१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

नयाँ ललिपप

कुरा भारततिरको हो । अझ भारत के, नयाँ दिल्ली कै भनौँ न जहाँ हाम्रा प्रधानमन्त्री कमरेड खड्गप्रसाद ओलीको राजकीय भ्रमण भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्री भ्रमण सक्काएर फर्कनुभएको केही दिनपछि नै मेरा मित्र भजनलाल नयाँ दिल्लीको भ्रमणमा गएका थिए।

तर, भजनलालको त्यो भ्रमण कुनै राजकीय भ्रमण भने थिएन । त्यो एउटा विशुद्ध व्यापारिक भ्रमण थियो । भजनलाल भारतबाट विभिन्न प्रकारका सामान झिकाएर नेपालमा व्यापार गर्छन् । त्यो त्यति ठूलो कारोवार त होइन । त्यसो भन्दैमा सार्‍है सानो व्यापार पनि थिएन। मझौलो खाले भनौं न । त्यसैले व्यापारको सिलसिलामा उनी नियमितझैं दिल्ली, कोलकाता, सुरत, कानपुर, लखनउ, पटना, हरियाणा पुगिरहन्छन् ।

यसपटक दिल्ली पुगेका रहेछन्।उनलाई चाहिने सामान खोज्दै उनी दिल्लीको एउटा चकलेट कारखाना पुगेछन्। ठूलो कारखाना हो । विभिन्न स्वाद र सेपका चकलेटहरू उत्पादन गर्छन् । त्यसको उत्पादन नेपाललगायत बंगलादेश, भुटान, श्रीलंका पनि जाने रहेछ । कारखाना घुम्दै गर्दा भजनलालले देखे, नेपालमा निर्यात गर्ने भनेर छुट्याएर राखेका हजारौं संख्याका बाकसहरू ।

गोदामको करिब आधा ठाउँ त्यही बाकसले भरिएको देखिन्छ । ‘नेपाल निर्यात के लिए’ भनेर कागज पनि टाँसिएको देखेर भजनलालको आँखा पनि त्यही बाकसतिर गएर ठोक्किन पुग्यो । के होला यो नेपाल निर्यात गर्न लागिएको बाकस ? त्यो पनि यति ठूलो परिमाणमा।भजनले बाकस मिलाउँदै गरेका एकजना कामदारलाई सोधे, ‘भाइ, यह क्या है ?’सामान मिलाउँदै गरेका कामदारले भने, ‘सामान हो साब, नेपाल पठाउनलाई राखेको ।’ कामदार त नेपाली पनि बोल्ने रहेछ।

‘अरे, तपाईँलाई त नेपाली पनि बोल्न आउँदो रहेछ,’ भजनलालले खुसी व्यक्त गर्‍यो।‘थोडा थोडा...हें...हें...हें...’ कामदार हाँसे, ‘पहिले त आउँदैन । अस्ति नेपालको प्रधानमन्त्री जो भारतमा आउनुभयो नि, उहाँको सामने हाम्रो प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नेपालीमा बात गरेपछि मलाई पनि अलि अलि नेपाली आइहाल्यो।’

‘ओहोहो, धेरै राम्रो । गज्जब ! प्रधानमन्त्रीले नेपाली बोलेपछि तपाईँलाई पनि नेपाली आइहाल्यो,’ भजनलाललाई अनौठो पनि लाग्यो । ‘अच्छा, अनि यो नेपालको लागि भनेर प्याकिङ भएको चाहिँ के सामान रहेछ नि भाइ ?’‘अरे यो ? यो त हाम्रो कम्पनीले प्रोडक्ट गरेको नयाँ ललिपप हो साब ।’
‘ललिपप ? कस्तो ललिपप?’

