१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

अतिक्रमणले साँघुरियो कर्मनसा

ललितपुर हरिसिद्धि–सिलौटे हुँदै बग्ने खोलाको बहाव क्षेत्र साँघुरिँदै गएको छ । स्थानीय र जग्गा व्यवसायीले पछिल्लो समय खोलाको बहाव क्षेत्र मिचेर प्लटिङ र पर्खाल उठाउन थालेसँगै खोलाको क्षेत्रफल साँघुरिएको हो।

हरिसिद्धिका स्थानीयवासीका अनुसार १० वर्ष अघिसम्म खोलाको बहाव क्षेत्र दुई सय फिट थियो । अहिले खोला किनारमा पर्खाल उठाएर २० फिटमा झारिएको छ । स्थानीय विकास महर्जनले खोलाको बहाव क्षेत्र मिचेर बनेका युरो र सिलौटे हाउजिङले अन्य ठाउँमा पनि खोलाको जग्गा हडप्न थालेको बताए । ‘सरकारी निकायले ध्यान नदिँदा बर्सेनि खोला क्षेत्रमा घर बनाउने र प्लटिङ गर्नेको संख्या बढेको छ,’ उनले भने, ‘यो खोला हरिसिद्धिवासीको जीवनसँग जोडिएको छ । यसलाई जोगाउनुपर्छ ।’ जिल्ला बाहिरबाट आई खोला छेउमा जग्गा किनी खोलाको क्षेत्रफल मिचेर घर बनाउन थालेको उनले बताए ।

उनका अनुसार हरिसिद्धि सिलौटेस्थित खानेपानीको ट्यांकीले पनि खोलाको जग्गा मिचेको छ । ट्यांकी बनाउँदा खोलाको धार नै परिवर्तन गरिएको छ । हात्तीवनमा रहेको लिटिल एन्जल्स स्कुलले पनि यो खोलाको जग्गा मिचेर आफ्नो निजी भवन बनाएको नक्सामा उल्लेख छ । पुरानो नक्साअनुसार यसको चौडाइ दुई सय फिट छ । तर, अहिले नक्साविपरीत खोला क्षेत्रमा घर बनाउने, जग्गा प्लटिङ गर्ने र व्यापारिक हाउजिङ बनाउने क्रम बढेको छ । यो खोला सानागाउँ, टिकाथली, इमाडोल हुँदै बग्ने गोदावरी खोलामा मिसिन्छ । हात्तीवनदेखि इमाडोलसम्म नै यो खोलाको बहाव क्षेत्र साँघुरो पारिएको छ।

करिडोर खोल्न सबैभन्दा कठिन विषय नै जग्गा अधिग्रहण बन्ने देखिएको छ,’ वडाध्यक्ष मिश्रले भने, ‘स्थानीयले मिचेको जग्गा हामीले जसरी पनि फिर्ता ल्याएर खोलाको बहाव क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनेछौँ ।’

ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले यस विषयमा चासो दिएको देखिँदैन । सम्बन्धित निकायले चासो नदिँदा स्थानीय र जग्गा दलालीले नै दशकयता खोलाको जग्गा अतिक्रमण गर्दै आएका हुन् । यो क्षेत्रमा खेतीयोग्य जग्गा मासेर पनि प्लटिङ हुने क्रम बढेको छ । प्लटिङ हुन थालेसँगै हरिसिद्धि सिलौटेस्थित कर्मनसा खोला आसपासको करिब दुई सय रोपनी उत्पादनमुखी खेतबारी पनि टुक्रे जग्गामा परिणत भएको छ । यसले यहाँको जग्गाको मूल्य पनि बढाएको छ ।

पहिले–पहिले यो क्षेत्रमा धेरै कृषि उत्पादन हुने सिलौटेका स्थानीय महेशराज महर्जन बताउँछन् । उनले इँटाभट्टा र प्लटिङले पछिल्लो समय खेतीयोग्य उर्वर माटो रुखो र कडा बनाएको समेत बताए । ‘केही व्यवसायीका कारण हामीलाई अप्ठेरो परेको छ,’ उनले भने, ‘सबैले भट्टा चलाएपछि जग्गाको साइज पनि बिग्रिएको छ।’

ललितपुर महानगरपालिका– १५ का वडाध्यक्ष सुदर्शन मिश्रले आफूहरु जनप्रतिनिधिका रुपमा आएपछि त्यसतर्फ निगरानी बढाएको बताए । यस क्षेत्रबाट बालकुमारीसम्म जोडिने करिडोर खोल्ने योजना अघि बढेकाले खोला आसपासका घर भत्काइने उनको भनाइ छ । ‘यहाँ धेरै पहिलेदेखि मनपरी रुपमा घर बनाएर बस्दै आएका पनि छन्,’ उनले भने, ‘करिडोरको काम सुरु भएसँगै ती सबै हटाउँछौँ ।’

उनका अनुसार हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुलले खोला मिचेका कारण उक्त भवन भत्काउने सहमति भइसकेको छ। करिडोरको काम तीन महिनापछि सुरु हुने उनको भनाइ छ । ‘करिडोर खोल्न सबैभन्दा कठिन विषय नै जग्गा अधिग्रहण बन्ने देखिएको छ,’ उनले थपे, ‘स्थानीयले मिचेको जग्गा हामीले जसरी पनि फिर्ता ल्याएर खोलाको बहाव क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनेछौँ ।’

प्रकाशित: २५ जेष्ठ २०७५ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App