२० मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

यस्ता छन् ढुंगामा कोरिएका मल्लकालीन अभिलेख

भक्तपुर, च्यामासिंहबाट करिब ५ किमी पूर्व लागेपछि आउँछ, हात्तीगौडा । त्यहाँबाट थोरै उकालो लागेपछि नालाछापको खेतमा देखा पर्छन्, विशाल चट्टान।

सो चट्टानमा राजा भूपतिन्द्र मल्लको शासनकालको अभिलेख देखिन्छ । चट्टानमा नेपाल संवत ८३५ मिति अंकित अभिलेख छ।
झट्ट हेर्दा चेप्टा ढुंगाजस्तै देखिने त्यहाँका चट्टानमा थुप्रै चित्र छन् । त्यहाँ बाघ र घोडासँगै राजाहरूले गोरू जुधाइरहेको, केटाकेटी खेलिरहेकोलगायत चित्र देख्न सकिन्छ । यस्ता अभिलेख र चित्र पाँच वटाभन्दा बढी ढुंगामा कोरिएका छन्।  

नालाछापको खेतदेखि करिब १० मिनेट उकालो लागेपछि हलल गाउँ आउँछ । गाउँको भिरालो भागमा चट्टानका थुप्राथुप्री देखिन्छ । दिउँसै पनि सुनसान लाग्ने यस गाउँको बीच भागमा ठूलो चट्टान छ । स्थानीयले यो चट्टानलाई ‘ठूलो ढुंगा’ भन्ने गरेका छन् ।
संस्कृतिविद् ओम धौवडेलका अनुसार यो चट्टान धेरै पुरानो मानिन्छ । मल्लकालीन समयमा राजाहरूले मठ–मन्दिर र ढुंगाका देवल बनाउन यहीबाट ढुंगाहरू ल्याउने गर्थे । चट्टानमा जगतज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र प्रताप मल्लको नाम र चित्र समेत भेटिन्छन् । यो चट्टानबाट उपत्यकाको लगभग पूरै भाग नियाल्न सकिन्छ । चट्टानको माथिल्लो भागमा दुइटा साँढे जुधिरहेको चित्र छ भने तल्लो भागमा हात्ती र घोडाको चित्र कोरिएको छ । वरपरका साना चट्टानहरूमा पनि अन्य चित्र देख्न सकिन्छ।

‘हामीले इतिहास खोतल्दै जाँदा काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमाथि चारैतिरबाट आक्रमण गर्दा चट्टान अभिलेख बनाउँदै गएको भेटायौं,’ उनले भने, ‘केही वर्षअघि मात्रै भक्तपुरको ख्वप कलेजमा पढ्ने विद्यार्थीले यी चट्टानबारे जानकारी दिएका थिए । त्यो भन्दाअघि यहाँ महत्त्वपूर्ण चट्टान छ भन्ने धेरैलाई थाहै थिएन ।’

उनले चट्टान संरक्षणमा पुरातात्त्व विभागले हालसम्म कुनै चासो नदेखाएको दुखेसो पोखे ।
अभिलेख संरक्षण गर्न स्थानीयले चट्टान वरपर काँडेतार लगाएका छन् । स्थानीय हरिसुन्दर छुंकाले प्रचारप्रसार नहुँदा यो चट्टानको महŒव उजागर हुन नसकेको बताए । ‘यसलाई संरक्षण गर्ने हो भने उपत्यकाको पुरानो इतिहास कहिल्यै मेटिँदैन,’ उनले भने, ‘तर, सम्बन्धित निकायले चासो नदिएको देख्दा दुःख लाग्छ ।’ उनले ढुंगालाई उचित स्याहार नगर्दा पुराना अभिलेख केरमेट हुने डर देखिएको बताए । छुंकाका अनुसार यो एसियाकै दुर्लभ चट्टान मानिन्छ । यहाँ पुरानो नेपालको नक्सासमेत कोरिएको छ ।
‘यो नेपालको एक मात्रै मल्लकालीन तथा त्यसअघिका अभिलेख राखिएको चट्टान मानिन्छ,’ उनले भने, ‘तर, अहिले यसको संरक्षणमा कसैको ध्यान नपुग्दा ओझेलमा छ ।’ उनले यो दक्षिण एसियाकै दुर्लभ चट्टान भएकाले पनि सम्बन्धित निकायले संरक्षण गर्न आवश्यक रहेको बताए।

त्यसो त यही चट्टानलाई आधार बनाएर डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठले चट्टान अभिलेख सम्बन्धी पुस्तक पनि तयार पारेका छन् । उनले पुरानो र दुर्लभ चट्टान संरक्षणलाई ध्यानमा राख्दै आफूले यसको अध्ययन तथा अनुसन्धान गरेको बताए।

उनले भने, ‘यही ढुंगाले पनि भक्तपुरमा कसरी प्रस्तरकलाको विकास भएको रहेछ भन्ने थाहा हुन्छ ।’ उनका अनुसार यसको कुनै महŒव नभएको भए राजाहरूले यसरी प्राकृतिक चट्टानमा चित्र बनाउने थिएनन्।

हलल गाउँको चट्टानबाट उत्तर–पूर्व हुँदै उकालो जाने बाटो समेत बनेको छ । यसको आसपासमा पनि स–साना अन्य थुप्रै चट्टानहरू छन् भने गुफा (सुरुङ) गढी र अन्य पुराताŒिवक महŒवका सम्पदा पनि भेटिन्छन्।

‘यो चट्टानको महŒव भएर नै राजाहरूले यसमा अभिलेख कुँदेका हुन्, ‘उनले भने, ‘त्यसकारण पनि यसको महत्त्वबारे सम्बन्धित निकायको चासो जान जरूरी छ ।’

कसरी पत्ता लाग्यो ?
यो चट्टान भक्तपुरको ख्वप कलेजमा अध्ययनरत छात्रा मुना केसीले पत्ता लगाएकी थिइन् । हाल उनी कक्षा १२ मा अध्ययन गर्छिन् । उनले यही ठाउँको सानो चिप्लो (नवपाषाणयुक्त) ढुंगा ल्याएर शिक्षकलाई दिइन् । त्यसपछि शिक्षकले सो ढुंगाबारे सोधिखोजी गरे । उनले आफूले जानेको कुरा शिक्षकलाई बताइन्।

उनको घर पनि त्यही भएकाले सानैदेखि नै आफूले त्यो ढुंगामा कोरिएको चित्र र अक्षरबारे अरुलाई भन्ने गरेको संस्कृतिविद् धौवडेलले बताए।

उनले चट्टान छेउका सानातिना ढुंगाहरू स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर र पुरातात्त्व विभागमा पठाएकी थिइन्।

प्रकाशित: १५ माघ २०७४ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App