२३ श्रावण २०८३ शनिबार
image/svg+xml
विचार

बेलायती राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेत

मे ७ मा भएको स्थानीय चुनावले बेलायती राजनीतिमा ठुलै हलचल ल्याएको छ। दशकौंदेखि पालैपालो शासन गर्दै आएका दुई ठुला दल, लेबर पार्टी र कन्जरभेटिभ पार्टी दुवैलाई मतदाताले नराम्रोसँग धक्का दिएका छन्। यसको सबैभन्दा ठुलो फाइदा भने रिफर्म युकेले उठाएको देखिन्छ, जसका नेता नाइजेल फराज अहिले बेलायती राजनीतिका शक्तिशाली व्यक्तिहरूमध्ये एक बनेका छन्।

इंग्ल्यान्डका १३६ स्थानीय परिषद्, साथै स्कटल्यान्ड र वेल्सका संसद्को चुनावलाई धेरै विश्लेषकले प्रधानमन्त्री केइर स्टाररको सरकारको ‘मध्यावधि जनमत’का रूपमा हेरेका छन्। चुनावको नतिजाले देखाएको मुख्य कुरा के हो भने परम्परागत दलहरूप्रति जनताको असन्तुष्टि बढ्दो छ।

तथ्यांक हेर्दा नतिजा साँच्चै नै ऐतिहासिक छ। सबै परिषद्को अन्तिम नतिजाअनुसार रिफर्म युकेले एक हजार चार सय ५३ सिट जित्यो, जुन अघिल्लो चुनावको तुलनामा करिब एक हजार चार सय ५१ सिटले बढी हो। लेबर पार्टी एक हजार ६८ सिटमा खुम्चियो र करिब एक हजार चार सय ९६ सिट गुमायो, जबकि कन्जरभेटिभले पनि पाँच सय ६३ सिट गुमाउँदै आठ सय एक सिटमा चित्त बुझाउनुपर्‍यो। ग्रिन पार्टी अफ इंग्ल्यान्ड एन्ड वेल्स र लिबरल डेमोक्य्राट्सले भने राम्रो प्रगति गरे। यसले बेलायती राजनीति अब दुई दलको मात्र प्रतिस्पर्धामा सीमित नरहेको देखाउँछ।

विशेष गरी उत्तरी इंग्ल्यान्ड र श्रमिक वर्गका क्षेत्रमा लेबरको पकड कमजोर भएको देखियो। हार्टलपुलजस्ता क्षेत्रमा रिफर्मले राम्रो सफलता पायो भने दशकौंदेखि लेबरको गढ मानिएका केही परिषद्हरूमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था सिर्जना भयो। बर्मिंगम सिटी काउन्सिलमा पनि लेबरले १४ वर्षपछि नियन्त्रण गुमायो, जहाँ रिफर्म, ग्रिन र स्वतन्त्र उम्मेदवारहरूको उदय निर्णायक बन्यो। वेल्सको संसद्मा स्थापनाकाल सन् १९९९ देखि पकड जमाएको लेबर पार्टीले यस पटक ९६ मा जम्मा नौ सिटमा नै चित्त बुझाउनपर्‍यो। स्कटल्यान्डको संसद्मा पनि अघिल्लो पटक २९ मध्ये २२ सिट जितेकोमा यस पटक १७ सिटमा झरेको छ।

यो चुनावको सबैभन्दा ठुलो राजनीतिक अर्थ भनेको मतदाताको सोचमा आएको परिवर्तन हो। रिफर्म युकेले आप्रवासन, महँगी, राष्ट्रिय पहिचान र ‘राजनीतिक प्रणालीप्रतिको असन्तुष्टि’लाई राम्रोसँग प्रयोग गरेको देखिन्छ। अर्कातिर ग्रिन पार्टीले युवा, सहरी र शिक्षित मतदाताहरूमा प्रभाव बढाएको छ। यसले परम्परागत लेबर–कन्जरभेटिभ ध्रुवीकरणलाई चुनौती दिएको छ।

त्यसैले अहिलेको प्रश्न ‘लेबर हार्‍यो ?’ भन्ने मात्र होइन, ‘के बेलायत अब पाँच दलको युगमा प्रवेश गरिसकेको हो ?’ भन्ने हो। यदि यही अवस्था रहिरह्यो भने आउने आमचुनावमा कुनै एक दलले स्पष्ट बहुमत ल्याउन गाह्रो हुन सक्छ। गठबन्धन, अल्पमतको सरकार वा धेरै दलहरूको प्रतिस्पर्धा बेलायतको नयाँ राजनीतिक अवस्था बन्न सक्छ।

