१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

एउटा सन्दिग्ध संस्मरण

डा. शम्भुप्रसाद कोइराला

हरिहर विरहीको 'आगो निभेको छैन'को प्रकाशनको चर्चासँगै मेरो मन अत्यन्त उद्वेलित र उत्कंठित भयो। पुस्तक पढने तीव्र तिर्खाले छटपटिएर विराटनगरका पुस्तक पसलहरू चाहार्न थालेँ। रोडशेष चोकको एउटा पुस्तक पसलमा प्लास्टिकले बेरिएको, तर कतै मूल्य अंकित नगरिएको एउटा पुस्तक प्राप्त गरेँ हजार तिरेर।

मेरा सम्पूर्ण तीर्खा र उत्कंठा दाजु केशवबारे थियो। विलक्षण प्रतिभा, अदम्य साहस र विद्रोही स्वभावका दाजु केशवको सहकर्मीहरूप्रतिको ममत्व, पार्टीप्रतिको निष्ठा र जीवन उत्सर्ग गरेर दिएको योगदानलाई नेतृत्व र समकालीन मित्रले प्रायः बिर्सिसकेका मात्र होइनन्, उनको योगदानको यदाकदा चर्चा सुन्दा र गर्नुपर्दा आफ्नो विगतको यथार्थ बाहिर आएर(सबैको होइन) वर्तमानमा तयार पारेको छवि र आगतको 'सत्ताकांक्षा' समेतलाई धूमिल पार्ने हो कि भन्ने चिन्ताले ग्रसित बनेको यथार्थ मैले धेरैपल्ट अनुभूत गरेको छु। यस्तो शृंखलामा २०२५ सालदेखि शहादत प्राप्त गर्ने क्षणसम्म सबभन्दा बढी माया गरेको आफ्नो यौवनाभिमुखी चञ्चले फिल्मी दिनचर्यालाई 'लघुसिद्धान्त कौमुदी र राजनीतितिर तानेर हरिहर विरही बनाउन अकल्पनीय उत्सर्ग गरेका प्रथम पथप्रदर्शक सहृदयी मित्र(३ वर्ष जेठो भए पनि) केशवले पार्टीमा पुर्‍याएको योगदान र उनको साजिसपूर्ण हत्यासमेतको तथ्यातितथ्य विरहीले उजागर गरे होलान् र 'राजनीति छद्मभेषीहरूको अखडा हो' भन्ने कथनलाई पूर्णतः असत्य प्रमाणित गरे होलान् भन्ने अन्तर्मनको विश्वासले रिठ्ठो नबिराइ पुस्तक पढेँ।

अन्य छायाँसरिका परममित्रहरू कहाँ के गर्दै थिए? त्यो निर्मम हत्याको(समातेर मारेको) मूलबीजको स्रोत प्रशासनले कसरी प्राप्त गर्‍यो? त्यो पाटोमा खुल्नै नसक्ने गरी भोटे ताल्चा विरही दाइले किन लगाए? उनले सिन्धुलीमा बम बोकेर गएको, तर उपयुक्त ठाउँ नभेटेर नपड्काएको चर्चा पृष्ठ १२२ मा गरेका छन्। कुन उपयुक्त स्थलमा पड्काउन लगिएको थियो र किन पड्काइएन? धेरै कुरा मनभित्र खेल्छन्।

 बीपीको 'सुम्निमा' नबुझेर ४ पल्ट पढेँ भने विरहीको एकैपल्टमा बुझेर पनि आफैमाथि अविश्वास गर्दै ३ पल्ट पढेँ। मलाई पुस्तकभित्रका अनेकौँ स्वाभाविक–अस्वाभाविक कथनबारे टीकाटिप्पणी गर्नु छैन र म ती कथनहरूको साक्षी पनि होइन। मात्र, दाजु र विरहीबारे घामभन्दा पनि छर्लंग मैले देखेसुने र जानेसम्म जे सत्यातिसत्य हो– त्यो मैले पुस्तकको पानापानामा जति रेखा कोरेर हेरे पनि, जतिपल्ट खोजे पनि भेटिनँ। मेरो विष्मरण स्वभावले संस्मरणलाई थिच्यो कि भनेर आनन्द ढुंगाना दाजुसँग केही जिज्ञासा राख्दा आफ्नो संस्मरणप्रति म ढुक्क भएँ। मलाई मेरो रगतले पिरोल्यो। त्यसैले दाजु केशवबारे जुनजुन पृष्ठमा जेजे लेखिएको छ त्यसबारे मात्र र एउटा विरही दाइप्रतिको थप जिज्ञासाबारे कठघरामा उभिएर सत्यतथ्य सम्प्रेषित गर्नु आवश्यक ठान्छु।

