ऐतिहासिक सम्पदा राष्ट्रको इतिहास, संस्कृति र सभ्यता हो । ०७२ को भूकम्पमा परी धेरैले आफन्त गुमाए, धेरै घरबारविहीन भए । सँगसँगै भूकम्पका कारण सम्पदामाथि पनि ठूलो क्षति पुग्यो ।
वसन्तपुर, भक्तपुर, पाटन दरबार क्षेत्र लगायत सम्पदामा पनि ठूलो क्षति पुग्यो । भूकम्प गएको दुई वर्षपछि कतिपय सम्पदाको पुनर्निर्माण भइसकेको छ कतिपय सम्पदा पुनर्निर्माणको पर्खाइमा छन् ।
भूकम्पले सात सय सम्पदामा क्षति पु¥याएको थियो । त्यसमध्ये एक सय ३३ मा पूर्ण क्षति र ६ सय १७ वटामा आशिंक क्षति पुगेको थियो । ढलेका सम्पदा कसरी उठाउने भन्ने स्थानीय र सरोकारवालाका लागि चिन्ताको विषय बन्यो । कतिपय स्थानमा स्थानीय नै सम्पदा संरक्षणमा पनि लागे । सबैको प्रयासमा अहिलेसम्म उपत्यकाका २० सम्पदाको पुनर्निर्माण सकिएकोे छ । कीर्तिपुरको लाहदेग मन्दिर, हनुमानढोकास्थित शिव मन्दिर, लक्ष्मी मन्दिर, नाट्यश्वर मन्दिर, श्वेत भैरव मन्दिर, तलेजु भवानी मन्दिर, नगरा घर, च्यासिंह मण्डप निर्माण भइसकेका छन् । त्यस्तै, काठमाडौं नागार्जुनस्थित जमाचो पार्टी, बौद्धनाथ स्तुप, ललितपुर लामाटारको काशी विश्वेश्वर मन्दिर, प्याङगाउँस्थित दुई ऐतिहासिक पार्टी, पाटन दरबारस्थित योगनरेन्द्र मल्लको सालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ, सुन्दरीचोकको पूर्वी भाग, तलेजु महादेवको मन्दिर पुनर्निर्माणको काम सकिएको र दरबार परिसरकै चारनारायण मन्दिरको जग बसालिएको पुरातŒव विभाग महानिर्देशक भेषनाराण दाहालले जानकारी दिए । उनका अनुसार भक्तपुर दरबार क्षेत्रभित्रका केही सम्पदाको पुनर्निर्माण सकिएको छ । दरबार क्षेत्रस्थित रामेश्वर मन्दिर, बद्रीनारायणको मन्दिर, शेषनारायण मन्दिर र नारायणकै अन्य दुई मन्दिर पनि उठिसकेका छन् । भक्तपुर नगरपालिकाअन्तर्गत नै प्राचीन खौमा गेट, चाँगुनारायण मन्दिर परिसरको किलेश्वर मन्दिर पनि पुनर्निर्माण भइसकेको छ । यी सम्पदा पुनर्निर्माणमा १३ करोड २७ लाख ८३ हजार रुपैयाँ खर्च भएको विभागका प्रमुख लेखा नियन्त्रक शिवकुमार महतले जानकारी दिए । ‘सम्पदा पुनर्निर्माणका लागि प्राधिकरणबाट बजेट आउन ढिलो हुन्छ,’ उनले भने, ‘प्राधिकरणले हालसम्म दिएको सबै रकम खर्च भइसकेको छ ।’
विभाग महानिर्देशक दाहालका अनुसार पाँच वर्षभित्र भूकम्पबाट क्षति पुगेका ९० प्रतिशत सम्पदा पुनर्निर्माण भइसक्नेछ । ‘सम्पदा पुनर्निर्माण सोचेजस्तो सजिलो छैन, इन्जिनियर र आर्किटेक्टको संख्या अत्यन्तै कमी छ,’ उनले भने, ‘पर्याप्त जनशक्ति र स्रोत–साधन हुने हो भने चार वर्षमै भूकम्पले क्षति पुगेका सबै सम्पदा पुनर्निर्माण भइसक्छन् ।’
