२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
विचार

विश्वव्यापी पानी संकट समाधानका उपाय

हामीमध्ये धेरैले भविष्यमा कुनै दिन पिउने, नुहाउने वा पकाउने पानी उपलब्ध होला–नहोला भनेर प्रश्न गर्नुपरेको छैन। विश्वका करिब १० मध्ये १ जनाले भने आफ्ना घर नजिकै सफा पानी नपाउँदा यही प्रश्नले उनीहरूकोे जीवन परिभाषित गर्ने गरेको छ।  

नयाँ अनुसन्धानले के देखाएको छ भने पानीको स्रोतका दृष्टिले यसअघि सुरक्षित रहेका समुदाय पनि अब बढ्दो जोखिममा छन्। विशेषगरी पृथ्वीको भूमिगत जलभण्डार (एक्विफर) पहिले सोचे भन्दा निकै छिट्टै सुक्दै गएका कारण समस्या झन् चर्किएको  छ।  उद्योग र कृषि क्षेत्रको चर्काे माग र अव्यवस्था, वर्षा तथा हिमपातबाट पर्याप्त पुनर्भरण नहुँदा हाल विश्वको तीन चौथाइ जनसंख्या त्यस्ता क्षेत्रमा बस्छन् जहाँ जमिनमुनिको पानी सुक्दै गएको छ। यो नयाँ वास्तविकताले पानीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न र समाधानलाई तीव्र बनाउन बाध्य बनाएको छ।

पानी संकट केवल पाइपलाइन र संरचनाको कुरा होइन, यो मानिसको जीवनसँग गाँसिएको विषय हो। यसले गाउँदेखि  सहरसम्म करोडौं मानिसको भविष्य निर्धारण गर्छ। गाउँमा सफा पानी नहुनुका कारण छोरीहरूलाई टाढा–टाढा हिँडेर पानी ल्याउनुपर्ने हुँदा पढाइको अवसर गुम्छ भने अस्वच्छ सरसफाइका कारण स्वास्थ्य सेवा असुरक्षित हुन्छ। पानीको अभावका कारण अल्प विकसित राष्ट्रमा हरेक दुई सेकेन्डमा बच्चा जन्मदा नधोइएको अर्थात् फोहोर हातको सहयोग रहने गरेको देखिएको छ। सहरमा बढ्दो जनसंख्याका कारण पुरानो पानी आपूर्ति प्रणालीलाई दबाब सिर्जना भएको छ र यसले रोग फैलाउन सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय संस्था  वाटरएडको एक अनुसन्धानका अनुसार विश्वव्यापी रोगभारको १० प्रतिशत कारण पानी र सरसफाइसम्बन्धी समस्या रहेको छ।

यो संकटको पृष्ठभूमिमा सफा पानी आपूर्ति सुनिश्चित गर्न विश्वभर विभिन्न प्रयास भएका छन् र तिनलाई विस्तार गर्न पनि सकिन्छ। अन्तर्राष्ट्रिय संस्था वाटरएडले पछिल्ला ४४ वर्षमा दुई करोड ९० लाख मानिसलाई सफा पानीमा पहुँच दिलाएको छ। वर्षाको पानी संकलन प्रणाली, रिभर्स अस्मोसिस इन्जिनियरिङ र फिल्ट्रेसन, स्थानीय संस्कृति अनुरूपका  सरसफाइ शिक्षालगायत स्थानीय–स्तरकै नेतृत्वमा भएका प्रयास र तिनको विस्तारले यो सफलता हासिल हुन सकेको हो। अबको आवश्यकता भनेको यो क्षेत्रमा थप र व्यापक लगानी हो, जसले सबै समुदायमा स्वच्छ पानीमा पहुँच सुनिश्चित हुन सक्छ।

यी समाधानलाई छिटो कार्यान्वयन गर्नु विश्व स्वास्थ्य सुधारको दिशामा सबैभन्दा राम्रो लगानी हो। हाम्रो अनुसन्धानले देखाएको कुरा के हो भने सफा पानी, सरसफाइ र सरसफाइ शिक्षा सबैलाई उपलब्ध गराउँदा लागतको २१ गुणा प्रतिफल आउँछ। विश्वका हरेक घरमा धारा मात्रै पुर्‍याउन सके यसले हरेक वर्ष ३७ अर्ब डलरको आर्थिक फाइदा हुन्छ। समुदायमा पानीको एउटा पम्प अथवा इनार जडान गर्दा महिला र बालिकाले अहिले पानी ल्याउन प्रतिवर्ष खर्चिएको करिब सात करोड ७० कार्य दिन (वर्किङ डे) बचत हुन्छ। यसो गर्न सके उनीहरूलाई रोजगारी र शिक्षाको नयाँ बाटो खुल्छ।

झट्ट हेर्दा यो असम्भव देखिए पनि समस्याको समाधान संभव छ। विश्वले यस प्रकारको चुनौतीको समाधान गरेको उदाहरण छन्। सन् १९८८ मा ठूला फाउन्डेसनदेखि सरकार र निजी दाताहरू एकबद्ध भई पोलियो उन्मूलन अभियान चलाए। यही अभियानका कारण हरेक वर्ष लाखौंको ज्यान लिने रोगलाई अहिले ९९.९ प्रतिशतले घटाइएको छ।

आज हामी पानी संकटको दृष्टिले त्यही सन् १९८८ को क्षणमा छौं।  आजै सही कदम चाल्न सकियो भने केही दशकपछि हामीले १० मध्ये एक जनालाई सफा पानी उपलब्ध गरायौं भनेर गर्वसाथ भन्न सक्नेछौं र यसले विश्व स्थायित्व र समृद्धिमा नयाँ उचाइ कायम गर्न पनि सघाउने छ।

यसै महिनादेखि वाटरएड नेतृत्वको ‘टिमवाटर’ विश्वव्यापी नयाँ अभियान सुरु भएको छ। यसले यो चुनौतीको समाधानलाई निर्णायक बनाउन खोजेको छ। यो अभियानमा ‘मिस्टरविस्ट’ र मार्क रबर लगायत युट्युबका कैयन चर्चित क्रिएटरहरू जोडिएका छन्। यी युवाहरूले निरन्तरस्वच्छा पानीको शीर्ष प्राथमिकता र यसको आपूर्ति आवश्यकताको आवाजलाई विश्वव्यापी पार्नेछन्।

यो अभियानको लक्ष्य अगस्ट ३१ सम्म चार करोड अमेरिकी डलर संकलन गरेर २० लाख मानिसलाई दशकौंसम्म सफा पानी उपलब्ध गराउनु रहेको छ। यसले थप २० लाख मानिस थप स्वस्थ पार्ने छ। खानेपानी समस्याबाट मुक्त रहे उनीहरूले आफ्ना समुदायको विकासमा थप योगदान पु¥याउने छन्। यो लेख लेख्दासम्म लक्ष्यको तीन चौथाइभन्दा बढी रकम जुटिसकेको छ।

हामीलाई थाहा छ, यो महत्वाकांक्षी लक्ष्य हो तर यसले  दीर्घकालीन परिवर्तन ल्याउने छ। यो अभियानलाई आगामी महिना र वर्षमा अझ कैयन गुणाले विस्तार गर्नुपर्नेछ। यो पुस्तागत चुनौतीलाई समाधान गर्न विश्वका ठूला परोपकारी दाता, सरकारहरू र विश्वका हरेक कुनामा रहेका सर्वसाधारणको समन्वित प्रतिबद्धता र कदम आवश्यक छ।

जसरी भूमिगत एक्विफरले हामी सबैलाई जोड्छन्, त्यसरी नै हाम्रो साझा समृद्धि सबैलाई सफा पानी सुनिश्चित गर्नुमा निर्भर छ। विश्वका भूमिगत जलस्रोतहरू चर्काे दबाबमा परेको वर्तमान सन्दर्भमा अझै पनि सफा पानी नपाएका १० मध्ये एक जनासम्म पुग्न हामीलाई तुरुन्तै उचित स्तरको लगानी आवश्यक छ। यसो गर्दा  रोग रोकथाम, आर्थिक अवसर सिर्जना, समुदाय सुदृढीकरण र जीवन बचतमा हुने लाभ तुलना गर्नै नसकिने हुन्छ। हामी यस कार्यमा सक्षम भयौं भने हाम्रो पुस्ता नै यो कथालाई सधैंका लागि बदल्ने पुस्ता बन्नेछ।

(साभारः न्युजविक)

लेखक केली पार्सन्स  वाटरएड अमेरिकाकी सिइओ हुन्।

प्रकाशित: १६ भाद्र २०८२ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %