६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

स्तनको कस्मेटिक सर्जरी:सौन्दर्यको कडी

बच्चालाई स्तनपान गराउने महत्वपूर्ण अंग हो, महिलाको स्तन । स्तन महिलाको सौन्दर्यको प्रतीक गहनाका रुपमा पनि लिइन्छ । किशोरावस्थामा प्रवेश गरेपछि किशोरीका स्तनको वृद्धि हुन्छ । किशोरावस्थामा पुगेपछि हर्मन बढ्ने भएकाले स्तनको विकास पनि हुने चिकित्सक बताउँछन् ।

कस्मेटिक र प्लास्टिक सर्जरी  
चिकित्सकका अनुसार स्तनको सर्जरी गर्नु भनेकै प्लास्टिक सर्जरी गर्नु हो । स्तनको सर्जरी दुई तरिकाले गरिन्छ । एउटा कस्मेटिक सर्जरी । अर्को हो, रिकन्स्ट्रक्टिभ सर्जरी । सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डाक्टर रविन्द्र शर्मा पौडेलका अनुसार कस्मेटिक र रिकन्स्ट्रक्टिभ सर्जरी प्लास्टिक सर्जरीअन्तर्गत पर्छन् ।

सरकारी अस्पतालमा स्तनमा सिलिकन (इम्प्लान्ट) राखेर कस्मेटिक सर्जरी गर्दा करिब एक लाख पचास हजार लाग्ने बताउँछन्, डाक्टर पीयूष । भारत लगायतका देशबाट सिलिकन ल्याइन्छ । शाक्यका अनुसार प्रायः अमेरिकामा उत्पादित सिलिकनको प्रयोग गरिन्छ । एक जोडी सिलिकनको करिब एक लाख २५ हजार पर्छ ।

स्वस्ति लेजर एन्ड स्किन केयरका कस्मेटिक सर्जन डाक्टर जसवन शाक्यका अनुसार सुन्दर बन्नका लागि गरिने सर्जरी कस्मेटिक सर्जरी हो भने क्यान्सर लगायतका रोग लागेर गरिने सर्जरी रिकन्स्ट्रक्टिभ सर्जरी हो । दुर्घटना, आगोले जलेर, स्तन गुमाएका महिलाका लागि रिकन्स्ट्रक्टिभ सर्जरी गरिन्छ । महिलाको स्तनमा क्यान्सर लागेर काटेर पनि फाल्नुपर्ने हुन सक्छ । डाक्टर रविन्द्रका अनुसार स्तन फालिएपछि स्तनको जस्तै आकार देखाउन स्तनको सर्जरी गरिन्छ । स्तन छ भन्ने भावना (फिलिङ) होस भनेर कृत्रिम स्तन राखिन्छ । जसलाई रिकन्स्ट्रक्टिभ सर्जरी भनिन्छ । रिकन्स्ट्रक्टिभ सर्जरी जीवनलाई सहज बनाउन गरिने सर्जरी भएको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार दुवै किसिमका स्तन सर्जरी सुन्दरताकै लागि गरिने सर्जरी हो । कस्मेटिक सर्जरी र रिकन्स्ट्रक्टिभ सर्जरी प्लास्टिक सर्जनले नै गर्ने डाक्टर जसवन र डाक्टर रविन्द्र बताउँछन् ।

कस्मेटिक सर्जरी दुई तरिकाले गर्न सकिन्छ । स्तनभित्र सिलिकन वा नर्मल स्लाइन राखिन्छ । अप्रेसन गरेर  सर्जरी गरिन्छ । डाक्टर रविन्द्र पनि स्लाइन खुम्चिने सम्भावना हुने बताउँछन् । स्लाइन खुम्चियो भने पुन:सर्जरी गर्नुपर्छ । वीर अस्पतालका प्लास्टिक सर्जन डाक्टर पीयूष दाहाल पनि नर्मल स्लाइन राखेर स्तन बढाउन सकिने बताउँछन् ।

