१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

पाँच दशक लामो रोमान्टिक यात्रा

तस्बिर: कृपा श्रेष्ठ

नेपाली साहित्यमा कहलिएको नाम परशु प्रधान र बाल साहित्यमा धेरै कलम चलाएकी कल्पना प्रधान अहिले ७५ वर्षमा हिँड्दैछन् । वैवाहिक कारणले ५० वर्षअघि नै यो जोडीलाई क्रान्तिकारी मानिन्थ्यो । भोजपुरका नेवार परशु र अहिलेको खोटाङमा पर्ने मार्से बतासेका रेग्मीहरूकी चेली कल्पनाको विवाह त्यसबेला नै ठूलो सामाजिक फड्को थियो । नेवारले बाहुनी लगेको कुरा सामाजले सहजै स्वीकार्न सक्ने अवस्था थिएन । त्यस्तो अवस्थामा परशुले जानुकादेवी रेग्मीलाई भगाएर आफ्नो मात्र बनाएनन्, उनको नामै परिवर्तन गरिदिए— कल्पना प्रधान।

५४ वर्षअघिको त्यो कालखण्डबारे प्रधान भन्छन्, ‘कति कल्पना मात्र गर्ने भनेर नामै बद्लिएर कल्पना राखिदिएको हुँ ।’ भोजपुरका रैथाने परशु त्यसबेलाको युवा लयमा थिए । उनी कथा, कविता कोर्थे भने राष्ट्रिय समाचार समितिका लागि समाचारसमेत लेख्थे । त्यसबाहेक उनी शिक्षक थिए । त्यस बेलाको पूर्व ३ नम्बरको सदरमुकाम भोजपुरमा राम आदर्श रात्रि स्कुलमा साँझ ६ बजेदेखि ९ बजेसम्म उमेर घर्किसकेका केटाकोटी पढ्थे । त्यहाँ ३ वर्ष पढेपछि म्याट्रिक अर्थात् एसएलसी दिन पाइन्थ्यो । त्यही स्कुलमा परशु शिक्षक थिए भने जानकीदेवी रेग्मी स्कुलकी छात्रा थिइन् । भोजपुरमा फुपू–फुपाजुको घरमा बसेर रात्रिकालीन स्कुलमा उनी पढ्थिन् । कक्षा ८ मा पढ्दै गरेकी जानकीदेवी साहित्यमा परिचय कमाउँदै गरेका परशु मन पर्न थाले । उनी पनिसाहित्य भनेपछि हुरुक्क हुन्थिन् । साहित्य तन्तुले दुवैलाई नजिक बनायो । परशु भन्छन्, ‘मानिसको स्वभाव, चरित्र र समर्पण भावले बाँध्ने रहेछ, मायाप्रीति त्यसरी नै बस्यो ।’ कल्पना भन्छिन्, ‘म चुलबुले स्वभावकी थिएँ । लेख्न खोज्थेँ, उहाँले सिकाउनु हुन्थ्यो ।’

प्रेम अँकुराउन थालेपछि दुवै जना स्कुल नजिकैको चिया पसलमा भेटघाट गर्थे । भोजपुरको टँुडिखेलमा साँझविहान भेटघाट हुन्थ्यो । दिनदिनै भेट हुनाले कहिल्यै चिठ्ठीपत्र लेख्नु परेन । स्कुल र बजारमा आफूहरूबीच झाँगिएको प्रेम सम्बन्धबारे गाइँगुइँ चले पनि धेरैले थाहा भने पाएका थिएनन् । ‘अलिअलि गाइँगुइँ चल्न थालेको थियो, हामी भागिहाल्यौँ,’ परशु भन्छन्, ‘भोजपुरमै विवाह गरेको भए त जेल परिन्थ्यो होला !’

भोजपुर–बनारस–विराटनगर हुँदै भोजपुर 
२०२० साल वैशाख–जेठमा उनीहरूको प्रेम अंकुरायो, त्यसै वर्षदेखि देशको कानुनले कोल्टे फेर्दै थियो । परशुका अनुसार त्यसबेलाको मुलुकी ऐनमा ठूलो जातकी चेलीले साना जातका केटासँग विवाह गर्न मिल्दैनथ्यो । विवाह गरेमा केटाले एक वर्ष र केटीले ६ महिना जेल बस्नुपर्ने व्यवस्था थियो । ‘त्यसबेला मुलुकी ऐन आउँदैछ र त्यसमा जातपातको पुरानो व्यवस्था हट्दै छ भन्ने हल्ला चलेको थियो । ऐन कार्यान्वयनमा आइसकेको थिएन,’ परशुले भने, ‘त्यसैले हामी भाग्नुको विकल्प थिएन । मैले भगाएको वा उनी भागेको भन्ने होइन । दुवैको मन मिल्यो, टाप ठोक्यौँ ।’ 

