७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

हिममानव यति आख्यानिक कि वास्तविक ?

तेजेश्वरबाबु ग्वंगः
मानसपटल त चिन्तन चेतका स्रोत÷गर्भस्थल रहे–बनेकै छ । यो एक सरोकार नभई विश्वब्रह्माण्डव्यापी नै स्वीकृत मान्यता रहेको छ । वागसिंह प्रतिष्ठानबाट प्रकाशित बासुकी आवाज– ०७४ साउन, दोस्रो सैगातमा प्रकाशित यो यति (हिममानव र यति एउटै हो) पढेँ । मनमा कुतूहलपूर्ण जिज्ञासा जाग्न थाल्यो– हिममानव यति मात्र आख्यानिक कि वास्तविक ? रचना स्व. योगी नरहरिनाथद्वारा रचिएको रहेछ । स्व. योगी नरहरिनाथ चिन्तक, विश्लेषक दुवै हुनुहुन्थ्यो । २०१८ सालदेखि प्रत्यक्षदर्शी भएकाले उहाँका स्वभाव, प्रस्तुति, वचन वाणीसित परिचित थिएँ । नितान्त हक्की, निडर, स्पष्टवक्ता हुनु योगीका यौगिक चरित्र नै रहे, बनेको थियो । त्यस ताका कविवर केदारमान व्यथितले आफैँ अग्रसरतामा बालकृष्ण सम, लैनसिंह वाङ्देल, चुडानाथ भट्टराई, कृष्णचन्द्र सिंह प्रधान, शंकर लामिछाने, स्वयम्भुलाल श्रेष्ठ, माधवलाल कर्माचार्य आदिका संलग्नतामा नेपाली साहित्य संस्थान स्थापना गरेका थिए । योगीजी पनि आउँदै गर्नुहुन्थ्यो । उहाँलाई नजिकबाटै अलिअलि भेटघाट गर्न पाइथ्यो ।
संस्कृत वाङमयका प्रकाण्ड विद्वान् योगी आफ्ना लेखनमा प्रचुर संस्कृत शब्दावली प्रयोग गर्थे र भएका छन् । जेहोस् प्रसंग अहिले हिममानव यतिको छ । हिममानवका सम्बन्धमा अनेक कथा, कथन सुनिएका छन् । अनेक दुविधाजनक जनश्रुति र कथन पाइन्छ । योगीजीले २०१४ जनैपूर्णे ऋषि तर्पणीको भोलिपल्ट बिहानै मानसरोवर स्नान सकी कैलाशकुट परिक्रमा गर्दा प्रत्यक्ष देखे–भोगेका अनुभूति प्रकाशमा ल्याउनुभएथ्यो । तिनै अनुभूतिगम्य उहाँका रचना आमजिज्ञासु पाठकका लागि रुचिकर हुने लाग्छ । आम पाठकीय हितकर रुचिलाई सँगाली उहाँकै भाषा–शब्द जस्ताको त्यस्तै उद्धरण गर्नु श्रेयष्कर लाग्यो । यसले योगीजीको अभिव्यञ्जना शैली, शब्द प्रयोग, भाषिक विन्यास आदिसित सुपरिचित हुने पाठकबृन्दलाई अवसर जुट्दो हुन्छ ।
त्यसो त योगीजीको अभिव्यक्ति, अभिव्यञ्जना उसैबेला अन्तर नरहेको होइन । लाग्छ, अभिव्यक्तिका सीप, शैली जीवन–दर्शन पद्धति आचरण, संस्कार, अध्ययन र अध्यवसाय आदिले प्रभावित पार्दाे पनि हो, ठान्छु ।