चुनावपछि स्टाररमाथि दबाब बढेको छ। केही मन्त्रीहरूले उनीमाथि अविश्वास गर्दै राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले त प्रधानमन्त्री स्टार्मरको नेतृत्वमाथि नै गम्भीर प्रश्न उठाउँदै राजीनामा दिए। उनले भावी नेतृत्वमा एन्डी बर्नहमलाई अगाडि सार्न पर्ने र त्यसो हुन नसके आफैं तयार रहने विचार व्यक्त गरेका छन्। सांसद जोस साइमन्सले मेकरफिल्ड सिटबाट राजीनामा दिएर उपचुनावको बाटो खोलिदिएपछि मेयर एन्डी बर्नहम सदनमा फर्किएर नेतृत्व हत्याउने दाउमा लागेका छन्। नाइजेल फराजले उनलाई रोक्न ‘जे पनि गर्ने’ वाचा गरिसकेका छन्। यसैबिच पूर्व उपप्रधानमन्त्री एन्जेला रायनरले कर विवादमा सफाइ पाएकी छन्, जसले उनलाई भावी प्रधानमन्त्रीको बलियो दाबेदार बनाएको छ।

उपचुनाव अब धेरै टाढा छैन। नाइजेल फराजले एन्डी बर्नहमलाई रोक्न आफ्नो राजनीतिक शक्ति लगाउनुको कारण व्यक्तिगत रिसइबी वा चुनावको रणनीतिको मात्र कुरा होइन, यो बेलायती राजनीतिक संरचनाको शक्ति सन्तुलनसँग जोडिएको गम्भीर विषय हो। फराजका लागि बर्नहम सामान्य लेबर नेता मात्र होइनन्, उनी एक त्यस्ता दुर्लभ नेता हुन्, जसले दलगत सीमा नाघेर धेरै मतदातालाई आकर्षित गर्न सक्छन्। यही क्षमताले बर्नहमलाई फराजको राजनीतिक योजनाका लागि चुनौती बन्न सक्ने बनाएको छ।

अहिले बेलायतको राजनीतिक माहोल एकदमै विभाजित र अस्थिर छ। कन्जरभेटिभ पार्टी ब्रेक्जिटपछिको पहिचानको समस्याबाट अझै बाहिर आउन सकेको छैन भने लेबर पार्टी पनि नेतृत्व र नीति स्पष्ट नभएको कारण दबाबमा छ। यही मौकामा रिफर्म युकेले आफ्नो प्रभाव बढाउँदै गएको छ। फराजको राजनीतिक तरिका भनेको असन्तुष्ट मतदाताको भावनालाई समेट्ने र मुख्य दलहरूलाई कमजोर पार्ने हो। उनले यही रणनीति अपनाएर ब्रेक्जिटमा जितेका थिए। यस्तो अवस्थामा बर्नहमजस्तो बायाँ विचारधारा भएका तर सबैले स्वीकार गर्ने नेता उदाए भने फराजको योजनालाई नै गाह्रो पर्न सक्छ।

बर्नहमको राजनीतिक सन्तुलन मिलाउने क्षमता भएको कारणले नै उनको लोकप्रियता निकै माथि मानिन्छ। त्यसैले उनलाई ‘इलेक्टोरल गोल्ड डस्ट’का रूपमा चिनिन्छ। उनले लेबर पार्टीभित्र वामपन्थी विचारधारालाई पनि समेट्न सक्छन् र मध्यमार्गी तथा केही परम्परागत मतदातालाई पनि आकर्षित गर्न सक्छन्। त्यसैले उनी कुनै एक विचारधारामा मात्र सीमित नभएर सबैलाई समेट्न सक्ने नेता मानिन्छन्। दलगत ध्रुवीकरण बढिरहेको बेलाको बेलायतको राजनीतिमा यस्ता नेताहरू एकदमै कम पाइन्छन्।

‘स्ट्याक डेटा स्ट्याटेजी’जस्ता मतदान विश्लेषणले देखाएअनुसार बर्नहम प्रधानमन्त्री बनेको अवस्थामा रिफर्म युके र ग्रिन पार्टीका केही मतदाताहरू लेबरतर्फ फर्किन सक्ने सम्भावना रहन्छ। यो सामान्य मत परिवर्तन मात्र नभएर राजनीतिक पुनर्संरचनाको संकेत हो। यस्तो भयो भने फराजको शक्ति अर्थात् कन्जरभेटिभ र लेबरबिचको मत विभाजन कमजोर हुन सक्छ किनभने रिफर्म युकेको अहिलेको वृद्धि ठुलो मात्रामा निराश भएका मतदाताहरूमा निर्भर छ।

मेकरफिल्ड र आसपासका क्षेत्रहरू अहिले यो राजनीतिक परीक्षणको केन्द्र बनेका छन्। उत्तरी इंग्ल्यान्डको राजनीतिक भूगोल लामो समयदेखि लेबरको गढ मानिँदै आएको भए पनि हालैको स्थानीय चुनावको नतिजाले त्यो संरचना कमजोर हुँदै गएको देखाएको छ। विगन, हेउड र अन्य नजिकका क्षेत्रहरूमा रिफर्म युकेको राम्रो प्रदर्शनले देखाउँछ कि परम्परागत लेबरका आधारमा पनि राजनीतिक अस्थिरता देखिएको छ। यस्तो अवस्थामा मेकरफिल्ड एउटा सामान्य निर्वाचन क्षेत्र मात्र नभएर राष्ट्रिय राजनीतिको सूचक बनेको छ।

