ऊ पूर्वपट्टि फर्कियो । त्यसपछि उसले आफ्नो सेतो कुर्ताको गोजीबाट कालो फराकिलो चौकुने रुमाल झिक्यो र भुइँमा ओछ्यायो । अब भने ऊ त्यस चौडा रुमालमाथि दुवै घुँडा धसेर बस्यो, अनि आफ्ना दुवै हत्केला आँखाका ठीक सामुन्ने ल्याएर आँखा चिम्लियो ।‘या अल्लाह हु अकबर... ।’
अल्लाहको स्मृतिमा पवित्र मन्त्रोच्चारण गरिरहँदा उसको मुहार प्रदीप्त देखियो ।यसरी बसेको आधा घन्टापछि मात्र ऊ उठ्यो र सीता सामुन्ने उभियो । सीता ऊसँगै न्युरोडदेखि जामे मस्जिदसम्म आएकी थिइन् र उसको प्रार्थना समयभरि रत्नपार्कको अकासेपुलमाथि मनको पुल बाँधेर उभिरहेकी थिइन् ।‘सरी, मैले तिमीलाई निकैबेर पर्खाएँ,’ जुनेदोले क्षमायाचनाको शैलीमा भन्यो।
‘पर्खनु त मेरो नियति नै बनिसक्यो । यसमा आज अर्को एक पर्खाइ थपियो त कुन नौलो कुरा भयो र ?’सीताको यस्तो उत्तरले जुनेदोको मुहारको चमक घटेर गयो । उसले आफ्नो टाउकोमा बाँधिराखेको कालो रङको रुमाल फुकाल्यो ।‘यति धेरै उदास भइहाल्नुपर्ने गरी मैले त्यस्तो केही पनि भनेकी छैन । ल जाउँ अब कतै गएर कफी पिउँ,’ सीता बेस्कन हाँसिदिई ।जुनेदो पनि एक फाँको हाँस्यो र सहमतिमा टाउको हल्लाउँदै सीतालाई पछ्याउन थाल्यो । निकै लामो अन्तरालमा भेटिएका हुन्, जुनेदो र सीता । दुवै बाल्यकालकालीन मित्र ।
अँ, यसलाई बहुत अच्छा दोस्त भन्दा अन्याय नहोला । यद्यपि अहिले यिनीहरू ती तमाम बाल्यकालीन याद र गतिविधिको हरहिसाब मिलाउन भेटिइरहेका भने थिएनन् । कारण यिनीहरूले यतिन्जेल जीवनका केही आरोह–अवरोह झेलिसकेका थिए । केही सम्बन्ध भत्काएर किनारा लगाइसकेका थिए । केही नयाँ सम्बन्ध जोडिसकेका थिए ।२०५६ सालको एसएलसी जुनेदो र सीताले एउटै विद्यालयबाट दिएका थिए । ती सेक्सन ‘ए’का अब्बल विद्यार्थीमा गनिन्थे । एसएलसी दिएको वर्ष तिनीहरूको कक्षाका सबै विद्यार्थी शैक्षिक भ्रमणका लागि निस्किएका थिए । भ्रमणको गन्तव्य लुम्बिनी, गोर्खा, पाल्पा, तानसेन र पोखरा थियो । स्मरणयोग्य समय थियो त्यो । स्मरणीय हुनुमा एक त तिनीहरू सबै बाल्यकालीन साथीसंगी थिए ।
त्यसमाथि किशोरावस्था उमेरका भएकाले अझ विशेष ऊमंग थियो । विपरीत लिंगीप्रतिको प्रेमाभाव पनि देख्न सकिन्थ्यो, कतिपय केटाकेटीमा । यस्तोमा तिनीहरूको गतिविधिमा निगरानी राख्न विद्यालयले चन्द्रकला मिसलाई जिम्मा दिएको थियो । हल्का सावला रङकी चन्द्रकला मिस अंग्रेजी विषयकी शिक्षक थिइन् । स्वभावतः अलिक कडा लाग्ने चन्द्रकला अविवाहित थिइन् । त्यसैले पनि विद्यालयले यो जिम्मा उनलाई दिएको सोझो आकलन लगाउन सकिन्थ्यो । जति नै छेकबार, बन्देज र नियन्त्रण गर्न खोजे पनि केटाकेटीहरू केही न केही उटपट्याङ गरिहाल्थे ।