योगी नरहरिनाथ ‘नाथ’ सम्प्रदायका अनुयायी रहेकाले उनका रचनामा प्रत्यक्ष–अप्रत्यक्ष तबरले त्यसका वासना महकिएको हुन्छ । यो पाठक चेतना–चिन्तन अनुरूप अनुभूत हुन सक्छ । तिनलाई भाषिक अभिव्यक्ति, शब्द विन्यास, भावविन्यास भरीभरी चाख्न सकिने हुन्छन् । उहाँका यस रचनाका सान्दर्भिक उद्धरण जस्ताको तस्तै गरौँ अनि रसास्वादन गरौँ ।
‘गौरीगंगा र शिवगंगाका त्रिवेणीमा स्नान गरेर शिवगंगाका बायाँतिरको बाटो खस्र्युगुम्बा (राष्ट्रध्वजगुहा) देखि केहीअगाडि बढेका थियौँ । म अलिअगाडि थिएँ । मेरा साथी मु. दानबहादुर भण्डारी, पं. रत्नपति थिए ।  कोही पदाति । कसैलाई विषवात दम लागेको थियो र मन्दगत्या गइरहेका थिए । मलाई पनि घोडा चढ भन्थे, तर गोडा नथाकेसम्म घोडा चढेर तीर्थ गर्ने इच्छा छैन भनेर पदाति नै थिएँ । कैलाशपतिका कृपाले हुन पनि केही भएन । गतिरोध गर्दा पनि अगाडि पुगिन्थ्यो । हिमाली विचित्र प्रकृतिदेवीले कतै हिमशुभ्र टाकुरामा प्रभाती सुनौलो घाम झुल्किरहेको थियो त कतै बादलका बर्काबाट रुवे बर्सेझैँ हिउँ बर्सिरहेको थियो । बायाँतिर हिमशुक्लजला कलनादिनी शिवगंगा बगिरहेकी थिइन् । वारिपारि तलमाथि जता हेरे पनि सर्वशुक्ला सरस्वती भनेझैँ कैलाशवरिपरि पार्वत्य प्रकृतिले १–२ हातदेखि असंख्य हातसम्म हिममय डसना ओछ्याएको थियो र सिरक आढेको थियो । दिनको चार बजेदेखि प्रालेयत् बतासले ठडिएका हिउँ–पानी छहरा स्फटिकस्तम्भको भ्रान्ति गरिरहेका थिए । मत्र्यलोकका कुनै जन्तुको दर्शन दुर्लभ थियो । लंकारी र मानसरोवरबाट उडेर कैलाशकोरा गरी गौरीकुण्डतिर बढेका बिरलाकोटी राजहंसयुगल मात्र कहिलेकाहीँ कलरव गर्थे । हंसदर्शनार्थी यात्री उन्मुख भएर हेर्थे । उर्णाप्रचुर वस्त्रधारण गरेर कैलाशप्रदक्षिणार्थी यात्रीमण्डल अगाडि बढिरहेको थियो । अरुभन्दा म पाँच सय गजजति अगाडि हिँडिरहेको थिएँ । मेरा दायाँ हातमा छाता थियो । बायाँ हातमा ऐतिहासिक अभिलेख र चित्रयन्त्र (क्यामेरा)को झोला थियो । एक्लै मनमनै –
‘उद्भूत–चामर–रुचाँ शुचिनिर्झराणां । वाता वनौषधि–सुवास–भृतो बहन्ति ।।
प्रालेय–शैल–विषयें विष–वेग–मुच्र्छाः । शितत्र्तषु क्वचन वान्ति च काल–वाताः ।।
अखट विकट घाटा उइ उकाला वराला । भड भड भिड गौँडा जींर्ण साँगु कराला ।।
वनकर भय भारी लेक खोला र नाला । विष बुकी हिम काटी वीर कैलाश जाला ।।’

भन्ने गन्थन गर्दै थिएँ ।
