पाँचथर– १५ मेघावटको हेवा ‘ए’ जलविद्युत आयोजनाको काम अन्तिम चरण पुगेको छ। आयोजनाका निर्माण तथा मेसिनरी जडानको काम सकिएर अन्तिम चरणका खुद्रेकाम भइरहको आयोजनाले जनाएको छ।
भदौ–१५ गतेदेखि ड्राई परिक्षण गर्ने गरी तयारी गरिएको आयोजना प्रमुख पुष्पज्योति ढुंगानाले जानकारी दिए। उनका अनुसार पूर्वाधारका सबै काम सकिएर फिनिसिङको काम भइरहेको छ। रंग रोकन, घेरा बारा बनाउने लगायतका काममात्र बाँकी रहेको ढुंगानाले जानकारी दिए। असोज–१ गतेदेखि व्यवसायिक उत्पादन थाल्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ।
सुरुङमार्ग, हेडबक्स, पावर हाउस, सव–स्टेशनलगायतको काम सकिएको छ। निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको निर्माण क्षेत्रमा चहल पहल घट्दै गएको छ। जिल्लाको नागिन, याङनाम र भारपा गाविसको संगम स्थल पारेर आयोजना निर्माण भएको थियो। भूकम्प, नाकाबन्दी, विभिन्न समयमा स्थानीयले गरेको अवरोधका कारण केही ढिलो आयोजनाको काम सकिन लागेको हो।
पाँचथर पावर कम्पनीले प्रवद्र्धन गरेको उक्त आयोजनाको विद्युत् इलाम–फिदिम ३३ केविए विद्युत् प्रसारण लाइनबाट केन्द्रीय प्रसारणमा जडान हुनेछ। १३२ केविए विद्युत् प्रशारण ‘कावेली कोरिडर’को काम नसकिएकाले सबै विद्युत् केन्द्रीय प्रसारणमा नजोडिने भएको छ। कावेली कोरिडर समयमा नबन्दा १० मेघावटमात्र विद्युत केन्द्रीय प्रसारणमा जोडिने ढुंगानाले बताए। ५ मेघावट विद्युत खेर जाने अवस्था रहेको उनले बताए।
उनका अनुसार २ अर्ब ५० करोडको लागतमा आयोजनाको काम सक्न लागिएको हो। यस अघि २ अर्ब २४ करोडमा सक्ने योजना थियो। यो आयोजना सस्तो लागत र छिटो समयमा काम सकिएको उनले बताए। नेपालमै सस्तो लागतमा आयोजनाको काम सकिएको ढुंगानाको भनाइ छ। उनका अनुसार प्रतिमेघावट १६ करोड ७५ लाख लागत लागको छ।
पाँचथर पावर कम्पनीको २५ प्रतिशत र सानिमा बैंकको नेतृत्वमा ११ बैंकले ७५ प्रतिशत ऋण साझेदारी गरेका छन्। इन्टेकबाट ४ हजार एक सय मिटर सुरुङ मार्गबाट पावर हाउसमा पानी खसाइने छ। २०६८ सालमा पिपिए भएको आयोजनाको निर्माणको काम २०६९ चैतदेखि सुरु भएको थियो। अन्य पूर्वाधारका काम भने सो भन्दा अघिदेखि भएको बताइएको छ।
सन् २००२ मा नेपाल विद्युत् प्राधिकरणले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो। केही वर्ष अगाडि विद्युत् प्राधिरकणसँग १ करोड १५ लाखमा कम्पनिले खरिद गरेको थियो। प्राधिकरणको अध्ययनमा १० मेघावाट उत्पादन हुने देखिएको भएपनि विस्तृत अध्ययनमा ५ मेगावाट उत्पादन क्षमता बढेर १५ मेघावाट पुगेको छ।
यहाँवाट बार्षिक ८ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । प्रशारण लाइन नहुँदा ५ करोड युनिटमात्र विद्युत् उत्पादन हुने ढुंगानाले बताए। यसले गर्दा बार्षिक २० लाख घाटा हुने उनको भनाइ छ। यहाँ उत्पादन हुने विद्युत् थापाटारको सव–स्टेशवाट केन्द्रीय प्रशारणमा जोड्ने योजना छ ।
प्रकाशित: १ भाद्र २०७३ ०९:१५ बुधबार