१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

हिम्मतिला सन्तान

तस्बिर: दिनेश गोले

मलाई धेरै जनाले सोध्छन्– मलाला कसरी यति धेरै हिम्मतिली भई ? मैले उसलाई केही पनि गरिनँ । अँ, मैले एउटा मात्रै काम गरेँ– उसको स्वतन्त्रतापूर्वक उड्ने सपनाको पखेटा काटिनँ ।– जियाउद्दीन युसुफजाई (नोबेल शान्ति पुरस्कार विजेता मलालाका पिता)

पुरञ्जन आचार्यलाई अखबार पढ्ने पुस्ताले लेखपढ गर्ने र विचार दिनसक्ने बुद्धिजीवीका रुपमा चिन्छन् । उनले गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वताका सल्लाहकारका रुपमा समेत काम गरेको सम्झनेहरू पनि छन् । यतिबेला भने उनको परिचय केही फेरिएको छ । मोबाइलमा ‘गुगल’ गर्ने पुस्ताले भने उनलाई दुई बेजोडका छोरीका पिता भनेर चिन्नेहरू बढ्न थालेका छन् । 

उनका दुई छोरीमध्ये जेठी आश्ना भारतीय विमान कम्पनी एयर इन्डियाको पाइलट छिन् । यस्तो अवसर कमै नेपाली युवतीले पाएका छन् । खासमा उनी पहिलो नेपाली नारी हुन्, जसले एयर इन्डियाको अत्याधुनिक विमान उडाउँछिन् । त्यस्तै कान्छी छोरी निकिता इकमर्सका क्षेत्रमा विरलै पाइने सफलताकथाकी पात्र हुन् ।

दुवै छोरी यति सशक्त र हिम्मतिला भएको देखेर पुरञ्जनका नजिकका साथीले सोध्छन्– तिमीले यस्ता छोरी कसरी बनायौ ? कस्तो प्यारेन्टिङ गर्यौ ? पुरञ्जनलाई लाग्छ, ‘दुवै जनाले भरपूर स्वतन्त्रता पाए र दुवैले त्यो स्वतन्त्रता कहिल्यै दुरुपयोग गरेनन् । जियाउद्दीनले झनेझैँ मैले पनि उनीहरूका सपनाको पखेटा काटिनँ ।’

०००

असल मानिस संक्रामक हुन्छ । उसको एउटा असलपनाको प्रभाव अरुलाई पनि पार्छ । यस्ता संक्रामक व्यक्ति थिए, बिपी कोइरालाका बुबा कृष्णप्रसाद कोइराला । उनलाई सबैले पिताजी भन्थे । पिताजीको परिवारले जातपात मान्दैनथ्यो, धर्मका आडम्बरमा बाँधिदैनथ्यो । त्यसैको प्रभावमा परेका थिए, पुरञ्जन आचार्यका बाजे । पुरञ्जनका बाजे तनहुँ रम्घाबाट विराटनगर आइपुगेका थिए र पिताजी कृष्णप्रसादको प्रभावमा परेका थिए । त्यसैले आचार्य परिवारले बाहुन भएर जे गर्नु हुँदैनथ्यो, त्यो सबै गर्यो।

पुरञ्जनले आफ्ना दुई छोरीलाई उनीहरुको रुचिअनुसार पढ्न छुट दिए । त्यसैले पनि जेठी छोरीले पाइलट बन्छु भन्दा उनको कुनै विरोध भएन । कान्छीले उद्मम सुरु गर्दा पनि उनी खुसी थिए ।

पढ्ने वातावरण 

पुरञ्जनको जवानीका दिन साहित्यले क्रमशः तान्यो । पाठ्यपुस्तक मात्र होइन, त्यसबाहेकका अन्य साहित्य बडो चाखका साथ पढ्थे । त्यसबेला विराटनगरमा हिन्दी र रुसी साहित्यको खुब चल्ती थियो र घरमा पठन मात्र होइन, तत्कालीन अन्तर्राष्ट्रिय मुद्दाबारे गहन छलफल हुन्थ्यो । भियतनाममा युद्ध किन भएको छ ? अब विश्व राजनीति कता जान्छजस्ता कुरा १० वर्षकै उमेरमा छलफल गर्ने भइसकेका थिए, पुरञ्जन । 

