परिवार भएकाले चन्द्रनारायण सन्दीपलाई इन्जिनियर बनाउन चाहन्थे । ‘हामीले सोच गर्दा मेरो जुन चाहना र उनको निर्णय फरक भयो,’ उनी भन्छन्, ‘मेरो लक्ष्य उनलाई इन्जिनियर वा ओभरसियर बनाउन चाहन्थे ।’ भारतबाटै इन्जिनियर गरे भविष्य उज्ज्वल होला भन्ने उनलाई लाग्थ्यो । त्यसैले परिवार पनि एकै ठाउँमा बस्ने र सन्तानलाई उपयुक्त शिक्षा दिन उनले परिवारलाई कर्म थलो लगेका थिए । 

सन्दीप खेलप्रति समर्पित भएको देखेपछि भने उनले इन्जिनियर बनाउने सपना छाडे । छोराले खेलाडी बन्छु भनेपछि परिवारले त्यसमै साथ दिएको उनी बताउँछन् । स्याङ्जामै हुँदा सन्दीप लठ्ठी र ढुंगासँग खेल्ने गरेको आमा कोपिलादेवी सम्झिन्छिन् । ‘गाउँमा क्रिकेट भन्ने थिएन,’ उनी भन्छिन्, ‘ढुङ्गा उचाल्ने र त्यसलाई लठ्ठीले हान्दै हिँड्थे ।’ घरमा भनेको मान्ने र बुझ्ने स्वभावका थिए सन्दीप।

भारत गएपछि नै सन्दीपले क्रिकेटको बारेमा थाहा पाए । भारतमा क्रिकेटको राम्रो चहलपहल भएकै कारण सन्दीपमा पनि क्रिकेटप्रतिको चाहना बढ्यो । परिवारमा पनि सबैले हेर्ने र मन पराउने खेल नै क्रिकेट भयो ।  क्रिकेटको प्रतियोगिताहरु घरमा परिवारसँग बसेर सामूहिकमा हेर्थे । स्कुलका साथीहरु पनि क्रिकेट नै खेल्थे। 

यसले पनि सन्दीपको क्रिकेट मोह बढाएको चन्द्रनारायणले बताए । परिवारसँगै बसेर खेल र अध्ययन दुवैलाई अगाडि बढाउँदै गए। क्रिकेट कस्तो लाग्छ ? हेरेको खेल कस्तो थियो ? कुन बलर राम्रो ? लगायतका जिज्ञाशा सन्दिपले बाबुलाई सोध्थे। अस्ट्रेलियन बलर सेन वर्न चन्द्रनारायणलाई मनपर्ने क्रिकेटर थिए । उनैलाई पछ्याएर ‘आईडल’ मानेर सन्दिपले क्रिकेट खेल्न थालेका थिए ।

स्कुलमै होमवर्क गर्थे 

दिदीहरु र दाइको मायाले हुर्किएका सन्दीपलाई बाबुले पढाइ गर्नुपर्छ भन्थे । दाइ मोहनले खेल्नका लागि सहयोग र साथ दिए । खेलमै रुचि भएको भाइलाई खेल्न दिनुपर्छ भन्थे । खेलप्रति उनको रुचि अधिक थियो । क्रिकेट नखेलेको दिन नै हुँदैनथ्यो । खेल्न कै लागि स्कुलको होमवर्क क्लासमै भ्याएर घर आउने गरेको चन्द्रनारायण सुनाउँछन् । 

घर आएर होमवर्क गर्दा खेल्न भ्याइँदैन भनेर उनी स्कुलमै गर्ने गरेको उनले बताए । घर आएर एकछिन बसेर किट ब्याग बोकेर खेल्न कुदिहाल्थे । पढाइलाई र खेललाई सँगसँगै अघि बढाएका सन्दीपले सीमितभन्दा पनि अधिक मिहिनेत गरेको भएर सफलता मिल्दै गएको चन्द्रनारायण बताउँछन् । 