१) पृष्ठ २ मा भनिएको छ– 'मैले केशवलाई सरोज कोइरालासँग परिचय गराएँ।' छहरेबाट ज्ञानकूप पढ्न आएका दुइ मेधावी छात्र केशव र लेखनाथमध्ये केशव धेरैका अभिभावक थिए। प्रसिद्ध पण्डित, तुलनात्मक रूपमा सम्पन्न, मधेस–पहाड दुवै ठाउँमा जमिन भएका र दयालु स्वभावका पिता भवनाथका छोरा केशवप्रति सबै अभिभावकको विश्वास थियो। त्यसैले अभिभावकत्वको जिम्मा दाजुलाई लगाइएको थियो। हामीलाई देउसी खेल्न सरोज दाइकहाँ पठाउने, दौरासुरुवाल लाउने बुवाले भन्दा नेताको ड्रेस लाउँछु भनेर कुर्था र पाइजामा मात्र लाउने, राति राति उठेर केके लेख्ने र नारायण, महेश र युवराजलाई छर्न पठाउनेजस्ता कार्य दाइले थाल्नुभएको थियो। भाइ युवराजको साथी उही उमेरको तर अत्यन्त चञ्चल, प्रायः छात्रावास र पाठशालाबाट भागिरहने, खोपी र सिनेमा भनेपछि हुरुक्क हुने हरिहरलाई रुवाउँदै एकदिन आमाले ल्याएको दाजुले देख्नुभयो (पृष्ठ ३११ मा उल्लेख) त्यसपछि विस्तारै हरिहरप्रति दाइमा अभिभावकत्वपूर्ण ममत्व पलाएको मैले देखेको हुँ। कुर्था पाइजामा लगाउने, राति उठेर पर्चा लेख्नेजस्ता कार्यमा संलग्न राजनीतिक चेतनाको बीजांकुर भैसकेका केशवलाई माथि वर्णित विशेषता भएका हरिहरले सरोज दाइसँग परिचय गराएको प्रसंग 'टिठ' लाग्दो लाग्यो।

(२)  पृष्ठ ३ देखि ११ सम्म राजा महेन्द्रको सालिकमा मोसो दलेको प्रसंग छ। योजना बनाउन अत्यन्त सफल केशवले हरिहरलाई भनेको कथन पृष्ठ ३ मै छ। खै राजनीति...? जुन नेता पनि गफमात्र गर्छन्...यत्तिकै सत्ता पल्टन्छ त? यत्तिकै प्रजातन्त्र आउँछ? एउटा चर्चित ठूलै काम गरौँ।

प्रायः दैनिकी र 'के काइदा'को नामले कविता लेख्ने दाजुको बानी थियो। राजा महेन्द्रका सालिकमा मोसो दल्न वहाँ एक्लै गएको, चस्मा खसेको र दलिसकेर भाग्दा चप्पलको फित्ता चुँडिएर चप्पल बोकेर नांगै खुट्टा कुदेको प्रसंग डायरीमा उल्लेख(डायरी युवराजसँग अद्यापि छ, हुनुपर्छ) छ। विरहीले पृष्ठ ११ मा उल्लेख गरेजस्तै छैन। पछि दाजु आफैले यो कुरा धेरैलाई भन्नुभएको पनि छ।

(३) पर्चाको लेखनशैलीबारे पृष्ट १ठ मा विरही र केशवको छलफल छ। 'शासन' र 'प्रशासन' का बारेमा विरहीले लगाएको अर्थ र छलफल बौद्धिक छ। दाइ केशवले उत्तरमध्यमा पास गरिसकेका थिए र व्याकरणका विद्यार्थी थिए। भर्खर किताबतर्फ ध्यान फर्काएका र पढाइमा रूचि नभएका(आफैले पृष्ठ ३१० मा भनेका छन्) विरहीले शासन र प्रशासनको अर्थ र चातुर्यपूर्ण राजनीतिक संवाद केशवलाई सिकाए होलान् र? यी सबै कथन आजका परिपक्व विरहीको हो, त्यो समयका १५ वर्षे हरिहर आचार्यको हुन सक्दैन।

