१ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

नक्कली सुन

टंक चौलागाईं

'मैले श्रीमतीको हत्या गरेँ सर, म सकिएँ हजुर। तुरुन्तै हजुरहरू मेरो कोठामा आइस्यो। अमर सर, रबिन सरलाई पनि लिएर आइस्यो है हजुर। छिटो भन्दा छिटो है हजुर, म रहन्छु कि रहन्न थाहा छैन।'

फोनमा रामलालको आवाज भयले कम्पित थियो। उनको स्वरले भयंकर डर पैदा गरायो। म बाटोमा आइपुग्दा फोन काटिसकेको पनि थिइनँ। केही नभनी ट्याक्सीमा चढेँ। ट्याक्सीवालाले सोधेन पनि, सायद मेरो हतास मनस्थिति बुझेको हुन सक्थ्यो! फोन गरेर रबिन र अमरलाई बाटोमा तयार रहन भनिसकेको थिएँ। हतारमै पुग्दा ढोका भित्रबाट बन्द थियो। फोन गरेपछि रामलालले ढोका खोले। उनले लगाएको सेतो गन्जी च्यातिएको थियो। ठूलो जाँगे लगाएका थिए। उनी केही बोल्ने मनस्थितिमा थिएनन्। खाटमा लडेकी महिलाको शरीरबाट आलो रगत बगिरहेको थियो।

कोठाभित्र पसेर ढोका लगाएँ। उनलाई खाटमा धकेल्दा मेरो गन्जीमा समाएर तानिन्। बत्ती बालेँ, तर उज्यालो भएन। सधैँ अरुको सुक्षाका लागि बोक्ने खुकुरी मैले उनको घाँटीमा बजारेँ। मैले आफ्नै हातलेे मेरी श्रीमती मारेको हुँ। त्यही सजायँ भोग्दै छु। छोरीलाई जसरी भए पनि क्यानडा पठाइदिनु होला।

पहिला अस्पताल लाने कि घटनाबारे सोध्ने हामी अलमलमा पर्‍यौँ।

'के भयो? कसरी यस्तो गर्नु भयो?' न अमरले सोध्यो न हामीले नै! उनी गहिरो मौनतामा थिए। रबिनले टाढैबाट हेरेर सास गइसकेको निश्चय गर्‍यो।

विक्षिप्त मनस्थितिका रामलाल नै बर्बराए निकैबेरको मौनतालाई चिर्न।

'सर म सकिएँ हजुर।' मञ्चन भइरहेको अन्योलको पर्दा एकैछिनमा खोले। पर्दा खुलेपछि हामी रमाउन सक्ने कुरै थिएन, न घृणा गर्न सक्यौँ, न गाली नै!

'सरहरू जे हुनु भइहाल्यो। पुलिस बोलाइस्यो छिटो। मेरो भन्नु हजुरहरू नै हो।' रामलाल रोइहालेका थिएनन्। बाँकी रहेको रिस अनि भय सुनिन्थ्यो बोलीमा। के गर्ने, कसो गर्ने हामी अझै निर्णयमा पुग्न सकेका थिएनौँ। अस्पताल लाने, पुलिसलाई बोलाउने वा रामलाललाई भगाउने।

'दाइ अहिलेसम्म हामीबाहेक कसैलाई थाहा छैन। तपाईं दुई–चार महिना गाउँतिर गएर बस्नुस्, यो सबै बिर्सिएर। केही लफडा हुँदैन।' यस्तो घटना पहिला पनि झेलिसकेको अनुभवी मान्छेलेझैँ रबिनले हतारमा एउटा उपाय सिकायो। त्यो उपायलाई असहमति जनाउन रामलालले धेरै समय लगाएनन्। उनी छिटोभन्दा छिटो पुलिस बोलाउन चाहन्थे। हामी पुलिसलाई फोन गर्ने निधोमा पुग्यौँ। लासबाट बगेको रगत सेलाउँदै थियो।

