४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
विचार

प्रधानमन्त्रीको भारत भ्रमण : यात्राको साइत कति अनुकूल?

प्रधानमन्त्रीको भारत भ्रमण : यात्राको साइत कति अनुकूल?

वास्तु एवं ज्योतिष अध्येता शिव पोखरेल

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मङ्सिर ६ गतेका लागि प्रस्तावित भारत भ्रमणको मुहूर्तबारे अघिल्लो लेखमा तिथि, नक्षत्र, चन्द्रबल तथा यात्रादिशाको विवेचना गरिएको थियो। प्रारम्भिक उडानतालिकामा दिउँसो १:२५ बजे उल्लेख भए पनि मङ्सिर ४ गते परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार प्रस्थानसमय १:४५ बजे निर्धारण भएको छ। यसबाट यात्रालग्न, ग्रहहोरा र दोषपरिहारको थप अध्ययन आवश्यक भएको छ।

मुहूर्तशास्त्रमा शुभ दिन छनोट अपेक्षाकृत सहज भए पनि त्यही दिनभित्र यथासम्भव दोषरहित क्षण निर्धारण कठिन हुन्छ। एउटा दोष छल्दा अर्को उपस्थित हुन सक्छ। तिथि, नक्षत्र, योग, लग्न, नवांश र ग्रहहोराको बलाबल विचार गरी उत्तम समय छनोट गर्नु नै सूक्ष्म मुहूर्तविचारको चुनौती हो।

तीन यात्रामा प्रशस्त नक्षत्र

प्रधानमन्त्रीको मुक्तिनाथ यात्रारम्भ अनुराधा, अमेरिका प्रस्थान श्रवण तथा प्रस्तावित भारत भ्रमण अश्विनी नक्षत्रमा परेको देखिन्छ। यहाँ दर्शन वा गन्तव्यमा पुगेको समय नभई निवासबाट यात्रारम्भ गरेको समय विचारणीय हुन्छ।

रामदैवज्ञकृत मुहूर्तचिन्तामणि ११।९ मा अश्विनी, पुनर्वसु, अनुराधा, मृगशिरा, पुष्य, रेवती, हस्त, श्रवण र धनिष्ठालाई यात्राप्रशस्त मानिएको छ। ११।११ मा श्रवणलगायत चार नक्षत्र सर्वकालप्रशस्त तथा ११।३८ मा अनुराधा, हस्त, पुष्य र अश्विनी सर्वदिग्द्वार मानिएका छन्।

तीन यात्रामा प्रशस्त नक्षत्रको पुनरावृत्ति रोचक छ। तथापि मुक्तिनाथ यात्रामा रिक्ता नवमी र वैधृति तथा अमेरिका यात्रामा विष्टि करणसमेत विचारणीय थिए। प्रधानमन्त्रीले ज्योतिषीय परामर्शकै आधारमा नक्षत्र रोज्नुभएको सार्वजनिक प्रमाण नभएकाले यसलाई अनुसन्धानयोग्य संयोग मान्नु उचित हुन्छ।

आइतबारको अनुकूलता र व्यतीपात

प्रस्तावित भ्रमणमितिको आसपास पनि रोचक संयोग देखिन्छ। मङ्सिर ५ गते रेवती प्रशस्त भए पनि द्वादशी, शनिबार र पञ्चक विचारणीय छन्। मङ्सिर ७ गते चतुर्दशी–भरणी तथा ८ गते पूर्णिमा–कृत्तिका पर्छन्। तुलनात्मक रूपमा मङ्सिर ६ गतेको शुक्ल त्रयोदशी, सर्वदिग्द्वार अश्विनी तथा आइतबार–अश्विनीको सर्वार्थसिद्धियोग विशेष अनुकूल देखिन्छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परम्परागत शुभमुहूर्तलाई महत्त्व दिने गरेको पृष्ठभूमिमा भ्रमणमिति निर्धारण गर्दा पञ्चाङ्गीय अनुकूलतासमेत विचार गरिएको हुन सक्छ। यद्यपि यसको प्रत्यक्ष प्रमाण उपलब्ध छैन।