भोजपुरबाट उनीहरू सँगै भागेका भने  होइनन् । त्यसबेलाको समाजकै कारण त्यस्तो निर्णय लिनु परेको परशुको कथन छ । आपसमा सल्लाह गरेर बेग्लाबेग्लै विराटनगर झरे अनि त्यहाँबाट बनारस भागे । त्यतिबेला जानकीदेवी विराटनगरमा आफन्तकहाँ गइन् भने उनलाई पछ्याउँदै परशु पनि विराटनगर झरे । ‘हामीसँगै भोजपुरबाट हिँड्न सक्ने स्थिति थिएन,’ परशु भन्छन्, ‘सल्लाह गरेर बेग्लाबेग्लै बिराटनगर पुग्ने र त्यहीँबाट भाग्ने योजना थियो ।’ योजनाअनुसार दुवै जना बेग्लाबेग्लै विराटनगर पुगे । भोजपुरबाट चार दिनको पैदलयात्रापछि धरान हुँदै विराटनगर पुगेका थिए । विराटनगरमा उनीहरूको भेटघाट भयो र त्यहीँबाट बनारस टाप कस्ने काम भयो । ‘विराटनगर कहाँ कसकोमा बस्ने भन्ने थाहा थियो,’ परशुले भने, ‘म त्यही घरमा गएँ, भेटघाट भयो र भाग्ने योजना बन्यो ।’ बनारसमा देवालयहरूमा खाने, बस्ने र  घुमफिर गर्दै करिब एक महिना बिताएपछि उनीहरू विराटनगर नै फर्किए । 

विराटनगरमा आएपछि उनीहरू पुनः बेग्लाबैग्लै भए । जानकीदेवीबाट भित्रभित्रै कल्पना प्रधान भैसकेकी कल्पना आफ्ना काकाहरूको घरमा गइन् भने परशु भने बाहिरै साथीभाइ र लजहरूमा बसेको सुनाउँछन्, परशु । ‘रेग्मीहरूले हाम्रो सम्बन्ध थाहा पाए पनि थाहा नपाएजस्तो गरे, म पनि उनीहरूको सम्मान गर्दै बाहिरै बसेँ,’ परशु भन्छन्, ‘मलाई त इज्जत, बेइज्जतको कुरा खेल्थ्यो, रेग्मीहरूको घरमा जाने हिम्मत नै भएन ।’ आफूले रेग्मी परिवारलाई दुःखी बनाउन नचाहेको परशुको कथन छ । कल्पना भने त्यसबेलाको समयमा भगवानले बचाएको बताउँछिन् । माइती खलकका रेग्मीहरूले साथसमर्थन गरेकाले सम्बन्ध टिकेको कल्पनाको बुझाइ छ । ‘समाजमा अलिअलि परिवर्तन आइरहेको थियो, समाज परिवर्तनको मोडमा रहेको र रेग्मीहरू समयलाई बुझ्न सक्ने हुनुहुँदोरहेछ,’ कल्पनाले भनिन्, ‘त्यसबेलाको समयमा मलाई भगवानले बचाएको हो, काकाहरूको सहयोग पाएँ ।’ ६५ वर्षअघि ८ वर्ष उमेरमा वालविधवा बनेकी चेलीलाई त्यसबेलाको धार्मिक सामाजिक प्रचलन अनुसारको व्यवहार गरेनन् रेग्मी परिवारले । अबोध चेलीलाई बालविवाहको बन्धनबाट मुक्त गराए र दुई दिन टाढाको भोजपुरमा पढ्न पठाए । बाबु मोहनप्रसाद रेग्मी आफैँमा विद्वान थिए । उनले लेखेको ‘मोहन गीता’ पछि प्रकाशितसमेत भयो । बाबुको अल्पायुमा निधनपछि एक्लो सन्तानलाई विधवा आमाले सामाजिक बन्धनबाट छुटकारा दिइन् भने काकाहरूले कुनै रोकटोक र व्यवधान गरेनन् । काकाहरूमा परिवर्तनको चेत भएको र उहाँहरूको सहयोगकै कारण आफू यहाँसम्म आएको आएको कल्पना बताउँछिन् । यता किशोरावस्थामा झाँगिएको  परशु कल्पनाको प्रेमिल सम्बन्धले ५० वसन्त पार गरिसकेको छ । 