तिनीहरू बसमा यात्रा गरुन्जेल अन्ताक्षरी गाउँथे । गन्तव्यमा पुगेपश्चात् नयाँ ठाउँ र मनोरम वातावरणलाई कैद गर्न कोडाक कम्पनीको २४ रिलवाला क्यामेरा झिकेर साथीसंगी एकअर्कालाई अँगालो मार्दै खिचिक्–खिचिक् गर्न भ्याइहाल्थे । जुनेदो र सीताले पनि फेवाताललाई पृष्ठभूमि बनाएर फोटो खिचाए । तर, त्यही फोटो खिचाइ उनीहरूका लागि एउटा नमिठो घाउ बनेर रह्यो । खासमा त्यतिखेर चन्द्रकला मिसको पूर्वाग्रह किन रह्यो, त्यो तिनीहरूले कहिल्यै थाहा पाउन सकेनन् । त्यतिखेर चन्द्रकला मिसले सबै शिक्षक र विद्यार्थीका सामुन्ने ‘फोटो खिच्दा जुनेदोले आफ्नो हात किन सीताको काँधमा अड्याएको ? के तिमीहरूलाई यस्तै उच्शृंखल हुनु भनेर हामीले पढाएका थियौँ ? तिमीहरूबीच के सम्बन्ध छ ?’ भनेर बेइज्जत गरिन्।
सबैको सामुन्ने गरिएको त्यो शाब्दिक हमलाले सीताको अनुहारको तापक्रम ह्वात्तै बढेर गएको थियो । अनुहारको रङ श्वेतबाट रातो, नीलो हुँदै कालोमा परिणत भयो । जुनेदोले पनि साथीहरूका माझ आफूलाई निकै शर्मिन्दा महसुस ग¥यो । त्यो उनीहरूको पवित्र मित्रता माथिको प्रहार थियो । सामान्यतः केटा र केटीसँगै एउटै बेन्चमा बस्दा शंकाका असंख्य बादल मडारिने परिवेशमा उनीहरूको हर्कत असामान्य लाग्नु स्वाभाविकै थियो, यद्यपि चन्द्रकला मिसको त्यो हदको आवेग अस्वाभाविक लाग्यो सबैलाई।
त्यसपछिका दिनमा जुनेदो र सीताको मित्रताको पन्नामा अर्को एउटा हरफ थपिएर गएको थियो । त्यो थियो ‘जुनेदो र सीता प्रेमी–प्रेमिका हुन् ।’ वर्तमान समयमा अति सामान्य लाग्ने यो हरफ त्यतिखेर भयंकर प्रतीत हुन्थ्यो । त्यही भयंकर हरफ हल्लामा परिणत भएर गयो । विद्यालय दिनहरू त सकियो, तर हल्ला सकिएन । हल्ला विद्यालय, घर हुँदै समाजमा छरप्रस्ट भएपश्चात् सीतालाई असह्य भयो । सीतालाई भन्दा अझ बढी उनको घर–परिवारलाई भयो । एउटी जजमानी ब्राह्मण पृष्ठभूमि रहेको युवतीको मुसलमान युवकसँगको प्रेम–प्रसंग चैतको डढेलोजस्तै फैलिँदै गयो । यस्तोमा सीताले एउटा पत्र पठाइन् जुनेदोलाई । जम्माजम्मीमा पत्रको सार थियो, ‘जुनेदो अब आउने तिहारमा मेरो हातबाट भाइटीका लगाउन आउनू ।
हाम्रो सम्बन्धबारे चलेको अफवाहलाई मेटाउने योभन्दा बलियो प्रमाण अरु केही हुनेछैन ।’तर, त्यो वर्ष जुनेदो आएन । अर्को वर्ष पनि आएन । त्यसपछिका वर्षमा पनि आएन । ऊ कहिल्यै आएन । वर्षौंपश्चात् ‘ऊ किन आएन ?’ भन्ने उत्तरका खातिर सीता यतिखेर जुनेदोसँग सिभिल मलको सातौँ तलाको कफी कर्नरमा अमेरिकानोको सर्को तानिरहेकी थिइन् ।‘जुनेदो तिम्रोबारे बताऊ न ।’‘के बताउँ ? सामान्य अति सामान्य जीवनयापन गरिरहेको छु । थोरबहुत पढेँ । सानोतिनो जागिर खाएँ । प्रेम विवाह गरेँ । अहिले दुईवटा केटाकेटी र श्रीमतीसँग जीवनको रफ्तार बढाइराछु । बस् यति नै ।’‘अनि अम्मी ?’