तर त्यस दिन व्यतीपात योग राति करिब ११:४५ बजेसम्म रहन्छ। मुहूर्तशास्त्रमा यो प्रमुख त्याज्य योग हो। ‘विष्टिरङ्गारकश्चैव व्यतीपातश्च वैधृतिः’ इत्यादि श्लोकद्वारा व्यतीपातलगायत केही दोषमा मध्याह्नपछिको विशेष शुभत्व स्वीकार गरिएको पाइन्छ। तथापि यो सर्वकालीन दोषपरिहार होइन; वास्तविक प्रस्थानसमय, चन्द्रबल, नक्षत्र, यात्रालग्न तथा अन्य शुभाशुभ अवस्थाको समग्र परीक्षण आवश्यक हुन्छ।

चन्द्रबल र शुभदृष्टिको महत्त्व

प्रस्तावित दिन चन्द्रमा मेष राशिमा रहनेछ। प्रधानमन्त्रीको प्रचलित वृष जन्मराशिबाट द्वादश चन्द्र पर्छ, जुन यात्राका लागि सामान्यतः प्रशस्त मानिँदैन। तथापि पूर्णिमासमीपको पक्षबली चन्द्रमामा सिंहस्थित बृहस्पतिको नवम तथा तुलास्थित बुधको सप्तम दृष्टि पर्नु सकारात्मक पक्ष हो।

चन्द्रमाको शुभाशुभत्व निर्धारणमा ग्रहदृष्टिको विशेष महत्त्व हुन्छ। मुहूर्तचिन्तामणि ४।७ मा रामदैवज्ञ भन्छन्:

पापान्तः पापयुग्द्यूने पापाच्चन्द्रः शुभोऽप्यसत्।

शुभांशे वाऽधिमित्रांशे गुरुदृष्टोऽशुभोऽपि सन्॥

यसअनुसार पापपीडित चन्द्रमा शुभ अवस्थामा पनि अशुभ हुन सक्छ भने शुभनवांश वा अधिमित्रनवांशमा बृहस्पतिको दृष्टि प्राप्त चन्द्रमा अशुभ अवस्थामा पनि अनुकूल बन्न सक्छ।

प्रारम्भिक गणनाअनुसार बिहान चन्द्रमा मेष नवांशमा रही करिब ११:४९ बजे वृष नवांशमा प्रवेश गर्छ। त्यसैले द्वादश चन्द्रको प्रतिकूलतासँगै शुभदृष्टि, नवांशबल र अन्य ग्रहपीडाको समग्र परीक्षण आवश्यक हुन्छ। यसबाट सबै दोष पूर्णतः समाप्त भएको निष्कर्ष निकाल्न मिल्दैन।

दिशाशूल र परिहार

काठमाडौँबाट नयाँदिल्लीको पश्चिमतर्फको यात्रामा पृष्ठस्थ चन्द्रमा र आइतबारको पश्चिम दिशाशूल विचारणीय छन्। तर अश्विनी सर्वदिग्द्वार नक्षत्र भएकाले दिशागत निषेधका सम्बन्धमा विशेष शास्त्रीय अपवाद प्राप्त हुन्छ।

मुहूर्तचिन्तामणिको यात्राप्रकरणको टीकामा आइतबार घिउ, सोमबार दूध र मङ्गलबार सखरलगायत पदार्थ सेवनद्वारा वारशूल परिहार गर्ने परम्परागत विधान उद्धृत गरिएको छ। केही पदार्थको दान वा धारण गर्ने विधानसमेत उल्लेख छ। यस्ता परिहार धार्मिक मान्यताका विषय हुन्।

