डा.राजकुमार सुवेदी
ज्योतिषी एवं वास्तु शास्त्री
हाम्रो बैठकमा पूर्व र उत्तर दिशामा ज्यादा खाली ठाउँ हुनु आवश्यक छ । आन्तरिक र बाहिरी साज–सज्जाका साथै विभिन्न रङको उच्च प्रभावलाई नेपाल, भारत एवं विभिन्न देशका सांस्कृतिक हिसाबले एकमतसँग स्वीकार गरेको पाइन्छ । घरका भित्ताको रङ आँखाको माध्यमबाट अन्तस्करण मनको गहिराइसम्म पुगेर हाम्रो मानसिक स्थितिलाई प्रभावित गरी अनुकूल र प्रतिकूल संवेदन प्रवाहित गरेको हुन्छ । रत्न चिकित्सा (जीम थेरापी), रङ चिकित्सा (कलर थेरापी), (कलर बाथ) यसरी यस्ता खालको चिकित्सालाई अस्तित्व र उपचारलाई विभिन्न वैज्ञानिकहरुले स्वीकार गरेका छन् । घरको आन्तरिक र बाह्य साज–सज्जाका साथै रङ योजनाबाट ग्रह नक्षत्रको कारण हुने विभिन्न बाधा, वास्तु दोषसमेत हरण हुन्छ । ज्योतिष शास्त्र एवं वास्तु शास्त्रले रङका यस्ता खालको अवधारणा अकाट्य र सत् तर्कका साथ परिपुष्टि गर्छन् ।
यदि व्यक्ति सूर्य ग्रहबाट प्रभावित छ र सिंह राशि, सिंह लग्नको छ । जन्म कुण्डलीमा सूर्य उच्चको स्वगृही या अनुकूल स्थितिमा छ भने घर, होटल, पसलको भित्ताको रङ सुनौलो, पहेँलो (गोल्डेन यल्लो) सुनौलो वोर्डरवाला, हल्का गुलाबी र हल्का पहेँलो हुनुपर्छ । यदि व्यक्ति चन्द्र तत्व प्रधान भएमा, कर्क राशि, कर्कट लग्न छ र चन्द्रमा स्वगृही या उच्च भएमा उक्त व्यक्तिको घरको भित्तामा दूधजस्तो सेतो र मोेतिको जस्तो रङ हुनु आवश्यक छ । घरमा चाँदीको जस्तो रङको सजावट सामग्री अरुभन्दा बढी मात्रामा प्रयोग गर्नु आवश्यक छ । यदि व्यक्तिमा मंगल तत्व प्रधान भएमा मेष, वृश्चिक राशि या मेष, वृश्चिक लग्न भएको जातकको जन्म कुण्डलीमा मंगल मेष, वृश्चिक या मकर राशिमा भएमा अनुकूल मानिन्छ । यस्तो स्थितिमा जातकको घर बैठकमा गाढा रातो, क्रिमसन रातो, कोरा रातो रङ लगाउनु पर्छ ।
ढोका, दराज, पर्दा, कार्पेटसमेतमा यस्तो रङ पर्याप्त मात्रामा हुनुपर्छ । यदि व्यक्ति बुध ग्रहदेखि प्रभावित भएको खण्डमा जातकको राशि मिथुन वा कन्या छ र कन्या लग्ग्नमा बुध ग्रहको स्थिति अनुकूल भएमा वा बुध वृष या सिंहको भई स्वगृहाभिलाषी भए, यस्तो अवस्थामा बुधलाई अधिक बलवान् बनाउन घरमा, बैठकमा, भित्तामा, विशेषगरी निर्णयात्मक कक्ष मा गाढा हरियो, फिका हरियो, सुगा रङ र सुनौलो, हरियो ,पहेँलो रङ लगाएमा जातकको बुधसम्बन्धी ग्रहको दोष हरण भई उन्नति–प्रगति हुन्छ । त्यसैगरी व्यक्तिको शुक्र तत्व प्रधान भएमा साथै वृष या तुला लग्न एवं राशिको व्यक्ति भएमा र शुक्र चेष्टावली भएमा, अधिक अनुकूल र बलियो बनाउन घरमा चम्किलो सेतो, क्रिम सेतो, घ्यूजस्तो सेतो रङ लगाउनु पर्छ । घरमा ऐश्वर्यशाली वस्तु सौन्दर्य प्रधान एवं कलात्मक, सृजनात्मक वस्तुको प्रयोग गर्नुपर्छ । यसले गर्दा जातको उन्नति–प्रगति र भाग्योदयमा सहायक हुन्छ ।