कामदारले भजनलाललाई बाकसको अगाडि नै लगेर देखाए, ‘यसमा दो प्रकारको ललिपप छ । एउटाको नाम जलपथ हो, अर्को चाहिँ रेलपथ । यो दुवै नेपाल पठाउन लागेको ।’
एउटा जलपथ, अर्को रेलपथ ? भजनलालले त नेपालमा यस्तो ललिपप कहिल्यै देखेको छैन । झिकाएको त झनै छैन । सोधे, ‘यो नामको ललिपप त नेपालमा आजसम्म कहीँ बेचेको मैले देखेको छैन।’

‘होइन साब, यो त एकदमै नयाँ प्रोडक्ट हो,’ कामदारले अझ प्रस्ट गरे, ‘अहिले नेपालमा यो ललिपपको एकदमै ठूलो डिमान्ड छ । त्यही भएर हामीले रात रातभर काम गरेर यो ललिपप बनाएको हो ।’‘नयाँ भनेको कति नयाँ ? अस्ति दुई चार दिनअघिसम्म पनि यो नेपालमा आएको थिएन ।’ भजनलालले केही सम्झँदै प्रश्न गरे।

‘यो त एकदमै नयाँ हो साब । अस्ति नेपालको प्रधानमन्त्रीले दिल्ली भ्रमण गर्नुभयो नि, त्यसपछि यो ललिपपको डिमान्ड बढेको हो । हामीले अलिकति सेम्पल पठाएको थिएँ। तुरुन्तै अर्डर आइहाल्यो । म त के सुन्छु भने अहिले नेपालमा सबैजनाको जुबानमा यही ललिपपको नाम छ रे । जहाँ गए पनि जलपथ र रेलपथको चर्चा भएको छ भन्छ । साँच्चै त्यस्तो हो साब?’

भजनलालको दिमाग घुम्न थाल्यो। ऊ पनि नेपालमा व्यापारकै लागि सामान लिन दिल्ली आइरहेको छ । तर, नेपालमा यस्तो ललिपपको डिमान्ड चलिरहेको उसलाई थाहा छैन । यति हो कि अस्ति प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि पत्रपत्रिकाहरूमा जलमार्ग र रेलमार्गको कुराहरू बेस्कन छापिएको थियो।

साला, आफू त त्यति पत्रपत्रिका पनि पढिँदैन । त्यतिबेला पत्रपत्रिकामा छापिएको त्यो जलमार्ग र रेलमार्ग भन्या ललिपपको नाम पो रहेछ भन्ने कुरा उसलाई दिल्ली आएर पो थाहा भयो । नेपालमा जसले पनि जलमार्ग र रेलमार्ग भनेर कुरा गरिरहेको त भजनले पनि अलि अलि सुनेको थियो । तर, त्यो ललिपपको कुरा गरेको रहेछ भन्ने चाहिँ उसलाई पटक्कै थाहा भएन। 

 बहुत पछुताव भयो भजनलाई । नेपालमै त्यति कुरा थाहा भएको भए आफूलाई पनि दुई–चार ट्रक जलपथ र रेलपथ ललिपप पठाइदेउ भनेर उतैबाट अर्डर दिइन्थ्यो होला नि । यहाँ आएपछि बल्ल थाहा भयो । अब नेपालको बजार अरुले नै झ्याप्प छोपिसकेपछि आफूले माल लगेर के काम ? यत्रो सामान अरुले नै अर्डर गरिसकेको रहेछ।

तैपनि व्यापारीको मन, केही भइहाल्ला कि भनेर भजनले सोध्यो, ‘यो त मलाई थाहै भएन भाइ । अब यसैबाट अलि माल म पनि लान सक्छु कि ? म पनि यस्तै सामान अर्डर गर्न काठमान्डुदेखि आएको हुँ।’‘यसबाट त कुनै सम्भव छैन साब,’ कामदारले टाउको हल्लाए, ‘यो त जम्मै जाने भइसक्यो । आजै लोड हुन्छ । अब अर्को लटमा लाने भए अर्डर दिएर जानुस्।’

अब भने भजनलाल सोचमग्न हुन थाल्यो । के गर्ने ? अर्डर गरुँ बजारमा अरुले नै माल बेचिसकेको हुन्छ । नगरुँ यत्रो डिमान्ड भएको माल नबेचे अरु के बेच्ने ? ललिपप भनेको त मानिसले खाने वस्तु हो । तर, यो जलपथ र रेलपथ कस्तो ललिपप परेछ कुन्नि, यसैले पो भजनलाई खान थालेछ।      
    
 

प्रकाशित: १ वैशाख २०७५ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App