नेपाली फिल्म क्षेत्रमा अहिले एउटा चोरीको घटना बहुत चर्चित छ। गएको केही हप्तादेखि यही चोरीबारे चर्चा चलिरहेको छ। खासमा भएको के भने एउटा नेपाली फिल्मले कुन्नि कसको गीत चोरेको रहेछ। गीत चोरेकोबारे पूरा फिल्म इन्डस्ट्रीमै हल्लाखल्ला छ। गीत चोर्यो? कसले? कुनचाहिँ? कहिले? किन? अहिले इन्डस्ट्री यही प्रश्नको उत्तर दिँदै हैरान छ।
त्यसो त नेपाली फिल्म इन्डस्ट्रीमा यसअघि पनि चोरीका घटना नभएका होइनन्। कहिले फिल्मको कथा चोरी, कहिले नाम चोरी, कहिले संगीत चोरी, कहिले कलाकार चोरी आदि–आदि खालका चोरीहरू इन्डस्ट्रीमा भइरहेका छन्। यसपालि भने गीत चोरीको काण्ड भएको छ। इन्डस्ट्रीमा यति धेरै चोरीका घटना भइसक्दा पनि आजसम्म चोर भने एउटा पनि पक्राउ परेको छैन। फिल्मी चोरीमा संलग्न चोर फिल्मी शैलीमै गायब हुन्छन्। सायद त्यसैले पनि होला फिल्म इन्डस्ट्रीमा चोरीको घटना अहिलेसम्म घटेको छैन। (घटेको छैन भन्नाले कम भएको छैन भन्ने बु‰नुहोला।)
नेपाली फिल्म इन्डस्ट्रीमा यस्ता चोरीका घटना किन हुन्छन् त? यसबारे भने कसैले पनि कुनै अध्ययन गरेजस्तो लाग्दैन। यो त ठूलै अध्ययनको विषय हुनुपर्ने हो। तैपनि थोरबहुत मलाई के लाग्छ भने फिल्म इन्डस्ट्रीमा यस्ता घटना हुनुको प्रमुख कारण हो– नेपाली फिल्म गरिब हुनु। नेपाली फिल्म साह्रै गरिब छ। फिल्म बनाउँदा निर्देशकले भनेजति पैसा निर्माताले खर्च गर्न सक्दैन। त्यसैले जतिसुकै धनी निर्देशक पनि फिल्म बनाउँदाचाहिँ गरिब नै बनाउन बाध्य छन्।
अब जहाँ गरिबी हुन्छ, त्यहाँ दुइटै मात्र काम हुन्छ। एउटा चोर्ने, अर्को माग्ने। गरिबी भएको ठाउँमा या त चोर्ने काम हुन्छ, या त माग्ने। नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ यो दुइटै भइरहेको छ। यहाँ चोर्ने काम पनि हुन्छ, माग्ने काम पनि हुन्छ। चोर्ने भनेको उही हो, कहिले कथा चोर्ने, कहिले संगीत, कहिले गीत चोर्ने। माग्नेचाहिँ त्यही गीत, संगीत आदि–आदिले हो। गीतले कहिले नृत्य माग्छ, कहिले अभिनय माग्छ। कहिले दृश्य माग्छ, कहिले शैली। नेपाली फिल्ममा सधैँभरि मागिरहने विधा त अझ कथा हो। मलाई केसम्म लाग्छ भने नेपाली फिल्मको सबैभन्दा मगन्ते विधा भनेको कथा नै हो। किनभने फिल्ममा कथाले यस्ता–यस्ता कुरा मागिदिन्छन् कि त्यो देखेर निर्देशक पनि हैरान बन्छन्। नेपाली फिल्ममा कथाले सबैभन्दा बढी माग्ने भनेको हिरोइनको कपडा हो। जुनै फिल्ममा पनि कथाले हिरोइनको कपडा मागिरहेको हुन्छ। त्यसमाथि