'यो बिहेको पाँच तोला सुन अनि छोरी म फर्केर नआइन्जेल हजुरहरूको जिम्मा। हजुरहरू नै मेरो अभिभावक हुनुभयो।' पुलिसलाई बोलाउनुअघि रामलालले दराज खोलेर सुन हाम्रो हातमा राखिदिए। सुन मैले खल्तीमा हाल्न खोज्दा थाहा पाएँ, म खल्ती नभएको सुरुवाल र टिसर्टको भरमा निस्किएको रहेछु। रुमालमा पोको पारेको सुन अमरले खल्तीमा हाल्यो।

सबैको सहमति जुट्नलाई समय नलागेपछि पुलिसलाई फोन गरेर ठेगाना दिएँ। फोन गरिसक्दा रामलालले पुरानो सर्ट–पाइन्ट लगाइसके। हामी सबैजना अलमलमा थियौँ। एउटा कोठा, रित्ता भाँडाहरू थिए। दुइटा खाटमध्ये एउटामा श्रीमतीको लास थियो। अर्काे खाटमा श्रीमतीका लुगा छरपष्ट थिए। खाना पकाउने र्‍याकमाथि ग्याँस चुलो थियो। चुलो बलिरहेको थिएन। पिउने पानीको जार थियो। रातो बाल्टिनमा दुई बाल्टिन पानी पनि रहेछ।

नीलो प्लास्टिकको बाटाभरि जुठा भाँडा थिए। बाटाको पानीमा खकार र चिल्लोको तह नै परेको रहेछ! भित्तामा ठोकेको किलाहरूमा सबै श्रीमतीका लुगामात्रै थिए झुन्ड्याएका। एउटा श्रीमान–श्रीमतीको बिहेको फोटो, अर्काे रामलालको सेक्युरिटीको डे्रस लगाएको फोटो झुन्ड्याएको थियो सँगसँगै। उनले लगाउने गरेको सेक्युरिटीको ड्रेस पनि खाटमा थियो। पाइन्टको बेल्टमा खुकुरीको दाप थियो। खुकुरी?

 

भर्खरै श्रीमतीलाई प्रहार गरेर रगत लत्पतिएको खुकुरी खाटमा थियो।

ढोकामा ढक्ढक् आएपछि निश्चय भयो पुलिस आइसकेको। अमरले गएर ढोका खोल्नुअघि हामी सबैले इशारामै सहमति जुटायौँ। तीनजना पुलिस भित्र पस्नुअघि ढोकाबाट चलाखीका साथ सबैतिर हेरे। एकजना बाहिरै बस्यो।

'हो हजुर, मैले मेरी श्रीमतीलाई खुकुरी हानेर हत्या गरेँ! यी खुकुरी यही हो। दोषी मै हुँ, सजाय भोग्न तयार छु। उहाँहरू मेरो स्कुलको सर, भर्खरै बोलाएको हुँ।' रामलालले पुलिसलाई सोझो बयान दिए। उनको स्वीकारले अनावश्यक सोधपुछको शंृखला अन्त्य गरायो। महिला पुलिसलाई बोलाए।

हामी तीनजनाको अलमल डरमा परिणत हुँदा एउटा पुलिस प्रमाणका लागि फोटो खिचिरहेको थियो, अर्काे उसको हातमा भएको सेटमा कुरा गरिरहेको थियो।

'गोँगबुमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको छ। हत्याराले स्वीकार गरिसकेको हुनाले लासलाई पोस्टमार्टमको लागि अस्पताल लैजानुपर्छ, रोजर हजुर।' उताबाट आएको जवाफ सुन्न पुलिस बाहिर निस्कियो।

'मान्छेले सोचेको जस्तो कहिल्यै नहुने रहेछ हजुर।' हातमा हथकडी परेपछि रामलालले हामी तीनजनालाई हेर्दै बरर आँसु झारे।

