२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
विचार

नाटोको अन्त्य अपरिहार्य

युरोपेली सुरक्षा संघ (युरोपेली डिभेन्स युनियन)को अवधारणाले अहिले युरोपभर  गति लिएको छ । जबसम्म नाटोले युरोपको सुरक्षामा प्रभुत्व जमाइरहन्छ, त्यतिबेलासम्म आफ्नै प्रभावकारी सुरक्षा संघ निर्माण गर्ने सम्भावना टाढाको सपना नै रहनेछ । रक्षा मामिलामा सार्वभौम बन्न युरोपले नाटोको अन्त्य गर्नुपर्छ । यो जति आवश्यक छ, तत्कालका लागि त्यत्तिकै यसको  सम्भावना असम्भवजस्तो देखिन्छ।

हालै नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री तथा हाल नाटोका महासचिव मार्क रुटेले एउटा यस्तो सत्य उजागर गरेका छन्, जसले युरोपभरि हलचल मच्चाएको छ । उनले नाटोलाई यो संगठन युरोपको सुरक्षा कवच नभई ‘विश्व मञ्चमा अमेरिकाले शक्ति प्रदर्शन गर्ने प्लेटफर्म’का रूपमा चित्रण गरेका छन्। उनले युरोपमा अवस्थित ‘मुख्य रणनीतिक आधारको  प्रयोग’मार्फत मात्र अमेरिकन–इजरायली अभियानको सफलता निर्भर रहने  पनि बताएका छन्।

महासचिव रुट्टे सही छन् । अहिले युरोप स्वयंले नरोजेको र युरोपको शत्रु पनि नरहेको पक्षसँग सञ्चालन भइरहेको युद्धको अग्रमोर्चामा नाटो रहेको छ र यो संगठन अमेरिकाको विश्वव्यापी महत्त्वाकांक्षाको सेवामा उभिएको छ। त्यसो त, युरोपेली नेताहरूले सधैं नै उत्तर एटलान्टिक गठबन्धन (नाटो) मा आफ्नो असमान साझेदारी भएको तथ्य बुझेका थिए तर आफ्नै सुरक्षाको आश्वासनमा उनीहरूले यसलाई स्वीकार गरेका थिए।

अब समग्र अमेरिकी प्रतिबद्धता नै अनिश्चित बन्दै गएको सन्दर्भमा महासचिव रुट्टेले समेत  युरोपलाई अमेरिकी साम्राज्यसँग बाँधिराख्ने व्यवस्थाप्रति प्रश्न गर्न थालेका छन् । डोनाल्ड ट्रम्प पदबाट बाहिरिएपछि नाटो फेरि पुरानै अवस्थामा फर्किन्छ भन्ने विश्वास युरोपका कट्टर अटलान्टिक समर्थकहरूबिच पनि क्रमशः कमजोर बन्दै गएको छ।

अमेरिकाको इच्छाप्रतिको निरन्तर र स्थायी समर्पणले युरोपेली सुरक्षा रणनीति निर्माण गर्न सक्दैन। अर्कातर्फ, सबैभन्दा रुढिवादी युरोपेलीहरूले बुझेको कुरा के हो भने अमेरिकाबिनाको नाटो भनेको चालकबिनाको साइकलजस्तै हुनेछ । त्यसैले युरोपेली संघको सुदृढ सहकार्य अर्थात् ‘इनह्यान्स कोअपरेसन’  प्रक्रियाअन्तर्गत सम्भवतः स्थापना हुने र नर्वेदेखि बेलायतसम्म विस्तार हुने युरोपेली रक्षा संघको माग बढिरहेको छ।

समस्या यहीं छ । जबसम्म नाटो अस्तित्वमा रहन्छ, युरोपको कुनै व्यावहारिक वैकल्पिक रक्षा संरचना सम्भव छैन । सही अर्थमा काम गर्ने युरोपेली सुरक्षा संघका लागि चार गम्भीर प्रश्नहरूको स्पष्ट उत्तर चाहिन्छ । ती हुन्, युरोपका हतियारका लागि आदेश कसले दिने ? ती हतियार किन्न आवश्यक साझा ऋण कसले जारी गर्ने ? रक्षा उद्योगमा हुने खर्च सदस्य राष्ट्रहरूबिच कसरी बाँडिने ? अन्तिम तर अत्यन्त महत्त्वपूर्ण प्रश्न– युरोपेली सैनिकलाई मार्न र मर्न आदेश कसले दिने?

