७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

आनी पेमा

बिना थिङ

ऊ प्रायः आउने गर्थ्यो । आउँदा ऊसँग सेतो खादा र बिस्कुटका प्याकेटहरू हुन्थे। खादा रिम्पोछेको चरणमा चढाउँथ्यो र बिस्कुट ससाना आनीहरूलाई बाँडिदिन्थ्यो। यो उसको तालिका नै बनेको थियो। गुम्बामा आएपछि पहिले त ऊ गुरु दर्शन गर्थ्यो, त्यसपछि आनीहरूसँग कुरा गर्थ्यो अनि गुम्बाको उत्तरी सीमामा रहेको चेप्टो ढुंगामाथि कुनै पुस्तकमा निकैबेर हराउँथ्यो। कस्तो पुस्तक पढ्थ्यो त्यो यकिन गर्न सकिएन। उसका हातमा सधैँ किताब भने हुन्थे।

उसको एकजोर मंगोलियन आँखा बडो भावुक देखिन्थ्यो, दुःख जमेजस्तो। त्यस्तोमा ऊ निकै सौम्य र सुलभ लाग्थ्यो मलाई। अगाडिको कपाल हल्का लामो, पछाडिको अलि छोटो। प्रायः जिन्स पाइन्ट र टिसर्टमा हुन्थ्यो। रंगको हिसाबले गहुँगोरो भन्न सकिन्थ्यो।

ऊ कहिलेदेखि गुम्बा धाउन थाल्यो ठ्याक्कै भन्न त सकिन्न। अनुमानित एक वर्ष हुन लाग्यो कि!

प्रायः बिदाका दिनमा हुने उसको उपस्थितिको आकलन गर्ने हो भने ऊ पक्का पनि जागिरे हुनुपर्छ।

आगमन

तपाईंको नाउँ पहिलेदेखि नै पेमा हो?

उसले जिज्ञासु भावमा मलाई पहिलो पटक सोधेको थियो, जतिखेर मैले उसलाई गुम्बा प्रवेश गर्दैगर्दा तल ओरालोमा भेटेकी थिएँ। र, मैले आफ्नो नाम पेमा आनी बताएकी थिएँ। 

हैन। स्कुलमा मेरो नाम म्हेन्दो तामाङ थियो।

मैले मुस्कुराएर उसको जिज्ञासा शान्त पार्न खोजेँ।

म्हेन्दो? यो कस्तो नाउँ हो?

उफ्! कत्ति जिज्ञासु मान्छे!

म्हेन्दो अर्थात् फूल।

पेमा पनि त फूल नै हो नि हैन र? कि म गलत भएँ आनी पेमा?

ऊ ढुक्कसँग मसँग संवाद गर्दैथियो। मलाई भने अलि हतार थियो।

हो, कमलको फूल हो र यो बौद्ध धर्मावलम्बीको पवित्र शब्द। गुरु पद्मसम्भवको उत्पत्ति नै कमलको फूलमा भएको हो। मलाई पनि रिम्पोछेले प्रवजित गर्ने समयमा यही नाउँ दिनुभयो। वास्तवमा जब हामी गुम्बामा आनीको रूपमा प्रवजित हुन्छौँ, हाम्रा लागि दोस्रो जन्मसरह हुन्छ र नामकरणसमेत पुनः गरिन्छ ।

मैले कुरा टुंग्याउने मनसायले एकदम छिटोमा यति भनिसकेँ र गुम्बातिर पाइला लम्काएँ। उसलाई पनि सँगै आउन इशारा गरेँ। ऊ कुनै आज्ञाकारी बालकझैँ मेरो पाइला पछ्याउँदै आयो। मैले उसलाई भव्य गुम्बाको मध्यभागमा प्रवेश गराएँ। दशमीको दिन परेकोले विशेषपूजा आयोजना गरिएको थियो।