अरु कोठामा बस्ने मान्छेहरू पनि जम्मा भइसकेका थिए। ती सबैले मुहारमा एकसाथ भय मञ्चन गरे। उनीहरूको भयमा विस्तारै आश्चर्य मिसियो। महिला प्रहरी आइपुगिन्। लास नजिकबाट नियाल्न थालिन्। फोटो खिचिन्। पछ्यौरा वा अरु केही कपडाले लास छोपिनन्। अनावश्यक केरकारको शृंखला पनि सुरु भएन।

रामलाल र हामी तीनजनालाई भ्यानमा लगियो। भ्यानमा लैजानुअघि उनले कोठातिर फर्केर हेर्लान्जस्तो लागेको थियो, हेरेनन्। बाहिर लागेको चर्काे घाम र मान्छेको गाइँगुइँले विरही धुन खोजेको भान पर्थ्याे। तर, एम्बुलेन्सको चर्काे धुन कानमा पर्‍यो। यही धुन असाध्यै विरही बन्यो। एम्बुलेन्स आइपुग्यो। लासलाई एम्बुलेन्समा राखे। ढोकामा ताल्चा लगाएर साँचो रामलालको हातमा राखिदिए। रामलालले साँचो मलाई दिए। हामीभित्र अन्योल, डर कायमै थियो। मानिसको भीडमाथि भीड थपिइरहेको थियो।

केही पुलिस लास लिएर अस्पतालतिर लागे। हामीलाई हनुमान ढोकातिर लगे। सडकको कोलाहल छँदै थियो। भ्यानभित्र कोही बोलेनन् न पुलिस न हत्यारा न हामी! मात्र पुलिसको हातमा भएको सेटमा बेलाबेलामा कुरा भइरहन्थ्यो। मौनताकै बीचमा हामी हनुमान ढोका पुग्दा अन्योलको पर्दाले छपक्कै ढाकेको थियो।

'खुकुरी प्रहार गरेर आफ्नी श्रीमतीको हत्या किन गर्नुभयो बताउनुस्।' यो प्रश्न हामी कसैले सोधेनौँ र हामीलाई ल्याउने पुलिसले पनि सोधेनन्। उनलाई हिरासततिर लिएर गइसकेका थिए। हामीलाई विश्वास नै भएन यति छिटै उनी हामीबाट छुटे। हो, हामी तीनजना प्रमुखको कार्यकक्षमा पुर्‍याइएका थियौँ। अपराध अनुसन्धान शाखाका प्रमुखले मसँग केही कुरा जान्न खोजे।

...

उनी हाम्रै स्कुलमा काम गर्थे। म अलि पछि आएको हुँ त्यो स्कुलमा। असाध्यै असल लाग्थे। बच्चाहरूलाई निकै प्रेम गर्ने, मीठो बोल्ने, कसैसँग नराम्रो नगर्ने। उनीबाट यस्तो हत्या होला भनेर सोचेकै थिइनँ।

एकदिन उनी गेटमा सुरक्षाका लागि उभिँदाउभिँदै मलाई भनेका थिए 'छोरीलाई क्यानडाका बुवा–ममीले पढाइदिइरहनु भएको छ। स्करलरसिप दिएर उतै बोलाएका छन्। हामी पनि जान्छौँ सर छोरीसँग।'

'सर यो लेटर एकचोटी पढिदिइस्यो न हजुर के लेखेको छ।' एक महिनाजति अगाडि उनले मलाई एउटा चिठी पढ्न दिए। एकछिन पढेपछि थाहा भयो चिठीमा उनीहरूलाई क्यानडा बोलाइएको रहेछ। स्कुलबाट बिदा सिफारिस गरिदिएँ। त्यसपछि उनले भिसाको लागि एप्लाइ गरे।