‘अम्मीजान खुदाको प्यारो हुनुभयो । र, यो खबर तिमीलाई पु¥याउनु अघि नै मैले चितवन छाडेँ ।’यतिखेर भने जुनेदोको अनुहारको रङ पीडा, ग्लानि र केही आत्मबोधको समिश्रणले पहेँलो देखियो । आँखा भने निख्खर काला भएर गए । खै के सोचिन् सीताले, उनी जुरुक्क उठिन् । उनले जुनेदोको निख्खर काला आँखाबाट आफ्ना गुलाबी औँलाहरूले कालो पत्र पन्छाइदिई । अब त्यहाँ स्पष्ट रूपमा श्वेतताल देखियो, जसमा नीलो रङको सानो डुंगा देखियो । डुंगामा जुनेदो थियो । जुनेदोको इसारामा सीता त्यसमा चढिन् । जुनेदोले बिस्तारै डुंगा खियायो।
‘अम्मीजान आज अलिकति बढी पैसा दिनुस् है,’ जुनेदोले अम्मीको गर्धनमा आफ्ना दुवै हात राखेर बडो लाडिएर पैसा माग्यो । अम्मीले पनि आफ्नो दुवै हात पछाडि लगेर जुनेदोको अनुहार सुमसुम्याइन् र अनुहार उजिल्याएर सोधिन्, ‘किन चाहियो आज बढ्ता पैसा मेरो नबि (देवदूत) लाई ?’स्कुलमा अहिले धुमधामले नयाँ वर्षको शुभकामना आदान–प्रदान हुँदै छ । मलाई पनि थुप्रै साथीहरूले शुभकामनासहितको पोस्टकार्ड, ग्रिटिङकार्ड दिएका छन् । त्यो शुभकामना त मैले पनि फर्काउनुपर्यो । त्यसैले खाजाको पैसामाथि अरु केही थपिदिनु भए म अम्मीप्रति लाख–लाख शुक्रगुजार हुन्थेँ ।जुनेदोको गुजारिसले अम्मी खुसी त भइन्, तर जुनेदोले भनेजति थपिदिनुपर्ने रकमको जोहो गर्नुपर्ने भएकाले ‘आज हैन मेरो नबिलाई म भोलि २० रुपैयाँ बढी थपिदिनेछु’ भनिन्।
जुनेदो खुसी भयो । भोलि अलि छिटै स्कुलका लागि निस्कने । बाटोमा कमलाको फेन्सी पसलबाट सलमान खान, माधुरी दीक्षित, मेलिना मानन्धर, राजेश हमाल लगायतका हिरो–हिरोइन्का पोस्टकार्ड किन्ने । अँ एउटा अलि महँगो खालको ग्रिटिङकार्ड लिने । तर, त्यो हिरो हिरोइन्वाला होइन, गुलाबको फूल, हिमाल अथवा प्राकृतिक नजरा भरिएको सुन्दर हुनेछ । त्यो विशेष सीताका लागि खरिद गर्ने । यस्तै योजनामा तल्लिन जुनेदोले अम्मीको दाहिने गालामा एकपटक गह्रौँ चुम्बन ग¥यो, अनि स्कुलका लागि रवाना भयो।
जुनेदो आँखाबाट ओझेल नपरुन्जेल अम्मी बरन्डामा उभिइरहिन् । जब जुनेदो देखिन छाड्यो, त्यसपछि अम्मी कपडा सिलाउने मेसिनमा काम गर्नका लागि बसिन् । अम्मीलाई आज अलिक बढ्ता कपडाका थान काटेर सिलाउनु छ । केही थान पेटिकोट, केही थान ब्लाउजका कपडा टेबलमा सिनित्त पट्याएर राखिएका छन् । उनले ती पट्याइएका कपडाका थान खोल्न सुरु गरिन् । आज अम्मीको हात अरु बेलाभन्दा छिटो चल्न थालेको छ।