ग्ाुम्बाको मध्यभागमा रहेको त्यस कोठाको उत्तरी पाटोमा भगवान् बुद्ध, च्यानरेसीको विशाल मूर्ति रहेको थियो भने दाहिने छेउमा हरित तारा र देब्रेपट्टि श्वेत ताराको प्रतिमा थियो। ती मूर्तिहरूसामुन्ने मुख्य आसनमा गुरु रिम्पोछे हुनुहुन्थ्यो। गुम्बाको पूर्वी र पश्चिमी भागमा आनीहरू आसिन थिए। प्रत्येक आनीको अगाडि  च्योक्चु(टेबुल) र त्यसमाथि छ्योइ (धार्मिक पुस्तक) राखिएको थियो।  आनीहरूका बीचमा छ्योइठिम्बा(इन्चार्ज) आनी डोल्मालाई देखेँ। उहाँले हल्का गुनासोसहित आँखा मतिर हुत्याउनुभो। म पूजामा सहभागी हुन अबेर भएको गुनासोलाई शीर नुहाएर स्वीकारेँ र हत्तपत्त आसन सम्हालेँ। फटाफट छ्योइ पल्टाएँ। सँगै उसलाई गुम्बाको मूल ढोकाको दायाँ भागमा रहेको चकटीमा बस्न आँखाले इशारा गरेँ।

आनी डोल्माले मन्त्रोच्चारणको नेतृत्व सम्हाल्नुभयो। हामीले साथ दियौँ। कोठामा मधुर ध्वनि प्रवाहित भयो।

सांगे छोइधाङ छोगकी छोगनाम ला

ज्याङ्छुब बरदु दागनी क्याबसु छी.......

धूपले कोठा पूरै सुगन्धित भयो। सबै मन्त्रोच्चारणमा मग्न देखिए। लगभग डेढ घन्टाको पूजापाठ सकिएलगत्तै हामी सबैले गुरु रिम्पोछेलाई छ्याक् (ढोग्नु) गर्यौं र बाहिरियौँ। हामी सीधै चमेनागृहतर्फ लम्कियौँ। मैले उसका लागि पनि पास्ता र नूनिलो चिया मगाएँ। ऊ मप्रति अनुग्रृहित भइदियो। त्यसपछिका दिनमा जतिपटक ऊ गुम्बा आउँथ्यो त्यति नै पटक मलाई भेट्थ्यो र केही भलाकुसारीपश्चात् मात्रै साविकमुताबिक चेप्टो ढुंगामाथि बसेर पुस्तक पल्टाउन थाल्थ्यो। भलाकुसारीमा ऊ प्राय गुम्बाको रहनसहन र तामाङ संस्कृतिबारे प्रसंग जोड्थ्यो। म यथाशक्य उसलाई सन्तुष्ट पार्न खोज्थेँ। नजानिँदो किसिमको उसमा लगाव थियो हाम्रो धार्मिक, सांस्कृतिक पृष्ठभूमिबारे बुझ्ने। उसको लगाव देखेर म आफै पनि कहिलेकाहीँ त अवाक हुन्थेँ।

संवाद

अभ्यस्त त्यो शरीर स्वतः गुम्बातिर मोडिनुमा खै त्यस्तो केले भूमिका खेलिरहेको थियो? त्यो उसले कहिल्यै बताएन। मात्रै यत्ति भन्थ्यो– अद्भूत, अद्वितीय आनन्दानुभूति हुन्छ यहाँ आएपछि।  हृदयको ताप एकाएक निभ्छ र आफैलाई अर्कै अलौकिक संसारमा अवतरित भएको महसुस गर्छु। मिल्दो हो त म क्लोनिङ गर्थें आफ्नो र प्रत्येक दिन यहाँ आउँथेँ।

एक पटक गुम्बाभन्दा तलको ठूलो फराकिलो चौरमा उभिएर उसले देखाएको थियो काठमाडौँ र भनेको थियो– आनी पेमा हेर्नुस् त त्यो काठमाडौँ जो आफै खाडलमा छ र पनि अहम्मा बाँचिरहेछ। त्यसको बीचमा त्यो धरहरा छ र त्यसको पश्चिमतिरको त्यो कंक्रिटको भीडमा म बस्ने एउटा कोठा छ। कोठामा खास त्यस्तो केही छैन, यद्यपि केही किताब छन्, जोसँग मेरो अघोर प्रेम छ। चाहनुहुन्छ भने म ती पुस्तक तपार्इंलाई उपहारमा दिन सक्छु। 

उसको आँखामा थुप्रैथुुप्रै उत्सुकता थिए त्यतिखेर मप्रति कि मेरो जवाफ कस्तो हुनेछ?