'सम्पर्कमा रहनु होला केही शंका लागेमा, जानकारी चाहिएमा हामी तपाईंहरूलाई बोलाउँछौँ।' प्रमुखले हामीलाई हात मिलाएर बिदा दिनुअघि भने। निकैबेरको अलमलपछि हामी कोठामा फर्किंदा मन अमिलो भएको थियो। उनको नासो सुन मेरै कोठामा राख्ने सल्लाह भयो।

अरु दुई पटक हामीलाई सामान्य सोधपुछका लागि बोलाए पनि रामलालसँग भेट भएन। मैले उनकी छोरीलाई भेटेँ। हत्याबारे उनलाई थाहा थिएन। मैले पनि थाहा दिइनँ। रामलाललाई हत्याको सजायँ तोकियो। छोरी अनि सुनको जिम्मा हामीलाई दिएर उनी जेल चलान भए। श्रीमती हत्याको कारणबारे हामीलाई बताउन सक्ने कोही थिएन।

सुरक्षाका लागि उनको नासो सुन बैंकमा राखिदिनेबारे सल्लाह गर्‍यौँ। हामी तीनैजना गएर सुन जाँच गर्दा नक्कली ठहरियो। विवाहमा बनाएको सुन नक्कली! हामी छानाबाट खसेजस्तै भयौँ।

तुरुन्तै त्यो खबर उनलाई सुनाउन पाएनौँ। भेट्न लामै समय पर्खिनुपर्‍यो। खबर सुनेर उनी निराश भएनन्। ढुक्कले भने, 'मेरै भाग्य खोटो हजुर। हुन्दिनुस् सर हजुर। मान्छे नक्कली परिछे, सुनको के कुरा! नाठोसँग सल्केकी, बेचेर खाइहोला।'

हामी बिदा लिएर फर्किंदा पट््याएको एउटा कागज दिए। लामै लेखेका रहेछन्! के लेखे होलान्! सबैभन्दा माथि मिति लेखेको थियो। शीर्षक थिएन। त्यो कागजलाई जस्ताको तस्तै पट्याएर खल्तीमा हालेँ। कोठामा पस्ने बित्तिकै कागज खोलेँ।

...

गाउँबाट आएपछि हामी गोँगबुमा बस्थ्यौँ। छोरी भर्खरै जन्मिएकी थिई। म ट्रेकिङमा भारी बोक्थेँ। ठमेलमा थियो अफिस। महिनौँसम्म विदेशीको भारी बोकेर हिमालतिर जानुपर्थ्याे। काम एकदमै गाह्रो थियो। कुनैकुनै विदेशी असल हुन्थे। कोहीकोहीले नेपालीलाई ठग मान्थे।

सगरमाथा जान भनेर दुईजना क्यानडाका बूढाबूढी आएका रहेछन्। मलाई उनीहरूको भरिया बनाएर पठाइयो। काम गर्दागर्दै अलिअलि अंग्रेजी बोल्न सक्थेँ। घरमा श्रीमती र छोरी छोडेर म उनीहरूको भरिया बनेँ। अलिअलि सामान उनीहरू आफैले बोकेका थिए। बूढीचाहिँ बीच बाटोमा बिरामी परिन्। त्यस्तो यात्रा मेरो लागि नौलो थिएन। उनीहरूलाई भने नौलो थियो। मैले जानेको सेवा गरेँ। हामी मानव भएर जन्मिसकेपछि सेवा नै धर्म हो। उनीहरू माथि उक्लन सकेनन्। जान सक्ने ठाउँसम्म पुगेर हामी फर्कियौँ। काम गरेर आएपछि दुई–चार दिन आराम गर्नैपर्थ्याे। म कोठामा आराम गरेर बसेको थिएँ।

'राम दाइ काम गर्ने हैन? तपाईंजस्तो मान्छेलाई के सुतिरहनुपर्‍यो?' टे्रकिङ अफिसको सरले फोनमा भन्नुभयो।

'सर दुई–चार दिनपछि आउँछु हुँदैन? अहिले असाध्यै थकाइ लागेको छ।'

'हुन्छ हुन्छ। त्यो क्यानडाका बूढाबूढीले तपाईंलाई निकै माया गर्दा रहेछन्... क्यानडा नै लैजान्छन् कि के हो?' सरले ठट्टाको शैलीमा भन्नुभयो।

'खै सर!'

