प्रोल्लास सिन्धुलीय
म झप्पड नेपाली
‘तेरो जिजुबाजेले मेरो जिजुबाजेलाई
कुन्नि के गरेथ्यो’ भन्दै
मसँग सिँगौरी खेल्न उद्यत्हरूको भीडमा
तिमी पनि रहेछौ
ओ बालसखा झप्पड नेपाली !
तिम्रो त्यो पुस्तैनी त्राससँग
बाह्र हातको टाँगोले पनि नछुने मान्छे
कतिन्जेल उभिइरहन सक्छु
यो विवेकशून्य कठघरामा ?
भ्रूण भएर यो पृथ्वीमा
श्वास लिन थाल्नुभन्दा
युगौँअगाडिका सवालहरूको
कसरी उत्तराधिकार लिन सक्छु ?
म तिमीजस्तै खुट्टा भएको मान्छे
बाँच्नका लागि
खाँदाखाँदै खानुपर्ने गाँस छाडेर हिँडेको छु
निदाउँदा–निदाउँदै
निदाउनुपर्ने निद्रा त्यागेर हिँडेको छु
देख्दादेख्दै
देख्नुपर्ने सपना हापेर हिँडेको छु
यौटा सामान्य स्वाभिमान बोकेर छातीमा
यो देशको सडकमा निसंकोच हिँड्न
‘बाहुन जात’ लेखिएको
एक टुक्रो नागरिकता
मलाई पनि काफी छैन ।
म पनि नेपाली हुँ झप्पड नेपाली
यो देशको ऐनअनुसार
कुनै पनि प्रकारको जातीय भेदभाव सहन
म पनि बाध्य छैन ।
म तिमीजस्तै आँखा भएको मान्छे
पुरानो मोडलको खटारोजस्तो
जीर्ण भएर ग्यारेजिएको हजुरबाको युगसँग
कुन्ठित हुनुमा कुनै दम्भ देख्दिनँ
नयाँ जमानाको इन्जिन हालेर
लुखुरलुखुर चलिरहेका बाको
बचेखुचेको पुख्र्यौली अहम्सँग
त्रसित हुनुमा कुनै बहादुरी देख्दिनँ
तिम्रो घरमा नछिरेको धेरै भयो
तिम्री आमाले पकाएको नखाएको धेरै भयो
यसको अर्थ
तिम्रो अचेलको शब्दकोशले
अर्कै लगाउँछ भने लगाओस्
वर्षौं भयो
मैले मेरी आमाले छोएको पनि
खान पाएको छैन ।
म तिमीजस्तै हात भएको मान्छे
यिनै हातले सिन्दूरपोते लगाएर
आफ्नो घोषणा गरेकी श्रीमतीले
भित्राएकी थिइन् कुनै दिन
उनको मितबाले
आफ्नै हातले बनाएको चुलेसी
त्योभन्दा प्रिय उपहार
मैले दिन सकेको छैन आजसम्म उनलाई
तिमीले तोड्न चाहेको
विभेदको माखेसाङ्लोसँग
बिल्कुलै बेखबर
हुर्किंदै छन् मेरा छोराछोरीहरू
मैले बनाएको मेरो भान्सा
बनाएदेखि नै जातीय भेदभावमुक्त छ
अस्वीकार गरेर पुख्र्यौली विरासत
म उभिएको उभियै छु तिमीहरूकै कित्तामा
मैले छुवाछुत गर्नेहरूको
जमात भिन्दै छ
मैले पानी बाराबार गर्नेहरूको
जात भिन्दै छ
असल मान्छेको जात कहिल्यै
सोध्ने गरेको छैन मैले ।
मेरा बाउबाजेले
तिम्रा बाउबाजेले छोएको खाएनन् भन्दैमा
तिमीसँगै बसेर खाँदै गरेको गाँसमा
‘नून चर्को रहेछ’ भन्न पनि नपाउनु मैले ?
पुस्तौँपुस्ताका कुनै सदस्यले
कुनै दिन गरेको कुनै अपराधको
सजाय भोग्न
यो देशको सार्वभौम कानुनअनुसार
म पनि बाध्य छैन ।
ओ मित्रवर !
असमानताका
अनेकन् खण्डहर मसँग पनि छन्
हेपिनु, थिचिनु र दलिनुका दस्ताबेज
मेरा पनि छन्
तिम्रो पुस्तैनी स्वाभिमानको विपक्षमा उभिन
यो युगमा म बिल्कुलै बाध्य छैन
यो खोस्टो नागरिकतामा लेखिएको
‘बाहुन जात’
कसरी बन्न सक्छ
अन्यायको बर्खिलाप
मलाई सामेल हुन नदिने
अयोग्यताको प्रमाणपत्र ?
ओ झप्पड नेपाली !
