१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘प्रेम र युद्ध जति लम्बियो उति खतरनाक’

तस्बिर : कृष्पा श्रेष्ठ

आमा लक्ष्मी श्रेष्ठ र बुबा यमनारायण श्रेष्ठकोे जेठो सन्तानको रूपमा २०१४ साल वैशाख ३१ मा भारतको असम (आसाम) मा जन्मिएका हुन्, अविनाश श्रेष्ठ । सानैमा बुबाको निधन भएपछि उनी आमासँगै हुर्किएका हुन् । चर्चित फिल्म लेखकको हैसियत जमाएका श्रेष्ठ आफूलाई घर बनाउनका लागि फिल्म लेखेको बताउँछन् । उनी विभिन्न पत्रिकाको सम्पादक भएसँगै कथाकार पनि हुन् । 

‘कर्मसँगै बर्मा पु-याउँछ’ भन्ने नेपाली उखानलाई व्यवहारमा प्रयोग गर्दै उनका हजुरबुबा बागलुङ छोडेर बर्मा पुगेछन् । पछि उनको परिवार बसाइँ सरेर असम (आसाम) आइपुगेछन् । उनका बुबाले पर्वतको कुश्मामा पनि केही जग्गा–जमिन जोडेछन् । उनका भाइ अझै पनि कुश्मामै बस्छन् । अविनाश श्रेष्ठले प्राथमिक तहसम्म कुश्मामा पढे, पछि भने उनी भारतको पञ्जाव विद्यालयमा पढे । 

‘म त्यतिबेला हरिभक्त कटुवाल बसेको घरमा गएको थिएँ । उहाँ त एउटा हातमा सल्किएको चुरोट लिएर निदाइरहनुभएको रहेछ । सल्किएको चुरोटबाट सिरानी पूरै डढेको रहेछ । उहाँको त कपाल पनि लामो थियो पछाडिको आधी भाग जलेछ म पुगेपछि उहालाई ब्युँझाएँ । र दुर्घटना हुनबाट बचाएँ ।’

साहित्यमा लगाव   

उनलाई सानैबाट साहित्यमा रस पस्यो । उनले कक्षा नौमा पढ्दा नै नाटक लेखेका रहेछन् । त्यसलाई उनले स्कुलमा देखाए । स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा सधैँ भाग लिन्थे । उनले सानैदेखि कविता रचना गर्न थाले । । उनले नाटक पनि रचना गर्थे, उनको पहिलो नाटक ‘मजदुर’ लेखे । जुन नाटकले उनलाई असम (आसाम) भरि प्रख्यात बनायो । 

भारतमा बितेका कलेजका दिन 

१३ वर्षको उमेरमै एचएसएलसी (एसएलसीलाई भारतमा भनिने नाम) उत्तीर्ण गरेका श्रेष्ठ साहित्यमा रुचि हुँदाहुँदै पनि विज्ञान विषय लिएर पढे । उनी भन्छन्, ‘त्यतिबेला करियर बेस भएर पढिन्नथ्यो । जे चलेको छ त्यही पढिन्थ्यो ।’ उनी आइएस्सी पढ्दा पनि नाटक र कविता भने लेखिरहे । उनले साहित्यप्रतिको रुचिलाई निरन्तरता दिइरहेका थिए । कलेजमा विज्ञानको विद्यार्थी भए पनि उनलाई साहित्य सिर्जनामा केहीले कुनै बाधा गरेन । उनले न कलेजको पढाइ नै बिगारे न त साहित्य सिर्जनालाई नै छाडे । उनी दुवैलाई निरन्तरता दिइरहे ।   

आइएमा आर ए विद्यापीठमा अध्ययन गरेका उनी कक्षामा केटा र केटीको संख्या बराबर भएको बताउँछन् । उनले त्यहाँ पनि नाटक ‘यहाँ जिन्दगी यस्तै छ’ प्रदर्शन गरे । त्यसबाट उनले राम्रै चर्चा बटुले । 

कलेजको राजनीति 

त्यतिबेला असम (आसाम) मा राजनीति खुब चल्थ्यो । उनी पनि राजनीतिबाट अलग हुन सकेनन् । भारतमा छँदा उनी कम्युनिस्ट पार्टीसँग नजिक थिए । त्यसै कारण उनी केही दिन हिरासतमा पनि परेका थिए ।  त्यतिबेला इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् । नेपाली भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने माग जोडतोडले उठेको थियो । त्यसैको डेलिगेसनका लागि उनीहरु दिल्ली पुगेछन् । इन्द्रबहादुर राई, कुमार प्रधान, रत्नलाल ब्राह्मण पनि दिल्लीमा पुगेका थिए ।

अविनाशलाई दिल्ली आउनुको कारणबारे सोधिएछ । उनले भाषा आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्रीसमक्ष डेलिगेसनका लागि आएको भनेछन् । त्यतिबेला यति सानो मान्छेले त्यति ठूलो काम गरेको भनेर उनलाई केहीले उडाएछन् । ती कुरा सम्झँदै उनी भन्छन्, ‘उमेर ठूलो कुरा होइन, सबैभन्दा ठूलो कुरा त उसको प्रस्तुति र बुझाइ हो । विषयवस्तु कति बुझ्छ भन्ने कुरा महŒवपूर्ण विषय हो ।’

क्लास बंक गर्दा... 