शुक्रबारको दिन थियो । त्यसैले सबेरै अम्मीले जुनेदोलाई उठाइदिइन् ।‘मेरो नबि तिमी पाक (शुद्ध) नभएसम्म अल्लाहले तिम्रो हज सुन्नुहुन्न । आज शुक्रबार हो । त्यसैले आज तिमी नुहाउनुपर्छ । तिमीलाई थाहा छ नि दिउँसो मस्जिदमा प्रार्थनाका लागि पुग्नुपर्छ ।’जुनेदो कुनै आज्ञाकारी विद्यार्थीझैँ जुरुक्क उठ्यो र तौलिया बोकेर नुहाउनका लागि इनारतिर गयो, जहाँ अम्मीले अघि नै ठूलो बाल्टीभरि पानी राखिदिएकी थिइन् । त्यसपछि ऊ स्कुलका लागि तयार भयो । आज अम्मीले जुनेदोको हातमा अघिपछिको भन्दा २० रुपैयाँ बढी पैसा थमाइदिइन् र भनिन्, ‘मेरो नबि नेक इन्सान हुनु । मलाई तिमीमाथि विश्वास छ । किनकि अल्लाहको रहम छ हामीमाथि।’
जुनेदोले आज पनि अघिपछि जस्तै एउटा गह्रौँ चुम्बन अम्मीको दायाँ गालामा बिसायो ।बाटोमा उसले कमलाको फेन्सी पसलबाट एउटा ग्रिटिङकार्ड र केही पोस्टकार्डहरू किन्यो । उसले ग्रिटिङ एकदम सुरक्षितसँग किताबको बीच भागमा घुसा¥यो । पोस्टकार्डहरू भने झोलाको अगाडिको सानो खल्तीमा हाल्यो र अगाडिको चोकमा पुगेर सीतालाई पर्खियो । त्यो त्यही चोक हो, जुन जुनेदो र सीताको घरबाट निस्किएका बाटोहरूको एकआपसमा आएर काटिएर अलप भएका छन्।
सीता ! सीता मिश्र । सीताको बुबा उनीहरू पढ्ने स्कुलकमै मास्टरी गर्थे । पुख्र्यौली घर नुवाकोट । सीताको हजुरबुबा दुई बीस कट्दाको छेकोमा मधेस झरेका थिए । पहाडको अचाक्ली दुःख खेप्न नसकेर तिनी आफ्ना परिवारसहित २०३३ सालतिरै चितवन झरेका थिए । २०४१ मा परलोक भए । त्यतिखेर सीता भर्खरै दुई वर्षकी थिई।
त्यसैले सीताको स्मृतिमा हजुरबुबाको धुमिल चित्र पनि बन्दैन । तर उसलाई यति थाहा थियो कि हजुरबुबा जजमानी काम पनि गर्नुहुन्थ्यो । त्यसैले सीतालाई गाउँलेले आज पनि पण्डित नारायणकी नातिनी भनेर चिन्दथे ।जुनेदोकी आमाछोरा भने कपिलवस्तुबाट चितवन आएर डेरामा बसेका थिए । जुनेदोको अब्बाबारे खासै कसैलाई थाहा छैन । जुनेदो स्वयंलाई पनि अब्बाबारे थाहा थिएन । आमा सिलाइमा पोख्त थिइन् । त्यसैबाट आमाछोराको गुजारा चल्दथ्यो।