उपहार! कसरी अस्वीकार गर्न सक्छु? तर, हामीलाई त्यस्तो पुस्तक पढ्न अनुमति हुन्न। हामी अभ्यस्त पनि छैनाँै। त्यसमाथि हामी त धार्मिकरूपमा समर्पित मान्छे कसरी त्यो सांसारिक मायामोहवाला पुस्तक अध्ययन गर्न सक्छौँ?

मैले गुम्बाको अनुशासन र समस्या बताएँ।

पुस्तकले ज्ञानको दायरा फराकिलो बनाउँछ। मान्छेलाई अझ परिष्कृत गर्छ। कस्तो पुस्तक पढ्ने त्यो छनोटमा केही अलमल रहला, तर जब तपाईं सही पुस्तक छनोट गर्नुहुन्छ नि जिन्दग्ाीको एक चरण युद्ध जित्नुहुनेछ।

यसो भनिरहँदा ऊ हाँसिरहेको कुरा उसका चिम्सा आँखा अझ चिम्सा हुदाँ लुक्न सकेन।

वास्तवमा हामीले थुप्रै पटक भेटिइसक्यौँ, तर आजसम्म मैले तपाईंको नाम सोधेकी छैन। प्रत्येक भेटमा सोधुँला भन्छु, तर बिर्सन्छु। आज सम्भि्कएरै सोधेँ। कुनै अप्ठेरो त छैन नि?

म आफ्नो हुस्सुपनलाई उजागार गर्छु, थोरै सजिलोे र धेरै असजिलो मानेर।

म पद्म देवान। ठेगाना खै कता भनुँ? मान्नुस् म कुनै पंक्षी हुँ जो यताउता गरिरहन्छ। केही काम गर्छु त्यही खाल्डोमा र कहिलेकाहीँ निस्सासिएपछि भुर्र उड्छु यो उचाईंमा, जहाँ तपाईं हुनुहुन्छ। तपाईंका जस्ता दयालु मनहरू रहन्छन् र म केही समय आफूलाई स्वतन्त्र महसुस गर्छु। कहिलेकाहीँ केही लेख्छु, त्यसका  लागि एकान्त प्रिय लाग्छ। म त्यही स्वार्थले पनि यता आइपुगेको हुँ।

उनको कति कुरा बुझेँ, कति बुझिनँ पनि।  त्यसैले म फिस्स हाँसेँमात्रै।

आनी ज्योमो र नियास्रो

जेठको एउटा उखर्माउलो शनिबार। नियमितजस्तै पद्म आएको थियो।

भोजनपश्चात् म र ऊ गुम्बानजिकैको घाँसे मैदानमा वार्तारत थियौँ।

पुस्तकबारे तपाईंको धारणा पक्कै पनि बदलियो होला है आनी पेमा?

मेरो आफ्नो धारणा थिएन त्यो। त्यसो त अहिले पनि म अरुले नदेख्नेगरी नै पुस्तकहरू पढिरहेछु।

आनी पेमा एउटा कुरा भन्नुथियो। अन्यथा त लिनुहुन्न नि?

अँहँ।

तपाईं अत्यन्त सुन्दर हुनुहुन्छ। हृदयले पनि। यो सुनौलो टाउकोभित्रको तपाईंको चेतना पनि उत्तिकै सुन्दर लाग्छ। म बालकले झंँ प्रश्न, प्रतिप्रश्न गरिबस्छु र पनि तपाईं किञ्चित झर्को मान्नुहुन्न। वास्तवमा तपाईंमा म अरुणालाई भेट्छु। म उनलाई पनि यस्तै अनेक प्रश्न गरेर दिक्क लाउँथेँ।

अरुणा?

