५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

दसैंलाई ६० हजार खसीबोका, असोज १ देखि सुपथमूल्य पसल

काठमाडौं– दसैंका लागि यस वर्ष काठमाडौं उपत्यकामा बिक्रीवितरण गर्न करिब ६० हजार खसीबोका–च्याङ्ग्रा ल्याइने भएको छ। नेपाल खाद्य संस्थान, पशु चौपाया व्यवसायी संघ तथा अन्य फुटकर निजी व्यवसायीले खसीबोका–च्याङ्ग्रा ल्याउन थालेका हुन्।

खाद्य संस्थानले ३ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं उपत्यकाकाका लागि ल्याउने भएको छ । मुस्ताङबाट १ हजार ५ सय च्याङ्ग्रा ल्याउने र तराईका जिल्लाबाट १ हजार ५ सय खसीबोका गरी ३ हजार खसीबोका–च्याङग्रा ल्याएर बिक्रीवितरण गर्न लागेको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले नागरिक न्युजलाई बताए ।

‘संस्थानले उपलब्ध गराउने खसीबोका तथा च्याङ्ग्रा संस्थानको थापाथलीस्थित आउटलेटबाट बिक्री वितरण गरिने छ,’ श्रेष्ठले भने, ‘उपत्यकामा करिब ६० हजार खसिबोका तथा च्याङ्ग्राको माग छ । संस्थानले ल्याएकोले ३ हजारले मात्रै दशैंलाई पुग्दैन । तर, बजारमा खसीबोका  तथा च्याङ्ग्राको मासुको मूल्यलाई सन्तुलनमा राख्न र कालोबजारी हुन नदिन संस्थानले खसीबोकालगायत वस्तु तथा समाग्री बिक्री गर्नु महत्वपूर्ण छ ।’

महाप्रबन्धक श्रेष्ठका अनुसार खसीबोका र च्याङ्ग्रालाई धेरै दिन पाल्नु नपरोस् भनेर संस्थानले घटस्थापनाको भोलिपल्टदेखि मात्र बिक्री वितरण शुरु गर्ने छ। ‘च्याङ्ग्रा मुस्ताङस्थित संकलन केन्द्रमा संकलन हुने छ भने खसीबोका तराईको लाहान, वीरगन्ज, नेपालगन्ज र दाङमा संकलन गरेर काठमाडौं भित्र्याउने छौं,’ उनले भने । प्रतिकिलो मासुको मूल्य भने खसीबोका आईसकेपछि लागतका आधारमा तय गरिने उनले बताए ।

‘संस्थानले उपलब्ध गराउने खसीको मासुमा प्रतिकिलो १० रुपैयाँसम्म अनुदान दिन हामीले आपूर्ति मन्त्रालय समक्ष माग गरेका छौं,’ उनले भने, ‘यस विषयमा निर्णय हुन भने बाँकी छ ।’

काठमाडौं उपत्यकामा करिब ६० हजार खसीबोका–च्यांग्राको माग रहेकोले बाँकी आपूर्ति निजी क्षेत्रबाट हुने देखिएको छ । करिब ५५ हजार खसीबोका–च्याङ्ग्रा निजी क्षेत्रले उपत्यकामा बिक्री वितरण गर्ने अनुमान रहेको पशु चौपाया व्यवसायी संघका संरक्षक(पूर्व अध्यक्ष) दीपक थापाले बताए।

‘भारतबाट करिब ४० हजार र तराईबाट करिब १० हजार खसीबोका तथा मुस्ताङ र चीनबाट गरी कुल १० हजार च्याङ्ग्रा निजी क्षेत्रबाट काठमाडौंमा आउने छ,’ थापाले भने । गत वर्ष निजी क्षेत्रले करिब ५० हजार खसीबोका–च्याङ्ग्रा काठमाडौंमा बिक्री वितरण गरेका थिए । घटस्थापनाको एक–दुई दिनअघिबाट बिक्री वितरण शुरु हुने र त्यसपछि मात्र बजारको माग अनुमान गर्न सहज हुने उनले बताए । बजारमा भारतीय रुपैयाँको अभाव, ढुवानी लागत, सडकको नाजुक अवस्था, जामलगायतका कारणले भारतबाट आउने खसीको मूल्य पनि सस्तो हुन नसकेको उनको भनाइ छ।  

खाद्य संस्थानले भने दशैंमा खसीबोका तथा च्याङ्ग्राबाहेक चामल, उवा, गहुँ, फापर, सिमी(गेडा दाल) पनि बिक्री वितरण गर्ने जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न ११ ठाउँमा असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन गरी उक्त सामग्री उपलब्ध गराउने संस्थानको तयारी छ । सुपथ मूल्य पसल कार्तिक २१ गतेसम्म सञ्चालन गर्ने संस्थानको योजना छ ।

‘संस्थानसँग करिब ४५ हजार क्विन्टल परिमाणमा १२ प्रकारका चामल, गहुँ, फापर, कर्णालीबाट ल्याइएको सिमी स्टक छ,’ उनले भने, ‘सुपथ मूल्य पसलमार्फत करिब १३ हजार क्विन्टल बिक्री हुने हामीले अनुमान गरेका छौं ।’ संस्थानसँग तिते फापर, मिठेफापर, गहुँ, सिमीको गेडादाल उपलब्ध रहेको उनले बताए । संस्थानले वितरण गर्ने यी खाद्य सामग्रीमा सरकारले प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने निर्णय गरेको उनले बताए । मासुमा भने अनुदान दिने निर्णय अझै भइ नसकेको उनले बताए ।

‘संस्थानले मुस्ताङबाट करिब १५ क्वीन्टल उवा ल्याउने तयारी गरिरहेको छ,’ उनले भने, ‘भूकम्प पीडितका लागि भनेर बंगलादेशबाट आएको उसिनेको मोटो चामल करिब १८ हजार क्वीटल संस्थानसँग मौज्दात छ । पीडितलाई वितरण गरेर बाँकी रहेको उक्त चामल पनि संस्थानले बिक्री वितरण गर्छ ।’

संस्थानले जावलाखेल, नख्खु, रामशाह पथ, भक्तपुर, कोटेश्वर, टेकु, कलंकी, नारायणथान, बौद्ध, जोरपाटी, सिंहदरबार गरी विभिन्न ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिहेको छ।

 

प्रकाशित: २१ भाद्र २०७३ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App