'उनीहरूले तपाईंकी छोरीलाई पढाइदिन्छन् रे। छोरीको कुरा गर्नुभएको थियो?'

'हैन सर। परिवारमा कोको छन् भन्थे, मैले भएको कुरा भनेको मात्र हुँ।'

'ठीक छ राम्रो भयो। तपाईंको भाग्य चम्कियो। भेटाइदिनु भन्या छन्।'

'हस् सर, धन्यवाद हजुर।'

मेरो काम उनीहरूलाई मन परेछ। ती बूढाबूढी नै मेरो कोठामा आए। छोरीलाई स्कुल पढाउने बेला भएको थियो। उनीहरूले नै स्कुल खोजेर राखिदिए। हाम्रा दिन राम्रोसँग बित्न थाले। मान्छे असल भयो भने सहयोग गर्ने जत्ति पनि भेटिन्छन्। आत्तिनुचाहिँ हुँदैन।

छोरी स्कुल जान थालेपछि श्रीमतीलाई घरमा बसिरहन मन लागेन। काम खोज्न थालिन्। खोजेपछि भगवान् त भेटिन्छन् काम किन नभेटिनु! एउटा स्कुलमा सरसफाइको काम पाइन् उनले।

ट्रेकिङको कामबाट मेरो मन भरिँदै आयो, छोडेँ। त्यहीबेला श्रीमतीले काम गर्ने स्कुलमा सुरक्षा गार्ड खोजेको रहेछ। म त्यहीँ काम गर्न थालेँ। दुवैजना काम गर्ने भएको हुनाले छोरीलाई होस्टेलमा राखिदियौँ। ती बूढाबूढीले स्कुलमै पैसा तिरिदिन्थे।

एकएक महिनामा छोरिलाई ल्याउँथ्यौँ। हामी आआफ्नो काममा सन्तुष्ट थियौँ।

छोरी उनीहरूले पठाएको ईमेल पढ्न सक्ने, जवाफ पठाउन सक्ने भइसकेकी थिइन्। उनीहरूसँग राम्ररी कुरा गर्न थालिन्। बेलाबेलामा मसँग पनि कुरा गर्थे। उनीहरूलाई मेरो के कुराले आकर्षित गरेको हो, जान्दिनँ। उतै बोलाउने कुरा गर्थे। हामी बेखुसी हुने कुरै भएन। छोरी हुर्किंदै गइन्। श्रीमतीले अर्काे स्कुलमा काम खोजिन्।

भाग्यले हामीलाई साथ दियो। उनीहरूले हामी सबैलाई क्यानडा बोलाउने भए। छोरीले सबै तयारी गरिन्। स्कुल बिहान–बेलुका मेरै जिम्मामा आयो। राति पनि म त्यहीँ बस्नुपर्थ्याे। दुईजना नराख्ने, मलाई छोड्न पनि नदिने। काम मैले नै गर्नुपर्ने!

एकएक महिनामा घर जाँदा सबै परिवार भेटिन्थ्यो। रमाइलो हुन्थ्यो। कहिले मनकामना, कहिले तातोपानी, कहिले कता, कहिले कता घुम्थ्यौँ। सानो मेरो परिवार खुसी थियो।

एक दिन छोरी र म बिदामा घर आउँदा श्रीमती थिइनन्। दिदीको घरमा गएकी रे! हामी बाउ–छोरीमात्रै घरमा भयौँ। हामी बाउ–छोरी मिलेर सरसफाइ गर्‍यौँ।