हो अरुणा मोक्तान। मेरी प्रेमिका। अहिले ऊ सान्निध्यमा छैन। मलाई नितान्त एक्लो पारेर जनयुद्धमा होमिइन् र सहि भइन्। उनका  यादहरूका लखेटाइले नै मलाई यस गुम्बासम्म ल्याएको हो। विक्षिप्त भएर मनका उद्वेग व्यवस्थित गर्न नसक्दा तपाईसँगका संवादले निकै राहत दिएको छ आनी पेमा। यसका लागि मैले हृदयगत आभार प्रकट गर्नैपर्छ।

उसले पर्सबाट अरुणाको सुन्दर तस्बिर झिकेर मलाई देखायो।

म अवाक थिएँ। त्यो सुन्दर मान्छेभित्र उर्लिएको भयानक कोलाहलले ऊप्रति मेरो सहानुभूति ह्वात्तै बढेर गयो।

आनी पेमा आनी डोल्माले तपाईंलाई डाक्नुभएको छ।

आनी ज्योमोको आवाजले हाम्रो संवादको क्रमभंग गरायो। पछाडि हेरेँ। सानी आनी ज्योमो बडो अदवका साथ शीर झुकाएर उभिएकी रहिछन्। ११ वर्षजतिकी होलिन्। यहाँ गुम्बामा आएकी ८ महिना पुग्न लाग्यो। घर मकवानपूर फापरबारी। बा उनी सानै हुदाँ बितेका। उनीसहित ४ जना केटाकेटी सम्हाल्न गाह्रो भएपछि आमाले बडो कष्टका साथ गाउँकै लामाको साथमा यहाँ आनी बन्न पठाएकी। गुम्बामा प्रवेश भएकै दिन उनलाई गुरु रिम्पोछेसामु प्रस्तुत गरिएको थियो। गुरुबाट केही मन्त्रोच्चारणसहित उनको प्रवजित कार्य सम्पन्न भएपछि आनी डोल्मा र मैले धारामा लगेर कपाल खौरिदिएका थियौँ। उनको मुडुलो टाउको देखेर हामी मुस्कुरायौँ र स्याम्दा(आनी वस्त्र ) बेरिदियौँ। केही दिन त वस्त्र बेर्नमै उनलाई समस्या भयो, तर अभ्यस्त भइन्।

एकपटक मैले उनलाई सोधेकी थिएँ– आनी ज्योमो के अझै घरको याद आइरहेछ? अझै स्कुल सम्भि्करहेछौ?

हो। आमाको याद आउँछ र स्कुलका साथी प्ानि।

उनको आँखामा दह जम्यो। झण्डैझण्डै भत्किएलाजस्तो भयो त्यो। नियास्रो मेटिएकै थिएन। मैल्ो ग्वाम्लाङ्ङ अँगालो हालेँ। नसोध्नु थियो, थकथक लाग्यो।

यसरी यहाँका आनीहरू सबैका आआफ्नै कथाव्यथा छन्। पारिवारिक विचलन र आर्थिक स्थिति नाजुक भएका धेरै आनी यहाँ आएपछि केही समय झन् एक्लिएको महसुस गर्छन्ा्। अभ्यस्त हुन तिनलाई समय लाग्छ। सायद आनी ज्योमो अझै अभ्यस्त हुन सकेकी थिइन।

म आफै पनि त एउटा सिंगै कथा बोकेर उक्लिएकी हुँ गुम्बा ९ वर्षअघि आपाको हात समाएर त्यति नै वर्षको उमेरमा।

कमलको फूलमा रूपान्तरित

याङ्ला जामे(हाम्री छोरी) म्हेन्दो ।

आमा सुक्सुकाउनुभो।

आपाले सबेरै मेरा केही कपडा पोको पारिसक्नुभएको थियो। हामी हिँड्ने समयमा आमा पोखिनुभो गहभरि र आङरेले ढाकिएको आफ्नो छातीमा मलाई बेस्सरी कस्नुभो। वास्तवमै मलाई गुम्बामा आनी बन्न पठाउने आमालाई मन थिएन, तर आपासामु विद्रोही हुन चाहनुभएन।

थ ख्वागो। दरेम् याङ्ला म्हेन्दो आनी दोसेला मुला। साङ्गेला मोलम याङ्ला दरेम्। (नरोउ। अब हाम्री म्हेन्दो आनी बन्दैछे। भगवान्को आशिर्वाद पाउनेछिन् यिनले।)

आपाको आवाजमा आस्था थियो र त्यो आस्थासामु गल्नुभयो आमा।

आपा आफै लामा(बौद्ध धर्मावलाम्बीको पुरोहित ) हुनुहुन्थ्यो। उहाँको प्रसिद्धि थियो गाउँमा। सबैले मानेका मूल लामा। आपा मलाई गुम्बामा चढाएर पुण्य प्राप्तिको लागि अत्यन्त लालायित हुनुहुन्थ्यो। यसलाई एकदम पवित्र कार्य मानिन्छ  गाउँमा। त्यसैले पनि हतारिनुभएको थियो आपा। मैले भर्खरै ४ कक्षा उत्तीर्ण गरेकी थिएँ।

मलाई कहाँ लगिँदैछ? कति दिन बस्नुपर्ने हो? केके गर्नुपर्ने हो? त्यसबारे म अनभिज्ञ थिएँ। आपासँगै जाँदा आफूलाई सुरक्षित ठानेँ त्यसैले ढुक्कसँग आमालाई छोडेर हिडिदिएँ। मलाई के थाहा अब उप्रान्त म त्यस घरमा म्हेन्दो भएर कहिल्यै फर्किन्न भनेर।

आग्रह/पूर्वाग्रह

आनी डोल्माले आँखाले नै बस्न इसारा गर्नुभयो, तर यस पटक उहाँको आँखामा अघिपछिको जस्तो माधुर्य देखिनँ, गम्भीरता देखेँ।

आनी पेमा तपार्इंको नियमित कार्यमा कुनै दखल त परिरहेको छैन नि?

कस्तो अनौठो प्रश्न थियो यो?

छैन आनी डोल्मा।

मैले सम्भि्कएँ। सबेरै उठ्नु, नियमित पूजामा सहभागी हुनु, केहीबेर विश्राम लिनु, दिउँसो नयाँ आनीहरूसँग केहीबेर जंगलमा विचरण गर्नु र साँझमा पुनः पूजामा सहभागी हुनुबाहेक व्यक्तिगत सरसफाई नै त हो मेरो दिनचर्या। यसमा खास दख्खल भएको थिएन। फेरि यो प्रश्नको औचित्य?

 

आनी पेमा म केही समयदेखि तपाईंमा विचलन देखिरहेकी छु। तपाईंको सान्निध्य परपुरुषसँग रहेकोमा  रिम्पोछे दुःखी हुनुहुन्छ। यो अवश्य पनि राम्रो कुरा हैन।

ओह्!

म आश्चर्यचकित हुनुबाहेक अरु केही हुन सकिनँ।

आनी डोल्मा तपाईं पक्कै पनि पद्मको कुरा गर्दै हुनुहुन्छ। उनी एकदम असल मान्छे हुन्। हामी सामान्य कुराकानी गर्छौं। यसमा त्यस्तो आपत्ति हुनुनपर्ने हो!