विभागले यो वर्ष पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर, भीमसेन मन्दिर तलेजु मन्दिरलगायत काठमाडौं र भक्तपुरका १३ सम्पदा पुनर्निर्माण सक्ने लक्ष्य लिएको छ । ‘हामीले यो वर्ष उपत्यकाका १३ सम्पदाको पुनर्निर्माण सक्छौं,’ पुरातŒव अधिकृत दामोदर गौतमले भने, ‘संस्कृतिविद्, पुरातŒवविद्, इतिहासविद्, स्थानीय लगायत सबै निकायले साथ दिने हो भने सहज रूपमा सम्पदा पुनर्निर्माण गर्न सकिन्छ ।’
भूकम्पको दुई वर्षपछि २० सम्पदा मात्रै पुनर्निर्माण सकिनु सन्तोषजनक नभएको स्थानीयको गुनासो छ । ‘दुई वर्षमा २० सम्पदा मात्रै पुनर्निर्माण सकिनु सन्तोषजनक होइन,’ पाटन मंगलबजारका स्थानीय राजु ताम्राकारले भने, ‘यही गतिमा काम गर्दा अझै १० वर्षमा पनि भूकम्पमा लडेका सम्पदा उठ्दैनन् ।’
भूकम्पबाट क्षति पुगेका पाटन दरबार क्षेत्रका सम्पदालाई पुरानै अवस्थामा फर्काउन काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले जिम्मा लिएको छ । केभिपिटीका अध्यक्ष रोहित रञ्जितकारका अनुसार पाटन दरबार क्षेत्रमा अवस्थित चारनारायण मन्दिर, विश्वनाथ मन्दिर, मणिमण्डपका दुई पाटी, कृष्ण मन्दिर, भीमसेन मन्दिरलगायत सम्पदाको पुनर्निर्माण भइरहेको छ ।
आवश्यक काठ तयार पार्ने, ढुंगा, तामा र पित्तलका पाता, काठका बुट्टा लगायत सामग्री जुटाउने कार्य भइरहेको उनले बताए । ‘पुराना सम्पदाको मौलिकतालाई ध्यानमा राखेर पुनर्निर्माण गर्नुपर्ने भएकाले विदेशी आर्किटेक्ट बोलाएर सम्पदा मर्मतबारे अध्ययन पनि गरेका छौँ,’ उनले भने ।
वसन्तपुर क्षेत्रका १२ सम्पदा क्षतिग्रस्त छन् । त्यसमध्ये एउटाको निर्माण सम्पन्न भएको छ भने सातवटाको निर्माण कार्य भइरहेको पुरातŒव विभागले जनाएको छ । विभागका अनुसार पाटन दरबार क्षेत्रमा २७ सम्पदा क्षतिग्रस्त छन् । त्यसमध्ये ६ वटाको पुनर्निर्माण सकिएको छ भने अन्यमा काम भइरहेको छ ।
विभाग प्रवक्ता रामबहादुर कुँवरका अनुसार पशुपति क्षेत्रमा २७ सम्पदा, चाँगुनारायण क्षेत्रअन्तर्गत पाँच सम्पदा क्षतिग्रस्त छन् ।
‘स्वयम्भू क्षेत्रमा चार पुराताŒिवक सम्पदा पूर्ण क्षतिग्रस्त छन्,’ कुँवरले भने, ‘तीमध्ये तीनको निर्माण सुरु भएको छ ।’
यसबाहेक पनि तीनवटै जिल्लाका नगरपालिकाले स्थानीयसँग छलफल गरी सम्पदा निर्माण थाल्दै आएका छन् ।
फेरिएको बौद्ध स्तुप
विनाशकारी भूकम्पबाट क्षति पुगेकोे सम्पदामध्ये एक हो, बौद्ध स्तुप । भूकम्पले चिराचिरा भएको स्तुपको अहिले भने रुपरंग फेरिएको छ । अहिले बौद्धनाथको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यो सम्पदा हातमा हात जोडिएर बनेको पहिलो सम्पदा पनि हो । पुरातात्विक विश्वसम्पदा बौद्धनाथ महाचैत्य (स्तुप) को पुनर्निर्माण अरु कुनै दाताले नभएर सरकारले नै गरेको हो ।