पुरञ्जनले आफ्ना दुई छोरीलाई उनीहरुको रुचिअनुसार पढ्न छुट दिए । कहिल्यै पनि आफ्नो इच्छा लादेनन् । त्यसैले पनि जेठी छोरीले पाइलट बन्छु भन्दा उनको कुनै विरोध भएन । त्यस्तै कान्छी छोरीले आफ्नै व्यवसाय सुरु गर्दा पनि उनले नैतिक समर्थन नै दिए ।

जेठी आश्ना जन्मदा पुरञ्जन पत्नी उषालाई उत्ति धेरै तनाव थिएन तर कान्छी निकिता जन्मदा भने अस्पतालमा गाइँगुइँ चल्यो– ‘यिनको त पहिलो सन्तान पनि छोरी नै रै’छ । कस्ती अभागी रहिछन् । छोरा जन्मनुपर्ने बेला छोरी जन्मिछ !’

उषा भन्छिन्, ‘मलाई छोरा वा छोरी जे जन्मिए पनि केही थिएन तर समाज भने अझै पनि छोराकै खोजीमा थियो ।’ उषाको कुरालाई सही थाप्दै जेठी आश्नाले थपिन्, ‘हामीलाई वर्षौंसम्म पनि छोरा वा छोरीमा के फरक हुन्छ भन्ने थाहा थिएन । जब अरुले विचरा भाइ वा दाइ रहेनछ भन्ने कुरा गर्न थाले अनि मात्र हामीले आफू हेपिएको अनुभव गर्न थाल्यौँ ।’

आश्ना र निकिता यति मिल्थे कि उनीहरुलाई कहिल्यै पनि आफ्ना लागि दाजु वा भाइ नभएको महसुस भएन । ‘हामी दुई जनाबीच झगडा भइरहन्थ्यो,’ कान्छी निकिताले भनिन्, ‘तर फेरि मिलिहाल्थ्यौँ ।’

पाइलट बन्ने सपना

पाइलट बन्छु भन्ने कतिबेला लाग्यो ? नागरिक परिवारको प्रश्नमा आश्नाले भनिन्, ‘बाल्यकालमा एयरपोर्ट पुग्दा पाइलटले लगाएका ड्रेस र उनीहरूको स्मार्टनेस देख्दा रमाइलो लाग्थ्यो । त्यसैले स्कुलमै पाइलट बन्न मन लाग्थ्यो ।’ (बुबा पुरञ्जन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकार भएकाले र घर पनि नजिकै भएकाले विराटनगर आउजाउ गर्दा प्रधानमन्त्रीको काखमै बसेर प्लेनमा आउजाउ गर्दा पाइलट हुने रहर पलायो ।)

पछि पाइलट बन्न आश्ना दुई वर्षे कोर्सका लागि अमेरिका गइन् । सन् २०१० देखि बुद्ध एयरमा पाइलट नै भइन् । आश्नालाई सन्तोष के लाग्छ भने संसारका अन्य भेगमा भन्दा नेपालमा महिला पाइलटको संख्या सन्तोषजनक छ ।

आश्नालाई बाल्यकालको सपना पूरा हुँदा कस्तो लाग्छ ? उनले विभिन्न प्लेन उडाइन्, तीमध्ये ठूला प्लेन उडाउँदा कस्तो लाग्छ ? ‘तालिम गर्दा सधैँ सानो प्लेन उडाइन्थ्यो,’ उनी भन्छिन्, ‘ठूलो मात्र उडाउँछु भन्ने तयारी थिएन तर ठूलो प्लेन उडाउन जुर्यौ।’ 

