७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

परिवेश, अभिनय र संवादको सम्मोहन

जति नै हतार गरे पनि म्युनिख एयरपोर्टबाट निस्केर होटलमा पुग्दा साढे ३ बज्यो । होटलको काउन्टरमा चेक इन गर्नासाथ त्यहाँको कर्मचारीले भन्यो, ‘मिस अप्रिलियाले तिमीलाई फोन गरेकी थिइन् । एकछिन पर्ख, म उनलाई खबर गर्छु ।’उसले फोनमा केही कुरा गर्यो, जर्मन भाषामा र फोन राखेर भन्यो, ‘उनका श्रीमान् २० मिनेटभित्र तिमीलाई लिन आइपुग्छन् । चाँडो कोठामा जाऊ र तयार होऊ।’

लामो ट्रान्जिटबाट आइपुगेको भए पनि मसँग फ्रेस हुने पर्याप्त समय थिएन । ब्रस गरेँ, दारी काटेँ, हातमुख धोएँ र कपडा बदलेँ । दौडिँदै तल लबीमा झरेँ । नभन्दै एकजना लामो कपाल भएका, सुटमाथि फेरि ओभरकोट लगाएका अधबैँसे अग्ला जर्मन उभिइरहेका थिए लबीमा । मेरो मनमा प्रोफेसर अप्रिलियाका श्रीमान् पनि प्रोफेसर होलान् भन्ने थियो । लबीमा उनीबाहेक अरू कोही थिएन । म सोभैm उनीतिर गएँ, ‘आर यु मिस्टर जाङ्क ?’उनी खुसी भए, हात मिलाए र भने, ‘जाऔँ, ढिला हुन लाग्यो । ठीक समयमा पुगिएन भने गेट बन्द हुन्छ । हामीले फेरि ब्रेक समयसम्म कुर्नुेपर्ने हुन्छ भित्र जान ।’

जेरार्ड जाङ्कले कुदाउन मिल्नेसम्म छिटो कुदाए कार । बाटोभरि, बाटोका छेउछाउका खाली ठाउँमा, पेटीमा वा स–साना पार्कमा समेत हिउँ थियो जताततै । त्यसैले कति ठाउँमा त गति सीमित नगरी सुखै थिएन । म हिउँको लोभी । तर, अहिले हिउँतिर एकछिन मन अड्याउनेसम्म फुर्सद थिएन । ओपेरा हाउसको ढोका बन्द हुनुअगावै पुग्ने निश्चयमा थिए जेरार्ड ।गाडीभित्र झांगिँदै गएको मौनता मलाई मनपरेन । ‘तपाईं पनि विश्वविद्यालयमै काम गर्नुहुन्छ हो ?’ हतारिइरहेका जेरार्डलाई सोधेँ ।‘होइन, म त नेसनल थिएटर म्युनिख (ओपेरा थिएटर) मै काम गर्छु । म संगीतकार हुँ,’ उनले भने, ‘अप्रिलियाले तपाईंका बारेमा कुरा गरेपछि म तपाईंलाई भेट्न कति उत्सुक थिएँ । तपार्इं अब हाम्रो पहिलो नेपाली साथी हो ।’

मैले विनम्रतापूर्वक धन्यवाद दिएँ । वास्तवमा म पनि उहाँहरूसँग भेट्न त्यत्तिकै लालायित हुँ, किनभने अप्रिलिया साहित्यकी प्राध्यापक मात्र होइनन्, आजकी जर्मन साहित्यकी एक प्रतिभाशाली एवं प्रतिष्ठित कवि पनि हुन् ।‘यो नेसनल थिएटर युरोपकै ठूलोमध्येको एक हो । यहाँ १६ सय जनाले काम गर्छन्,’ उनले भने ।‘तपाईं कहिलेदेखि यस ओपेरामा काम गर्नुहुन्छ ?’