पुनर्निर्माण थालिँदा बौद्धनाथ क्षेत्र विकास कोषसँग तीन करोड रुपैयाँ थियो । सम्पन्न हुँदासम्म ३० करोड रुपैयाँ संकलन भयो । २३ करोड रुपैयाँ (३१ किलो सुनसहित) खर्च भयो, सात करोड रुपैयाँ बचत छ ।
भूकम्पले बौद्धनाथको डोमदेखि त्रयोदश भुवन (१३ वटा खुड्किला) सम्मको भाग, मण्डला र छ्योर्तेनमा क्षति पु¥याएको थियो । पुनर्निर्माणमा पुरातŒव विभागकै निगरानी र मापदण्डअनुसार १८ करोड ४५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । स्तुपमा अनुमानित २७ किलोभन्दा बढी सुन प्रयोग भएको छ । ३६ मिटर अग्लो बौद्धनाथ स्तुप दक्षिण एसियाकै ठूला स्तुपमध्ये एक हो । यसको निर्माण पाँचौं शताब्दीमा भएको मानिन्छ । डेनियल राइटद्वारा सम्पादित १९औँ शताब्दीको एक वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथम (सन् ४६४–५०५) ले गरेका हुन् । बौद्धमार्गीले बौद्धनाथ पनि स्वयम्भूजस्तै आफैं उत्पन्न भएको विश्वास राख्छन् । काठमाडौं उपत्यकाका विश्वसम्पदा सूचीमा परेका स्थलको मूल्यांकन युनेस्कोले नोभेम्बर १९९३ मा गरेको थियो ।
राणाकालीन दरबारको स्याहार
भूकम्पबाट चर्किएका राणाकालीन कला, कौशल, वास्तुकलायुक्त दरबारलाई सरकारले उचित संरक्षण गर्ने भएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैंक, संसद् भवनभित्रको ग्यालरी भवन, पुल्चोकस्थित श्रीमहल, रानीपोखरीस्थित केन्द्रीय कानुन पुस्तकालय, वसन्तपुरस्थित जुद्ध वारुणयन्त्र लगायत भवन भत्काउन पाइने छैन । पुराना दरबार नेपालमै पहिलोपटक वास्तुकला र युरोपियन शैलीमा बनेका कारण सबलीकरण (रेट्रोफिटिङ) द्वारा संरक्षण गर्न लागिएको हो । ‘राणाकालीन दरबारले युरोपियन शैली र तत्कालीन नेपालको मौलिकता बोलेका छन्,’ महानिर्देशक दाहालले भने, ‘यी दरबारले भावी पुस्तालाई नेपालको इतिहासबारे जानकारी दिन्छन् ।’ राणाकालीन भवनको अध्ययन लागि पुरातŒवविद्, संरक्षणविद् र वास्तुविद्लगायतको टोली खटाइने भएको छ । ‘भत्काएपछि राणाकालीन दरबारको मौलिकता आउँदैन,’ प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोखरेलले भने, ‘भूकम्पले दरबार तथा भवनलाई जस्तो अवस्थामा पु¥याएको छ, त्यहींबाट निर्माण कार्य थाल्छौं ।’ पुरातŒवविद्, संरक्षणविद्, वास्तुविद्लगायतले राणाकालीन दरबारलाई जोगाउन माग राखेका छन् ।
ठेक्काप्रति स्थानीयको विरोध