स्तनको तीन किसिमको कस्मेटिक सर्जरी
स्तनको सर्जरी चार किसिमका हुन्छन् ।  डाक्टर शाक्यका अनुसार स्तनको कस्मेटिक सर्जरी तीन किसिमका हुन्छन् । पहिलो, सानो स्तनलाई ठूलो बनाउने । दोस्रो, ठूलो स्तनलाई सानो बनाउने । तेस्रो, झोलिएको स्तनलाई टाइट बनाउने ।
त्यस्तै चौथो हो, रिकन्स्ट्रक्टिभ सर्जरी । क्यान्सर भएर स्तन काटेर फाल्नुपरेको खण्डमा शरीरको अन्य भागको मासु ल्याएर पनि स्तन बनाउन सकिने डाक्टर रविन्द्र बताउँछन् । जसलाई रिकन्स्ट्रक्टिभ सर्जरी भनिन्छ । ब्रेस्ट रिकन्स्ट्रक्सन पनि भनिन्छ । पेट वा ढाडको छाला ल्याएर आर्टिफिसियल स्तन बनाइने डाक्टर शाक्य बताउँछन् ।
यसरी हेर्दा, तीन किसिमका स्तनको कस्मेटिक सर्जरी हुन्छ । भने सामान्यत एक किसिमको रिकन्स्ट्रक्टिभ सर्जरी हुन्छ ।

सानो र टाइट गर्ने अप्रेसनको तरिका
स्तनको सर्जरी गर्दा दुई किसिमका अप्रेसन हुन्छन्, कस्मेटिक र  रिकन्स्ट्रक्टिभ सर्जरी । वीर अस्पतालका प्लास्टिक सर्जन डाक्टर पीयूष दाहाल ठूलो स्तनलाई सानो बनाउँदा स्तनको बोसो निकालिन्छ भने टाइट गर्दा बोसो निकालिँदैन, फरक त्यत्ति मात्रै हो । अप्रेसन प्रक्रिया उस्तै हो । एउटा स्तनबाट एक किलोभन्दा धेरै बोसो झिकिएको अनुभव सुनाउँछन् डाक्टर जसवन शाक्य ।

स्तन टाइट गर्दा र स्तन ठूलोलाई सानो गर्दा पनि अप्रेसन नै गरिन्छ ।झोलिएको स्तन टाइट गर्दा भने बोसो तथा मासु केही पनि झिक्नु पर्दैन अप्रेसनको एउटा टेक्निकले टाइट गरिन्छ । अपे्रसनबाहेक कुनै पनि टेक्निकबाट स्तन सानो बनाउने, टाइट गर्ने र ठूलो पार्न नसकिने डाक्टर रविन्द्र प्रस्ट पार्छन् ।

स्तनको सर्जरीका विधि तथा तरिका
सानो स्तनलाई ठूलो बनाउने एउटै मात्रै भरपर्दो तरिका छ भन्छन् डाक्टर शाक्य । शाक्यका अनुसार स्तनभित्र सिलिकन (इम्प्लान्ट) राखेर स्तन ठूलो बनाउने भरपर्दो तरिका हो । सिलिकन एक किसिमको नरम रबर हो । यो स्तन जस्तै आकारको देखिन्छ ।  सिलिकन विभिन्न साइजका हुन्छन् ।

इच्छा अनुसारका सिलिकनका साइज स्तनमा राख्न सकिन्छ । शाक्यका अनुसार नेपालमा सामान्यतः दुई सयदेखि तीन सय ५० मिलिलिटरसम्मको ईम्प्लान्ट महिलाको स्तनमा राखिन्छ ।

डाक्टर पीयूष दाहालका अनुसार शरीरको बोसो मेसिनले झिकेर पनि स्तनमा राखिन्छ र स्तन ठूलो बनाइन्छ । शरीरको बोसो झिक्ने मेसिनलाई लाइपोसक्सन भनिन्छ । स्तनको छालाभित्र शरीरको कुनै भागको मासु राखेर पनि स्तन ठूलो पारिन्छ ।

बोसो राखेर स्तन ठूलो बनाउने विधिलाई फ्याट इन्जेक्सन विधि पनि भनिन्छ । आफ्नै शरीरको बोसो झिकेर स्तनमा राखेर स्तन ठूलो बनाउने विधि हो, यो ।  तर यो विधि राम्रो नभएको डाक्टर शाक्य बताउँछन् । शाक्यका अनुसार एउटा स्तनका लागि तीन सय ५० मिलिलिटरको सिलिकन (इम्प्लान्ट) राखियो भने त्यतिकै मात्रामा बोसो पनि चाहिन्छ । दुवै स्तनका लागि सात सय मिलिलिटर बोसो चाहिन सक्छ । सात सय मिलिलिटर बोसो स्तनमा हाल्नका लागि कम्तीमा डेढ लिटर बोसो झिक्नु पर्ने हुन्छ । आवश्यक मात्रामा शरीरमा बोसो नहुन सक्छ ।