हो, आनी पेमा। यसमा त्यस्तो आपत्ति नहुनुपर्ने, सामान्य जीवनयापन गर्नेका लागि यो केही हैन। तर, यो गुम्बा हो र हामी आनी हौँ। त्यसमाथि तपार्इंको उमेर र रूपलाई लिएर यहाँ विविध खालका टीकाटिप्पणी हुन थालेको छ। हामी आजीवन अविवाहित रही साङ्गेको शरणमा रहन्छौँ भनेर प्रवजित भएका छौँ। एकप्रकारले यो तपस्या नै हो। तपस्या भंग नहोस् भन्नाको हेतु हामीले त्यस्ता तमाम् सम्बन्धलाई त्याग्नुपर्छ जसले हामीलाई विचलित गराओस्। नारी संवेदना एकदम नाजुक हुन्छ। ससाना कुराले पनि भावुक हुने! के थाहा भोलि पद्म तपार्इंको कमजोरी बन्ने पो हो कि? तसर्थ यसतिर समयमै ध्यान जाओस्। यस गुम्बाको र तपाईंको भलो चाहन्छु। म आनीहरूको इन्चार्जको हैसियतले यति भनिरहेछु। चित्त नदुखाउनुस्।

आनी डोल्मा अलिक शान्त देखिनुभयो। मेराबारे उहाँको गह्रँुगो चिन्ता भर्खरै बिसाउनुभयो।

म अवाक थिएँ। मैले कहिल्यै ध्यान नदिएको कुरामा यति चर्चा चलिसकेको रहेछ। पद्म आउनु, पुुस्तकका केही गफ गर्नु, कहिलेकाहीँ अलि परसम्म प्रकृतिको अनुपम् छटा नियाल्न जानुमा त्यस्तो खास नराम्रो के नै भएको थियो र? तर पनि यतिको आपत्ति रहन्छ भने मैले अब नभेट्नु उचित।

हुन्छ आनी डोल्मा, अब म त्यस्तो गुनासो हुने कुनै कार्य गर्ने छैन। म सक्दो आफूलाई गुम्बाको नियमभित्र राख्ने प्रयास गर्नेछु।

मैले शीर झुकाएर आनी डोल्मालाई विश्वस्त पारेँ र बिदा मागेँ।

कोठामा पुग्दा म असिनपसिन थिएँ। साँझको नियमित पूजामा जान सकिनँ। आनी डोल्माको आग्रह, अन्यका पूर्वाग्रहले शरीर शिथिल भयो। रिम्पोछे, आनी डोल्मा, अन्य आनी, पद्म सबै घुम्न थाले मस्तिष्कमा। घुप्लुक्क घोप्टिएँ ओछ्याानमा।

प्रेमानुभूति

पद्म नियमितजस्तै यो शनिबार पनि गुम्बामा आएको रहेछ। तर, मैले भेटिनँ नियोजितरूपमै। आनी ज्योमोसँग सोधेको रहेछ मेरोबारे।

अन्य बिदाका दिनहरूमा पनि आएकै थियो पद्म र म ती दिनमा बिहानै बौद्ध जान्थेँ ताकि उसलाई भेट्न नपरोस्। म भागिरहेथेँ, तर कोसँग? आफैसँग? पद्मसँग? कि जिन्दगीसँग।

जति भाग्थेँ उति उसँग बिताएका पलका सम्झना मलाई लखेट्दै आइपुग्थ्यो। म झस्किएँ। म त गुम्बामा चलेको अफवाहलाई गलत साबित गर्न भागिरहेथेँ, तर किन पद्मको यादले लखेटिरह्यो? झुक्किएरै भए पनि बाटामा उसलाई भेटिए हुनेजस्तो किन लाग्छ?

सायद निरन्तर कुनै कुरासँग संसर्ग रहँदा त्यो आदत बन्दो रहेछ, नशाजस्तो केही। छटपटी हुने त्यसको अभावमा। त्यसपछिका दिनमा मेरो दैनिकी झनै अस्तव्यस्त भएर गयो।

कतै ममा भित्रभित्रै पुरुष आश्ाक्ति बढेर गएको त हैन? तर, सधैँ पद्मलाई भेट्दा त्यस्तो केही महसुस भएन, सामान्य लाग्थ्यो। अहिले किन असामान्य हुँदै गएको मेरो दैनिकी?

