२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्य

युनिसेक्सको याम

सोनु योञ्जनको रोजाइमा पर्छ, युनिसेक्स फेसन । उनी प्रायः युनिसेक्स जुत्ता, हुड, टिसर्ट, क्याप र ब्यागमा सजिएकी हुन्छिन्।

यस्तै ड्रेसमा आफूलाई कम्फर्टेबल हुने बताउँछिन् उनी । सानैदेखि उनी टमब्वाय गेटअपमा ठाँटिने गरेकी थिइन् । ‘सानैदेखि युनिसेक्स लुगा लगाएर नै हुर्किएँ । ममी, दिदीले यस्तै लुगा ल्याइदिनुहुन्थ्यो,’ उनले भनिन्, ‘यस्तै लुगा लगाउँदा सजिलो महसुस हुन्छ ।’योञ्जन मात्र होइन, अचेल धेरैको आकर्षण बनेको छ, केटाकेटी दुवैले लगाउन मिल्ने युनिसेक्स पहिरन । केही वर्षदेखि युनिसेक्स पहिरनको माग र बिक्री दुवै बढेको छ।

राजधानीका विभिन्न क्षेत्रका पसलेका अनुसार युनिसेक्स रुचाउनेमा महिला र पुरुष दुवै छन् ।
युनिसेक्स लुगा, चस्मा, क्याप, बेल्ट, जुत्ता, ब्यागलगायत सामान बजारमा पाइन्छन् । विश्वस्तरमा चलेका ब्रान्डदेखि फुटपाथमा समेत युनिसेक्स पहिरन पाइन्छ ।ग्राहकको रोजाइमा युनिसेक्स पर्न थालेपछि डिजाइनरले समेत यस्तै फेसन विकास गर्न थालेका छन् । पहिरन मात्र नभएर अन्य सजावटका सामग्री समेत युनिसेक्स बन्न थालेका छन् । बजारमा विभिन्न खाले युनिसेक्स कलेक्सन देख्न सकिन्छ ।

केही युनिसेक्स कलेक्सन
विन्ड ज्याकेट
धुलो वा चैतेहुरीबाट शरीरलाई बचाउन विन्ड ज्याकेट लगाउने बताउँछिन्, गौरी नेपाली । विन्ड ज्याकेट किन्दा उनले महिलाले लगाउने वा पुरुषले लगाउने भन्ने हेर्दिनन् । ‘आफूलाई सहज हुने र मनपर्ने रंग भए जसले लगाउने भए नि उठाएर हिँड्छु,’ उनले भनिन् । आफ्नो शरीरको नापभन्दा अलि ठूलो लगाउन चाहने गौरी हर मौसममा विन्ड ज्याकेटको प्रयोग गर्ने बताउँछिन्।

युनिसेक्स ज्याकेटको बजारबारे डिजी फेसनका अशोक राना भन्छन्, ‘हिजोआज युनिसेक्स कलेक्सनको फेसन निकै बढेको छ, हरेक मौसममा यसको फेसन चलिरहेको हुन्छ ।’
युनिसेक्स पहिरन खोज्न विशेषगरी १८ देखि ३० वर्ष उमेर समूहका युवापुस्ता आउने उनी बताउँछन् । ‘विन्ड ज्याकेटमा महिला–पुरुष भन्ने हुँदैन, सबैलाई एउटै हो । आफूलाई मनपर्ने कलर र साइजले मात्र फरक पार्छ,’ उनले भने ।हरियो, कालो, ग्रे, मरुन रंगका विन्ड ज्याकेट बढी चल्ने उनी बताउँछन् । उनका अनुसार यो ज्याकेटको मोल सामान्यतः एक हजार दुई सय रुपैयाँबाट सुरु हुन्छ ।