कुम्भलग्न : दिग्द्वारको अनुकूलता र विशेष निषेध

संशोधित कार्यक्रमअनुसार विमान १:४५ बजे प्रस्थान गर्नेछ। काठमाडौँको चित्रापक्षीय निरयण गणनामा पहिलेको समय कुम्भलग्नमा तथा संशोधित उडानसमय मीनलग्नको प्रारम्भिक भागमा पर्ने देखिन्छ। तर निवासबाट वास्तविक यात्रारम्भको समय सार्वजनिक नभएकाले त्यस क्षणको लग्न निश्चित छैन।

कुम्भ स्थिर लग्न हो। यसमा राहु, तृतीय भावमा चन्द्रमा तथा सप्तम भावमा मङ्गल, बृहस्पति र केतु रहन्छन्। बृहस्पतिको पूर्ण दृष्टि लग्नमा पर्नु सकारात्मक भए पनि अन्य ग्रहप्रभाव उपेक्षा गर्न मिल्दैन।

मुहूर्तचिन्तामणि ११।४३ मा भनिएको छ:

कुम्भकुम्भांशकौ त्याज्यौ सर्वथा यत्नतो बुधैः।

तत्र प्रयातुर्नृपतेरर्थनाशः पदे पदे॥

यसमा राजकीय यात्राका लागि कुम्भलग्न र कुम्भनवांश त्याज्य मानिएका छन्। बृहस्पतिको शुभदृष्टिले उक्त निषेध स्वतः समाप्त हुँदैन। श्लोकमा उल्लिखित अर्थहानिलाई निश्चित भविष्यवाणी मान्नु पनि उचित होइन।

तथापि पश्चिम यात्रामा कुम्भ दिग्द्वार लग्नसमेत मानिन्छ। यसबाट दिशागत अनुकूलता प्राप्त हुने भएकाले कुम्भलग्नलाई सर्वथा प्रतिकूल भन्न मिल्दैन। बृहस्पतिको शुभदृष्टि तथा राजकीय प्रयोजनमा सूर्यहोराको अनुकूलता पनि सकारात्मक पक्ष हुन्। तर दिग्द्वारको सामान्य प्रशस्तता र राजकीय यात्राको विशेष निषेध अलग-अलग विधान भएकाले दुवैको समग्र बलाबल विचार गर्नुपर्छ। कुम्भनवांशसमेत परेको अवस्थामा थप सावधानी आवश्यक हुन्छ।

पञ्चाङ्गशुद्धि र लग्नको व्यावहारिक पक्ष

प्रचलित पञ्चाङ्गहरूमा विवाहजस्ता संस्कारका लागि निश्चित लग्न तोकिएको पाइन्छ भने अन्नप्राशन, गृहारम्भ, गृहप्रवेशलगायत कतिपय शुभकार्यका लागि पञ्चाङ्गशुद्धि मात्र उल्लेख हुन्छ। उपयुक्त लग्नको अभाव वा अन्य कारणले पनि लग्न नतोकिएको हुन सक्छ। तथापि त्यस्ता दिनमा समेत पञ्चाङ्गका आधारमा शुभकार्य सम्पन्न गर्ने प्रचलन छ।

यसबाट लग्न महत्त्वपूर्ण भए पनि मुहूर्तको एकमात्र निर्णायक आधार नभएको व्यावहारिक सङ्केत मिल्छ। पञ्चाङ्गकारहरूको शास्त्रीय विचारलाई सम्मान गर्दै आवश्यक पर्दा ज्योतिषीले स्वतन्त्र परीक्षण गर्नुपर्छ।

सबै अङ्ग पूर्णतः अनुकूल भएको मुहूर्त प्राप्त गर्न कहिलेकाहीँ लामो प्रतीक्षा गर्नुपर्ने हुन्छ। राजकीय यात्रामा भने कूटनीतिक कार्यक्रम र व्यावहारिक आवश्यकता पनि महत्त्वपूर्ण हुन्छन्। त्यसैले कार्यविशेषका निषेध, अपवाद र दोषपरिहार विचार गरी उपलब्ध समयमध्ये उत्तम क्षण छनोट गर्नु अनुभवी ज्योतिषीको विवेक हो।