अमेरिकाबाट फर्किएपछि आश्माले बुद्ध एयरमा जागिर पाइन् । उनको भागमा ठूलो प्लेन उडाउनुपर्ने हुनाले मलेसियामा तालिम सुरु भयो । त्यो बेला पाइलटहरु नै बेरोजगार बस्नुपर्ने जमाना थियो । त्यसैले उनले कडा प्रतिस्पर्धामा उत्रिनुपर्ने थियो । पछि ठूलो प्लेन आउने भएपछि नयाँ किसिमको जागिर सिर्जना भयो र त्यसका लागि आश्नाले काम पाइन् ।

कडा प्रतिस्पर्धाका बीच उनीसँगै अन्य चार जना छानिए । तालिम कति कडा थियो भने बेलाबेलामा आश्नाले बुबा पुरञ्जनलाई काम गर्न सक्तिनँ होला भनी निराश हुँदै फोन गर्थिन् । बुबाले उनलाई हौस्याउँथे । हुन पनि सानो प्लेन चलाउने तालिम लिएको व्यक्तिले एकै पटक ठूलो प्लेन चलाउनु पर्ने थियो । तालिम कडा र कठिन थियो । नेपालमा नै पहिलो पटक एमसिसी सर्टिफिकेटका लागि तालिम भइरहेको थियो । जुन विरलै हुने अवसर थियो र त्यसका लागि फ्रान्सेलीहरूले तालिम र परीक्षण गर्दै थिए । यी सबै परीक्षणमा आश्ना पास भइन् ।

प्लेन उडाउनु भनेको एक किसिमले व्यवस्थापन गर्नु हो । एकै पटक प्लेनमा उडिरहेका सैयौँ यात्रुलाई व्यवस्थापन, उनीहरुको भावना र संवेग बुझ्नुपर्ने हुन्छ । तिनलाई गन्तव्यसम्म पुर्याउन कसरी ह्यान्डल गर्ने, कस्तो किसिमको कम्युनिकेसन गर्ने भन्ने तालिममा सिकाउँछ र उनले त्यो पनि पूरा गरिन् । 

यसपछि उनी झण्डै पाँच वर्ष ट्रेनी पाइलट भइन् । पूर्ण रुपमा पाइलट भएको भने एक वर्ष पुग्यो । पछि पाइलटको माग यति बढ्यो कि उनी यतिबेला एयर इन्डियाको पाइलट बनेकी छन् । उनका पति प्रशन्न गुरुङ पनि एयर इन्डियाकै मुख्य पाइलट छन् । नेपालमा ५०० सिभीको प्लेन उडाइरहेकी आश्नाले भारतमा भने उच्चस्तरको ६०० सिभीको प्लेन उडाइरहेकी छन् । भारतीय उडान नेपालको भन्दा व्यवस्थित भएको उनको बुझाइ छ । 

आश्माले नेपालमा सबैभन्दा लामो दुरीको उडान धनगढीसम्म गरेकी थिइन् । काठमाडौँबाट धनगढी पुग्न जम्मा एक घण्टा १५ मिनेट लाग्थ्यो । भारतमा त कम्तीमा पनि एक घण्टाको उडान हुन्छ । त्यहाँको लामो–लामो उडान समय उनका लागि नौलो थियो । नेपालमा धेरै पहाड छन्, मौसममा बदली भइरहन्छ । यसले नेपाली पाइलटलाई चुनौती थपिरहेको हुन्छ । भारतमा भने यस्तो नभएको उनको भोगाइ छ । नेपालमा उडान गरिसकेका अनुभवी पाइलट विदेशमा चाँडै पत्याइनुमा यहाँको अप्ठेरो उडान नै रहेको उनी बताउँछिन् । ‘यहाँ सिक्ने अवसर धेरै हुन्छ,’ उनी भन्छिन्, ‘सहायक पाइलटले नेपालमा जति चाँडो सिक्ने अवसर पाउँछन्, अन्यत्र त्यस्तो अवसर बिल्कुलै पाउँदैनन् । अनि नेपालको जस्तो जति चुनौतीपूर्ण उडान भयो, मान्छेले उति बढी सिक्छ।’