सीता र जुनेदो कक्षा ५ देखि नै सँगै पढ्न थालेका हुन् । कक्षा १० सम्म पुग्दा तिनीहरूको मित्रताले बलियो सामीप्यता प्राप्त गरेको थियो । यद्यपि त्यो मित्रतामा वासना, मोहको एक अंश पनि देखिएको थिएन । त्यसैले हुनुपर्छ, ती एकअर्कासँग बढी समय व्यतीत गर्थे । जुनेदोले सीताका लागि छनोट गर्ने उपहार अरुका लागि भन्दा अलग हुन्थ्यो । एउटा अनौठो सम्बन्ध स्थापित थियो, तिनीहरूको बीचमा।
२०५७ सालको भाइटीकाको दिन थियो । सीता टीकाका सारा सामग्री तयार पारेर जुनेदोलाई पर्खिरही । उनमा आज जुनेदोलाई भाइटीका लगाइदिएर आफूहरूबीच त्यस्तो कुनै खराब सम्बन्ध नरहेको पुष्टि गर्ने व्यग्रता थियो । आफ्ना भाइहरूलाई साइतमै टीका लगाउन बुवाको आदेश आएपछि त्यसलाई शिरोपर गरी ।
आफू भने अबेलासम्म निराहार रही । जुनेदो साँझसम्मै नआएपछि मनमा अनेक तर्कना लिएर ओछ्यानमा पल्टिई । अनेक तर्कनाहरू सीताको मनमा उथलपुथल हुन आइपुगे ।आज जुनेदो किन आएन ? के ऊ मेरो हातबाट टीका लगाउन चाहँदैन ? कि उसको मजबले छेक्छ ? कि यो समाजले भनेजस्तै ऊ मलाई प्रेम गर्छ ? किन ? किन ?सीताको मथिंगल घुम्न थाल्यो, भाउन्न भएर आयो । किनभने ऊ भोकै थिई । भोकले थिच्दै गएर ऊ निदाई ।
अर्को एक राउन्ड कफी मगाउँ कि ? जुनेदो अझै केहीबेर सीतासँग संवादमा रहन चाहन्थ्यो सायद ।
सीताले स्वीकारोक्तिमा टाउको हल्लाइन् ।‘अँ, अब तिम्रोबारे बताऊ,’ जुनेदोले भन्यो । बिस्तारै सीताको गुलाबी ओठ उघ्रियो ।‘सुनाउन लायक त्यस्तो केही छैन, जुनेदो । डबल मास्टर्स सकेँ । अहिले एन्जियोमा काम गर्छु । सामान्य जीवनयापन गर्दै छु । बस्, कहिलेकाहीँ म आफैँभित्र हराउँछु । हराएको आफैँलाई खोज्दै म धेरैजसो समय दुर्गम जिल्लामाभौँतारिहिँड्छु । जब मजस्तै असन्तुष्ट सीताहरू भेट्छु, अज्ञात पीडा थपिन्छ । म त्यस्ता सीताहरूको घाउमा मलम बन्ने प्रयत्न गर्छु, जो आइमाई हुनुको लघुताभासले थिलथिलो भएका छन् । बस् यत्ति ।’
‘अनि, तिम्रो घर–परिवार ?’‘त्यस दिन तिमी आएनौ । तिमी नआएपछि हाम्रोबारे चलेको हल्लामा यो समाजले आफ्नो स्ट्याम्प ठोकिदियो । मलाई तिम्रो प्रेमिका घोषित गरिदियो । कसैसँग मेरो नाम जोडिनु भनेको सामान्यतः विवाहको लागि म अयोग्य ठहरिनु हो, तत्कालीन समयमा । त्यसैले उमेरमा मेरो विवाह हुन सकेन ।