फराजले यो परिस्थितिलाई एकदमै रणनीतिक ढंगले प्रयोग गरिरहेका छन्। उनले बारम्बार सार्वजनिक रूपमा ‘हामी यो चुनावमा सम्पूर्ण शक्ति लगाउनेछौं’ भन्दै आएका छन्। यसले यो उपनिर्वाचनलाई एउटा सामान्य स्थानीय प्रतिस्पर्धा नभई राष्ट्रिय राजनीतिक शक्ति प्रदर्शन गर्ने मैदानजस्तै बनाइदिएको छ। उनका लागि बर्नहमलाई हराउनु भनेको केवल एउटा सिट जित्नु मात्र होइन, लेबर पार्टीको वैकल्पिक नेतृत्वको सम्भावित संरचनालाई सुरुमै कमजोर पार्ने अवसर पनि हो।

बर्नहमको राजनीतिक हैसियत उनको लोकप्रियतामा मात्र सीमित छैन, किनकि उनीसँग संगठनात्मक क्षमता र क्षेत्रीय सम्बन्ध पनि छ। उत्तरी इंग्ल्यान्डमा लामो समयदेखि राजनीतिमा सक्रिय रहेकाले स्थानीय स्तरमा उनको बलियो पकड छ। त्यसैले उनलाई ‘किङ अफ द नर्थ’ भन्ने उपनाम दिइएको हो। यो केवल देखावटी नाम मात्र नभएर क्षेत्रीय राजनीतिक प्रभावको संकेत पनि हो, जसले उनलाई अरू लेबर नेताहरूभन्दा फरक देखाउँछ।

बर्नहम मेकरफिल्डबाट संसद्मा प्रवेश गरे भने उनको प्रभाव एकजना सांसदका रूपमा मात्र सीमित हुनेछैन। उनी तुरुन्तै नेतृत्वको प्रतिस्पर्धाको केन्द्रमा आउनेछन्। लेबर पार्टीभित्रको नेतृत्व परिवर्तनको इतिहास हेर्दा संसदीय समर्थन र जनस्तरमा लोकप्रियता कमाएका नेताहरू छिटै नै शीर्ष स्थानमा पुगेका छन्। यही कारणले गर्दा बर्नहमको प्रवेशले लेबर पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई सही दिशामा ल्याउन सक्छ र लामो समयदेखि निराश भएका पार्टीका सदस्यहरू थप हौसलासाथ अर्को चुनावमा होमिनेछन्।

यही सम्भावनाले फराजलाई पिरोलेको हो किनभने बर्नहम लेबर पार्टीको नेतृत्वका लागि चुनौती दिने व्यक्ति मात्र होइनन्, उनी सम्पूर्ण विपक्षी राजनीतिक वृत्तलाई नै नयाँ रूप दिन सक्ने क्षमता राख्छन्। लेबर पार्टी फेरि एकताबद्ध भएर लोकप्रिय नेतृत्वतर्फ अघि बढयो भने रिफर्म युकेको प्रभाव कमजोर हुन सक्छ। फराजको सम्पूर्ण राजनीतिक योजना भनेको नै यही ‘एन्टी स्ट्याब्लिसमेन्ट वेभ’लाई कायम राख्नु हो, जसलाई बर्नहमजस्ता नेताले कमजोर पार्न सक्छन्।

डेली एक्सप्रेस र स्पेक्टेटरजस्ता पत्रिकाले यस प्रतिस्पर्धालाई अझ रणनीतिक कोणबाट हेरेका छन्। उनीहरूको विचारमा मेकरफिल्ड एउटा निर्वाचन क्षेत्र मात्र नभएर बेलायती राजनीतिको भविष्यका लागि एउटा ‘माइक्रो ब्याटल फिल्ड’ हो। यहाँ आउने नतिजाले एउटा सांसदको भविष्य मात्र नभएर पार्टीको पुनर्संरचना, नेतृत्वको प्रतिस्पर्धा र मतदाताको मानसिकतालाई समेत प्रभाव पार्न सक्छ।

फराजका लागि सबैभन्दा ठुलो चुनौती भनेको बर्नहमको जित हो। बर्नहम पराजित भए भने राष्ट्रिय स्तरको नेतृत्वका लागि उनको दाबी कमजोर हुन सक्छ। उनी विजयी भए भने लेबर पार्टीभित्र मात्र नभएर राष्ट्रिय राजनीतिक संरचनामा नै उनी एक शक्तिशाली वैकल्पिक नेताको रूपमा उदाउन सक्छन्। यी दुवै सम्भावनाले फराजलाई रणनीतिक रूपमा सचेत बनाएको छ।

फराज र बर्नहमबिचको यो अप्रत्यक्ष प्रतिस्पर्धा व्यक्तिको लडाइँ मात्र होइन, विचारधारा, रणनीति र मतदाताको मनोविज्ञानबिचको संघर्ष पनि हो। एकातिर विरोधी दलहरूको विभाजनलाई आफ्नो शक्ति बनाउने फराजको रणनीति छ भने अर्कातिर विभाजित राजनीतिक आधारलाई फेरि एकताबद्ध गर्ने बर्नहमको क्षमता छ।  

प्रकाशित: २८ जेष्ठ २०८३ ०८:३१ बिहीबार