१३ वर्षको उमेरसम्म सन्दीप भारतमै बसे । उनको खेल राम्रो थियो । १० वर्षकै हुँदा उनी हरियाणामा स्टेट लेभलमा खेल्थे । सन्दीपले नै परिवारमा नेपाल फर्किएर क्रिकेट खेल्ने प्रस्ताव राखेका थिए । २०१३ मा उनी नेपाल फर्किए । उनको निर्णयमा परिवारले साथ दिए ।

‘उनको ईच्छा सबै भएर पु-याउने प्रयास गरियो । दाजुले नै धेरै सहयोग गरे,’ उनले भने, ‘म हुम नहुम सन्दीप पनि त्यही नै भन्छन्, नेपाल आएर खेल्न पाउनु र आजको सन्दीप बन्न पाउनुमै दाजुको देन छ ।’ नेपाल फर्किएर क्रिकेट खेल्ने निर्णय गर्नु नै सन्दीपको सफलताको सबैभन्दा प्रमुख टर्निङ पोइन्ट भएको उनले बताए । 

सन्दीपका टर्निङ पोइन्टहरु

सन्दीप स्कुल छुट्टिको समयमा बेला–बेलामा नेपाल आइराख्थे । नवलपुरको रजहर बस्ने ठूली दिदीभिनाजुकोमा बस्थे । त्यही समय उनले नारायणगढको क्याम्पाचौरमा क्रिकेट खेलेको देखिरहेका थिए । त्यसैले नेपाल फर्किन उनको रुचि धेरै बढ्यो । आफ्नै देशमा र देशको नामबाट खेल खेल्ने उनको चाहना थियो । त्यही पूरा गर्न उनी बाबु–आमाको काख छाडेर नेपाल फर्किए । 

‘म र मेरो देशलाई विश्वमा चिनाउन चाहन्छु भन्थ्यो’  उनले भने, ‘सन्दीप नेपालको छोरा हो भनेर चिनाउने मौका मिलोस् भनेर देश फर्किएको थियो ।’ छोराको ईच्छाले गर्दा कान्छो छोरालाई बाबुआमाबाट टाढा नेपाल पठायौं । उनी आफ्नो लक्ष्यलाई पछ्याउँदै थिए । नेपाललाई थप चिनाउन, देशमा क्रिकेटको विकासका लागि स्वदेश फर्किएको चन्द्रनारायण बताउँछन् । 

सन्दीप काठमाडौं बसेर क्रिकेट खेल्ने कलालाई निखार्न चाहन्थे । काठमाडौंमा रहेको क्रिकेटको प्रशिक्षण क्याम्पमा प्रशिक्षार्थी खेलाडीको कोटा पूरा भएकाले उनी सिक्ने टिममा अटाएनन् । रजहर फर्किए । देवचुली माविमा पढ्न थाले । अभ्यास खेल खेल्नका लागि उनी क्याम्पाचौर आउँथे । राष्ट्रिय प्रशिक्षक राजु खड्काको छत्रछायाँमा बसेर खेल खेले । 

२०१६ देखि नियमित खेलकै लागि पूर्ण समय दिएर व्यावसायिक खेलाडी बनेको चन्द्रनारायणले बताए । सन्दीपले जे जस्तो सफलता हासिल गरे ती सबै दुई वर्षभित्र पाएका छन् । सबैको वाहवाही पाउँदै सन्दीप चर्चा बटुलेका उनको जीवनको केही महŒवपूर्ण टर्निङ पोइन्टहरु । त्यसमा उनी लक्की पनि भएको चन्द्रनारायणको भनाइ छ ।  

एकदिने भ्रमणमा नेपाली क्रिकेट टिमका राष्ट्रिय प्रशिक्षक पुबुदु दासानायके नयाँ खेलाडीको खोजीमा थिए । ट्यालेन्ट हन्टको क्रममा चितवन एकेडेमी पुगेका प्रशिक्षक पुबुदु सन्दीपको खेलबाट प्रभावित भए । राष्ट्रिय टोलीको क्याम्पमा बोलाए । त्यहीँबाट सन्दीपको राष्ट्रिय टोलीको यात्रा सुरु भएकाले यो घटनाक्रमलाई पनि चन्द्रनारायण अर्को टर्निङ पोइन्ट मान्छन् । 