उनीहरुको ८ जनाको ग्रुप थियो । जसलाई कलेजभरि अक्टोपस भनेर चिनिन्थ्यो । उनीहरुले मन नपर्ने क्लास कहिले पनि पढेनन् । तर, परीक्षा आउने बेला भने मज्जाले पढ्थे । एकदिन उनीहरु क्लास छोडेर  फिल्म हेर्न गएछन् । उनलाई मन पर्ने कलाकार धर्मेन्द्रको फिल्म थियो । केटी साथीलाई पनि साथ लिएर फिल्म हेर्न पुगेछन् । जब इन्टरबेल बज्यो । तब हल उज्यालो भयो । उनीहरुकै पछाडि जुन सरको क्लास बंक गरेका थिए त्यही सर प्रेमिकाको साथ फिल्म हलमा मस्तसँग बसेका थिए । सरले पनि उनीहरुलाई देखे । त्यसपछि सर कालोनिलो हुँदै उनीहरुलाई क्लास बंक गरेको भन्दै झपारेर आधा फिल्म हेर्न नदिई फर्काइदिएछन् । ती दिन सम्झिँदा पनि आजको दिनमा हाँसो थाम्न नसक्ने उनले बताए ।  

नबिर्सने बबी फिल्म 

अविनाश बबी फिल्मभन्दा पनि हलमा हेर्न जाँदा भएको घटना कहिल्यै बिर्सँदैनन् । भएछ के भने उनी र उनकी प्रेमिका भएर फिल्म हेर्न गएछन् । आधासम्म त दुवैजनाले मज्जाले फिल्म हेरेछन् । जब इन्टरबेलको घण्टी बज्यो तब उनीहरुकै साइडपट्टीको पछिल्लो लाइनमा उनकी प्रेमिकाको आमा र उहाँका साथीहरुसहित हुनुहुँदो रहेछ । छोरीलाई श्रेष्ठको साथ देखेपछि भन्नुभएछ । ‘तिमीहरु घर जाओ । यहाँ अरूले देखे भने कुरा काट्न थाल्छन् । घरमा कोही पनि छैनन् । उतै गफ गरेर बस्नु ।’ त्यसपछि मक्ख परेर आफू फर्किएको उनी बताउँछन् । 

हरिभक्त कटुवालसँगको किस्सा

त्यति बेला श्रेष्ठ ब्याचलरमा पढ्थे । साहित्यकार लीलबहादुर क्षेत्रीको घरमा बसेर हरिभक्त कटुवालले विद्यालयको पाठ्यक्रम लेख्दैरहेछन् । त्यसका लागि अविनाशले पनि सहयोग गर्नुपर्ने भएछ । प्रिन्ट नभएको ऊ जमानामा चाहिने जति कपी हातैले सार्नु प-थ्र्याे । उनले पनि एउटै कुरा ८ पटकसम्म सारेको बताए  । 

हरिभक्त कटुवाल रक्सी धेरै खान्थे । उनी भन्छन्, ‘त्यति बेला पनि खाए ।’ भट्टी पसल कछारी भन्ने ठाउँमा थियो । हामी त्यहीँ थियौँ । त्यहाँ रेडियो नेपालबाट उनले लेखेको गीत बज्यो । उनले मैले लेखेको गीत बज्यो भनेर हल्ला गर्न थाले, कसैले पताएन । उल्टो केटाहरुको कुटाइ खाए, यस्तो जँड्याहाको यत्रो फूर्ती भनेर कुट्नु कुटे ।’ त्यसपछि श्रेष्ठलाई भगाएर लीलिबहादुरको घरमा ल्याएछन्। 

अर्काे किस्सा पनि छ कटुवालसँग श्रेष्ठले भने, ‘म त्यतिबेला हरिभक्त कटुवाल बसेको घरमा गएको थिएँ । उहाँ त एउटा हातमा सल्किएको चुरोट लिएर निदाइरहनुभएको रहेछ । सल्किएको चुरोटबाट सिरानी पूरै डढेको रहेछ । उहाँको त कपाल पनि लामो थियो पछाडिको आधी भाग जलेछ म पुगेपछि उहालाई ब्युँझाएँ । र दुर्घटना हुनबाट बचाएँ ।’

जातले गर्दा टुटेको प्रेम

कलेजमा पढ्दा उनी असम (आसाम) मा एक्लै बस्थे । उनी त्यतिबेला नाम चलेका कवि तथा नाटककार थिए । त्यतिबेला उनलाई यति प्रेम पत्र आउँथ्यो कि १०० सम्म त गनेका थिए । त्यसपछाडि भने गन्न छाडिदिए । उनलाई बंगाली, आसामी, पञ्जावी नेपाली केटीले चिठी पठाउँथे । 