परिवारको सहयोग

नेपालबाट गएर भारतमा एउटा राम्रो पाइलटका रुपमा काम गर्न पाउनु परिवारको सहयोग बिना सम्भव नभएको आश्ना बताउँछिन् । ‘परिवारको सहयोग भएन भने मेन्टल्ली र इकोनमिकल्ली काम गर्न गाह्रो हुन्छ,’ आश्ना भन्छिन्, ‘मैले नेपालको एयर कम्पनीलाई ठूलो रकम तिर्नुपथ्र्यो । परिवारको सहयोग पाएँ, तिरेँ र विदेश गएँ । परिवारको सहयोग नभएको भए मैले पुरानै काममा चित्त बुझाउनु पथ्र्यो र राम्रो अवसर पनि पाउँदिन थिएँ ।’

परिवारको सहयोग चाहिने अर्को पाटो चाहिँ हवाई यात्राका क्रममा हुने दबाब र तनाव पनि एउटा हो । ‘घरमा पनि तनाव भयो भने, आफ्ना कुरा बुझिदिएनन् भने त अघि बढ्न गाह्रो हुन्छ नि !’ आश्नाले अप्ठेरा खुलाइन्, ‘घरको सर्पाेट र ब्याकअप भएन भने त अभियस्ली डिप्रेसनमा जाने सम्भावना हुन्छ ।’ तर सबै किसिमका सम्बन्धलाई सन्तुलित राख्न सके ‘स्ट्रेस’ कम गर्न सकिने उनको अनुभव छ । 

उनलाई सबैभन्दा रमाइलो लागेको क्षण ? ‘बुबा–ममी दुवै जनालाई मैले उडाएको प्लेनमा लगेँ,’ उनले भनिन्, ‘त्यो दिन मैले पढेको, बुबा–ममीले मेरालागि गर्नुभएको योगदानको ऋण तिरेँजस्तो लाग्यो ।’

एउटा अभिभावकका रुपमा भने पुरञ्जनलाई सधैँ लागिरहन्छ, ‘ऊ सानैदेखि आफ्ना कुरामा क्लियर थिई । पाइलट नै बन्छु भन्थी, सानैदेखि । उसलाई किन रोक्ने ? पढ्नमा तेज भएकाले धेरैले एनजिओ÷आइएनजिओतिर लगाऊ भनेर सुझाव दिन्थे तर उसले त्यो कुरा सुनिन । हामीले पनि रोकेनौँ । उनीहरूको जिन्दगी हो, उनीहरुले पूर्ण रुपमा बाँच्न पाउनुपर्छ ।’

यसपछि मुसुमुसु हाँसिरहेकी कान्छी छोरी निकितालाई सोधियो, ‘तपाईंले यति सानैमा सफलता कसरी पाउनुभयो ?’

उनी आफू सफल भएको कुरा पत्याइनन्, भनिन्, ‘हामीले त भर्खरै काम सुरु गरेका छौँ, यसलाई अझै बढाउनु छ ।’

निकिता र उनकी साथी किरण तिमल्सिनाले खाजा खाने पैसा जम्मा गरेर सुरु गरेको इ–कमर्स यतिबेला विस्तार हुँदैछ । नागरिक परिवारको एउटा अनुमानित आँकलनअनुसार यतिबेला उनको कम्पनी अर्बन गःलले वार्षिक दुईदेखि तीन करोड ग्रस बिजनेस गर्छ । जम्माजम्मी १९ वर्षको उमेरमा सुरु गरेको यो कम्पनी यतिबेला सफलतम स्टार्टअपमध्येमा गनिन्छ । आखिर के कारण उनलाई यस्तो कम्पनी खोल्न प्रेरित गर्यो ? इन्टरनेट चलाइरहने बानी परेकी निकितालाई एक क्लिक गर्दा घरैमा सामान आउने देख्दा रमाइलो लाग्थ्यो रे ! कहिलेकाहीँ उनी विभिन्न वेबसाइट चहार्थिन् र आफूलाई चाहिने सामग्री घरैमा कसैले ल्याइदिए हुन्थ्यो भन्ने सोच्थिन् । सोच्दासोच्दै आफैँ यस्तो व्यवसाय किन नगर्ने भन्ने उनलाई लाग्यो । समय सहज थिएन तर पनि काम सुरु भयो । किरण र उनी एउटै आइटी कम्पनीमा काम गर्दा साथी बनेका थिए । उनीहरू दुई जनाबीच कुरा मिल्यो र यो सहकार्य अझैसम्म जारी छ ।