जसबाट सन्दीपले १९ वर्षमुनिको खेलाडीको टिममा परेर खेल खेल्न पाए । बंलादेशमा भएको १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आयरल्यान्डविरुद्धको खेलमा उनले ह्याट्रिकसहित ५ विकेट लिए । बंगलादेशमा आयरल्यान्डविरुद्ध ह्याट्रिक गर्ने र १९ वर्षमुनिको विश्वकप क्रिकेटमा ह्याट्रिक गर्ने नेपाली खेलाडी भए । 

१९ वर्षमुनिको अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्नेमा नेपालको दोस्रो तथा समग्र अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने नेपालको तेस्रो खेलाडी बने । राष्ट्रिय टोलीमा भने उनले २०१६ को सेप्टेम्बरमा नामिवियासँगको खेलमा डेब्यु गरेका थिए । सन्दीपले २०१६ मा बंगलादेशमा भएको यु–१९ विश्वकप क्रिकेटमा डेब्यु गरेका गरेका थिए ।

अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका माइकल क्लार्क हङकङमा सन्दीपको खेलबाट प्रभावित बने । क्लार्ककै निमन्त्रणामा अस्ट्रेलिया गएर त्यहाँ स्थानीय लिग खेले । आईपीएल खेल्ने पहिलो नेपाली बनेका उनले आईपीएलमा गरेको प्रदर्शनीले पनि उनको चर्चा थप बढायो । 

आईपीएल खेल्ने पहिलो नेपाली

विश्वकै धनी क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० खेल्ने पहिलो नेपाली भएपछि उनको चर्चाको शिखर चुलियो । नेपाली लेग स्पिनर सन्दीपलाई आईपीएलको बेंगलुरुमा भएको अक्सनमा दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा टिममा समावेश गरेको हो । 

लेग स्पिनर लामिछानेको लेग ब्रेक गुगली शैलीलाई उनको विशेषता मानिन्छ । त्यही विशेषताका कारण उनले पहिलो नेपाली खेलाडीका रूपमा आईपीएलमा प्रवेश पाएका चन्द्रनारायणले बताए । उनी आईपीएलमा यस वर्ष छनोटमा परेको एसोसिएटतर्फका एक मात्र खेलाडीसमेत बने ।

आईपीएलमा छानिएपछि सन्दीपले आईपीएलमा खेल्न पाउँछन् कि बेन्चमै सीमित हुन्छन् भनेर बहस भएको थियो । उनले आईपीएलमा प्रदर्शनी देखाउन ११ वटा खेल पर्खिए । १२ औं खेलमा मात्र दिल्ली डेयर डेभिल्सले उनलाई मैदानमा उतारेको थियो । आईपीएल खेल्ने १३ औं राष्ट्रका खेलाडी, तेस्रो कम उमेरका खेलाडीका रूपमा उनले आईपीएलमा बलिङको जादु देखाए । 
उनी आईपीएल पुगेर खेल्नुले अन्य युवा खेलाडीलाई समेत ऊर्जा मिलेको आमा कोपिला बताउँछिन् । कडा मिहिनेतको साथमा जुन ठाउँमा पुगे त्यो फरक शैली र सिक्ने भोकले नै उनी सफल भएको उनी बताउँछन् । उनलाई जुन जुन अवसर मिल्यो त्यसलाई अब्बल बनाएर सँगै सिक्ने साथीहरुभन्दा धेरै अगाडि पुगे ।