मकरलग्न : तुलनात्मक विकल्प

मध्याह्नअघि मकरलग्न रहने भएकाले यसको तुलना महत्त्वपूर्ण हुन्छ। मकर चर लग्न हो। यस लग्नबाट लग्नेश शनि तृतीय भावमा, भाग्येश बुध दशम भावमा तथा मङ्गल, बृहस्पति र केतु अष्टम भावमा पर्छन्।

तृतीय भावस्थित लग्नेश र दशम भावस्थित भाग्येश सकारात्मक भए पनि अष्टमस्थ ग्रहयुति तथा शनिमाथिको मङ्गलदृष्टि विचारणीय छन्। त्यसैले मकरलग्न निर्दोष नभए पनि यसको चरस्वभाव, नवांशस्थिति र शुभग्रहहोरासँगको संयोग परीक्षणयोग्य छ।

अभिजित्, बृहस्पतिहोरा र नवांश

परम्परागत वर्गीकरणमा सूर्य, मङ्गल र शनि पापहोरा तथा चन्द्र, बुध, बृहस्पति र शुक्र शुभहोरा मानिन्छन्। तथापि कार्यअनुसार होराको महत्त्व फरक हुन्छ। मङ्गलहोरा युद्ध तथा पराक्रमप्रधान कार्यमा, सूर्यहोरा राजकीय प्रयोजनमा र बृहस्पतिहोरा शुभकार्यमा प्रशस्त मानिन्छन्। बृहस्पति नैसर्गिक शुभग्रह हो। सिंहस्थित बृहस्पतिको कुम्भलग्नमा सप्तम तथा मेषस्थित चन्द्रमामा नवम दृष्टि सकारात्मक पक्ष हो।

प्रारम्भिक गणनाअनुसार मङ्सिर ६ गते बृहस्पतिहोरा बिहान करिब १०:५६ देखि ११:४९ र अभिजित् मुहूर्त ११:२८ देखि १२:१० सम्म पर्छ। यात्रामा विशेष विचार गरिने प्रचलित चौघडिया अर्थात् बारबेलाअनुसार बिहान १०:३० देखि ११:४९ बजेसम्म अमृतबेला पनि पर्छ। यसरी बिहान ११:३० देखि ११:४५ बजेसम्म मकरलग्न, बृहस्पतिहोरा, अभिजित् मुहूर्त र अमृतबेलाको संयुक्त अनुकूलता देखिन्छ।

यस अवधिमा मकरलग्नको नवांश वृषबाट मिथुन हुँदै कर्कटमा परिवर्तन हुन्छ। चन्द्रमा भने मेष नवांशमै रही बृहस्पतिको शुभदृष्टि प्राप्त गर्छ। करिब ११:४९ बजे चन्द्रमा वृष नवांशमा प्रवेश गर्दा बृहस्पतिहोराको समाप्ति र मङ्गलहोराको प्रारम्भ पनि नजिक पर्छ।

तर त्यस समयमा व्यतीपातको मध्याह्नपछिको परिहारसम्बन्धी मत लागू हुँदैन। मकरलग्नको अष्टमस्थ ग्रहदोषसमेत विचारणीय भएकाले यसलाई तुलनात्मक विकल्पका रूपमा मात्र लिनुपर्छ।

सूर्यहोरा र वास्तविक प्रस्थान

पहिले प्रस्तावित दिउँसो १:२५ बजेको उडान सूर्यहोरामा पर्थ्यो। संशोधित १:४५ बजेको उडान भने शुक्रहोरामा पर्छ। प्रारम्भिक गणनाअनुसार मङ्गलहोरा करिब ११:४९ देखि १२:४३, सूर्यहोरा त्यसपछि १:३६ बजेसम्म र तत्पश्चात् शुक्रहोरा रहन्छ।