प्रतिक्षामा मुलुकी ऐन 
सामाजिक कानुन मुलुकी ऐनको अन्तर्जातीय विवाह गर्द जेल पर्नुपर्ने भय र सामाजिक कारणले भागेर विराटनगर र बनारस पुगेको प्रधान दम्पती मुलुकी ऐन लागू हुने २०२० साल भदौ १ गतेको प्रतिक्षामा थियो । ‘मुलुकी ऐनमा जातपातको पुरानो व्यवस्थाअनुसार कारवाही गर्नु व्यवस्था हटेर नयाँ व्यवस्था गरेको थियो,’ परशु भन्छन्, ‘हामी त्यसकै प्रतिक्षामा थियौं । मुलुकी ऐन लागू भएपछि भोजपुरको घरमा फर्कियौँ ।’ विराटनगरबाट भोजपुर झरेका उनीहरू सोझै आफ्नो घर गएनन् । ११ सन्तान मध्येका जेठा परशु भोजपुरमै रहेकी सीता केसी कहाँ पुगे । सीताले त्यस बेला अन्तर्जातीय विवाह गरेकी थिइन् । परशुले उनीसितै सहयोग मागे । ‘म सानो छँदा माया गरेर खेलाउने फुपू हुनुहुन्थ्यो उहाँ र उहाँकहाँ नै हामी शरण लियौँ,’ परशु विगत सम्झन्छन्, ‘मुलुकी ऐन लागू भएपछि घर गयौ, घरको जेठो छोरो भएकाले जिम्मेवारी मेरै थियो, सम्हाल्न थालेँ, सबै मिल्दै गयो ।’ 

जेल बस्न नपरोस् भनेर भागेको कथन परशुको छ । ‘समाजबारे खासै वास्ता थिएन, जेल बस्नुपर्ने चिन्ता थियो,’ परशु भन्छन्, ‘ममा समाजमा केही गरौं भन्ने सोच र चिन्तन थियो । त्यो बेलाको समयमा ममा अलिक बेग्लै जिन थियो सायद ।’ समाजमा क्रान्ति गरौं, केही गरौँ भन्ने भावनाले अन्तर्जातीय विवाहमा होमिएको कथन उनको छ । 

साहित्यको भरथेग 
भोजपुरका स्कुलहरूमा अध्यापन गरिरहेका परशुलाई साहित्य साधनाले देशदेशावरमा चिनायो भने प्रशासनको उपल्लो पदमा पनि पु¥यायो । उनी आफ्ना आरोह अवरोहलाई भगवानको कृपा भन्ने गर्छन्  । शिक्षण गर्दै साहित्यिक सिर्जनामा अनवरत लागिरहेका परशुलाई साहित्य सेवाले नै राजधानीसम्म तानेको हो । यहीँबाट उनी फक्रँदै, फैलँदै गएका हुन् । साहित्यकार केदारमान व्यथित त्यसबेला यातायात मन्त्री थिए । उनले नेपाली साहित्य संस्थान भन्ने संस्था खोलेर देशव्यापी कथा प्रतियोगिता गराएका थिए । त्यो प्रतियोगितामा भोजपुरबाटै परशुले भाग लिएका थिए ।  ‘फेरि आक्रमण’ शीर्षकको कथा लेखेर उनले रजिस्ट्री गरेर पठाएको र त्यसमा प्रथम भएको उनी बताउँछन् । प्रथम भएपछि पुरस्कार थाप्न झापाको भद्रपुर आउँदा व्यथितसँग त्यहीँ भेट भयो । त्यही भेटले उनलाई काठमाडौं डो¥यायो । व्यथितले ‘तपाईं पहाडमा बस्ने होइन, अब काठमाडौँ आउनु होस्’ भनेपछि उनी केही समयमै काठमाडौं आए । काठमाडौंमा परशुलाई व्यथितले साझा यातायातको प्रशासकीय अधिकृतको जागिरका साथै आफ्नो पिए पनि बनाए । साझाको प्रशासकीय अधिकृत भैरहेकै समयमा उनले लोकसेवा आयोगमा अधिकृतको जाँच दिए । त्यसबेला उनी प्रथम भए तर सामान्य प्रशासन मन्त्रालयले उनलाई हाजिर गराएन । कारण थियो, त्यही अन्तर्जातीय विवाह । अन्तर्जातीय विवाह गरेकै कारण कतिपयले उनलाई कम्युनिस्ट भन्ने गर्थे र कम्युनिस्ट भएको आरोपमा उनी तीन महिनासम्म बेरोजगारै बसे । यो २०२७ सालतिरको कुरा हो  । यसबीच परशु र कल्पनाका चार जना लालाबाला भैसकेका थिए । छोरी प्रतीमा, प्रतीक्षा, प्रतीक र प्रतिबोधको लालनपालन  एकातिर थियो भने अर्कोतिर लोकसेवा पास गरेर पाएको जागिर खान नपाएको अवस्था थियो । परशुको साहित्यिक परिचय भने त्यो बेला उकाली लाग्दै गरेको थियो । त्यस समयका मुख्य सचिव थिए, अर्का साहित्य अनुरागी कृष्णबम मल्ल । मल्लले परशुलाई सामान्यले हाजिर नगराएको जानकारी भएपछि उनी आफैँ परशुको जमानी बसिदिए । ‘मुख्य सचिव आफैँ जमानी बसेर मलाई जागिर खाने वातावरण बनाउनु भएको हो,’ परशु भन्छन्, ‘यो सबै भगवान कृपा हो, उहाँ साहित्यकारलाई माया गर्ने भएकाले मैले अवसर पाएँ ।’ 