यस्तै अवस्थामा मेरो जीवनमा एउटा अभूतपूर्व घटना घट्यो । शिवगंगाको दायाँतिर पारिपट्टि तीर्थापुरीतिरका हिमाच्छन्न पाखाबाट एउटा भीमकाय हिममानव ओर्लिरहेको देखियो । अनुसन्धानशील कुतूहली हिमालचुलीका यात्रीहरूद्वारा बहुचर्चित यति वा हिमपुरुष यद्धा हिममानव यही नै रहेछ । तर मैले यसपालि पहिलोपटक दृष्टिगोचर गरेको थिएँ । तसर्थ आश्चर्य लाग्नु स्वाभाविक थियो । देख्नासाथ यति प्रभावित र आकर्षित भएँ कि समस्त कमेन्द्रीय र  ज्ञानेन्द्रीय वर्ग प्रत्यक्ष दर्शनमा केन्द्रित भए । त्यसबेला केवल दृष्टिले काम गरे, अरु सबै इन्द्रीय वृत्ति र चित्तवृत्ति निरुद्ध भए । आश्चर्य, औत्सुक्य, कुतूहल, जिज्ञासा र विस्मयका भावशावल्यमा चित्र लिने महŒवपूर्ण काम पनि पछायो । तबसम्म त्यो हिममानव नैसर्गिक गत्या पारिबाट ओर्लेर शिवगंगाका १५–२० गजजति जलप्रवाहलाई अनायास पानी नछोईकनै नाघेर एकै पाइलामा वारिपट्टि टेकेर आयो । अनि एकचोटि मात्र मतिर मुन्टो घुमाएर हे¥यो, तर रोकिएन । बाटो काटेर पूर्ववत स्वाभाविक गत्य दायाँतिर कैलाशको पश्चिम पाखापट्टि लाग्यो । सय गजजति गएपछि उकालो लाग्यो । ओरालोभन्दा उकालोमा झन् छिटो हिँड्दो रहेछ । किन्तु लामा हात भुइँमा लाग्ने हुनाले कुममाथि फालेर हल्लाउँदै हिँड्दो रहेछ ।
यतिञ्जेल ऊ पनि अलिअलि हिउँ बर्सिरहेको मेघमण्डलमा पुग्यो । यता मेरा साथी पं. रत्नपतिले पुगरे ‘क्या हो ? किन रोकिनुभयो ?’ भनेको सुन्दा मेरो चित्तवृत्ति यतातिर फक्र्यो, तर पनि दृष्टि उतै थियो । मैले भनेँ, ‘त्यो क्या हो ?’ अनि उहाँले ‘यी शिवजीका गण हुन्, घुमिरहन्छन् । कुनै नौलो कुरा होइन । यिनको चेवाचर्चा गर्नु हुँदैन । हिउँ पर्छ । विघ्नबाधा पर्छ । जाऊँ, बिहानै बाटो काटेको राम्रो हुन्छ । दिन ढल्केपछि कालो बतासपछि चल्छ । गौरीलाग्नु काट्न  धौ हुन्छ’ भन्नुभयो ।
शिवगणको नाम सुनेपछि मलाई झन् जिज्ञासा बढ्यो । अनि बल्ल चित्र लिने स्मृति जाग्यो । झोलाबाट चित्रयन्त्र (बक्स क्यामेरा) झिकेर चित्र लिँदासम्म त्यो हिमपुरुष हिमवर्षक जलद–जवनिकाभित्र पस्न लागेको थियो । अगाडिबाट चित्र ग्रहण गर्न बिर्सियो । टाढा पुगिसकेपछि पिठ्युँपट्टिबाट पानी बर्सिरहेका बादलका जवनिकामा पस्ने बेलाको चित्र मात्र लिन सकियो । त्यस हिममानवले हिउँमाथि पारेको पाइलो नापियो । गज–फुटमा मिलेका मेरा हातको ठिक्क एक हात लामो र मुडी हात चाक्लो पञ्जा भयो । कुर्कुच्चा भने एक कुडेत तिखुल्लो रहेछ । आठ माससम्म धुलाई गर्ने साधन नपाई कैलाश मानसरोवर आदि हिमाली ऐतिहासिक प्रलम्ब यात्रा सिध्याएर काष्ठमण्डप पुगी धुलाइ गर्दा आधाजति चित्र नष्ट भइसकेछन् । कतिपय चित्र मात्र स्वच्छ उत्रे । तिनैमा त्यो चित्र पनि अस्पष्ट हुन गएछ । तैपनि अरु ऐतिहासिक चित्रमध्ये सुरक्षित छ । यन्त्रचित्र विलम्बित र धमिलो भए पनि मेरा आँखाले प्रत्यक्ष लिएको चित्र अद्यापि झलमल सङ्लो छ । त्यसैका आधारमा शब्दचित्र प्रस्तुत गरिन्छ–
यो यति वा हिमपुरुष मेरा हातको सात हातजति अग्लो । लम्बाइअनुसार मोटो, हट्टाकट्टा । हात घुँडादेखि तलसम्म पुगेको पुष्ट र क्रमैसित माथिपट्टि मोटा । तीनकुने हत्केला । औँला लामा । नङभन्दा रौँ लामा । बाजू र कलाई पुष्ट, बाउँडिएका । छाती दुई हातजति चाक्लो, ढालझैँ पुष्ट उठेको । घाँटी अलि छोटो र मोटो । दुवै कुम अलिअलि उठेका । चिउँडो अलि लामो, तीनकुने । मुखदेखि माथि बाटुलो अनुहार । गाला पुष्ट । ओठ अलि मोटा । दाँत देख्न पाइएन । नाक अलि मोटो र चेप्टो, पोटाएको । आँखा अलि साना, गहिरा र पिंगल गोलाकार प्रायः । आँखिभौँ झ्याप्प झुकेका, एक अंगुलभन्दा लामा । आँखादेखि माथि अर्धगोलाकार चाक्लो ललाटसम्म बसेको । कान केशरीका जस्ता ठाडा र अलि गोल । जुँघा छैनन् । चिउँडादेखि कानसम्म साना मसिना खैरा रौं । टाउको ठूलो । कम्मर अलि पातलो । पेट स्याप्प बसेको । नितम्ब फुकेको । अरु र जंघा पुष्ट, बाउँडिएका । घुँडा, कुहुना, पौँठा र गुल्फ गाडीका । खुट्टा तीनकुने । लामा औँला छयार्र अगाडि फुकेका । नङ नदेखिने, लामा रौँले ढाकेका । हिउँमाथि टेकेका पाइला मेरा हातका ठिक्क एक हात लामा, मुडी हात पञ्जा, कुँडेत कुर्कुच्चा छन् । मेरा  हात गजफुटमा मिलेका । शिरदेखि पाउ पर्यन्त एक बित्ता जति लामा कलेजी खैरा रौँ छन् । रातो र पहेँलो मिलेको मुखको रंग छ । रौँ दुई प्रकारका छन् । एक प्रकारका लामा मोटा अलि बिरल छन् । तिनका जरामा टम्म भरिएका मसिना खुलुजस्ता मखमली रौँ छन्, जसभित्र हिउँ–पानी पनि पस्तैन होला । पुच्छर छैन । आङमा लुगा कुनै छैन । खुट्टामा जुत्ता, दोचा, शुकलाम  आदि केही छैन । मानिसदेखि तर्सने पनि होइन, तर्साउने पनि होइन । ओरालामा भन्दा उकालामा छिटो हिँड्छ । अंग–अत्यंग पुष्ट छन् । टाढाबाट हेर्दा साक्षात् जाम्बवान्जस्तो देखिन्छ । निकटमा आएपछि हात, खुट्टा, छाती, मुख आदि मानवका जस्ता स्पष्ट देखिन्छन् । मानवको पूर्वरूपजस्तो लाग्छ । मभन्दा आठ–नौ गजजति अगाडिबाट बाटो काटेको हो । यस घटनापछि गजदन्तगुम्बा, चिउगुम्बा, ठुइकुगुम्बा, मूलगुम्बा आदिका बाह्रैमास कैलासमानसनिवासी लामा र वर्षामा वर्षपाटनमा चौँरी, झुमा, घोडा, भेडा, च्याङ्ग्रा आदि चराउने छोपाहरू तथा अनेकबार कैलाशमानसका यात्रीसित जिज्ञासा गर्दा हिममानवका विषयमा पाइएको संक्षिप्त परिचय यस्तो छ–
हिममानव, हिममानुष, हिमपुरुष, हिउँमान्छे वा यति एउटै हो । यो प्राय–युग्मचारी हुन्छ । छुट्टिए पनि वारिपारि, तलमाथि डिठ पर्ने ठाउँमा एक्लै हिँडे–घुमे पनि, डाँडापारि वा टाढा हुनासाथ आफ्नै एकाक्षरी भाषामा आउ आदि भनेर डाकिहाल्छ । कहिलेकाहीँ एउटा बालक पनि साथमा देखिन्छ । बाबुलाई केही कालका लागि छोडे पनि त्यो बालक आमालाई कहिल्यै छोड्दैन । हामीले हेर्दा नरनारी छुट्याउन सक्तैनौँ । यसको मुख्य हेतु अधिक लोमश हुनु नै हो । आकृति–प्रकृतिमा विशेष अन्तर पनि हुँदैन । हिममानव हिंस्रक हुँदैन । कन्दमूल, फलफूल, सागपात, केही नपाएमा गुफाभित्रको पालवाङ माटो खान्छ । यो माटो पोखरीको पाँगो माटो जमेझैँ हिमाली भूगर्भमा प्रायः सर्वत्र छ । विशेष भद्रखण्ड कैलाश मानसप्रदेशमा छ र हुम्लासम्म कताकति पाइन्छ । नवनीतजस्तो सेतो र दूधको स्वाद हुन्छ । खाँदा भोकप्यास मेट्छ र पुष्टि दिन्छ । कैलाश मानसरोवरको प्रसास भनेर यात्री लैजान्छन् । तालुमा, हत्केलामा र पैतालामा लेप गर्दा तापज्वरो शान्त हुन्छ । मुटु, पेट आदिको दाह पनि शान्त गर्छ । पालवाङ माटो खाँदा लुतो, खटिरा, बिफर आदि शान्त हुन्छन् । यो अन्नादिका अभावमा खाद्य हो र औषधि पनि हो । देवदानवद्वारा समुद्रमन्थन गर्दा प्रकट भएका अमृतको फिन जमेको होला भन्ने स्थानीय जनभावना छ । केही नपाएका खण्डमा हिममानव र साकाहारी मानवको हिमाली खाद्य पनि हो । ठिक्क नौनीजस्तै हुन्छ । खाँदा दाँतमा बालुवा पनि लाग्दैन । बाह्रै मास हिमालयमा बास गर्ने मानिस कात्तिकदेखि चैतसम्म हिउँले टम्म पुरिँदा हिमगुहीभित्र सबै दिन पालवाङ माटो चाटेर नै जीवनयापन गर्छन् । हिममानवको मुख्य आहार यही हो । हिमाली स्थलचर अरु जन्तुहरूको पनि मुख्य खाद्य यही हो ।
हिममानवले कुनै मानिस वा जीवजन्तुलाई दुःख दिँदैन । आफू पनि डराउँदैन, कसैसित सम्पर्क पनि राख्तैन । कसैको भाषा बुझ्दैन । अरुले पनि यसको भाषा बुझ्दैनन् । हिममानवको भाषा प्रायः एकाक्षरी हुन्छ । यथा आ ई उ ए ऐ ओ औ आम् इम् काङ् किङ् क्वाङ् का की चू चा ची चो चम् चङ् च्वाङ् च्वाँ पा पो पी प्वाङ् पुङ् पिङ् प्याङ् नू नाङ नङ हा हू है हो हाङ हुङ् ला ली लू लङ् इत्यादि । बाह्रै मास हिमप्रदेशमा रहन्छ । हिउँदेखि तल अलिकति आउनसाथ घामले खप्न नसकी हाँ हाँ गर्दै हिउँतिर लाग्छ । हिममानिसलाई हिमप्रदेशबाट झिक्नु र पानीबाट माछालाई झिक्नु एउटै कुरो हो । मानिसभन्दा धेरै चिरञ्जीवी र निरोगी हुन्छ । कुनै बेला कुनै कारणले एउटा म¥यो भने अर्को केही नखाई उसको टाउको काखमा राखी विलाप गर्दै झुरिएर केही दिनपछि मरिजान्छ । एउटा सुतेर मर्छ, अर्को बसेर मर्छ । विकट हिमाली टाकुरा र गुफा–कन्दराहरूमा कहिलेकाहीँ तिनका विशाल कंकाल फेला पर्छन् । टाउकाको खप्पर त हजारौँ वर्षसम्म गल्दैन र माटिँदैन । पुराना लामाका गुम्बामा ती खप्पर सुरक्षित र पूजित पाइन्छन् ।
मानव जातिको विकास क्रममा सबभन्दा प्रथम हिममानव नै हो अनि हिमपुरुषपट्टि किमपुरुष वा घोरमुखा, लम्काने, वनमानुष, वनझाँक्री, नाइकोरा, फिटाँ, छोपा, राउटे, कुसुन्डा, चुफे, चुल्ठे इत्यादि जातिका गाउँघर, बसोबास, खेतपाखो र नियत निवास नभएका जनसङ्ख्या पनि नभएका र नागरिक अधिकार नभएका मानवहरू हिमालयमा प्रायः सर्वत्र छन् । विशेष कैलाश मानसखण्डमा छन् । यीमध्ये एक–एक जातिको परिचय यस्तै, यसभन्दा विचित्र छ । कुनै साकाहारी छन् । कुनै मांसाहारी छन् । यस्तै अरु पशु–पक्षी–मृगादि छन् । उक्त मानव जाति हिमालचुलीदेखि महाभारत पर्वतमालापर्यन्त पाइन्छन् । महाभारत र चुरेका पाखामा, कताकति चुरेका उपत्यका र माली नदीका तीरमा पनि कुशहरी, पहरी, धामी, हायू, मुर्मी, दरै, दनुवार, सुनुवार, बोटे, कुमाल, राजी, माझी, नागा, सन्थाल, आदि केही विकसित जनसंख्यामा आएर नागरिकता पाएका पनि छन् ।
मानवी सृष्टिको बाटो पहिल्याउन खोज्ने अनुसन्धाताले यी सबैको गवेषणा गर्नु वाञ्छनीय छ, जसबाट बुद्धिजीवी विश्वमानव जातिको उत्पत्ति र क्रम विकासमा प्रशस्त प्रकाश पर्न सक्नेछ ।
योगीजीको यो रचना विकासक्रम जान्न, बुझ्न र विश्लेषण गर्न निकै सार्थक देख्छु । यसबाहेक पनि यसले यति÷हिममानव प्रतिको कुतूहलता साम्य पार्नुका साथै नौला आयाम वोक्दो सोच र जिज्ञासामूलक चिन्तन, विश्लेषण र गवक्षण गर्न थप बलशाली पहलका क्षितिज उघार्न परोक्ष–अपरोक्ष योगदान पुग्ने, पु¥याउने पृष्ठपोषण हुने, गर्ने अपेक्षा राख्न सकिन्छ पनि  ।

प्रकाशित: ७ आश्विन २०७४ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App