यदि व्यक्तिमा शनि स्वगृही, उच्च वा उच्चाभिलाषी कन्या राशि स्थित शनि भए घरका भित्ताहरुमा पुष्प र पुष्पहारद्वारा राम्रो सौभाग्यहेतु विभिन्न निलीमाको प्रयोग गर्नु पर्छ र दक्षिण ढोका भएको घरमा अग्र भागमा पानी साथै पछाडिको भागमा उचो जमिन, पठारजस्तो हुनुपर्छ । आर्थिक अस्थिरता विभिन्न ग्रह दोष एवं वास्तु दोषको कारणले हुने गर्छ । यस प्रसंगलाई विचार गर्दा उत्तर दिशाका स्वामी कुबेर (धनका देवता) लाई मानिएको छ । यसको कारक ग्रह बुध, वित्त, व्यापार, विद्या, वाणी, विनम्रता, भक्ति, ज्ञान, स्वयं र आत्म नियन्त्रण (सेफ कन्ट्रोल) को मानिएको छ । उत्तर दिशाधिपति र पूर्व दिशाधिपतिको बीचको कोण ईशान कोण हो । यसका स्वामी वृहस्पति रहेका छन् । ज्ञान, विवेक, प्रगति, विकास, नीति, न्याय र धर्मलाई गुरुको क्षेत्र मानिएको छ । यसैगरी पूर्व दिशाको स्वामी ईन्द्र र कारण ग्रह सूर्य हुन् भने सूर्यबाट पद, प्रतिष्ठा, शक्ति, अधिकार, राजसी वैभव तथा सत्ता सुखसम्बन्धी विषयमा जान्न सकिन्छ ।
आर्थिक संकट निम्न प्रकारका वास्तु दोषबाट उत्पन्न हुन्छन् :
शयन कोठा :
क) हामीले शयन गर्दा शिरलाई पूर्वतर्फ वा दक्षिणतर्फ फर्काउन सकिन्छ । कतिपय अवस्थामा विद्यार्थी र पतिपत्नीले दक्षिणतर्फ सिरानी गरे पनि राम्रो मानिएको छ । बच्चाहरुका लागि भने पश्चिम दिशातर्फको बेडरुम राम्रो हुन्छ ।
ख) भवनको पूर्वी भागको बेडरुम अविवाहित पाहुनाहरुका लागि उत्तम हुन्छ । विवाहित दम्पती दक्षिण पूर्वी कुनामा शयन गरेमा पतिपत्नीबीच अनावश्यक झगडा र खर्च बढ्छ । यस्तो कोठा कार्यालयको रूपमा प्रयोग गर्नु राम्रो हुन्छ । उत्तर पूर्वमा सुत्ने कोठा भएमा नव विवाहित दम्पतीलाई दीर्घ रोग लागी विभिन्न दैवी घटनाको समेत सामना गर्नुपर्ने हुन सक्छ ।
ग) हामीले सुत्ने कोठामा चम्किलो गुलावी रङ राख्नु पर्छ । चकलेटी, निलो, हरियो, पहेँंलो, खैरो रङ पनि उपयुक्त हुन्छ । राख्नै पर्ने भएमा दक्षिण पूर्वीकुनामा गह्रांै सामान राख्नु पर्छ साथै घरकोे दक्षिणतिरको कोठामा मूल व्यक्तिको पलङ राख्नु पर्छ । आवश्यक भएमा पश्चिम–दक्षिण कुनामा घरमूलीको निमित्त शयन पलङ राख्न सकिन्छ । हामीले ड्रेसिङ्ग टेबल राख्दा पूर्व पट्टिको उत्तरतर्फ राख्दा राम्रो हुन्छ । साथै पढ्ने, लेख्ने टेबल भने पश्चिमतर्फ फर्काउनुपर्छ । र यसलाई पूर्वमा पनि प्रयोग गर्न सकिन्छ । पढ्दा पूर्व या उत्तरतर्फ फर्केर पढ्नु राम्रो हुन्छ ।