(४) रक्सी खाएको र सेन्ट्रल जेलबाट उत्तरमध्यमा तथा शास्त्री पास गरेको घटनाको चर्चा पृष्ठ ८२ मा छ। रक्सी खाने प्रसंगमा विरहीले लेखेका छन्– 'मैले तँ पनि खा' भनेपछि केशव पनि अघि सरे।' रक्सीको कुरा सबैभन्दा अपत्यारिलो लाग्यो। प्रसिद्ध पण्डितको छोरो भएर पनि केशव दाइ सर्वहाराजस्तै हुनुहुन्थ्यो। ओखलढुंगा जाँदा १४ वर्षको उमेरमा रातमाटेको लसुने राईको घरमा दाइले रक्सी खाएको र बाटामा खुट्टा नथिग्रिएर लडेको घटनाको साक्षी दाइ कृष्ण(बडावाका कान्छा छोरा) अझै हुनुहुन्छ। ज्ञानकूपबाट छहरे जाँदा झन्डै ५ दिन हिँड्नुपर्थ्यो। दाइले कुखुराको मासु र कोदाको रक्सी मलाई खान दिएको र म अरुभन्दा चाडो हिँडेको घटना 'बखु' अहिले पनि भन्छन्। छितारीले छोएको दही खायो भनेर लेखनाथहरूले गाउँभरि बदनाम गर्ने प्रयत्न गरेका केशवलाई २६ सालतिर रक्सी खान सिकाएँ भनेर विरहीले कसरी भनेका होलान्? जेलभित्र उत्तरमध्यमा र शास्त्री विरहीले कसरी पास गरे? केशवको योगदान के रह्यो? विरहीले चर्चा गर्न नसके पनि दाइको डायरीमा स्पष्ट छ।

(५) पृष्ठ ११६ र ११७ मा जग्गा बेचेर राखेको पैसामध्येबाट दाइले विरहीलाई जेलबाट छुटाएको प्रसंग पनि केही पृथक प्रकारले आएको छ। विरहीलाई छुटाउनैका लागि बुवासँग झगडा गरेर दाइले अब्बल जग्गा सस्तैमा बेचेको देख्ने हामी धेरै छौँ। जग्गा बेचेर राखेको पैसाले होइन– छुटाउनैका लागि जग्गा बेचेको हो। मेरो तृष्णा यी ५ बुँदाबारे छँदैथिएन। यी कुराको चर्चा जसरी विरहीले पुस्तकमा गर्नुभयो– त्यसलाई प्रष्ट्याउनु कर्तव्य ठानेँ– मेरो सपनाजपना र वर्षाैंको तृष्णा विरहीको लेखनीबाटै पूर्ण हुनेछ र भेटिने छ भन्ने मलाई पूर्णविश्वास थियो। त्यसको त खास चर्चा समेत पाइनँ। मन भरिएर र अत्तालिएर आयो। म जान्न चाहन्थेँ :

क)  दाजु केशवको साजिसपूर्ण हत्या कसरी भयो?

ख)  पुस्तकभरि त्यत्ति निष्ठा र त्यागको चर्चा गर्ने विरहीलाई २०३८ सालमा सुधारिएको भनिएको पञ्चायततिर कुन चुम्बकीय सम्मोहनले तान्यो?

 नेपाली कांग्रेसले हतियारको आन्दोलन सुरु गरेको र धेरै होनहार युवा तथा नेता गुमाएको सर्वविदितै छ। बम बोकेर हिँडेका राम–लक्ष्मणका भरियाहरू प्रहरी रहेका र मटिहानीको बमकाण्डको जानकारी प्रशासनलाई पहिले नै भएको तथ्य पनि उत्तिकै सत्य छ। पार्टीभित्रैका छेपाराबाट प्रशासनलाई खबर पुग्ने र पैसा हसुरेर साथीहरूको निर्मम हत्या गराउने शंृखलामै मटिहानी काण्ड भएको देखिन्छ। नेपालको पूर्वीभेगबाट सयौँ मान्छे फारबेसगन्जमा तालिम दिलाउन लाने, क्रान्तिको उद्घोष गर्दै गाउँगाउँ हिँड्ने, घर घेर्न आएका प्रहरीलाई गाउँले उठाएर ढुंगामुडा गरेर खेद्ने केशव कोइराला प्रशासनको आँखामा सशक्त योद्धा थिए। उनको हत्याका लागि प्रशासन जे गर्न पनि खोजिरहेको थियो। दाइको नेतृत्वमा बम हान्न आएको र कहाँबाट कसरी भाग्ने भन्ने योजना दाइसँगै आएका महेशले दिउँसो बताएका थिए। कोको छौ भनेर सोधिएन। गणेश नेपाली दाइको साथमा थिए(पुस्तकमा उल्लेख)। अन्य छायाँसरिका परममित्रहरू कहाँ के गर्दै थिए? त्यो निर्मम हत्याको(समातेर मारेको) मूलबीजको स्रोत प्रशासनले कसरी प्राप्त गर्‍यो? त्यो पाटोमा खुल्नै नसक्ने गरी भोटे ताल्चा विरही दाइले किन लगाए? उनले सिन्धुलीमा बम बोकेर गएको, तर उपयुक्त ठाउँ नभेटेर नपड्काएको चर्चा पृष्ठ १२२ मा गरेका छन्। कुन उपयुक्त स्थलमा पड्काउन लगिएको थियो र किन पड्काइएन? धेरै कुरा मनभित्र खेल्छन्।