इकमर्स साइट

गोजीमा उति धेरै पैसा थिएन । त्यसैले उनीहरुले वेबसाइट बनाएनन् । फेसबुकबाटै सन् २०१२ मा ‘अर्बन गःल’ नामबाट इकमर्स सुरु गरे । पहिला उनीहरुले विभिन्न ठाउँबाट राम्रा पहिरनका तस्बिर खिचेर ल्याउँथे र त्यसलाई फेसबुकमा पोस्ट गर्थे । कतिलाई मन पथ्र्यो र त्यो पहिरन किन्न रुचि देखाउँथे । उनीहरुले पहिरन घरैमा पुर्याइदिन्थे र त्यसपछि पैसा लिन्थे । 

सामानको प्रि–अर्डर लिने र बेच्ने भएकाले उनीहरुलाई धेरै लगानी गर्नुपर्ने बाध्यता पनि भएन । जसलाई सामान चाहिन्छ, त्यो अर्डर लिने र पछि पुर्याइदिने काम सुन्दा जति सजिलो छ, कार्यान्वयन गर्न उत्ति नै गाह्रो । कतिपय अवस्थामा त अर्डर गर्ने तर पैसा नदिने पनि देखिए । 

पुरञ्जन भन्छन्, ‘बिबिए पढ्दा–पढ्दै उनीहरूले यो काम थाले । छोरी विज्ञान पढ्दै थिई तर केही दिनभित्रै विज्ञान आफ्नो विषय होइन भन्ने लागेपछि व्यवस्थापन पढ्न थाली । घरमा त उसले केही पनि भनिन तर थाहा पाएपछि मैले उसलाई केही भनेनौँ किनभने छनोट उसको थियो । हामीले त उनीहरूको रुचिलाई सहजीकरण मात्र गरिदिने हो ।’

निकिता भन्छिन्, ‘कहिलेकाहीँ के पढ्ने भन्ने थाहा हुँदैन तर पढ्दै गर्दा यो मेरो बाटो हो कि होइन भन्ने थाहा हुन्छ । यस्तो बेलामा अबेर नगरी बाटो परिवर्तन गरिहाल्नु पर्छ तर मैले समयमै म्यानेज्मेन्ट पढ्न थालेँ र त्यहीअनुसारको काम पनि थाल्यौँ । यसको फाइदा के भयो भने, मैले एक्जाममा पास हुन पढिनँ, व्यवसाय कसरी चलाइँदो रहेछ भनेर प्राक्टिकलका लागि पढेँ ।’

पहिला उनलाई हिसाब ज्यादै गाह्रो लाग्थ्यो, अब व्यवसायी नै बन्ने भएपछि त हिसाब सिक्नु परिहाल्यो !

‘अर्बन गःल’को अभियान

अर्बन गःल कम्पनीसँग अहिले २२ सय फिटको अफिस छ । बानेश्वर कार्यालयमा ३० जनाले रोजगारी पाएका छन् । पुरानो बानेश्वरमा केक फ्याक्ट्री छ । राइजिङ मल दरबारमार्गमा एउटा स्टोर पनि चलिरहेको छ । एउटी २३ वर्षे युवतीले आफ्नै उमेरकी अर्की एक जना साथी (किरण) सँग मिलेर यी सबै चलाइरहेकी छन् भन्दा हत्तपत्त कसैले पनि पत्याउँदैन ।

आफ्नो कामबाट उनी कति उत्साहित छिन् भने अब चाँडै नै थ्रिडी प्रिन्टरमार्फत् धेरै काम गर्ने इच्छा बुनेर बसेकी छन् । 