साहित्यिक यात्रा 
१६ वर्षको उमेरमा कविता संग्रह प्रकाशित गरेका परशुको साहित्यमा उँचो स्थान छ र सँगै यात्रामा  छन् कल्पना । बाल साहित्यमा कलम चलाउने कल्पनाका कथा, कविता र उपन्याससमेत प्रकाशित छन् । ‘मेरो सानो खरायो आज कता हरायो....’ बालगीत उनले ५० वर्षअघि रचना गरेकी हुन् । परशु र कल्पनाको साहित्यिक यात्रा सँगसँगै जारी छ । उनीहरु आफ्नो सबैभन्दा मूल्यवान सम्पत्ति बानेश्वरस्थित निवासमै रहेको पुस्तकालयलाई मान्छन् । 

सिडिओ भएपछि ससुराली 
बाहुनकी छोरी भगाएको आरोप खेपिरहेका परशुलाई पारिवारिक सम्बन्ध सुधार हुँदै गएपछि पनि ससुराली जाने साइत भने हत्तपत्त जुरेन । खोटाङको प्रमुख जिल्ला अघिकारी भएको समयमा विवाह गरेको करिब २० वर्षपछि उनी ससुराली गाउँ मार्से पुगे, घोडा चढेर । रेग्मीहरूले राम्रो स्वागत सत्कार गरेको उनी सम्झन्छन् । कल्पना भने विवाहको केही वर्षपछि नै माइती पक्षसँग आउजाउ गर्न थालिसकेकी थिइन् । साहित्यिक जीवन र प्रशासनिक पदहरूमा उकालो लाग्दै गरेकाले आफूहरूको अन्तर्जातीय विवाहलाई समाजले स्वीकार्य गर्दै गएको विश्लेषण परशुको छ । 

दुवै सम्झौतावादी 
लामो वैवाहिक जीवनमा कत्तिको ठाकठुक पर्छ ? परशु भन्छन्, ‘हामीबीच ठाकठुक नहुने त होइन तर हामी दुवै सम्झौतावादी भएकाले चाँडै कुरा मिलिहाल्छ । बुढेसकालमा लामो समयसम्म भगवान् भक्तिमा लाग्ने, धर्मकर्ममा रमाउने कल्पनासँगै ताल मिलाउन चाहँदैनन्, परशु । बिहान सबैरे उठ्ने दम्पतीमध्ये परशु मर्निङ वाकमा निस्कन्छन् भने कल्पना भगवान् भक्तिमा । भगवानप्रति दुवैको अटल विश्वास छ । परशु आफ्नो आरोह–अवरोहलाई भगवान्को कृपा ठान्छन् भने कल्पना आफूलाई भगवानले जोगाएर यहाँसम्म ल्याएको बताउँछिन् । 

 

प्रकाशित: १७ फाल्गुन २०७४ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App