खेल प्रत्यक्ष हेर्न पाएनन्

चन्द्रनारायण आईपीएलमा सन्दीपले खेलेको प्रत्यक्ष हेर्न चाहन्थे । त्यसैले उनी महिना दिनभन्दा बढी भारत गएर बसे । ‘छोराले आईपीएल खेलेको प्रत्यक्ष हेर्ने इच्छा पूरा भएन’ उनले भने, ‘म जति बेलासम्म उता बसेँ । टिमले सन्दीपलाई खेलाएनन् ।’ उनको परिवारले नेपालमै भएको खेल केहीपटक भने प्रत्यक्ष हेरेका छन् ।

त्यसैलाई चन्द्रनारायणले मन बुुझाउने माध्यम बनाए । हेर्न भनेर भारत नै गए पनि घर फर्किएर टेलिभिजनमा हेरे । टिमले १२, १३ र १४ औं म्याचमा मात्र सन्दीपलाई खेलाएका थिए । पाँच महिना मात्र भयो उनको परिवार भारतबाट नेपाल फर्किएको । 

उनको दाइ मोहन रेल्वे सेवामै काम गर्छन् ।  एक दिदीको विवाह पनि उतै भएको छ । दुई दिदीको परिवार र सन्दीपका बाबु–आमा नेपालमा छन् । उनको परिवार रत्ननगर नगरपालिका वडा नम्बर ८ को चित्रसारी टारमा बस्दै आएको छ । भारतमै बस्दा बेला–बेलामा आउने, भेटघाट गर्न जाने क्रम चलिराख्थ्यो । दिदी–भिनाजुले नै उसको हेरचाह गरे । खेलाडी मान्छे घर, परिवारसँग बसून् भनेर पनि भएन । 

परिवार नेपाल फर्किएको पाँच महिना करिब पाँच दिन जसो सन्दीपले घरमा बिताएको उनी सम्झिन्छन् । यो बीचमा उनी खेलकै लागि धेरै विदेशमै रहे । सानोमा उनी बास्केट बल पनि खेल्थे । खेल्ने र पढाइ दुवैलाई सँगै अगाडि बढाउने भनेर उनी नेपाल फर्किएका थिए । ‘बचपन पनि राम्रो भयो, अहिले पनि राम्रो छ’ उनले भने, ‘भोलि पनि राम्रो गरेर बीग ब्याच म्याचसम्म पुग्छन् भन्ने विश्वास छ ।’ सानोमा खेल्न जाँदा किट ब्याग, जुत्ताको व्यवस्थापन परिवारले गरिदिन्थे । उनलाई त्यो क्षण र अहिलेको क्षण समकुल लाग्छ । 

२५ नम्बर जर्सी लगाउँछन् 

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप २५ नम्बर अंकित जर्सी लगाउँछन् । जर्सीका लागि २५ नम्बरको अंक रोज्नुको पछाडि एक दुखद् घटनासँग उनको मन जोडिएको आमा बताउँछिन् । ‘जनवरी २५ मा जन्मिएकी सन्दीपकी भान्जी डेढ वर्षमै बितिन्,’ उनी भन्छिन्, ‘उनको खेल जीवन सुरु गर्दा नै उनले भान्जीको सम्झनामा जर्सी लगाउन थाले ।’ 

ठूली दिदीकी पहिलो सन्तानलाई गुमाउनुपर्दाको पीडालाई उनले खेलको जर्सीसँग भावना जोडेर भान्जीलाई सधँै सम्झिरहेका छन् । संगीतप्रति पनि सन्दीपको रुचि छ । घरमा खुसी रहने, सबैसँग रमाउने, गीत गुनगुनाइरहने उनको बानी छ । मैदानमा समेत गीत गुनगुनाउने गर्ने चन्द्रनारायणले बताए । गायक राजु लामाका गीत उनलाई धेरै मन पर्छन् । चाँडै नै गीति एल्बम समेत निकाल्ने तयारीमा सन्दीप रहेको कोपिला बताउँछिन् । सन्दीपले ‘उदास थियो मेरो यो मन’ गीतको ट्रेलर पनि युट्यूबमा सार्वजनिक गरेका छन् । 

प्रकाशित: १५ असार २०७५ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App