सम्पदा ठेक्कामा पुनर्निर्माण गर्न दिने सरकारी नीतिबारे स्थानीय र पुरातŒवविद्ले असहमति जनाएका थिए । स्थानीयले सबैभन्दा विरोध गर्ने सम्पदामध्ये पर्छ, काष्ठमण्डप । काठमाडौं हनुमानढोका परिसरका मठमन्दिर पुनर्निर्माणका लागि ठेक्कामा नदिन स्थानीय र पुरातŒवविद्ले आवाज उठाएका थिए । उनीहरूले सम्पदा विदेशीलाई बनाउन दिन नहुने र नेपालीले नै बनाउनुपर्नेमा जोड दिएका थिए । काष्ठमण्डप पुनर्निर्माण समिति अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले भने ठेक्का प्रथाले नै सम्पदा ठडिने बताए ।
काठमाडौं महानगरपालिकालाई पुरातŒव विभागले अनुमति दिएको झन्डै १० महिना नाघ्दा पनि काष्ठमण्डप पुनर्निर्माणको काम अझै सुरु हुन सकेको छैन । स्थानीयवासीले सम्पदा पुनर्निर्माणमा ठेक्का दिनु हुँदैन भनेर आवाज बुलन्द पारेकै कारण अहिले उक्त सम्पदा पुनर्निर्माण अघि बढ्न नसकेको हो । संस्कृतिविद् हरिराम जोशीका अनुसार सम्पदा पुनर्निर्माणमा काठभन्दा उत्तम अरु कुनै सामग्री हुँदैन । उनी भन्छन्, ‘खिया लाग्ने फलामभन्दा काठ नै उत्तम हुन्छ, काठ कुहिन्छ भनेर फलाम राख्न थाल्यौं भने सम्पदा र हाम्रो वास्तुकला मर्छ ।’
शैलीमा अलमल
पुनर्निर्माण गर्दा भूकम्पप्रतिरोधी वा पुरानै शैली अपनाउने भन्ने विषय अझै कायमै छ । स्थानीय र केही व्यक्तिले सम्पदा पुनर्निर्माण गर्दा पुरानै शैली र मौलिकतालाई जोड दिएका छन् भने इन्जिनियरले पुरानै शैलीमा पुनर्निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक नहुने भन्दै मौलिकता र नयाँ शैली दुवै अपनाउनुपर्ने धारणा राखेका छन् । अहिले उपत्यकाभित्र पुनर्निर्माण भइरहेका सम्पदा पनि कुन शैली अपनाउने भन्ने विषयमा अलमल देखिएको छ । पुरात्व प्रवक्ता कुँवर भन्छन्, ‘बाहिरबाट नदेखिने गरी भित्रपट्टि भूकम्पप्रतिरोधी सामानको प्रयोग गर्न सकिन्छ, पुनर्निर्माण गर्दा केही क्षेत्रका सम्पदा पुनर्निर्माणमा पनि नयाँ प्रविधि अपनाएका छौँँ ।’ पहिला माटो, इँटा, काठ, ढुंगाले बनेका सम्पदामा सिमेन्ट, स्टिलपाता रड लगायत सामग्री पनि प्रयोग गरिएको उनी बताउँछन् ।
यस विषयमा सांस्कृतिविद् भने फरक मत राख्छन् । संस्कृतविद् हरिराम जोशी नयाँ प्रविधिको प्रयोग गरे पनि मौलिकता मेटिन नहुने बताउँछन् । उनी भन्छन्, ‘आज सम्पदा पुनर्निर्माणमा हेलचेक्र्याइँ गरेर भोलि पछुताउन नपरोस्, पहिलापहिला बनेका सम्पदा कमजोर छन् भन्न मिल्दैन ।’
त्यस्तै महानिर्देशक दाहाल पनि विभागले सम्पदा निर्माण गर्दा पुरानै शैलीलाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। ‘ज्वाइन्ट, कनेक्सन, भित्री भागमा प्रयोग गरिने सामग्री भरपर्दा छन् भने पुरानै ढंगबाट पनि पुनर्निर्माण गर्दा खासै बेफाइदा हुँदैन,’ उनले भने, ‘हामीले ऐतिहासिक सम्पदाको संवेदनशीलतालाई पनि आत्मसात् गर्नुपर्छ।’
प्रकाशित: १६ वैशाख २०७४ ०२:५६ शनिबार