जुत्ता
युनिसेक्स जुत्तामध्ये स्पोट्र्स सुजको माग बढी रहेको बताउँछन्, बेबी सुज सपका कृष्ण काप्री । उनी भन्छन्, ‘महिला–पुरुष दुवै समूहका ग्राहक विशेषगरी स्पोट्र्स सुज, भ्यान्स, कन्भर्स, गोल्डस्टार लगायत जुत्ता खोज्न आउँछन्, के केटा के केटी अचेल जुत्तामा खासै फरक हुँदैन ।’
महिला–पुरुष दुवैले एउटै स्टाइल जुत्ता लगाउने प्रचलन बढेको उनी बताउँछन्।

‘ठूलो खुट्टा हुने महिलाहरू हामी कहाँ जुत्ता खोज्न आउँछन्, सुपथ मूल्यमा आफूले खोजेजस्तो जुत्ता लगाउन पाइने भएर केटा वा केटीले लगाउने भन्ने खासै हेक्का राखिँदैन,’ उनले भने । लगाउँदा सहज हुने जुत्ताकै खोजीमा बढी ग्राहक आउने उनको अनुभव छ। लगाउँदा सजिलो अनि आरामदायी हुने भएकाले युनिसेक्स जुत्ता प्रयोग गर्नेको संख्या विगतका वर्षमा भन्दा यो वर्ष बढेको उनको अनुभव छ । जुत्ताको मूल्य जुत्ताको गुणस्तर अनुसार निर्धारण हुने उनी बताउँछन्।

युनिसेक्स लुगा, चस्मा, क्याप, बेल्ट, जुत्ता, ब्यागलगायत सामान बजारमा पाइन्छन् । विश्वस्तरमा चलेका ब्रान्डदेखि फुटपाथमा समेत युनिसेक्स पहिरन पाइन्छ।

प्रिन्टेड टिसर्ट
सोनी मालाकार प्रिन्टेड टिसर्ट लगाउन मन पराउँछिन् । गर्मी महिनामा उनको रोजाइमा यस्ता प्रिन्टेड टिसर्ट पर्छन् । उनी भन्छिन्, ‘लगाउँदा हलुका र खुला हुने भएर म प्रिन्टेड टिसर्ट लगाउँछु, सस्तो र राम्रो पनि हुन्छ, मलाई प्रिन्टेड टिसर्ट मनपर्छ ।’

प्रिन्टेड टिसर्ट लगाउँदा सालिन देखिने उनी बताउँछिन् । प्यान्ट, हाफप्यान्ट, स्वेट्स हरेकमा प्रिन्टेड टिसर्ट सुहाउने उनको अनुभव छ । नेपालका कला–संस्कृति (मण्डला, नेवारी जोडी, तामाङ जोडी, बुद्ध, स्वयम्भु, नेपालको झन्डा) लगायत प्रिन्ट गरिएको टिसर्ट निकै प्रयोग गरिने लुगा हो । नेपाली उखान, टुक्का, गीतका अनुच्छेद, भनाइ लगायत प्रिन्टेड टिसर्ट हरेक उमेर समूहको मनपर्ने टिसर्ट हो । ‘युनिसेक्स फेसन कलेक्सनमा बजारमा सबैले रुचाइएको र अत्यधिक बिक्री हुने भनेकै प्रिन्टेड टिसर्ट हो,’ डि.जी फेसनका सञ्चालक अशोक राना भन्छन् । सामान्यतः प्रिन्टेड टिसर्टको तीन सय रुपैयाँ मूल्य पर्ने उनी बताउँछन् ।

चस्मा, घडी, क्याप, बेल्ट
घामबाट बच्न प्रयोग गरिने चस्माको युनिसेक्स डिजाइन चलेको बताउँछन्, दिवा फेसनका सुनील धानुख । उनका अनुसार किशोर–किशोरीले युनिसेक्स चस्मा मनपराउँछन् । चस्मा लगाउनेले कलर मिलाएर घडी पनि लगाउने उनले बताए ।
हरेक रंग र आकारको घडीको पनि माग बढेको उनी बताउँछन् । उनी भन्छन्, ‘घडीमा खास रोजाइ हुँदैन, डिजाइन र रंग मनपराउने धेरै आउँछन्।’