नेपाली हुँ म पनि तिमीजस्तै
बिल्कुलै सक्षम छैन
यो विश्वको
कुनै पनि देशको कुनै पनि संविधान
तिमीलाई र मलाई
फरकफरक नेपाली मान्न ।
म लोग्नेमान्छे
स्वास्नीले
अक्मकाइन् भने बाबुको नाम भनिदिन
दौडिनुपर्छ डीएनए प्रयोगशालातिर
‘सन्तानको बाउ हुँ’ भन्ने दम्भ
कर्कलाको पानीजस्तो छ मेरो
म लोग्नेमान्छे
म पुरुषप्रधान समाजको लोग्नेमान्छे
मलाई कसैले बाउ औँल्याइदिनुपर्छ
मलाई कसैले मर्द साबित गरिदिनुपर्छ ।
कुन्तीले
नपुंसक घामलाई बाउ देखाउँदा
‘असली बाउ म हुँ’ भन्न नसक्ने
पार्वतीले
‘शरीरको मयलको पोको हो’ भन्दा
चुपचाप पत्याइदिनुपर्ने
त्यही महापुरुष म
युगौँदेखिन् अझैसम्म
मेरो हैसियत उस्तै छ—
पुत्रेष्टि यज्ञको प्रसाद खाएर
बग्रेल्ती जन्मिएका छोराहरूको बाउ
म त्यही महान् दशरथ हुँ ।
कसैले
‘यी सन्तान तेरा होइनन्
कुशका हुन्’ भन्दा
‘होइनन्’ भन्नुपर्ने
‘हो रहेछन्’ भनिदिँदा
‘हो पो रहेछन्’ भन्दै हिँड्ने
मर्यादा पुरुषोत्तम राम हुँ म
सात वर्षीया बालिकालाई
वैवाहिक बलात्कार गरेर
बच्चा जन्माउने सामथ्र्य देखायो भनिदिँदा
पुरुषत्वमाथि नै प्रश्न उठ्ला भन्ने डरले
‘बलात्कार गर्ने सामथ्र्य थिएन’ भन्न नसक्ने
सत्तरी वर्षको वयोवृद्ध
जीर्ण पुरुष
शिव शर्मा ब्राह्मण हुँ म
महिनौँ दासी बनाएर पनि
‘छोएकै रहेनछ’ भन्दा
‘छोएको हो’ समेत भन्न आँट गर्न नसक्ने
महावली रावण हुँ म
पाँच–पाँचजना भिडेर पनि
एउटी द्रौपदीलाई सन्तान दिन नसक्ने
पञ्चपुरुष पाण्डव हुँ म ।
पुस्तौँदेखिन् अझैसम्म
मेरो अहम् ज्यूँकात्यूँ छ
मेरो पुरुषार्थ जस्ताको तस्तै छ ।
म लोग्नेमान्छे
म पुरुषप्रधान समाजको एउटा पुरुष
मलाई अझै
कसैको बाबु हुनुमा पनि संकट छ
मलाई अझै
कसैको छोरो हुनुमा पनि सन्देह छ ।
अनुमति–पत्र
गन्ट्याङमन्ट्याङ दुःखहरू बच्चासँगै च्यापेर
मसँगै उभिएकी छन्—
एउटी युवती
म न तिनको आमापट्टिको मान्छे
म न तिनको बाबुतिरको आफन्त
नजिकका
इष्टमित्र, साथीसंगाती
सबैसबैलाई किनारा लगाउँदै
खहरेजस्तै
गड्गडाउँदै आएकी थिइन् कुनै दिन
अनि, मिसिएकी थिइन्
एउटा नदीसँग अर्को नदी मिसिएसरी
एकअर्कामा विलीन हुनेगरी ।
एक लर्को पोतेलाई बाँध बनाएर
एक भुल्को सिन्दूर
शिष्टताको कुलैकुलो बग्छ
एक किनार उनी
अर्को किनार म भएर
बाँधिएर हिँड्नुको परिभाषा– प्रेम
अर्थात्, प्रेमको त्यही
परम्परागत बन्धनसँग बाँधिएका छौँ
भत्कने नै हो भने
बाँध भत्कन झन् सजिलो हुँदो हो
भत्किएपछिको उन्माद
झन् जोशिलो हुँदो हो
यदाकदा सुक्छौँ
पलाउँछौँ अनि बौरिन्छौँ
यदाकदा गड्गडाउँछौँ
धमिलिन्छौँ अनि सङ्लिन्छौँ
सुक्नु, पलाउनु, बौरिनु, गड्गडाउनु
अथवा, धमिलिनु र सङ्लिनुको चक्रसँगै
हिँडिरहन्छौँ
यो सहकार्यको यात्रामा
म कति हुँ ?
र, उनी कति हुन् ?
अथवा
उनी धेरै हुन् कि म धेरै हुँ कुन्नि !
मिसिएरै बग्नुपरेपछि
मेरो नाममा बग्नु पनि बग्नु नै हुन्छ
उनको नाममा बगेको भए पनि
बग्नु नै हुन्थ्यो
हामीमध्ये कुनै एक धमिलो थियौँ भने
धमिलै बगिरहेका हुन्थ्यौँ
हामीमध्ये कुनै एक सङ्लो थियौँ भने
सङ्लिँदै बगिरहेका हुन्थ्यौँ
जसको नाममा बगे पनि
जिन्दगीको शब्दकोशमा
बग्दै जानु भनेको
सङ्लिँदै जानु पनि हुँदोरहेछ
बग्दै जानु भनेको
फैलिँदै जानु पनि हुँदोरहेछ
सङ्लिँदै छौँ, यसर्थ बग्दै छौँ
बग्दै छौँ यसर्थ फैलिँदै छौँ ।
लेउ लागेका सपनाहरू
बच्चाहरूसँगै च्यापेर
विमानस्थलको गेटमा
मसँगै उभिएकी छन्— एउटी युवती
तिनको
आधीसरो दुःख काखी च्यापेर
आधीसरो अभाव कुम्लो बाँधेर
आधीसरो इच्छा थाती राखेर
म खाडी भासिने तरखरमा छु ।
भन्नै सकिरहेको छैन
यतिबेला
कसको अनुमतिपत्रको खाँचो धेरै छ मलाई
राज्यको
कि उनको ?
प्रकाशित: २३ पुस २०७३ ०४:४७ शनिबार