सिलिकनलाई बेस्ट इम्प्लान्ट पनि भनिन्छ । डाक्टर रविन्द्र भन्छन्, ‘रिकन्स्ट्रक्टिभ सर्जरी भनेको महिलाको गुमेको स्तनलाई मेरो पनि स्तन छ भन्ने अनुभव होस् भनेर गरिने सर्जरी हो ।’  डाक्टर रविन्द्रका अनुसार कस्मेटिक सर्जरी सुन्दरताका लगि गरिने सर्जरी हो । छालालाई तन्काएर पनि झोल्लिएको स्तनलाई टाइट पार्ने चिकित्सक बताउँछन् । नमिलेको स्तनलाई मिलाउन पनि स्तन सर्जरी गरिन्छ । चाउरी परेकोलाई तन्काएर पनि स्तन टाइट पारिन्छ । नेपालमै कस्मेटिक सर्जरी गर्न सकिन्छ ।

भरपर्दो तरिका तथा विधि
बोसो राखेर स्तन ठूलो बनाउने विधिको रिजल्ट पनि त्यति राम्रो नभएको शाक्य बताउँछन् । त्यसैले यो विधि त्यति प्रयोग नगरिएको उनको भनाइ छ । बोसो राख्दा शरीरमा बिलाउने, इन्फेक्सन हुनसक्ने, शरीरले बोसो सोसेर फेरि स्तन सानो हुँदै जानेजस्ता समस्या हुने भएकाले बोसो राख्ने विधि व्यावहारिक नभएको शाक्य बताउँछन् ।

स्लाइनभन्दा पनि सिलिकन नै राम्रो भएको चिकित्सक बताउँछन् । डाक्टर पीयूष स्लाइनमा पनि त्यति जोखिम नदेखिएको बताउँछन् ।  तर अहिले नर्मल स्लाइन भन्दा सिलिकन नै राख्ने चलन धेरै भएको डाक्टर पीयूषको भनाइ छ । सिलिकन खतरा नभएको पनि उनी प्रस्ट पार्छन् ।

स्तन ठूलो पार्ने विधिमध्ये सिलिकन नै राम्रो विधि भएको चिकित्सक बताउँछन् । शरीरमा जीवनभरि सिलिकन (इम्प्लान्ट) रहँदा पनि असर नगर्ने डाक्टर शाक्य बताउँछन् । विश्वमा स्तन ठूलो पार्ने सबै भन्दा भरपर्दो तरिका सिलिकन राख्ने नै भएको डाक्टर शाक्यको भनाइ छ । अहिलेका सिलिकन प्वाल पर्ने सम्भावना अत्यन्तै कम हुन्छ । प्वाल परिहाले पनि सिलिकन नबग्ने चिकित्सकको भनाइ छ । अहिलेको अवस्थामा स्तन ठूलो पार्न सिलिकन नै प्रयोग गर्न चिकित्सक सल्लाह दिन्छन् ।

सिलिकन राख्ने तरिका
स्तनको बाहिरी भागमा छाला हुन्छ । छालाभित्र बोसो र ब्रेस्ट टिस्यु हुन्छ । बोसो र ब्रेस्ट टिस्युभित्र मांसपेशी हुन्छ । मांसपेशीभन्दा पनि भित्रको भागमा सिलिकन (इम्प्लान्ट) राखेर स्तन ठूलो बनाइन्छ । डाक्टर रविन्द्रका अनुसार मांसपेशी भन्दा माथि पनि राख्न सकिन्छ । स्तनको मुनिपट्टि  चार सेन्टिमिटरको प्वाल बनाइन्छ । त्यही प्वालबाट सिलिकन स्तनभित्र राखिन्छ ।

स्तनको निप्पलको वरिपरिको कालो भागमा काटेर पनि सिलिकन राखिन्छ । काखि मुनिको भागबाट पनि राखिन्छ । तर अहिले स्तनको मुनिपट्टिको भाग काटेर नै सिलिकन राख्ने चलन भएको डाक्टर रविन्द्र बताउँछन् । स्तनमा दाग नदेखियोस् भनेर काखिमुनि, स्तनको निप्पलको वरिपरि र मुनिपट्टि काटिएको चिकित्सक बताउँछन् ।
स्तनको मुनिबाट सिलिकन राख्नु सबैभन्दा सुरक्षित र प्रभावकारी भएको शाक्यको भनाइ छ । डाक्टर रविन्द्र पनि शाक्यको कुरामा सहमत छन् ।

