२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

भूकम्पकाे सम्झना

गत बैशाख १२ गते विनाशकारी भूकम्प गएको तीन वर्ष पुरा भयो । २०७२ सालको बैशाख १२ गते विहान ११ बजेर ५६ मिनेट जाँदा गएको शक्तिशाली भूकम्पबाट करीव नौ हजार जनाले ज्यान गुमाए भने २२ हजारभन्दा धेरै घाइते भए।

भूकम्पको वार्षिकी पारेर पुनः एक पटक मानिसहरुले तीन वर्षअघिको भूकम्पलाई सम्झिए । सामाजिक सञ्जालमा ह्यास ट्याग नेपाल अर्थक्वेकको प्रयोग गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भूकम्पसँग सम्वन्धित आफ्ना विचारहरु प्रस्तुत गरेका छन्।

सचिन थापाले ह्यास ट्याग नेपाल अर्थक्वेक प्रयोग गर्दै भूकम्पको वार्षिकीमा भूकम्पलाई सम्झिदैं यस्तो ट्वीट गरेका छन्, ‘आज तेस्रो वार्षिकी हो । मैले विर्सिन सक्दिन । भद्रगोल, कठिनाई, दुख, पीडा र समस्या भएको त्यो दिन । नेपाललाई रुवायो पनि ।

तर, विकासका लागि नयाँ आशा ल्याएको छ र गैरजिम्मेवार राजनीतिप्रति नयाँ विश्वास जगाएको छ ।’तीन वर्षअघिको भूकम्पलाई सम्झिदैं अपेक्षा नामको ट्वीटर ह्याण्डलको ट्वीट यस्तो छ, ‘त्यो दिन र त्यसपछिका हरेक दिनमा म र मेरा प्रियजनलाई सुरक्षित राखेकोमा भगवानप्रति सधैं धन्य छु ।

मानिसहरुको आँखामा त्यो त्रास कहिले देख्नु नपरोस् भनेर म प्रार्थना गर्छु ।’भूकम्प प्रभावित जिल्लामा बसिरहेका कतिपय मानिसहरुको अझै पनि बास बस्नका लागि बलियो छानो छैन । भूकम्पले बनाएका लाखौं घरहरुमध्ये अझैं एक चौथाई घरहरु पनि पुनर्निर्माण भएका छैनन् । भूकम्पले घर भत्किएर गरिवीमा धकेलिएकाहरु अझै पनि उठ्न सकेको छैनन्।

काष्ठमण्डप नेर रहेको झोंछेमा टेकाले अड्याएका घरहरुको फोटो हालेर विकासका क्षेत्रमा कार्यरत अच्युत लुइँटेलले ह्यास ट्याग नेपाल अर्थक्वेक प्रयोग गर्दै ट्वीट गरेका छन्, ‘आज हामीले अप्रिल २०१५ मा गएको ठूलो भूकम्पको तेस्रो वर्ष सम्झिरहेका छौं । तीन वर्षपछि पनि राजधानीमै यस्तो दृश्य देख्दा नराम्रो लाग्छ।

यो तस्वीर काष्ठमण्डप र झोंछेको बीचको हो । सरकार र पुनर्निर्माण प्राधिकरणलाई चासो राख्न र जिम्मेवार हुन आग्रह गर्छु ।’ज्योति कोइरालाले ह्यास ट्याग नेपाल अर्थक्वेक प्रयोग गर्दै अहिलेसम्म पनि पुनर्निर्माण नभएकोमा टिप्पणी गरेका छन् । ‘नेपालमा भूकम्प गएको तीन वर्ष भइसक्यो तर अहिलेसम्म पुनर्निर्माण भएको छैन ।

अझै पनि मानिस र विद्यार्थीहरु अस्थायी आवासमा बसिरहेका छन् ।’गत साता बेलायती सञ्चारमाध्यम दी गार्डियनमा प्रकाशित भएको भूकम्प प्रभावित जिल्लामा काम गरिरहेका महिला डकर्मीहरु बारेको रिपोर्ट पढेपछि सुजाला पन्तले नेपाल अर्थक्वेक ह्यास ट्याग प्रयोग गर्दै ट्वीट गरेकी छिन्, ‘परिवर्तनको आधार । तालिमले यी महिलालाई धेरै आत्मविश्वास दिएको छ । अव उनीहरुले घर बनाउने मात्र होएन, हरेक खालका काम गर्न सक्ने विश्वास राखेका छन्।’

सेवाङ नुरु शेर्पाले बौद्धनाथको तस्वीर राख्दै ट्वीट गरेकी छिन्, ‘गौरवका साथ ठडिएको बौद्धनाथले सम्पूर्ण नेपालीको उत्थानशीलताको उदाहरण दिन्छ । नेपालको भूकम्पपछि गरिएको बौद्धनाथको पुनर्निर्माण नयाँ नेपालको नयाँ आकारका लागि कोशेढुंगा भएको छ।’

यससँगै नेपाल अर्थक्वेक ह्यास ट्याग प्रयोग गर्दै विभिन्न संघसंस्थाहरुले आफूले गरिरहेको कामको बारेमा ट्वीट गरेका छन् भने सर्वसाधारणले त्यो क्षण, पुनर्निर्माण लगायतका विषयमा टिप्पणी गरेका छन् ।

 

प्रकाशित: १७ वैशाख २०७५ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App