पछि मेरो जागिर, आम्दानी विवाहका लागि योग्यताको मूल्य बनाएर प्रस्ताव राख्नेहरू आए । तर, त्यतिखेर मलाई विवाह अनिवार्य हो भन्ने लागेन ।अँ, तिमी त मेरा लागि सबथोक गर्न तयार मान्छे । त्यस दिन किन मेरो हातबाट टीका लाउन आएनौ ? कतै तिमी त्यही समाजले किटान गरिदिएको अघोषित प्रेमी त थिएनौ ?’सीता अलिक आक्रोशित जस्तो देखिई ।त्यसको ठीकविपरीत जुनेदो नम्र देखियो।
‘त्यस्तो अन्यथा नलिऊ सीता । वास्तवममा मैले यो कुराले यति गम्भीर मोड लियो होला भन्ने सोच्नै सकिनँ । तिम्रो पत्र प्राप्त भएपश्चात् मैले अम्मीजानसँग यसबारे कुरा गरेको थिएँ । अम्मीजानले कसैले पवित्र मनले अनुरोध गरेको कुरा मान्दा खुदा दुःखी हुनुहुन्न । तिमी सीताको हातबाट टीका ग्रहण गर्न सक्छौ, भन्नुभएको थियो । म मानसिक रूपमा लगभग तयार थिएँ । तर, भौतिक रूपमा आउन सकिनँ ।
भाइटीकाको केही दिनअघि नै अम्मीजान बिमारी हुनुभयो । भएको केही पैसा उपचारका क्रममा सकियो । एउटी चेलीले जुन श्रद्धाले माइतीलाई टीका लगाउँछे त्यही श्रद्धासहित माइतीले उपहार, दक्षिणा दिने परम्परा तिमीहरूकोमा छ । मसँग थोरैभन्दा थोरै पैसासम्म थिएन । म कसरी रित्तो हात तिम्रोमा आउन सक्थेँ ? त्यस दिन म तिम्रो घर पुग्ने बाटोमा पुगेर कतिपटक फर्किएँ, त्यो मलाई मात्र थाहा छ । म आफैँसँग लज्जित थिएँ ।’‘बस् त्यति कारणले तिमी त्यस दिन आएनौ ? उफ् ! तिमीलाई थाहा हुनुपर्ने हो, तिम्रो उपस्थिति नै मेरा लागि काफी हुन्थ्यो । फेरि तिमी अर्को अर्को वर्ष पनि आउन सक्थ्यौ,’ विस्फारित नजरले सीता आफू छक्क परेको संकेत दिई ।
‘त्यसपछि अम्मीजान बित्नुभयो ।
अम्मीजानको देहान्तपछि म त्यहाँ बस्न सकिनँ । काठमाडौंमा आफन्तहरू थिए, यतै आएँ । जिन्दगीको अर्को घुम्तीमा आफैँलाई सम्हाल्दासम्हाल्दै तिमीलाई बिर्सें । स–सानो घटनाले पनि जिन्दगीमा ठूलो खाडल बनाउँदो रहेछ । मैले यति जानेँ । तर अबेर भइसकेछ सीता !’यो चिसो मौसममा जुनेदो आफ्नै आँखाबाट पग्लियो । वास्तवमा यसो हुनु अस्वाभाविक थिएन । जुनेदोले कफीकोअन्तिम सर्को तान्यो । उसले अनुभव ग¥यो, त्यो अन्तिम घुटको नुनिलो थियो ।
प्रकाशित: १२ जेष्ठ २०७५ ०१:४३ शनिबार