स्तन सर्जरीको लागत
सरकारी अस्पतालमा स्तनमा सिलिकन (इम्प्लान्ट) राखेर कस्मेटिक सर्जरी गर्दा करिब एक लाख पचास हजार लाग्ने बताउँछन्, डाक्टर पीयूष । भारत लगायतका देशबाट सिलिकन ल्याइन्छ । शाक्यका अनुसार प्रायः अमेरिकामा उत्पादित सिलिकनको प्रयोग गरिन्छ । एक जोडी सिलिकनको करिब एक लाख २५ हजार पर्छ । साइजअनुसार २÷४ हजार फरक पर्न सक्छ । भर्ना, अपे्रसन चार्ज, औषधिलगायतमा पनि खर्च हुन्छ । यसरी हेर्दा, एकजना महिलाले नेपालमा जोडी स्तन (दुईवटा) ठूलो पार्न तीन लाख सम्म खर्च हुने बताउँछन्, डाक्टर शाक्य । शाक्यका अनुसार अमेरिकामा करिब सात हजार डलर लाग्छ । युरोपमा करिब सात हजार युरो लाग्छ । नेपालमा अपे्रसन चार्ज थोरै लाग्ने भएकाले पनि कस्मेटिक सर्जरी सस्तो भएको बताउँछन् । चिकित्सकका अनुसार ठूलो स्तनलाई सानो गर्न नेपालमा करिब एक लाख लाग्छ । झोल्लिएको स्तन टाइट गर्दा करिब ८० हजार लाग्छ ।

नेपालमा थाहा नपाएर कोही विदेश जाने त कोही गोप्यताका लागि पनि विदेश जोने गरेको हुन सक्ने शाक्य बताउँछन् ।
डाक्टर शाक्यका अनुसार विदेशमा भन्दा नेपालमा कस्मेटिक सर्जरी सस्तो छ । नेपालमा अहिले महिनामा एक÷दुईजना स्तनको कस्मेटिक सर्जरी गर्न आउने गरेको उनी बताउँछन् । केही वर्ष अगाडिसम्म पनि वर्षमा एक÷दुई जना मात्रै आउँथे । विदेशमा नेपालीले स्तन सर्जरीका लागि चार लाखसम्म खर्चिने गरेको डाक्टर शाक्य बताउँछन् । डाक्टर रविन्द्र नेपालमा कस्मेटिक सर्जरी गर्ने डाक्टर कमै भएको बताउँछन् ।

सर्जरी गर्ने समय
स्तन ठूलो पार्ने सिलिकन (इम्प्लान्ट) राख्न डेढ घण्टाको समय लाग्छ भने स्तन घटाउँदा अपे्रसनको समय लामो हुन्छ । कम्तीमा साढे तीन घण्टा अपे्रसन गर्न लाग्छ । अपे्रसन गरेर स्तन घटाउँदा झोल्लिने सम्भावना नहुने चिकित्सकको भनाइ छ । स्तन घटाउन स्तनको बोसो र ब्रेस्ट टिस्यु निकालिन्छ । डाक्टर शाक्यका अनुसार स्तन घटाउन पनि अपे्रसन नै गर्नुपर्ने हुन्छ । शाक्य भन्छन्, ‘स्तन घटाउने एक मात्र उपाय हो, ब्रेस्ट टिस्यु र फ्याट निकाल्नु ।’

सानाठूला हुने कारण
प्रसूति गृहकी अब्स्ट्रेटिसियन गाईनोक्लोजिष्ट डाक्टर ऋचा गिरी हर्मन र स्तनमा भएका तन्तुका कारणले कसैका स्तन साना र कसैका ठूला हुने  बताउँछिन् । डाक्टर गिरीका अनुसार वंशाणुगत कारणले पनि कसैका स्तन साना र कसैका ठूला हुन्छन् । किशोरावस्थामा तन्तु खाँदिएका हुनाले स्तन टाइट हुन्छ । हर्मन तथा तन्तु बढ्ने भएकाले किशोरीहरुका गोलाकार हुने कतिपय चिकित्सकको भनाइ छ । पोषणका कारणले पनि स्तन साना ठूला हुन सक्छन् । डाक्टर शाक्यका अनुसार मोटि हुँदैमा ठूला स्तन र शरीर पातलो हुँदैमा साना स्तन नहुने बताउँछन् । वंशाणुगत कारणले पनि स्तन ठूलो र सानो हुने डाक्टर शाक्य बताउँछन् ।

स्तनको तन्तुका कारण पनि स्तन सानो वा ठूलो हुन्छ । किशोरावस्थामा स्तनका तन्तु बढ्दै जाँदा स्तन बढ्छ । गर्भावस्थामा हर्मोनको वृद्धिले दूध बनाउने ग्रन्थीको विकास हुन्छ र स्तन पनि बढ्छ । स्तनपानपश्चात् स्तन घट्ने चिकित्सक बताउँछन् । शरीरको उचाइ र तौल हेरेर पनि शरीरमा बोसोको मापन गरिन्छ । बोसो नाप्ने विधिलाई बडी मास इन्डेक्स भनिन्छ ।

धेरैजसो किशोरीले गर्छन् सर्जरी
डाक्टर पीयूषका अनुसार सामान्यतः ५० वर्षसम्मका महिला स्तनको कस्मेटिक सर्जरी गर्न आउँछन् । सौन्दर्यतासँग चासो राख्नेहरुले नै स्तनको कस्मेटिक सर्जरी गर्ने भएकाले टिनएजदेखि ५० वर्ष सम्मका महिलाले नै धरै कस्मेटिक सर्जरी गर्छन् ।

डाक्टर शाक्य अधिकांश ३५ वर्ष सम्मका किशोरी तथा महिला सानो स्तनलाई ठूलो बनाउन आउने गरेको अनुभव सुनाउँछन् । ठूलो स्तनलाई सानो बनाउन प्रायः ४८ वर्षसम्मका आउने डाक्टर शाक्य बताउँछन् । डाक्टर शाक्यका अनुसार सामान्यतः बच्चा जन्मिएपछि स्तन झोलिने भएकाले झोलिएको स्तन टाइट गर्न प्रायः ३५ वर्ष पछि आउँछन् ।
सामान्यतः सबै उमेर समूहका महिलाले कस्मेटिक सर्जरी गरेको पाइएको चिकित्सक बताउँछन् । विशेष गरी टिनएजदेखि ३५ वर्षसम्मका महिला आफूकहाँ स्तनको सर्जरी गर्न आउने गरेको डाक्टर शाक्य बताउँछन् । डाक्टर रविन्द्र पनि सुन्दरताका लागि गरिने स्तनको कस्मेटिक सर्जरी ५० वर्षभन्दा माथिका कमै महिलाले गर्ने बताउँछन् । ३४÷४० नाघेका महिलाले स्तनको सर्जरी गरेको पाइन्छ ।

साइडइफेक्ट तथा जोखिम
मांसपेशीभन्दा पनि भित्रको भागमा सिलिकन राखिने भएकाले सिलिकनले सामान्यतः जोखिम नहुने चिकित्सकको भनाइ छ ।   स्तनका टिस्युलाई इम्प्लान्टले छुँदैन, असर गर्दैन । सिलिकन राख्दा पनि नराख्दा पनि दूध उत्पादन प्रक्रियामा कुनै पनि असर नहुने डाक्टर शाक्य बताउँछन् । बच्चाको स्तनपानमा पनि असर नहुने चिकित्सक बताउँछन् । डाक्टर रविन्द्रका अनुसार गर्भवती भएको समयमा कस्मेटिक सर्जरी गर्नु हुँदैन ।

सिलिकन राख्दा एक हप्तादेखि दस दिनसम्म आराम गर्नुपर्ने हुनसक्छ । सर्जरी पछि कसैकसैको स्तन सुन्निने पनि समस्या आउन सक्ने डाक्टर रविन्द्र बताउँछन् । सर्जरी गरेपछि केही हप्ता आराम गरेकै राम्रो हुने चिकित्सकको सल्लाह छ । कतिपय चिकित्सकले एकदेखि चार हप्तासम्म आराम गर्नुपर्ने सल्लाह दिन्छन् । घाउ निको नहुञ्जेल आराम गर्नुपर्ने चिकित्सकको सल्लाह छ ।

प्लास्टिक वा कस्मेटिक सर्जरी जे भने पनि काटेरै गरिने सर्जरी नै हो । कस्मेटिक सर्जरी गर्दा त्यति साइडइफेक्ट नहुने डाक्टर शाक्यको भनाइ छ । शाक्यका अनुसार स्तनको सर्जरी गर्दा करिब १० प्रतिशत सफल हुँदैनन् । अपे्रसन गरेर सर्जरी गर्नुपर्ने भएकाले घाउ पाक्न सक्छ । कहिलेकाहीँ स्तनभित्र ब्लड जम्ने पनि सम्भावना हुने डाक्टर रविन्द्रको भनाइ छ । ब्लड जम्यो भने बाहिरबाट हेर्दा निलो डाम समेत देखिन सक्छ । समस्या भयो भने स्तनभित्र राखेको सिलिकन (इम्प्लान्ट) झिक्नु पर्छ । झिके पनि सिलिकन भने पुन प्रयोग गर्न सकिने शाक्य बताउँछन् । तर समस्या आइरह्यो भने स्तनमा पुनः सिलिकन नराख्न पनि डाक्टर रविन्द्र सल्लाह दिन्छन् ।

बिरामीलाई बेहोस नबनाई पनि स्तनको सर्जरी गर्न सकिने चिकित्सक बताउँछन् । अन्य सल्यक्रियामा जस्तै कस्मेटिक सर्जरीमा पनि औषधिको प्रयोग गरिने चिकित्सकको भनाइ छ । कस्मेटिक सर्जरी गर्दा स्तनलाई मात्रै लठ्याएर पनि सर्जरी गर्न सकिने चिकित्सक बताउँछन् । अहिले कस्मेटिक सर्जरी गर्दा पूरै शरीर लठ्याउन नपर्ने चिकित्सकको भनाइ छ । बिरामीको अवस्थाअनुसार कसैको स्तन मात्रै बेहोस पारिन्छ त कसैको शरीर नै बेहोस पारिन्छ ।

एकपटक सिलिकन राखेपछि दस वर्षसम्म त्यति समस्या नहुने बताउँछन् डाक्टर पीयूष । स्तनमा इम्प्लान्ट राखेका महिलाले वर्षमा एकपटक चिकित्सकको सल्लाह लिनुपर्ने डाक्टर पीयूष सल्लाह दिन्छन् । सिलिकन खतरा नरहेको समेत उनले प्रस्ट पारे । सिलिकनको गुणस्तरियतामा भने ध्यान दिनुपर्ने डाक्टर पीयूसको तर्क छ ।

कुनै पनि अपे्रसन तथा उपचार जोखिमरहित नहुने भएकाले इम्प्लान्ट राख्दा कसैकसैको घाउ पाक्ने समस्या हुने बताउँछन्, चिकित्सक । घाउ हुने भएकाले दुखाई कम गर्ने औषधि पनि खानुपर्ने हुन सक्छ ।

मानसिकता

महिलाको स्तनले उनीहरुको मानसिकतामा समेत प्रभाव पारेको हुन्छ । मनोविद् गोपाल ढकालका अनुसार महिलाको स्तनका कारण वैवाहिक जीवनमा समेत असर गर्छ । सानो स्तन भयो भने आफ्नो श्रीमान्ले समेत मन नपराउने गरेको पाइएको बताउँछन् ढकाल । स्तन सानो भएका महिलाको शरीर असुहाउँदिलो भएको अनुभूत गरेर मानसिक तनावमा पर्ने पनि ढकाल बताउँछन् । त्यसैगरी ठूलो स्तन हुने महिलाको पनि त्यस्तै समस्या छ । ठूलो स्तन भएका महिलाले लुगा लगाउँदा नमिल्ने, असजिलो हुनेलगायतका समस्या बेहोर्नुपर्ने भएकाले कतिपय महिला मानसिक तनावको सिकार हुने गरेको मनोविद् ढकाल बताउँछन् । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिने ढकाल प्रस्ट पार्छन् । ढकालका अनुसार स्तनका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका दृष्टिले महिला बढी चिन्तित हुने गरेको अनुसन्धानले देखाउँछ ।
स्तन सानो हुँदा कतिपय किशोरीहरु चिन्तित हुने ढकाल बताउँछन् । कतिपय त आफ्नो स्तनको आकार सानो देखेर व्यक्तित्व विकासमा कमी रहेको महसुस गर्छन्  भने कतिपयले शारीरिक सुन्दरतामा कमी भएको महसुस गर्ने बताउँछन् ।

