८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

बिस्केट जात्रास्थल सफाइ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु हुन झण्डै दुई साता बाँकी हुँदै बिहीबार जात्राको मुख्य आकर्षणस्थल ल्योसिंखेलमा मान्छेको भीड लाग्यो।

जात्रामा जस्तै लागेको भीड जात्रा मनाउनका लागि भने थिएन । जात्रास्थल सरसफाइका लागि थियो । हातमा पञ्जा र मुखमा माक्स लगाएर त्यहाँ सयौँ मासिस बिहानै भेला भए । हातहातमा कुचो, कोदालो, सावेल लिएर सफाइमा बिहानभर उनीहरू व्यस्त देखिए । सरसफाइमा स्कुले केटाकेटीदेखि वृद्धवृद्धासम्म जुटेका थिए ।नेपाल प्रहरी, नेपाली सेना, भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लबका पदाधिकारी पनि सरसफाइमा जुटेका थिए।

सरसफाइको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। नगरपालिका अन्तर्गत गठित पर्यटन तथा वातावरण समितिको आयोजनामा सरसफाइ भएको हो । समितिले प्रत्येक महिनाको १ र १५ गते गरी महिनामा दुई दिन नियमित रूपमा नगरका विभिन्न ठाउँको सरसफाइ गर्दै आएको छ । बिस्केट जात्रा आएकाले जात्रास्थल सरसफाइ गरिएको हो।

सहभागीले जात्रास्थल वरपरका मठमन्दिर, पाटीपौवा, बाटोघाटोसहित चुपिंघाट नदीको सफाइ गरेका थिए । त्यहाँ बिस्केट जात्रामा हजारौँ उपत्यकाबासीले स्नान गर्ने तथा जल चढाउने कार्य हुन्छ । हुनुमन्ते खोला नै ढलमय भएकाले त्यस अन्तर्गतको चुपिंघाट क्षेत्र पनि ढलमय नै छ । त्यहाँ पानी नभई नगरभरिको ढलको पानी बग्ने गर्छ । त्यसकारण पछिल्ला वर्ष खोला नजिकै खानेपानीको धारा राखेर शुद्ध गर्ने चलन छ।

आठ दिन नौ रात लामो भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षणस्थल भक्तपुरस्थित ल्योंसिंखेल हो । त्यहाँ प्रत्येक वर्षको अन्तिम दिन अर्थात् चैत महिनाको अन्तिम दिन साँझ झण्डै ५५ हात लामो लिंगो उठाउने गरिन्छ । साथै प्रत्येक वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते लिंगो ढाल्ने गरिन्छ । हजारौँ युवाले ६ वटा मोटोमोटा डोरीमार्फत तानेर लिंगो उठाउने र ढाल्ने गरिन्छ । लामो बिस्केट जात्राको मुख्य आकर्षण पनि यही नै हो । यही कारण त्यो ठाउँको नाम नै ल्योसिंखेल अर्थात लिंगो उठाउने ठाउँले प्रख्यात छ।

भक्तपुरको बिस्केट जात्रा प्रत्येक वर्षको वैशाख १ गतेको चार दिन अगाडि र चार दिन पछाडि वैशाख ५ गतेसम्म चल्ने गर्दछ । भक्तपुरको टौमढीमा राखेर बनाइएको भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यहाँको जात्रा यही स्थानमै राखेको भैरव र भद्रकालीको रथ तानेरै वैशाख ५ गते सम्पन्न हुने परम्परा छ।

 

 

प्रकाशित: १६ चैत्र २०७४ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App