पद्मको उपस्थिति मेरा निम्ति अत्यन्त प्यारो थियो भन्ने महसुस हुन थाल्यो। के यसैलाई प्रेम भनिन्छ? मेरो आनी हृदयले यसरी नियमविपरीत कुनै पुरुषलाई प्रेम गर्न थालेछ?

रिम्पोछे र बुद्धवाणी

समय बग्दै गयो, रोकिएन। पद्म आउने क्रममात्र रोकियो। सायद कसैले पद्मलाई गुम्बा प्रवेशमा रोक लगाएको हुनुपर्छ, असुरक्षाका कारण देखाएर। ऊ अराजक पनि थिएन, त्यसैले चुपचाप आउन छोडिदियो। तर, आउन छोडेन उसका यादहरू। ती निर्वाध आइरहे।

ममा एकाग्रता थिएन। मन्त्र उच्चारणमा समस्या देखिन थालेको थियो, बेचैनी बढिरहेथ्यो। शरीरको तौल घट्दो थियो।

एकदिन

मनको गति यति बेगवान हुने गर्छ कि आँखा झिमिक्क गरुञ्जेलको समयभित्र यसले सम्वूर्ण विश्वको चक्कर लगाइसक्छ। यसलाई नियन्त्रण गर्ने भनेकै साधनाले हो। रोलक्रमअनुसार केही समयपछि तपार्इं छाम(तीन वर्ष, तीन महिना, तीन दिन, तीन घन्टा, तीन मिनेट, तीन सेकेन्ड ध्यानमा रहनु)मा बस्नुहुनेछ।  मलाई पक्का विश्वास छ तपाईं त्यतिखेर आफ्नो मनलाई राम्रैसँग नियन्त्रणमा राख्न सक्नुहुनेछ।

रिम्पोछेको मधुरवाणी गुञ्जियो कोठामा।

त्यस क्षण रिम्पोछेले बोलाएपछि म उहाँको कोठामा थिएँ। उहाँले मलाई जानेबित्तिकै आफ्नोसामु बस्न इसारा गर्नुभो र हल्का मुस्कुराएर बुद्धवाणी सुनाउन थाल्नुभयो।

मैले स्वीकृतिमा शीर निहुराएँ।

आनी पेमा तपाई यस गुम्बामा रहनुभएको १० वर्ष पुग्दैछ। यस हिसाबले तपाईं परिपक्व हुनुहुन्छ। उमेरका कारण तपाईंमा केही चञ्चलता देखियो, तर यो त्यस्तो भयंकर गल्ती हैन। त्यसैले आज केही भन्छु।

आज्ञा होस् रिम्पोछे। यो आनी सुन्न लालायित छे।

तृष्णा तीन प्रकारका हुन्छन्। कामतृष्णा, भवतृष्णा र विभवतृष्णा। सांसारिक मोहमा भुल्नु कामतृष्णा हो। फेरिफेरि जन्म लिने इच्छा भवतृष्णा र जस्तोसुकै नैतिक–अनैतिक कार्य गर्न पनि तत्पर हुनु विभवतृष्णा हो। मेरो विचारमा तपाईंमा कामतृष्णा छ। यसो हुदाँ तपाईं सांसारिक मायामोहमा पर्नुभयो। यो तपाईं हाम्रो लागि उत्तम हुन्न। यी राग, अनुरागलाई हामीले साधनाबाट अधिनस्थ राख्न सक्नुपर्छ। त्यसैले तपाईंको अवस्थालाई दृष्टिगत गरेर आउँदो एकादशीबाट तपाईंलाई छाममा प्रवेश गराइनेछ। तयार रहनुहोला।