कुनै अन्तरसरकारी संयन्त्रबाट यी प्रश्नहरूको उचित उत्तर सम्भव छैन् र नाटोले पनि यसको समाधान दिन सक्दैन । युरोपले आफ्नो रक्षा संघ निर्माण गर्न राजनीतिक एकता अपरिहार्य छ– त्यही राजनीतिक एकता, जसलाई यसको मौद्रिक संघका योजनाकारहरूले विगतमा बेवास्ता गरेका थिए।

कतिपयले अहिले युरोपले सामना गरिरहेका अस्तित्वगत संकटहरू (विशेषतः रुसको युक्रेन आक्रमणपछि) को पृष्ठभूमिले युरोपेली राजनीतिक एकताका लागि नयाँ ऊर्जा दिन सक्ने दाबी गर्छन् । त्यो सही होस् वा गलत, एउटा कुरा स्पष्ट छ– प्रभावकारी सुरक्षा संघका लागि राजनीतिक एकता आवश्यक छ र नाटोको निरन्तर अस्तित्व त्यसको बाधक हो।

शीतयुद्ध पुस्ताका लागि युरोपको रक्षा अमेरिकी प्राथमिकताअन्तर्गत राख्नु उचित थियो । अमेरिकी र पश्चिम युरोपेली अभिजात वर्ग सोभियत संघप्रतिको वास्तविक डरले एकताबद्ध थिए । साथै,  सन् १९५० र १९६० को दशकमा यस्तो आर्थिक संरचना निर्माण भएको थियो, जसले युरोपलाई अमेरिकी अधिशेष पुनर्चक्रण गर्ने क्षेत्र बनायो । पछि अमेरिकी अधिशेष विशाल घाटामा परिणत भए पनि युरोपले आफ्ना डलर फेरि अमेरिकातर्फ नै फर्काइरह्यो । अमेरिकीले जर्मन कार र फ्रान्सेली विलासी सामग्री किने भने युरोपेलीले त्यही डलरमार्फत अमेरिकी ऋणपत्र, सेयर र घरजग्गामा लगानी गरे।

यसैबिच, बर्लिनको पर्खाल भत्कियो । सोभियत संघ इतिहासको विषयजस्तै बन्यो । बोरिस येल्तसिनसमेत पश्चिमी विश्व र विशेषगरी नाटोमै पनि सामेल हुन चाहन्थे । त्यतिबेला अमेरिकालाई रुससँग डर थिएन । अमेरिकालाई के डर थियो भने जर्मनी र रुसबिच अत्यधिक निकट सम्बन्ध स्थापना भएको अवश्थामा त्यसले युरोपमाथिको अमेरिकी प्रभुत्वलाई चुनौती दिन सक्थ्यो।

जर्मन उद्योगहरू रुसी ग्यासमा निर्भर थिए । तर अमेरिकी घाटामाथि जर्मन निर्यात आधारित थियो, यही कारणले जर्मनीलाई आफ्नो नीतिमा सहमत गराउन अमेरिकालाई शक्ति दियो । अमेरिकाले रुसलाई युरोपमा समाहित हुन नदिन दुईमुखे नीति अपनायो– पहिलो, रुसी समाजलाई गरिब बनाउने र नाटोलाई पूर्वतर्फ मात्र विस्तार गर्ने । भ्लादिमिर पुटिनजस्ता शक्तिशाली नेताको उदयका लागि यही परिस्थितिले  आधार तयार गर्‍यो।

नाटो पूर्वतर्फ फैलिँदै जाँदा बाल्टिक देशहरू, पोल्यान्ड र फिनल्यान्डका नयाँ शासक वर्गले अमेरिकाको सबैभन्दा बढी समर्थक बनेर युरोपेली संघभित्र आफ्नो प्रभाव अस्वाभाविक रूपमा बढाउन सकिने बुझे । यसले युरोपमा पहिले नै रहेको उत्तर–दक्षिण विभाजन (अधिशेष अर्थतन्त्र भएका जर्मनी तथा नेदरल्यान्ड्स र घाटाको अर्थतन्त्र भएका ग्रिस, स्पेन र इटाली) बिच विभाजन थप्यो।

अमेरिकाको उद्देश्य युरोपलाई विभाजन गरेर शासन गर्नु नभए पनि नाटोले युरोपको राजनीतिक एकतालाई असम्भव बनाउने मुख्य कारक शक्तिलाई अझ तीव्रता दियो । रुस मैत्रीपूर्ण भएकाले अथवा अमेरिका दुष्ट भएको कारणले होइन,  यही कारणले युरोप नाटोबाट बाहिरिनुपर्छ।

विश्व मञ्चमा अमेरिकाले शक्ति प्रदर्शन गर्न प्रयोग गर्ने यस्तो गठबन्धनले युरोपभित्रै यस्ता शक्तिहरूलाई निरन्तर बल दिन्छ, जसले युरोपेली एकीकरण र सार्वभौमिकतालाई कमजोर बनाइरहन्छ।

एकपटक मैले आयरल्यान्डकी उपन्यासकार इडना ओब्रायनले भनेको सुनेको थिएँ– ‘हृदयको विनाश ढिलो र गोप्य रूपमा हुन्छ तर त्यसलाई कर्तव्यका रूपमा प्रस्तुत गरिन्छ।’

कुनै पनि महादेशको विनाश पनि त्यस्तै हो । हरेक पटक कुनै युरोपेली नेता ह्वाइट हाउस पुगेर अमेरिकी शक्तिसामु नतमस्तक हुन्छ, क्षति झन् झन् गहिरो बन्दै जान्छ। त्यो  बिस्तारै, चुपचाप  र कर्तव्यको आवरणमा हुन्छ।

–यानिस ग्रिसमा पूर्वअर्थमन्त्री र एथेन्स विश्वविद्यालयका अर्थशास्त्र विषयका प्राध्यापक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २० जेष्ठ २०८३ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %