१ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

व्यंग्य : बाढी

एक जमाना यस्तो पनि थियो, नेपाललाई प्राकृतिक सुन्दरताको देश भनिन्थ्यो। नेपालको यो परिचयमा अहिले भने थोरै बदलाव आएको छ। नेपाललाई अब प्राकृतिक सुन्दरताको देशभन्दा 'प्राकृतिक प्रकोप'को देश भन्दा राम्रो होला। कहिले भूकम्प, कहिले पहिरो त कहिले बाढी। लगातार प्रकोप आएको आयै छ। बोनसमा आउने अतिवृष्टि, चट्याङ, खडेरी, हिमपहिरो, ताल विस्फोट, नदी थुनिनु जस्ता फुटकर प्रकोप त छँदै छ। यी सबैलाई कुल मिलाएर भन्नुपर्दा नेपाललाई 'प्राकृतिक प्रकोप'को देश भन्दा खासै फरक पर्दैन। त्यसमाथि घुसखोरी, भ्रष्टाचार, कमिसनखोरी, ढिलासुस्ती, शक्तिको अपचलन आदि जस्ता मानवीय प्रकोपलाई पनि जोड्ने हो भने त 'प्राकृतिक प्रकोप' पनि होइन, 'प्रकोपै प्रकोप'को देश मात्र भन्दा पनि ठीकै होला।

केही दिनअघिको कुरा हो, भारतले नेपालको अदुवा रोकेको थियो। किन रोकेको हो, कसैलाई थाहा छैन। भारत जान ठिक्क भएको अदुवा जम्मै सीमामै रोकिदियो। कहिले अलैँची रोकिदिन्छ। कहिले चिया रोकिदिन्छ। कहिले तयारी पोसाक रोकिदिन्छ त कहिले गलैँचा रोकिदिन्छ। यसपालि पानी रोकिदियो। त्यो पनि बाढीको पानी। पानी रोकेपछि गाउँ डुबानमा पर्नु स्वाभाविकै हो।

नियमित आइरहने यी प्रकोपमध्ये यो महिना बाढीको पालो परेको छ। प्रधानमन्त्रीको कुर्सीमा नेताहरूको आलोपालो भनेजस्तै प्राकृतिक प्रकोपले पनि एकापसमा आलोपालो सिस्टम बसालेको रहेछ। कहिले भूकम्पको पालो त कहिले पहिरोको पालो। कहिले खडेरीको पालो त कहिले चट्याङको पालो। यसपालिचाहिँ बाढीको पालो परेको रहेछ। प्रकोप र नेताहरू बीचमा के समानता छ, त्यो त थाहा भएन। तर आलोपालो प्रणालीमा चाहिँ ठ्याक्कै समानता रहेछ।

आफ्नो पालो परेपछि बाढी त आउने नै भयो। त्यसलाई रोक्ने कुरै भएन। आफ्नो प्रधानमन्त्री बन्ने पालोमा कुनचाहिँ नेता रोकिएको छ र? जब कुनै नेता त रोकिँदैन भने बाढी मात्रै किन रोकिने? त्यो आउँछ नै, आयो। अब यो आएको बाढी जो छ, त्यसलाई यता आएर कोसी बाँधमा रोक्ने प्रयास भएको रहेछ। जस्तो कि सबैलाई थाहा छ, कोसीमा एउटा बाँध छ, जो हाम्रो होइन। कोसी मात्रै हाम्रो हो, बाँध हाम्रो होइन। बाँध भारतको हो। त्यही बाँधमार्फत भारतले बाढीको पानी रोकेको रहेछ। नदीमा पानी बढेपछि पीडितहरूले बाँधको ढोका खोल्न धेरै अनुरोध गर्‍यो। तर भारतले मानेन। ढोका नखोलेका कारण पानी त्यहीँ रोकियो।

केही दिनअघिको कुरा हो, भारतले नेपालको अदुवा रोकेको थियो। किन रोकेको हो, कसैलाई थाहा छैन। भारत जान ठिक्क भएको अदुवा जम्मै सीमामै रोकिदियो। कहिले अलैँची रोकिदिन्छ। कहिले चिया रोकिदिन्छ। कहिले तयारी पोसाक रोकिदिन्छ त कहिले गलैँचा रोकिदिन्छ। यसपालि पानी रोकिदियो। त्यो पनि बाढीको पानी। पानी रोकेपछि गाउँ डुबानमा पर्नु स्वाभाविकै हो।

अस्ति भारतीय स्वतन्त्रता दिवसको कार्यक्रम नेपालमा पनि मनाइएको थियो। त्यही कार्यक्रममा एकजना भारतीय अधिकृतलाई मैले सोधेँ, 'यो तपाईंहरूले के गर्नुभएको महासय? बाँधको ढोका खोल्नुपर्दैन?'

'कुन चाहिँ बाँध?' उनले सोधे।

'त्यही, नेपालभित्र बनाइएको भारतको बाँध,' मैले हल्का रिसाएझैँ भनेँ।

'अरे नेपालभित्र त भारतको कति बाँध छ कति। तपाईं कुन बाँधको कुरा गर्नुभएको?' उनले त्यही प्रश्न दोहोर्‍याए।

मैले भनेँ, 'कुन बाँध भन्ने अब। उही कोसी बाँध नि। नेपालभित्रै बाँध बनाएको छ, अनि नेपाललाई नै दुःख दिने? छातीभित्र हृदय भन्ने कुरा पनि छ कि छैन तपाईंहरूको?'

'अरे हामी नेपाललाई किन दुःख दिन्छौँ र मित्र,' उनले ठट्टा गरेझैँ भने, 'नेपाल त हाम्रो प्यारो छिमेकी हो। नेपालका लागि त हाम्रो हृदयको ढोका हमेसा खुला छ।'

'हृदयको ढोका खुला गरेर के गर्नु, बाँधको ढोका खुला गरे पो!' मैले भनेँ, 'त्यत्रो बाढी आउँदा त तपाईंहरूले बाँधको ढोका खोल्नुभएन, अब हृदयको ढोका मात्र खोलेरे के काम?'

‘बाँधको ढोका नखोलेर के भयो त? कुनै मर्का पर्‍यो?' उनले सोधे।

'परिहाल्यो नि,' मैले भनेँ, 'बाँध नखोलेर नेपालतिर धेरै भूभाग डुब्यो। त्यसको जिम्मा लिनुपर्दैन तपाईंहरूले?'

'हा हा हा...' जवाफको सट्टा उनको हाँसो पो आयो।

'किन हाँस्नुभयो?' मैले आश्चर्यमिश्रित जिज्ञासा प्रकट गरेँ।

उनले भने, 'त्यो जाबो एउटा बाँधको ढोका नखोलेर के नै डुबाउँछ र मित्र? कति परेसान हुनुहुन्छ तपाईं। म त देख्दै छु, तपाईंका नेता त पूरा देशै डुबाइरहेको छ। खोई त त्यसमा परेसान हुनुभएको? एक टुक्रा जमिन डुबेकामा यति चिन्ता लिनुहुन्छ तपाईं, तर पूरा देश डुबेकामा चाहिँ कुनै चिन्ता लिनुहुन्न। कस्तो चिन्ता हो तपाईंको?'

यो त पूरै राजनीतिक जवाफ भयो। बडो असमञ्जस अवस्थामा म पुगेँ।

अब सुन्दै छु, बाढीपीडितका लागि देशैभरि राहत संकलन सुरु हुँदै छ। सहरसहरमा राहतको अभियान सञ्चालन हुँदै छ। देशमा सरकारको आफ्नै पनि एउटा राहत कोष रहेछ। जसको नाम हो– प्रधानमन्त्री राहत कोष। वास्तवमा जबजब देशमा यस्ता बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप आउँछ, तबतब यो प्रधानमन्त्री राहत कोष सक्रिय हुन्छ। बाढी, पहिरो आएपछि प्रधानमन्त्रीलाई राहत मिल्ने रहेछ। त्यही भएर यो राहत कोष पहिले सक्रिय हुन थाल्छ।

अब बाढीपीडितका लागि विदेशबाट राहत आउँदै छ। स्वदेशबाट आउँदै छ। सहर–सहरमा राहत संकलन हुँदै छ। टोल–टोलमा संकलन हुँदै छ। मलाई त लाग्छ, पानीको बाढीपछि अब राहतको बाढी आउँदै छ। खै, यो बाढीले चाहिँ कति धनजनको क्षति गर्ने होला!     

प्रकाशित: ३ भाद्र २०७४ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App