सुझाव
ठूला स्तनले ढाड दुख्ने लगायतका समस्या हुन्छन् । कपडा लगाउन असहज हुन्छ । सानोलाई ठूलो देखाउने अन्य सामान्य तरिका छन् । तर ठूलोलाई सानो बनाउने एक मात्रै उपाय सर्जरी नै भएको चिकित्सक बताउँछन् ।
सानो स्तनलाई ठूलो देखाउन फोम भएको ब्राको प्रयोग गर्न सकिन्छ । थुन चोलिको प्रयोग गर्न सकिन्छ । ब्रा भित्र कपडा,कपासलगायतको प्रयोग गर्न सकिन्छ । स्तनलाई माथितिर उचाल्ने साधन पनि प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् ।

स्तन बढाउने, घटाउने, झोलिएको स्तनलाई टाइट पार्न सकिने चिकित्सक बताउँछन् ।  बढाउने घटाउने लगायतका जथाभावी भएका विज्ञापनप्रति सचेत हुनुपर्ने डाक्टर रविन्द्रको सुझाव छ । कुनै पनि औषधि तथा इन्जेक्सनले स्तन बढाउन, घटाउन र टाइट गर्न नसकिने डाक्टर जसवन शाक्य बताउँछन् । औषधिको प्रयोगले स्तन बढाउन, घटाउन तथा टाइट हुँदैन भन्ने कुराप्रति प्रस्ट हुनुपर्ने डाक्टर शाक्य बताउँछन् । डाक्टर शाक्यको भनाइमा डाक्टर रविन्द्रको पनि सहमति छ । अपे्रसन बाहेकको कुनै पनि टेक्निकले स्तन घटाउन वा बढाउन नसकिने चिकित्स बताउँछन् । नेपालमा कस्मेटिक स्तन सर्जरीका नाममा जथाभावी व्यापार बढेको डाक्टर रविन्द्रको तर्क छ । सुन्दर बन्न खोज्दा कुरूप पनि हुने खतरा भएकाले राम्रोसँग बुझेर मात्रै स्तनको सर्जरी गर्नुपर्ने डाक्टर शाक्यको भनाइ छ ।

कतिपय महिलाको जन्मजातै स्तन अत्यन्तै सानो हुने बताउँछन्, डाक्टर शाक्य । स्तन सानो भएर विवाहसमेत गर्न कठिन भएका कयौं किशोरीलाई आफूले इम्प्लान्ट लगाइदिएको डाक्टर शाक्य बताउँछन् ।

डाक्टर शाक्यका अनुसार केही वर्ष अगाडि एउटी महिला शाक्यकहाँ पुगेकी थिइन् । तर ती महिला स्तनको सर्जरी गर्न त्यहाँ गएकी थिइनन् । स्तन ठूलो बनाउन औषधिको प्रयोग गरेकी थिइन् । उनको स्तन ठूलो पनि भयो । तर लामो समयसम्म भएन । त्यसको प्रभाव औषधि प्रयोग गरुञ्जेल मात्रै भएको थियो । औषधिको प्रयोग गर्न छोडेपछि ती महिलाको स्तनमा समस्या आयो । स्तन चाउरी प¥यो । डाक्टर शाक्यले सुनाए, ‘औषधिले स्तन सुन्निएको रहेछ । औषधि प्रयोग गरुञ्जेल सुन्निरह्यो र प्रयोग गर्न छोडेपछि चाउरी परेको हुनसक्छ ।

डाक्टर शाक्यका अनुसार करिब पाँच वर्षअगाडि भारतमा एक युवतीले सिलिकन लगाएकी रहिछिन् । ती मोडलिङ क्षेत्रकी महिला थिइन् । तर स्तनको घाउ पाकेपछि समस्या भएर आफूले सिलिकन निकालिदिएको डाक्टर शाक्य बताउँछन् ।

पहिलाभन्दा अहिले नेपालमा स्तनको कस्मेटिक सर्जरी गर्नेको संख्या बढिरहेको चिकित्सक बताउँछन् । विशेषगरी किशोरी नै आउँछन् ।

प्रकाशित: १७ वैशाख २०७५ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App