रङको प्रभाव व्यक्तिको मन मस्तिष्क एवं अन्तर चेतनामा पर्छ । वास्तुशास्त्रमा रङको विशिष्ट भूमिका रहेको पाइन्छ । रङले हाम्रो वातावरण विचार आचरण तथा स्वास्थ्यलाई प्रभावित गर्छ । सधैँ हामी रङको वरपर एवं रङले घेरिएर रहेका हुन्छौँ । कुनै रङ हामीलाई राम्रो लाग्छ भने कुनै रङ अप्रशन्न र नराम्रो लाग्ने खालका हुन्छन् । कुनै–कुनै वास्तुशास्त्रको के मान्यता रहेको छ भने कालो रङको अधिक प्रयोगले राहु ग्रहको दुष्प्रभाव बढ्छ, जसले गर्दा मनमा चिन्ता, भय, व्याकुलता बढ्ने हुन्छ । सेतो रङको अधिक प्रयोगले मनुष्यलाई महत्वाकांक्षी बनाएर गृहस्थ सुखमा कमी ल्याइदिन्छ । कुनै कुनै अवस्थामा गुरु तथा शुक्रका कुण्डलीमा परस्पर भएको खण्डमा पहेँलो र सेतो रङको अधिक प्रयोगले मानसिक सन्ताप दिने हुन्छ । सूर्यको प्रकाशमा सात रङ हुन्छन् जो वस्तु सूर्यको जुन रङसँग परावर्तन गर्छ, त्यो वस्तुमा उसै रङको प्रभाव पर्छ । प्रकाश परावर्तनले तरङको रुप धारण गरी हाम्रो आँखाको दृष्टि स्नायुमा प्रभावित गर्छ । हाम्रो आँखाले ग्रहण गरेको रङले मनमस्तिष्कमा तरंगित हुँदै हर्ष र विषादको मनस्थिति पैदा गर्छ ।
केही वास्तु अनुसन्धान कर्ताले के स्वीकार गरिसकेका छन् भने गीत–संगीतको स्वर लहरी जुन प्रकारले कानबाट प्रवेश गरी मनमा सुख–दुःखको भावना उत्पन्न गर्छ त्यसै प्रकार नेत्र मार्गबाट विभिन्न रङ प्रवेश गरी हाम्रो मनमा हर्ष वा विष्मातको भाव प्रकट हुन्छ । हामी वास्तुशास्त्रअनुसार ग्रह अनुकूल रङको पहिचान गरी त्यस रङको बीचमा जीवन चलाउन सिक्यौं भने मानसिक क्लेश, सन्ताप एवं उद्विग्नताबाट सहजै मुक्ति पाउन सम्भव हुन्छ ।
रङको जानकारी :
रातो रङ – रातो रङमा राम्रो नराम्रो दुवै प्रभाव हुन्छ । रातो रङ अग्निको प्रतीक मानिन्छ । यो रङको प्रभावले भाग्य उन्नति, प्रसिद्धि प्राप्त गर्नुका साथै अन्य उन्नति र कार्य क्षमतामा समेत वृदि गर्ने गर्छ ।
पहेलो रङ – पहेँलो रङले भगवान् सूर्यलाई प्रतिनिधित्व गर्छ त्यसैले पृथ्वीमा रहेका प्राणी एवं वनस्पतिहरुलाई बाँच्नका निमित्त सकारात्मक ऊर्जा र पोषण तत्व प्रदान गर्छ ।
हरियो रङ – हरियो रङले वृक्ष एवं वनस्पतिको प्रतिनिधित्व गर्छ यसले वातावरणीय स्वास्थ्य र नेत्रदृश्य शक्तिलाई आनन्दमय सुख र शान्त बनाउने गर्छ ।
कालो रङ – कालो रङले अशान्ति र रोग व्याधिको प्रतिनिधित्व गर्छ । घरमा कालो रङको अधिक प्रयोग गरेमा चिन्ता र निराशा बढाउनुको साथै कार्य दक्षतामा कमजोर बनाउने गर्छ ।
सेतो रङ – सेतो रङ सफा एवं शुद्धताको प्रतीक मानिन्छ । यसलाई शोक पर्दाखेरी प्रयोग गरिने हुनाले कतिवय व्यक्तिले यसलाई त्यति रुचि दिँदैनन् । वास्तुशास्त्रीय रङसम्बन्धी विषयमा वैज्ञानिहरुले के प्रमाणित गरिसकेका छन् भने सामाजिक समारोह एवं जन्मदिनको पार्टीहरुमा विभिन्न प्रकारका रङलाई विशिष्ट संयोजन गरी आएका आफ्ना सबै अतिथिलाई भरपुर सन्तोष, आनन्द र प्रशन्नता प्रदान गरेको देखिन्छ । शुभ रङको उपयोगले व्यक्तिलाई निखारेर सुख एवं सफलता वृद्धि गर्छ । केही विद्वान्हरु शक्ति, प्रतिभा तथा आफ्नो भाग्य बल बढाउन शुभ ग्रह र ग्रहसँग सम्बन्धित रङको उपयोग गर्छन् ।
प्रकाशित: २९ जेष्ठ २०७५ ०९:४८ मंगलबार