पुनः शीर झुकाएर मैले रिम्पोछेमा आदरभाव प्रकट गरेँ र आफ्नो कोठामा गएँ।

निर्वाण

एकादशी आउन दुई दिनमात्र बाँकी थियो। रिम्पोछेका अनुसार म दुई दिनपश्चात् छाममा हुनेछु र भूमिगत जीवन बिताउनेछु लामो समय। यसका लागि आनीहरू वर्षौं प्रतीक्षारत हुन्छन्। यो अहोभाग्य हो। जोकोहीले यो अवसर पाउँदैनन्। तर, म जति खुसी हुनुपर्ने हो त्यति भइरहेकी थिइनँ। कारण म आफै पनि जान्दैनथेँ। साँझको पूजामा जसोतसो सहभागी भएँ र भोजन नगरिकनै सीधै कोठामा फर्किएँ ।

आपा भोलि साँझ आइपुग्नुहुन्छ। छाममा बस्नुअघि आफन्तलाई डाकिन्छ। आपासँग आमाको सम्झना पनि बयली खेल्दै आइपुग्नेछ। त्यो रमाइलो क्षण हुनेछ। जेठा दाइ र कान्छा भाइ पनि लामा नै हुन्। आपाको आफ्नै प्रतिष्ठा छ गाउँमा। झन् म पनि छाममा बसेर निस्किएपछि उहाँको प्रतिष्ठा गाउँमा अझ बढेर जानेछ। मूल लामाको माइली छोरी म आनी पेमा अब केही समयपछि परिपक्व आनी भएर निस्कँदैछु। यो मेरो घरको, गुम्बाको लागि महत्वपूर्ण हुनेछ।

....................................................

हिउँको देश। घामको पहिलो किरणसँगै अचानक हिउँ पग्लियो। बन्यो सुन्दर पोखरी र देखियो पोखरीमा सुन्दर कमलको फूल। हेर्दाहेर्दै पत्रदलबाट सुन्दर बालक उत्पत्ति भयो। तीन दिनमा बालक बयस्क युवकमा रूपान्तरण भयो। उसको हातमा बुद्धप्रतिमा थियो। त्यसैबखत हिमालपारिको देशबाट सेतो रेशमी वस्त्रमा सुन्दर श्वेत युवती श्वेत घोडामा उड्दै बयस्क युवकसामु अवतरित भइन्। उनको हातमा पनि युवकको हातमा भएजस्तै  बुद्धप्रतिमा थियो। ठीक त्यसै समय हिमालवारिको देशबाट हरियो रेशमी वस्त्रमा हरियै घोडामा सुन्दर हरितयुवती उड्दै आइन् र युवकसामु आएर अवतरित भइन्। उनको हातमा पनि बुद्धकै प्रतिमा देखियो। ती तीनै जनाले बुद्धको प्रतिमालाई हिउँमा प्रतिस्थापन गरे र मुस्कुराए। तत्क्षण तीनै बुद्धको प्रतिमाबाट संयुक्त आभा प्रस्फुटन भयो र छरियो। हिउँको रंग सुनौलो देखियो। युवकको दुवै आँखाको चमक बढेर गयो र आँखाका बीच ती श्वेत र हरितयुवती दुवै प्रवेश भई विलिन भए। त्यसपछि युवकको शरीरमा सेता प्वाँखहरू पलाए र बिस्तारै युवक पनि उड्दै सिंघम (देवलोकभन्दा माथिल्लो लोक) मा पुग्यो।

.........................

म ब्युँझिएँ। कस्तो सपना देखेँ? सपनमा देखिएको युवक को थियो? ती दुई युवती? मैले आँखा चिम्लेर सम्भि्कने कोसिस गरेँ। ओहो! यो के अचम्म! सपनाको युवक त पद्म थियो र हिमालपारिको देशबाट आउने श्वेत युवती अरुणा थिइन् र हिमालवारिबाट उड्दै जाने हरितयुवती स्वयं म नै थिएँ।

त्यसै बिहान झिसमिसेमै म आफ्नो कपडाको सानो पोको बोकेर नागबेली बाटो हुँदै काठमाडौँ झरेँ गुम्बालाई सदाका निम्ति त्यागेर!

प्रकाशित: १५ श्रावण २०७३ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App