 भोलिका प्रधानमन्त्री भनेर पार्टीले सम्मान गरेका परशुनारायण चौधरीको साथमा नेपाली कांग्रेसको एउटा जत्था रातारात पञ्चायत प्रवेश गर्‍यो। त्यसमा विरही पनि संलग्न थिए। जनमतसंग्रहको घोषणा र चुनाव बहिष्कारपछि पार्टीप्रति निष्ठा सेलाउँदै गएको र पार्टीबाट पाखा लाग्ने कुरा उल्लेख गरेको(पृ. २३८) पाइन्छ। कतै बीपीका कमीकमजोरी औँल्याएर, कतै उनकै इच्छाको पूर्तिको लागि पत्रकार बन्ने प्रेरणा लिएर अन्य धारमा संलग्न रहेको पुष्टि गर्न खोजिएको छ। राजेश्वर नेपाली र विपिन कोइराला पञ्चायतको प्रचार गर्दै मटिहानी पुग्दा हामीले अनेकौँ तीखा प्रश्न गर्दा र दाइको बारेमा केरकार गर्दा नाजवाफ भएका थिए। पार्टीका सयौँ होनहार युवा नेता र सहृदयी मित्रको पार्टीभित्रैबाट गद्दारीपूर्ण रूपमा हत्या गराउन प्रशासनलाई मलजल गर्ने को हुन् र त्यो घिनलाग्दो शंृखलाको चरम परिणति त केही व्यक्तिको पञ्चायत प्रवेश होइन र? म यसैको उत्तर खोजिरहेको थिएँ। पञ्चायत प्रवेशपछि केही मान्छे सुकिलामुकिला बनेका, झुप्रालाई महलको दर्शन गराएका र आफन्तहरूसँग पनि टाढिएर हिँडेका मैले र नारायणले देखेका छौँ। किन? केको लागि? किताबमा यी कुराको चर्चा हुनुपर्दैनथ्यो?

 भूमिकामा प्रदीप गिरिले लेख्नुभएको छ– विरहीजी धेरै कुरामा मौन हुनुहुन्छ। मेरो फरक भनाइ छ– धेरै कुरामा होइन, भन्नैपर्ने कुरामा वहाँ मौन हुनुहुन्छ। विरहीजी धेरै कुरामा मौन भएकाले आगो ननिभेको कि? भन्नैपर्ने कुरा भन्न नसकेकोमा आगोले पोलिरहेको? भूमिकामा प्रदीप दाइले उल्लेख गरेका आगोमध्ये मलाई लाग्छ– विरही दाइभित्रको ननिभेको आगो 'जठराग्नि' हो। भनिन्छ, मान्छेको पेटभित्र एउटा यस्तो आगो हुन्छ जसले प्रायः हरेक कुरा पचाइरहन्छ– तीता, मीठा, चिप्ला, चिल्ला र खस्रा पनि। जब असन्तुलित र असैह्य हुन्छ– जठराग्निले पचाउन पनि छाड्छ। त्यसैले विरहीभित्रको ननिभेको जठराग्नि मूल्य नतोडिएको आगो निभेको छैन पुस्तकजस्तै पनि हो– जेसुकै भनेर, भन्नुपर्ने–नपर्ने सबै कथेर जति मूल्यमा बेचे पनि हुने! मूल्य जान्नेले कि थोरै दिन्छ कि किन्दैन। जसलाई मूल्य थाहा छैन उसलाई पसलेले ठग्न पनि सक्छ।

(सहिद केशव कोइरालाका सहोदर कान्छा भाइ एवं पूर्वाञ्चल विश्वविद्यालय कला, कानुन तथा शिक्षाशास्त्र संकायका डिन)

पुस्तक :  आगो निभेको छैन

लेखक :  हरिहर विरही

विधा :  आत्मकथा

प्रकाशक :  फाइन प्रिन्ट

मूल्य :  रु. ४९८/

प्रकाशित: १५ माघ २०७३ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App