उनीहरूले हामीलाई भिसा पठाउनुअघि आवश्यक डकुमेन्ट मागे। मैले दुई दिन बिदा लिएँ। म छोरीलाई लिएर गाउँ गएँ। आवश्यक डकुमेन्ट तयार गर्नु थियो। साथमा श्रीमती पनि थिइन्। डकुमेन्ट तयार पारेर हामीले एप्लाई गर्‍यौँ। सबै कुरा पक्कापक्की भइसकेको थियो। भिसा पाइयो। टिकट खर्च पनि उनीहरूले नै दिने भए।

किनमेल, आफन्त भेटघाटका लागि समय छुट्याएको थिएँ। श्रीमती कोठामा थिइनन्। फोन गरेँ मोबाइल अफ थियो। म छक्क परेँ। आफन्त, माइती कतै पनि थिइनन्। तीन–चार दिनपछि उनको फोन लाग्यो। फोनमा उनले माइती पुगेको जानकारी दिइन्। बिनाखबर माइत किन गएकी? तयारीको बारेमा सम्झाएर बोलाएँ। उनले आउने आश्वासन दिइन्।

शनिबार छोरीलाई घर ल्याएँ। फिल्म हेर्न जाने रहर गरिन्। नेपालमा बस्ने दिन धेरै थिएन। त्यसैले घुमफिर, रमाइलोमा दिन बिताउनु थियो हामीलाई। हामी बाउ–छोरी फिल्म हेर्न गयौँ। जीवनमा पहिलो पटक हामी फिल्म हेर्न गएका थियौँ।

अलि पर दुईजना केटाकेटी उभिएका थिए। केटीजस्ती देखिने त्यो, मेरी श्रीमती त्यहीँ थिइन्। उनलाई हामी त्यहाँ आइपुग्छौँ भन्ने एक मन पनि थिएन। किनभने हामी त आआफ्नो स्कुलमा हुनुपर्ने हो।

अलि परबाट छेकिएर हेरेँ। हो, उनी मेरी श्रीमती थिइन्, तर त्यति भर्भराउँदी, बेहुलीजस्ती कसरी भइन्! लिपिस्टिक, पाउडर लगाएर चम्किएकी, केटासँग मकैका फूल खाँदै गरेकी। छोरीले केही भनिनन्। एउटै घरमा भाडामा बस्ने केटा थियो त्यो। ऊ तल बस्थ्यो, हामी माथि।

मलाई झनक्क रिस उठ्यो। रिसले वरिपरि सबै अन्धकार भयो। दुलहीजस्ती सिंगारिएकी उनको अनुहार हाँडीको पिँधजस्तो कालो देखेँ। यस्तो रिस कहिल्यै उठेको थिएन। मलाई केटादेखि हैन, आफ्नै श्रीमतीदेखि रिस उठेको थियो। फटाफट गएर श्रीमतीको दाहिने हात समाएर घिसारेँ। घिर्सादा उनको हातमा भएको मकैको थैलो भुइँमा पोखियो। छोरी मेरो पछि लागिन्। हामी ट्याक्सी चढ्यौँ।

दिउँसै अँध्यारो भयो। हामी सबै मौन थियौँ। ट्याक्सीलाई पहिला छोरीको स्कुलको ठेगाना दिएँ। उनलाई स्कुलमा छोडेर सीधै कोठामा आएँ। न मैले केही बोलेँ न उनले केही बोलिन्।

कोठाभित्र पसेर ढोका लगाएँ। उनलाई खाटमा धकेल्दा मेरो गन्जीमा समाएर तानिन्। बत्ती बालेँ, तर उज्यालो भएन। सधैँ अरुको सुक्षाका लागि बोक्ने खुकुरी मैले उनको घाँटीमा बजारेँ। मैले आफ्नै हातलेे मेरी श्रीमती मारेको हुँ। त्यही सजायँ भोग्दै छु।

छोरीलाई जसरी भए पनि क्यानडा पठाइदिनु होला।

प्रकाशित: १६ पुस २०७३ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App