‘नेपालमा काम गर्ने वातावरण नै छैन भन्नेहरू धेरै छन्’ उनले भनिन्, ‘तर यहाँ कामको पोसिबिलिटी धेरै छ । आइटी र अन्य कतिपय क्षेत्रमा धेरै काम हुन बाँकी नै छ । काम गर्न चाहने युवाका लागि गर्नलायक काम धेरै छन् ।’ निकिताको उत्साह आँखामा देखिन्छ । 

बिजनेसका अप्ठेरा

नेपालमा व्यवसाय गर्न गाह्रो त छ तर उनले अहिलेसम्म त्यस्तो अप्ठेरो झेलेकी भने छैनन् । आफ्नो व्यवसाय समयमै ‘डेलिभरी’ दिनुपर्ने हुनाले ट्राफिक चाहिँ ठूलो समस्याको रुपमा देखिरहेकी छन् ।

नाकाबन्दीका बेलामा उनले सबैभन्दा ठूलो समस्या झेलिन् । त्यस बेला पनि उनले समाधान गर्नका लागि आफ्नो स्कुटर बेचेर साइकल किनिन् र डेलिभरीका समस्या समाधान गरिन् । उनी भन्छिन्, ‘समस्या त जहाँ पनि हुन्छ । त्यसको क्रिएटिभ समाधान गर्नुपर्छ । नाकाबन्दीका बेला पेट्रोल नपाइएपछि हामीले स्कुटर बेच्यौँ र साइकल किन्यौँ । नाकाबन्दीका बेला सबैथोक बन्द गर्ने हो कि भन्ने नलागेको होइन तर साइकल किन्यौँ र समस्या समाधान गर्यौ। यतिबेला सोच्दा, धन्न कम्पनी बन्द गरिएन जस्तो लाग्छ ।’

हुन त उनी अझै पनि पढिरहेकी छन् । विदेश पढ्ने कुराको उनी विरोधी त होइनन् तर नेपालमै पढ्नुका फाइदा भने देख्छिन् । भन्छिन्, ‘तपाईंले विदेशमा पढ्नुभयो भने विदेशी परियोजना, विदेशकै कुरा, विदेशकै म्यानेज्मेन्ट आदि पढ्नुहुन्छ । र, ती कुरा नेपालमा इम्प्लिमेन्ट गर्ने प्रयास गर्नुहुन्छ । यसो गर्दा तपाईंले धेरै समस्या भोग्नुहुन्छ । नेपालमै पढ्नुभयो भने नेपालकै समस्या पढ्नुहुन्छ, बुझ्नुहुन्छ र तिनलाई इम्प्लिमेन्ट गर्ने तरिका पनि पढ्नुहुन्छ ।’

स्तरीय प्रडक्ट दिन सक्यो भने नेपालमा अघि बढ्न गाह्रो नहुने उनको अनुभव छ । त्यसैले राम्राराम्रा स्तरीय उत्पादन उनको लक्ष्य बनेको छ । पछिल्लो समय इकमर्सले विश्वास कमाउन थालेकोमा उनलाई सन्तोष लागेको छ । कुनै एउटा कम्पनीले गुणस्तरहीन सामान बेच्न थाल्यो भने त्यसको असर सबै इ–कमर्स कम्पनीलाई पुग्ने उनको अनुभव छ । पाँच वर्ष चलाएको कम्पनीले उनलाई यो अनुभव दिलाएको हो ।

यतिबेला आमा उषालाई सन्तोष लागेको छ । उनी बेलाबेलामा अस्पतालका कामदारले त्यो दिन गरेको साउती सम्झन्छिन्– ‘यिनको त पहिलाको पनि छोरी रे !’ दुवै छोरी एक से एक बनाउन सकेकामा उनलाई सन्तोष लागेको छ । यसका लागि उनले सधैँ छोरीहरूलाई राम्रा कामका लागि हौस्याइरहिन् । स्वभावले कम बोल्ने उषा भन्छिन्, ‘सहयोग मागे दिने, नमाने हस्तक्षेप नगर्ने मेरो बानी छ । फाल्तुमा त म सल्लाह पनि दिन्नँ ।’

प्रकाशित: ८ चैत्र २०७४ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App