राति निकै अबेला सकियो ओपेरा । बीचमा अप्रिलियाले मलाई थकाइ लागेको भए जेरार्डले होटल पुर्याइदिन्छन् भनेकी थिइन् । तर, मलाई त्यस परिवेश, अभिनय र संवादको सम्मोहनले थाकेको अनुभव हुनै दिएन, आँखालाई भारी हुनै दिएन ।

‘नौ वर्ष भयो । तर, यहाँ काम गर्न पाउनु साँच्चिकै भाग्यको कुरा हो,’ उनले फेरि भने ।हाम्रा प्रज्ञा–प्रतिष्ठानका कर्मचारीले पनि यसै गरी गर्व गर्ने दिन कहिले आउला ? एउटा सानो तर महत्वपूर्ण प्रश्न समुद्रमा छाल जसरी नै उठ्यो मेरो मनमा ।यति कुरा गरिसक्दा हामी ओपेरा हाउसको अन्डरग्राउन्ड पार्किङमा पुगिसकेका थियौँ । हतारहतार गाडी पार्क गरेर जेरार्डले मलाई एउटा लिफ्टतिर लिएर गए । हामी दुई तलामाथि उक्लियौँ । त्यसपछि उनले मलाई एउटा कोठामा लिएर गए, जहाँ त्यस ओपेरा हाउसमा काम गर्ने कर्मचारीको व्यक्तिगत लकर रहेछ ।

मैले आफ्नो ज्याकेट त्यहाँ फुकालेर ह्याङ्गर झुन्ड्याएँ र साथमा बोकेको हातेझोला त्यही लकरमा राखेँ । त्यसपछि हामी पटांगिनीजस्तो विशाल कोठामा पुग्यौँ । मधुरो बत्तीको उज्यालोमा त्यहाँ अनेकौँ किसिमका सामग्री देखेँ, सानो रथ समेत राखिएको थियो । विभिन्न किसिमका रंगीन बत्तीहरू पनि थिए । ‘यो पोस्टस्टेज कोठा हो । यहाँ मञ्चका लागि आवश्यक तयारी सबै गरिन्छ,’ जेरार्डले भने । त्यो मञ्चपछाडिको भाग हाम्रो देशमा त सिंगै प्रेक्षालयभन्दा पनि ठूलो थियो । मैले चारैतिर फर्केर हेरेँ त्यसलाई ।‘छिटो गरौँ । फेरि बाहिरै बस्नुपर्यो भने बर्बाद हुन्छ,’ उनले भने ।

म उनकै रफ्तार समातेर उनको पछिपछि लागेँ । उनले कहिले भर्याङ ओराले र कहिले अर्को भर्याङ उकाले । मैले कुनै हिसाब राखिनँ । अन्तिममा एउटा ठूलो कालो ढोकाको सामुन्ने आइपुगेपछि उनले भने, ‘हामी आइपुग्यौँ ।’ उनले बिस्तारै ढोकालाई ठेले र मलाई भित्र जान भने । मेरो पछिपछि उनी पनि भित्र पसे ।ढोकाबाट भित्र पस्नेबित्तिकै विशाल प्रेक्षालयभित्र पुगिने रहेछ । ठीक अगाडि विशाल स्टेज थियो । ठूलो रातो पर्दा स्टेजको अगाडि झुन्डिएको थियो । मधुरो बत्तीको प्रकाश प्रेक्षालयभित्र छरिएको जसरी नै कर्णप्रिय धुनको मधुरो आवाज पनि प्रेक्षालयभरि छरिएको थियो।

‘तपाईंलाई स्वागत छ, मिस्टर उप्रेती,’ एउटा कर्णप्रिय महिला आवाजले मलाई तान्यो । मेरो ठीक अघिल्तिर डाक्टर अप्रिलिया जाङ्क उभिएर मुस्कुराइरहेकी थिइन् । मैले उनलाई चिनिहालेँ । मैले दुवै हात जोडेर नमस्कार गरेँ र त्यसपछि उनीसँग हात मिलाएँ । हाम्रो सिट त्यही ढोकाको नजिकै रहेछ । हामी बस्यौँ । नेपालबाट म म्युनिख आउँदै छु भनेर मैले भन्नेबित्तिकै उनले मलाई म्युनिख आएकै साँझ ओपेरा देखाउँछु भनेकी थिइन्।