हिरोइन याने कि नायिकाको उदारता हेर्नुस्, कथाले मागेपछि जति पनि कपडा फुकालेर दिइहाल्छन्। कथाले माग्नु मात्रै पर्छ, हिरोइनले कपडा उतार्न सुरु गरिहाल्छ। तपाईं कुनै पनि हिरोइनलाई सोध्नुस् – फलानो फिल्ममा त तपाईंले धेरै नै अंग प्रदर्शन गर्नुभयो, किन त्यसो गर्नुभएको? हिरोइनको उत्तर हुनेछ– त्यो त कथाले मागेको हो। कथाले मागेपछि गर्नुपरिहाल्यो।
फिल्ममा हिरोइनहरू किन यति छोटो–छोटो कपडामा आउन थाले भनेको त दोष कथाको पो रहेछ। कथा नै यति मगन्ते भइदिएपछि बिचरा हिरोइनले के गरून्। हिरोइन त देख्नै हुँदैन, कथा गएर कपडा मागिहाल्छन्। अब कथाले नै मागेपछि हिरोइनले के गर्नु? निर्देशकले मागेको भए इन्कार पनि गर्न सकिन्थ्यो। तर कथाले मागेपछि इन्कार गर्न पनि मिलेन। सायद त्यही भएर पनि होला, अचेल नेपाली फिल्मका निर्देशक आफ्नो फिल्ममा एक–एक नम्बरका मगन्ते कथालाई ल्याएर स्थान दिन थालेका छन्, ताकि हिरोइनको कपडा सजिलै माग्न सकियोस्। अब हिरो तथा हिरोइनले थोरै मात्र कपडा लगायो भने निर्माताको खर्च पनि बच्ने भयो। कपडामा धेरै पैसा लगाउनुपरेन। त्यसै पनि नेपाली फिल्म थोरै बजेटमा बनाउनुपर्ने बाध्यता छ। अतः जहाँबाट हुन्छ, खर्च बचाउनैपर्यो। कपडा कम लगायो भने त्यहाँ बच्ने भयो। यसका लागि पनि माग्ने कथा नै चाहिन्छ। गरिब फिल्म बनाउँदा मगन्तेभन्दा राम्रो कथा कहाँबाट पाउनू? अब फिल्म गरिब भएकाले कथा मगन्ते भएको हो कि कथा मगन्ते भएकाले फिल्म गरिब भएको हो, त्यो छुट्टै छलफल गर्नुपर्ला।
यो नेपाली फिल्मको समग्र अवस्था हो। यस्तो अवस्थामा एक–दुई गीत चोरी भयो भनेर के कराउनु!
अर्को कुरा, फिल्मलाई नेपालीमा 'चलचित्र' भन्ने गरिन्छ। अंग्रेजीमा फिल्म। सायद चल्ने चित्र भएकाले यसलाई ‘चलचित्र’ भनिएको होला। तर, नेपाली फिल्मलाई चलचित्र भनिए पनि यो कहाँ चल्ने हो थाहा छैन, हलमा भने चल्दैन। नाम नै चलचित्र हो, विडम्बना भन्नुपर्छ, हलमा चल्दैन। चलचित्र भनेपछि त चल्नुपर्यो नि। तर अहँ चल्दैन। चलेको एक हप्तामै पर्दाबाट उतारेका चलचित्र हामीकहाँ कति छन् कति। अझ हलमा चलेकै थाहा नहुने चलचित्र त झन् कति छ कति। यस्तो चल्दै नचल्ने फिल्मलाई किन ‘चल्ने चित्र’ भनिएको होला, अचम्म लाग्छ। यसमा भाषाविद्को ध्यानाकृष्ट गर्न चाहन्छु। वास्तवमा नेपाली भाषामा त्यसै विकृति आएको होइन। अब नचल्ने फिल्मलाई नै ‘चलचित्र’ भन्नुपरेपछि भाषामा विकृति नआए अरु के आउँछ त?
प्रकाशित: २१ श्रावण २०७४ ०५:२६ शनिबार