तर उनले मन खाने भेटेका थिएनन् । उनी भन्छन्, ‘त्यति बेला पनि म आकर्षणलाई प्रेम ठान्दिनथेँ । अहिले पनि ठान्दिन, प्रेम त मनैबाट आउनुपर्छ, देखावटी होइन ।’

‘म त्यति बेला खुब राम्रो थिएँ, उनी मुस्कुराउँदै भन्छन्, ‘अहिलेको जस्तो कहाँ थिएँ र ? मेरो लुक्स पनि राम्रै थियो । त्यसमाथि सायरी, कविता, नाटक आदि लेख्नेहरु मेरो पछि लाग्नेको लाइन लाग्थ्यो ।’

‘धेरैले मलाई मन पराए पनि मैले भने एकलाई मात्र मन पराएँ,’ उनले भने, ‘त्यो प्रेम नै मेरो पहिलो र अन्तिम रह्यो ।’ केटीकोे नाम भन्न चाहेनन् श्रेष्ठले ।  केटीको आमा गुरुङ र बाबु ठकुरी परेछन् । उनीहरु जसै ठकुरीलाई दिने पक्षमा परे, ७÷८ वर्षको प्रेममा बाधा हाल्ने जात ठूलो कुरा भएछ । उनीहरु ठकुरी बाहेककालाई नदिने उनी परे नेवार । उनले गम्भीर भएर भने, ‘प्रेम र युद्ध जति लम्बियो उति खतरानक हुन्छ ।’ हुन त उनलाई पनि प्रेम भन्ने बित्तिकै बिहे नै हुनुपर्छ भन्ने छैन, प्रेम गर्नेलाई गरिरहन सकिएला । तर ‘जब ऊसँग मेरो बिहे नहुने भयो त्यसपछि भने म साह्रै विरक्तिएँ, उनी भन्छन्, ‘जुन घटनाले मेरो बासस्थानै बदलियो असममा बस्न मन परेन ।’

प्रेम टुटेपछि काठमाडौंको यात्रा 

प्रेममा धोका पाएपछि उनी केही गरेर देखाउने मनसायका साथ काठमाडौं आए । नेपाली साहित्य लिएर मास्टर्समा भर्ना भए । उनलाई होस्टलमा बस्न नेपाल विद्यार्थी संघका तत्कालीन नेता विमलेन्द्र निधि, बालकृष्ण खाँड आदिले सहयोग गरे । आएको एक वर्ष उनी राजनीतिमा पनि लागे । तर पछि भने उनलाई राजनीतिमा लाग्न मन भएन, उनी साहित्य सिर्जनामा  लागे । 

होस्टलमा प्रहरीबाट लखेटिँदा  

अविनाश कान्ति ब्वाइज होस्टलमा बसे । त्यतिबेला अखिलको र  नेविसंंघको झडप भने भइरहन्थ्यो । ‘रमेश तुफान भन्ने उग्र कांग्रेसी थिए उनले भने, ‘एक दिन त उनले ए अखिले भन्दै कराउँदै आए । त्यतिकै निहुँमा हात हालाहालको स्थिति आयो । त्यसपछि भने म पढाइमा एकछत्र भएर लागेँ । ’

त्यतिबेला होस्टलको महिनावारी फि ३० रुपैयाँ थियो भने महिनाभरि २ छाक खाएको ५५ रुपैयाँ थियो । उनीहरु कसैले पनि ३० रुपैयाँ भने तिरेनन् । उनी भन्छन्, ‘त्यति बेला चलनै यस्तै थियो सायद संगठनको प्रभाव थियो कि ।’ 

त्यतिबेला विद्यार्थीहरूबीच झडप हुँदा होस्टलको खाट नै बाहिर ल्याइन्थ्यो र तोडफोड गर्थे । अविनाश भन्छन्, ‘एकदिन त हामी बसिरहेका थियौँ । एक्कासि पुलिस आएर हामीलाई लाठी चार्ज गरी लखेटे । त्यसपछि त म डेरा लिएर बस्न थालेँ ।’

अहिलेका मान्छे भविष्यमुखी

२०४६ सालमा मनोहरा श्रेष्ठसँग बिहे गरेका उनका ३ वटी छोरी छन् । जेठी छोरी डाक्टर हुन् भने माहिली छोरी अस्ट्रेलिया बसेर अध्ययन गर्दैछिन् । कान्छी छोरी ए लेबलमा अध्ययनरत छिन् । 

उनलाई आजभोलिका केटाकेटीमा आफ्नो पालाको भन्दा बढी गम्भीरपना भएको पाउँछन् । उनी भन्छन्, ‘हामी पहिले जे बनिन्छ–बनिन्छ भन्ने हुन्थ्यो,  इच्छा एउटा अर्कै विषय पढिन्थ्यो तर अहिलेका त पूरै करियर ओरिन्टेड छन् ।’ हिजोआजका  बच्चा बढी कन्सियस भएको उनी पाउँछन् । 

प्रकाशित: २५ वैशाख २०७५ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App