पर्दा खुल्यो । स्टेजभित्र मानिसहरू सलबलाउन थाले । कोही महाराज, महारानीजस्ता त कोही जोकरजस्ता पनि थिए । सैनिकजस्ता पनि थिए । उनीहरूले गीत गाए, अभिनय गरे, विज्ञापन पनि गरे । वास्तवमा यो ओपेरा सुरु हुनुअघिको प्रदर्शनी रहेछ, मानिसहरूलाई दिक्क नलागोस् भनेर मनोरञ्जन दिनका लागि । यो पक्ष मेरा लागि सर्वथा नयाँ थियो ।अप्रिलियाले मेरो हालखबर सोधिन् । यात्रामा कठिनाइ भयो कि भन्ने जिज्ञासा राखिन् ।

अप्रिलिया र जेरार्डसँगको यो पहिलो भेट थियो, तर उनीहरू कति हार्दिक रहेछन् भने यो वर्षौं पुरानो मित्रताजस्तो भानमा परिरहेँ । एउटा कवि अर्को कवि र संगीतकारसँग थिएँ, भूगोल फरक भएर के भयो ? भाषा फरक भएर के भयो ? मानवीय अनुभूति, हार्दिकता र प्रेमको न्यानो उस्तै थियो । मैले कुनै पनि किसिमको औपचारिकताका निर्वाह गरिनँ ।‘सुरु भइसकेको छैन । जाआेँ एकछिन बाहिर,’ अप्रिलियाले भनिन् । हामी बाहिर निस्कियौँ ।

करिडोरमा क्याफे थियो, पुस्तक पसल थियो, टिकट काउन्टर थियो । यी सबैसँग छलिँदै हामी एक तलामाथि गयौँ । बाफ रे ! कति ठूलो पटांगिनी रहेछ । एकदम सुन्दर कलात्मक, अनेकौँ कलाकृति कुँदिएका र ज्यादै सफा ठाउँ थियो । ‘यो ओपेरा सन् १८१८ अक्टुबरदेखि सञ्चालनमा आएको हो । सञ्चालनको केही वर्षमै आगो लागेर ध्वस्त भएको यस थियटरलाई पुनर्निर्माण गरिएको थियो । तर, दोस्रो विश्वयुद्धमा ध्वस्त भएपछि फेरि पुनर्निर्माण गरिएको हो । यस थियटरको कथामा उतारचढाव धेरै छ,’ अप्रिलियाले भनिन्।

‘सुरुमा पनि यो भवन यति नै सुन्दर र विशाल थियो त ?’ मैले विस्फारित आँखाले भवनको भव्यता नियाल्दै सोधेँ ।
‘हो, ठ्याक्कै यस्तै थियो । यसको सुरुको स्वरूप र कलामा कुनै परिवर्तन गरिएको छैन,’ जेरार्डले भने ।म जर्मनहरूको सुदूर भविष्यसम्मको सोच देखेर अचम्भित भइरहेको र जर्मनहरूको कलाप्रतिको सम्मानको भावनालाई अनुभूत गरिरहेका बेला पनि दुई वर्षअगाडिको भूकम्पले भत्किएको धरहरा, रानीपोखरी र काष्ठमण्डपको बिजोग सम्झिरहेको थिएँ । यसरी तुलना गरेर नहेरूँ भनेर जति प्रयत्न गर्दा पनि स्वाभाविक रूपले भइहाल्दो रहेछ । मन खिस्रिक्क पर्यो, तर यसको आभाससम्म त्यहाँ कसैले पाएनन्।

