बालकृष्ण कट्टेल
कहाँ हराएका थिए
उदाउँदै गरेका यी सूर्यहरू ?
तिमी अस्ताएपछि
सुरु हुने अँध्यारोको शासन
कस्तो हुन्छ
तिमीलाई थाहा छ, सूर्य ?
मेरी हजुरआमा
कलश भुइँमा राखेर
जोड्नुहुन्थ्यो हात आकाशतिर
र, पानी चढाएपछि सूर्यलाई
गर्नुहुन्थ्यो प्रार्थना
औँसी नझरोस् धर्तीमा कहिल्यै पनि !
तर थेत्तरो औँसी
हरेक महिना
ओर्लन्थ्यो धर्तीमा लुसुक्क
ग्रिनेड पड्काउँदै आकाशमा
अपहरण गरेर जूनलाई आकाशबाटै !
त्यही रात
छोड्नुहुन्थ्यो मेरी हजुरआमा एक छाक
जून हराएको शोकमा !
औँसीको रातमा
सारा ब्रह्माण्ड शोक मनाइरहँदा
चम्कन्थे तारा आकाशभरि
म भने सोचमग्न हुन्थेँ
तारा चम्कन शोक पर्नुपर्ने रहेछ
घाम÷जूनले जुठो बार्नुपर्ने रहेछ !
सूर्य अस्ताएपछिका
शोकमग्न रातहरू
मैले पनि भोगेको छु
अन्धकारको क्रूर इसारामा
म पनि कतै–कतै नाचेको छु
अझै पनि ढुक्क हुन सकेको छैन
अब रातले नचाउँछ कि दिनले
इच्छाले चलाउँछ कि आग्रहले ?
बाँच्नका लागि
औँसीकै इसारामा नाच्नुपर्ने भए
भन म कुन ग्रिनेड बोकौँ ?
डाक्टरले फालेको
वा, वैद्यले पालेको ?
बोराले टालेको
वा, रगतले गालेको ?
मैले त बुझ्नै सकेको छैन
सृष्टिले युद्ध चाहन्छ कि शान्ति ?
शोक चाहन्छ कि कान्ति ?
हजुरआमालाई सोध्न मन छ
‘हजुरआमा !
बाँच्नका लागि
हतियार चाहिन्छ कि
सूर्यप्रतिको आस्था ?’
हजुरआमा हुनुभएको भए
पूर्व देखाउँदै भन्नुहुन्थ्यो
‘साइँला !
उदाउँदै गरेको घामलाई हेर
तैँले देखेको रङ
कान्तिको आभा हो
तैँले देखेको प्रकाश
शान्तिको संकेत हो !’
प्रकाशित: १२ फाल्गुन २०७४ ०३:१० शनिबार