१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

साकुरा समय (फाेटो फिचरसहित)

जापानमा वसन्तयाममा साकुरा फुल्छ । चैतको दोस्रो साता यस्तै साकुरा हेर्न पाइयो । साकुरा हेर्न धेरै अघिदेखि मन भए पनि यसपाला बल्ल जुर्यो । करिब १० घण्टे उडानबाट जापान पुग्दा शरीर त थाकेको थियो तर मन थाकेको थिएन । मेरो मनमा साकुराप्रति सुनेका कैयौँ कुराहरु मनमा खेलिरहेका थिए । त्यसैले एक दुई वटा मिटिङ  छिटोछिटो सिध्याएर साकुरा फुलेका पार्कतिर जान म हुटहुटिइरहेकी थिएँ । मलाई साकुराले बोलाएजस्तो र म जसरी भए पनि संसार प्रख्यात साकुरासँग भेटूँजस्तो लागिरहेको थियो ।

जापान संसारकै विकसित मुलुकमा गनिन्छ । विकास यति चुलीमा पुगिसकेको छ कि त्यहाँ विकासबाहेक अरु केही कुरा फुल्न बिर्सिएकोजस्तो भान हुन्छ । जापानमा मैले सय वर्ष नाघेका बूढाबूढी धेरै देखेँ । छिटपुट युवा र खासगरी महिला देखिन्थे । जापानीको सबैभन्दा लोभलाग्दो पक्ष भनेको उनीहरुको माहुरीमिहिनेत नै हो । कामलाई नै पूजा ठान्ने उनीहरुको सिद्धान्तका कारण देश विकास हुन समय त लागेन तर मानौँ उनीहरुको सबै खुसी त्यही विकासले हरण गरेको छ । बजारमा देखिने मानिसहरु विरलै हाँसेको पाएँ । सबै मौन । सबै गम्भीर । सबैमा कहीँकतै पुग्ने हतार । रेल यात्रामा पनि कोही मस्तसँग निदाइरहेका, कोही खाना खाइरहेका । मानौँ, घरमा उनीहरुलाई सुत्न फुर्सद छैन, मानौँ घरमा खान फुर्सद छैन ।

राजधानी टोक्योको खुलाचौर होस् या फराकिला नाली छेउछाउ, त्यहाँ रोपिएका साकुराका बूढा रुखले अझै पनि फूल फुलाउन छाडेका थिएनन् । मानौँ तिनले पनि सन्देश दिन खोजेका होऊन्, शरीर जीर्ण भएर के भो ? आफ्नो बर्कतले भ्याएसम्म प्रकृतिलाई सिँगार्न छाड्ने छैनौँ !

मार्चको अन्त्यतर्फ म टोक्यो पुग्दा ढकमक्क साकुराले ढाकेको थियो । यो फूल रुखै छोपिने गरी आठ÷दस दिनका लागि फुल्दो रहेछ । साकुराको बगैँचामा पुग्दा देखिने त्यहाँको वातावरण म शब्दमा व्यक्त गर्न सक्तिनँ । सायद कवि भएकी भए कविता लेख्थेँ होला, लेखक भएकी भए कथामा समेट्थेँ होला । प्रेमी भए प्रेमिकालाई सम्झन्थेँ होला किनभने त्यहाँको वातावरण त्यसैत्यसै रमाइरहूँ लाग्ने किसिमको रोमान्टिक वातावरण थियो । तिनै फूल हेर्न संसारभरिबाट मानिसहरु आएका थिए । पार्कमा हिँड्डुल गर्न पनि भिड हुने किसिमको वातावरण थियो ।

यात्राको रमाइलो एक ठाउँमा जहिले पनि अन्त्य गर्नुपर्ने हुन्छ । यही साकुरासँगै रमाइरहन समयले दिँदैनथ्यो । त्यसैले आँखाभरि रोमान्टिक साकुरा पार्क छाडेर म त्यहाँबाट निस्किए । भेटघाटका लागि टोक्यो सहर नजिकैको टिमिओका पुगेँ । त्यहाँका मेयर इवाई केनटारो निकै सक्रिय व्यक्ति रहेछन् ।

नेपाली जनता अहिले विकासको भोक पालेर बसेको मेयर केनतारोलाई थाहा रहेछ । उनले तिनै कुरा कोट्याए । यस प्रसङ्गमा मैले उनलाई जापानी लगानीकर्ताका लागि नेपाल राम्रो सम्भावना रहेको औँल्याएँ ।

सन् १८७२ देखि विकासको पाइला चालेको टिमिओका सहरको मुख्य आम्दानी सिल्क खेती र सिल्क मेसिनबाट कपडा उत्पादन गरेरै सम्पन्न भएको रहेछ । अहिले यो सहरले कामदार अभाव झेलिरहेको रहेछ । जापानी लगानी नेपालमा उनले चाहेर भन्दा पनि लगानीकर्ताले चाहेर हुने भएकाले त्यसमा मेयरले गर्न सक्ने कुनै कुरा नभएको तर जापानमा नेपाली युवालाई रोजगारीको प्रशस्त अवसर भएको भने उनले खुलाए । हुन पनि कामदार अभाव झेलेको जापान र मध्यपूर्व तथा मलेसियाको वैदेशिक रोजगारी घटिरहेको अवस्थामा जापानमा एउटा राम्रो सम्भावना हुने पनि देखेँ ।
यही अप्रिल महिनामा यस सहरमा मेयरको चुनाव हुन लागेको रहेछ । मेयर केनतारोलाई त्यसको शुभकामना दियौँ । मैले उनको सुखद् राजनीतिक भविष्यको कामना पनि गरेँ र उनलाई मैले नेपाल भ्रमण गर्न सुझाएँ ।
यसपछि एउटा टोलीका साथ टकाई सिल्क उद्योग पनि भ्रमणका लागि निस्कियौँ । aakriti72@gmail.com

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App