हामीले फोटाहरू खिच्यौँ । भोलि, पर्सिको सम्झना यिनै फोटाहरू हुन् । हामी प्रेक्षालयतिरै फर्कियौँ ।मैले मेरा अङ्ग्रेजीमा अनुवाद भएका केही किताब अप्रिलियालाई उपहार दिएँ । विश्वविद्यालयमा अनुवाद साहित्य पढाउने अप्रिलिया ज्यादै खुसी भइन् । जेरार्डले उनले सङ्गीत भरेका दुईवटा सिडीहरू मलाई उपहार दिए ।मैले आँखालाई माथितिर उचालेर हेरेँ । यो प्रेक्षालय त निकै धेरै तलाको पो रहेछ । हरेक तलामा दायाँबायाँ दुवैतिर बार्दली निकालिएको र तिनमा दर्शकहरू भरिभराउ थिए । पछाडिपट्टि पनि दर्शक बस्ने ठाउँ, हरेक तलामा थियो । ध्वनि र प्रकाशको संयोजन त्यस्तै उच्चस्तरको थियो।

केही उद्घोषणहरू भए, त्यसपछि पर्दा खुल्यो । पर्दाभन्दा माथिल्लो बीचको भागमा स्टेजमा बोलिने वाक्यको अङ्ग्रेजी अनुवाद देखाइने व्यवस्था रहेछ । यसले मलाई निकै सजिलो भयो ।‘छाया र खोलाले मध्य दिनको घामको तेजलाई कम गर्न सक्छ, तर प्रेमको आगोलाई निभाउन सक्दैन,’ प्रेम र वियोगको भावनाले भरिएको यो इटालियन ओपरा यही वाक्यबाट सुरु भयो ।

मलाई यो वाक्यले ग्वाम्लांग अँगालो हाल्यो । मैले न्यानो अनुभव गरेँ । ओपेरा नसकिउन्जेल कहिले स्टेजमा कलाकारको कलाकारिता र कहिले स्टेजमाथि अनुवाद गरेर देखाइएका संवादमा आँखा पुगिरहे । हरेक शब्द, वाक्य वा वाक्यांश कति शक्ति र अनुभूतिले भरिएका थिए भने ती कुनै पनि अनावश्यक वा बढ्ता लाग्दै लागेनन् । अभिनयमा कतै नाटकीयता पाइँदै पाइएन । रङ र ध्वनिको संयोजन कति उच्चस्तरको थियो भने तिनले हाउभाउ र वाक्यले नभनेका अनेकाँै कुरा दर्शकलाई भनिरहन्थे । हजारौँ, लाखौँजनामा छानिएका कलाकार होलान् यी । जेरार्ड नै भन्छन्, ‘यहाँ जागिर पाउनु सानो भाग्यले पुग्दैन।’

राति निकै अबेला सकियो ओपेरा । बीचमा अप्रिलियाले मलाई थकाइ लागेको भए जेरार्डले होटल पु¥याइदिन्छन् भनेकी थिइन् । तर, मलाई त्यस परिवेश, अभिनय र संवादको सम्मोहनले थाकेको अनुभव हुनै दिएन, आँखालाई भारी हुनै दिएन । यहाँबाट उठेर बाहिर निस्किएपछि फेरि जीवनको मोहलाई यति नजिकबाट यति भव्य थिएटरमा बसेर कहिले कहाँ अनुभव गर्नु ?

कलाकारले अन्तिम वाक्य नबोलुन्जेलसम्म र फेरि नखुल्ने गरी पर्दा नझरुन्जेलसम्म म उत्तिकै उत्सुकता र भावनाले भरिएर थिएटरमा बसिरहेँ । भोलि बिहान साढे ८ बजे नै जेसिके तथा डेब्रिएन्टका मानिस मलाई लिन होटलमा आइपुग्छन् भन्ने कुराले समेत मलाई उठाउन सकेन । आजको जीवन आजै पूरापूर बाँच्छु, भोलि जे हुन्छ भोलि नै भोगौँला– मनमनै सोचेँ।

प्रकाशित: २६ जेष्ठ २०७५ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App