अचेल स्पोट्र्स क्याप विशेष युनिसेक्स फेसनका रुपमा चलेको छ । कालो, नीलो, खैरो रंगका क्यापको चल्ती बढेको दिवा फेसनका सुनील धानुख बताउँछन् । घामबाट टाउकोलाई सुरक्षा दिने टोपी केटा वा केटी दुवैले लगाउन थालेको उनी बताउँछन् ।छालाको बेल्टमा पनि केटा वा केटी भनेर नछुट्याइएको व्यापारी बताउँछन् । कालो र खैरो रंगको छालाको बेल्ट चल्तीमा छ।

ग्राहकको रोजाइमा युनिसेक्स पर्न थालेपछि डिजाइनरहरूले समेत यस्तै फेसन विकास गर्न थालेका छन् । पहिरन मात्र नभएर अन्य सजावटका सामग्री समेत युनिसेक्स बन्न थालेका छन् । बजारमा विभिन्न खाले युनिसेक्स कलेक्सन देख्न सकिन्छ ।

कमब्याट प्यान्ट, बक्स प्यान्ट
लगाउँदा सजिलो र फेसनेबल देखिने भएर हरेक मौसममा ग्राहकले कमब्याट प्यान्ट, बक्स प्यान्ट खोज्ने डिजी फेसनका सञ्चालक अशोक राना बताउँछन् । ‘बक्स प्यान्टको फेसन कहिले जाँदैन,’ रानाले भने, ‘गाढा हरियो, खैरो, कालो रंगमा बढी बिक्री हुन्छ ।’ सामान्यतः बक्स प्यान्टको मूल्य एक हजार पाँच सयबाट सुरु हुने उनी बताउँछन् । बानेश्वरका सुनील निरौला बक्स प्यान्ट लगाउन मन पराउँछन् । उनी भन्छन्, ‘लगाउँदा कम्फर्टेबल र बलियो हुने भएर मलाई बक्स प्यान्ट मनपर्छ, बाइकमा हिँड्दा फोहोर पनि कम हुने भएर खैरो कलरको प्यान्ट लगाउँछु ।’

लिनेन टिसर्ट प्यान्ट
गर्मी मौसममा अत्यधिक मात्रामा लगाइने लिनेनबाट बनाइएको प्यान्ट र टिसर्ट निकै प्रचलनमा छ । लगाउँदा हलुका र स्मार्ट देखिन चाहनेको विकल्प हुन सक्छ, लिनेन टिसर्ट र प्यान्ट । हरेक उमेर समूहका महिला–पुरुषको रोजाइमा यो पर्न सफल रहेको बताउँछन्, व्यापारी अशोक राना । उनी भन्छन्, ‘विगतका केही वर्षयता लिनेनका टिसर्ट, प्यान्टको निकै मार्केट छ । कम मूल्य र गर्मीका लागि निकै राम्रो हुने भएर नै लिनेनको कपडाको माग बढेको हो।’

बच्चादेखि वृद्धसम्मका उमेर समूहको रोजाइमा परेको उनी अनुभव सुनाउँछन् । सामान्यतः आठ सय ५० रुपैयाँबाट सुरु हुने टिसर्ट र प्यान्ट कालो, नीलो, हरियो, खैरो र मरुन रंगमा उपलब्ध रहेको उनी बताउँछन् ।

चेक सर्ट
युनिसेक्स ड्रेसमा चल्तीको लुगा हो, कोठे (चेक) सर्ट । यो टिनएजका केटा वा केटीको रोजाइमा परेको व्यापारी बताउँछन् । जिन्स प्यान्ट, ग्रन्ज प्यान्ट, स्वेट्स, स्कट हरेक ड्रेसमा सुहाउने भएकाले विशेष केटीको रोजाइमा यो पहिरन पर्ने गरेको व्यापारी बताउँछन् । यसको मूल्य एक हजार दुई सय रुपैयाँबाट सुरु हुने उनी बताउँछन् ।

प्रकाशित: १९ चैत्र २०७४ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App