२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘मोटोपनसँग जुझ्न वजन नघटाउनुस्’

कैयौँ स्वास्थ्य रिपोर्ट र अनुसन्धानको निष्कर्ष छ, मोटोपन एउटा वैश्विक समस्याका रुपमा सिर्जना भइरहेको छ । त्यसैले त नेपालजस्तो पर्याप्त पोषण नपुगेको मुलुकमा पनि मोटोपनको चर्चा छेडिन थालेको आधेक वर्ष हुन थाल्यो ।
विश्व स्वास्थ्य संगठनले २०१४ मा जारी गरेको आँकडाअनुसार संसारभरि ६०० मिलियन अर्थात् ६० करोडभन्दा बढी मानिस मोटोपनको सिकार भएका छन् ।
त्यसैले पनि विश्व स्वास्थ्य संगठनले पनि मोटोपनलाई एउटा वैश्विक समस्या रहेको स्वीकारेको छ तर प्रोफेसर ट्र्यासी म्यान भन्छिन्, ‘यो कुनै समस्या नै होइन । खासमा भन्ने हो भने यस समस्यासँग जुझ्नु निकै सरल छ र यसको उपाय हामीसँगै छ ।’
‘धेरैलाई मेरो विचार विवादास्पद लाग्न सक्छ र मेरा कुरामा असहमत हुन सक्छन्,’ ट्र्यासी भन्छिन्, ‘खासगरी चिकित्सक र शोधकर्ताहरुले मेरो कुरा पक्कै रुचाउने छैनन् ।’
समाजविज्ञान तथा मनोविज्ञानकी प्राध्यापक ट्र्यासी भन्छिन्, ‘चिकित्सकहरुका अघिल्तिर जब म मोटोपन कुनै समस्या नै होइन भनिरहेकी हुन्छु, उनीहरु निकै रिसाउँछन् । उनीहरु पनि के कुरामा सहमत छन् भने मोटोपनकै कारण कोही मरिरहेको छैन । यदि मोटोपनका कारण मान्छे भक्लाकभुक्लुक मरिरहेका भए चाहिँ यो ठूलो समस्या हुन्थ्यो । मोटोपनका कारण समस्या उब्जने हो । ती समस्या उब्जन नदिए मोटोपन खतराको कुरा पक्कै पनि होइन ।’
ट्र्यासी भन्छिन्, ‘जो मोटा छन्, उनीहरुको जीवन पनि दुब्लाको भन्दा कम रोमाञ्चक छैन । बरु ज्यादै दुब्लाहरु पटक पटक बिरामी भइरहेका हुन्छन् वा हुने खतरा भइरहन्छ ।’
ट्र्यासी के कुरामा बरु बढी सहमत छिन् भने, ‘अत्यधिक मोटोपनको सिकार भएका केही रोगले बिरामीलाई ज्यानै खतरामा पार्न सक्ने सम्भावना हुन्छ तर सामान्य मोटोपनले कुनै खतरा उत्पन्न गर्दैन ।’
मोटोपनको समस्याबारे यति धेरै चर्चा किन भइरहेको हो ? यसको उत्तर दिँदै ट्र्यासी भन्छिन्, ‘यसका दुई वटा कारण छन् । मोटोपन त्यो बेला खतरनाक हुन्छ, जब मानिस सुस्त हुन्छ, अल्छी बन्छ र दिनभरि बसिमात्र रहन्छ । उसको आम्दानी कम छ र त्यसमाथि तनावजस्ता समस्या छ भने उसको लागि मोटोपन खतराको विषय हुन्छ । अनि अर्को चिन्ताको विषय चाहिँ साना समस्या हुँदै उपचार गर्नका लागि ऊसित पर्याप्त पैसा छ भने मोटोपनसँग डराइहाल्नु पर्दैन ।’
मुटुसम्बन्धी रोग र मधुमेह यी दुई रोग मोटोपन भएका मानिसलाई सताउन आइहाल्छ । तर उनीहरुले शरीरलाई सक्रिय बनाउने काम गर्दा मोटोपन कम नभए पनि उनीहरुको सक्रियताले शरीरलाई सन्तुलित बनाइहाल्छ ।
दैनिक रुपमा कुनै कसरत गर्नुहुन्छ तर वजन घटेन भनेर चिन्ता नगर्नुस् । मोटाले वजन घटाउनेभन्दा पनि रक्तचापको अवस्था नियमित रुपमा बुझ्नुपर्छ । रक्तचाप सन्तुलित छ भने मोटोपनले खासै फरक पार्दैैन ।

प्रकाशित: २५ भाद्र २०७४ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App