सूर्यहोरा राजकीय प्रयोजनमा अनुकूल हुन सक्छ, तर यो नैसर्गिक शुभहोरा होइन। प्रधानमन्त्रीले दिउँसो १ बजेको आसपास निवासबाट यात्रारम्भ गर्नुभएको अवस्थामा सूर्यहोरा प्राप्त हुन सक्छ। तथापि करिब १:१० बजेसम्म यमघण्ट र काल चौघडिया रहने भएकाले सम्भव भए त्यसपछि यात्रारम्भ गर्दा यी त्याज्यकाल छल्दै सूर्यहोरा र शुभ चौघडियाको संयोग प्राप्त हुन्छ। कुम्भलग्नसम्बन्धी विशेष निषेध भने विचारणीय रहन्छ।

मङ्गलहोरामा प्रस्थान भएको अवस्थामा त्यसको छुट्टै शास्त्रीय विचार आवश्यक हुन्छ। युद्ध र पराक्रमप्रधान कार्यमा मङ्गलहोराको प्रयोजनगत महत्त्व भए पनि सामान्य शुभयात्रामा यसलाई सहजै प्राथमिकता दिइँदैन।

शास्त्रीय यात्रामुहूर्तमा विमान उडेको मात्र नभई निवासबाट विधिवत् प्रस्थान गरेको क्षण विशेष विचारणीय हुन्छ। बालुवाटारबाट निस्कने वास्तविक समय सार्वजनिक नभएकाले यात्रारम्भको लग्न, नवांश, ग्रहहोरा तथा त्याज्यकाल निश्चित गर्न सकिँदैन। नियमित उडानको समय ज्योतिषीय आधारमै छनोट गरिएको निष्कर्ष निकाल्न पनि मिल्दैन।

मुहूर्तको सूक्ष्मता र राष्ट्रिय हित

यो भ्रमणबाट नेपाल–भारत सम्बन्धमा विश्वास सुदृढ हुने तथा व्यापार, पारवहन, ऊर्जा, लगानी र आर्थिक सहकार्यमा उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

शास्त्रीय दृष्टिले त्रयोदशी, अश्विनी, सर्वार्थसिद्धियोग, पक्षबली चन्द्रमा तथा बृहस्पति र बुधको शुभदृष्टि सकारात्मक छन्। अर्कोतर्फ व्यतीपात, पृष्ठस्थ चन्द्रमा र द्वादश चन्द्र विचारणीय छन्। कुम्भलग्नमा पश्चिम दिग्द्वारको अनुकूलता रहे पनि राजकीय यात्रासम्बन्धी विशेष निषेध छ। मध्याह्नअघिको मकरलग्नमा बृहस्पतिहोरा, अभिजित् र अमृतबेलाको संयोग तुलनात्मक विकल्प देखिन्छ।

छल्न सकिने दोष छल्दै शुभतत्त्व प्रबल र प्रतिकूलता न्यून भएको क्षण छनोट गर्नु नै सूक्ष्म मुहूर्तविचारको उद्देश्य हो। एउटा दोषकै आधारमा सम्पूर्ण यात्रालाई अशुभ ठहर गर्नु वा एउटा शुभयोगकै आधारमा निश्चित सफलता घोषणा गर्नु दुवै उचित हुँदैनन्।

राजकीय यात्राको वास्तविक सफलता केवल साइतबाट निर्धारित हुँदैन। राष्ट्रिय हित, स्पष्ट कूटनीतिक कार्यसूची, परिपक्व वार्ता र ठोस उपलब्धि नै त्यसका निर्णायक आधार हुन्।

(लेखक वास्तु एवं ज्योतिष अध्येता हुन्)

प्रकाशित: ४ मंसिर २०८३ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %