सङ्ख्या (१, २, ३, ४, ५, ६, ७, ८, ९) को भविष्यवाणी विज्ञान हो। अङ्कशास्त्र १ देखि ९ सम्मको सङ्ख्या वा नम्बरको विज्ञान हो। जसलाई सामान्यतया अङ्कशास्त्र भनिन्छ। अङ्कशास्त्र एक दार्शनिक अवधारणा हो। यसमा सङ्ख्या र तिनीहरूको संयोजन हुन्छ। यो संयोजनको प्रतीकात्मक अर्थ पनि व्याख्या गरिएको हुन्छ। यही प्रतीकात्मक अवधारणामा आधारित भएर नै यसको सङ्ख्यामा भिन्न भावहरू वा यसका कम्पनहरू हुन्छन्।
वैदिक अङ्कशास्त्रमा चाल्डियन/साल्दियन, पाइथागोरियन, अब्राकादाब्रा र कब्बालाहलाई मानिन्छन्। अङ्कशास्त्र पनि एउटा प्राचीन भविष्यवाणी गर्ने अभ्यास हो, जसले सहस्राब्दीदेखि मानिसहरूलाई मोहित पारेको छ। घटनाहरूको भविष्यवाणी गर्ने र मानिसको जीवन मार्ग बुझ्ने लगायत अन्तरदृष्टि प्राप्त गर्न अङ्कको अर्थले उल्लेख्य भूमिका निर्वाह गरेको हुन्छ। प्राचीनकालदेखि नै प्रयोग गरिँदै आएको अङ्कशास्त्रीय ज्ञानको प्रयोग जीवनमा कसरी गर्न सकिन्छ? यसको कसरी उपभोग गर्न सकिन्छ? भन्ने महत्त्वपूर्ण हुन्छ।
अङ्कशास्त्रमा मास्टर वा एन्जल नम्बर ११, २२ लाई मानेका छन्। कसैले ३३ पनि एन्जल नम्बर मानेका छन्। यीबाहेक अन्य सबै नम्बर केवल एकल–अङ्कमा परिणत गरी एउटा नम्बरमा समावेश गरिएका हुन्छन्। यसको उदाहरण तल दिइएको छ। यस अङ्कशास्त्रलाई विश्वभर नै विभिन्नताका आधारमा प्रयोग गरिन्छ। अङ्कशास्त्रमा प्रत्येक सङ्ख्या १ देखि ९ को आफ्नै भाव वा परिभाषा गरिएको हुन्छ।
यी अङ्कको परिभाषा कुनै पनि व्यक्तिको जन्मतिथिको आधारमा गरिन्छ। यसले उसको विशेषता तथा परिघटना, उसको पेसा, शिक्षा तथा हरेक क्षेत्रको व्याख्या गर्नका लागि यो विधि प्रयोग गरिन्छ। फलस्वरूप अङ्कशास्त्रबारे जान्नका लागि हामीले पहिले व्यक्तिको जन्ममिति र उसको प्रचलित नामसँगै उसको कुवा नम्बरबाट आएको नम्बरलाई नै आधार मानी भविष्यवाणी गरिन्छ।
अङ्कशास्त्रमा अङ्कलाई ब्रह्माण्डका विभिन्न ग्रहसँग जोडेर ती ग्रहले दिने विशेषताका आधारमा व्याख्या गरी भविष्यवाणी गरेको पाइन्छ। जुन मानव अस्तित्वका विभिन्न पक्षसँग प्रतिध्वनित हुन्छन्। अङ्कशास्त्रीहरूले यी सङ्ख्याहरूको व्याख्या गरेर मानिसको भविष्यवाणी गरेका हुन्छन्। यही अङ्कशास्त्रबाट नै मानिसको व्यक्तित्व, उसको सम्भावना र भविष्यमा हुने महत्त्वपूर्ण अन्तरदृष्टिको ज्ञान प्राप्त हुन्छ।
मानिसले वर्तमानसँगै भविष्य के हुन्छ भन्ने जिज्ञासा राख्छ। मानिसले आफ्नो भविष्य अहिले नै थाहा पाउने चाह राखेको हुन्छ। यसमा हामीले के बुझ्न जरुरी छ भने भाग्य छ भनेर चाल्नुमा दुध दुहेर अडिँदैन। यसलाई सबैले अनुशरण गर्न सक्नुपर्छ। ‘कर्म गर फलको आशा नगर’ भन्ने भनाइबाट पनि स्पष्ट हुन्छ कि कर्म नगरी भाग्य चम्किँदैन। कर्मले नै मानिसको भविष्य निर्धारण गर्छ। हाम्रो समाजमा कर्म नै सबैभन्दा ठुलो हो भनिए तापनि कर्म मात्र गरेर नहुने रहेछ, भाग्य पनि चाँहिदो रहेछ भन्ने सामाजिक मनोविज्ञान छ। जसलाई अनुशरण गर्न यो अङ्कशास्त्रका विधिले मानिसको भविष्यको के हो? मानिसको जीवन मार्ग कसरी अघि बढ्ने? भन्ने सम्बन्धमा केही मात्रामा भए पनि सहयोग गर्छ।
अङ्कशास्त्रको इतिहास
अङ्कशास्त्रको इतिहास लगभग १० हजार वर्ष पुरानो मानिन्छ। इतिहासअनुसार प्रारम्भिक युगमा चीन, जापान, भारत र इजिप्टमा अङ्कशास्त्रको अभ्यास गरिएको थियो। यद्यपि अङ्कशास्त्रको उत्पत्तिबारे विद्वानहरूमा केही भ्रम छ। केही बुद्धिजीवीका अनुसार यसको उत्पत्ति इजिप्टमा भएको हो भनेका छन्। केही विद्वान्वर्गले यसको उत्पत्ति बेबिलोनमा भएको दाबी गर्छन्।
प्रारम्भिक सभ्यतामध्ये सुमेरियामा लगभग चार हजार इसापूर्वमा सङ्ख्या र गणना सुरु भयो। धेरै मानिस, गाईवस्तु, बाली र कालिगड सामानहरू एउटै ठाउँमा अवस्थित हुँदा यिनको व्यवस्थापन गर्न र ट्रयाक राख्नका शास्त्र चाहिने अनुभूति गरे। जसमा अङ्कशास्त्रको प्रयोग गरिएको थियो। पछि अङ्कशास्त्र व्यापारमा प्रयोग गरिएको थियो। सङ्ख्या प्रणाली सङ्केतन विकासको श्रेय प्राचीन भारतका दुई महान् गणितज्ञ आर्यभट्ट (इसापूर्व पाँचौं शताब्दी) र ब्रह्मगुप्तलाई दिइन्छ। सबैभन्दा सरल सङ्ख्या प्रणालीमा जहाँ सम सङ्ख्यालाई चिह्नहरूद्वारा प्रतिनिधित्व गराइन्छ। यसरी यसलाई युनरी अङ्क प्रणाली पनि भनिन्छ।
अङ्कशास्त्रको सिद्धान्तले भन्छ कि सम्पूर्ण ब्रह्माण्डलाई सङ्ख्याका माध्यमबाट व्यक्त गर्न सकिन्छ। चाल्डियन अङ्कशास्त्र चाल्डियनबाट उत्पन्न भएको हो। जसल इसापूर्व ६२५ देखि ५३९ सम्म बेबिलोनियामा शासन गरेका थिए। ग्रिक दार्शनिक पाइथागोरसपछि अङ्कशास्त्रका पिता बने। उनले नै पाइथागोरियन अङ्कशास्त्रको विकास गरेका थिए। जसलाई आधुनिक अङ्कशास्त्र पनि भनिन्छ। विगतमा पाइथागोरस र अन्य दार्शनिकहरूले नम्बरलाई गणितमा वर्गीकरण गर्न भौतिक शास्त्रभन्दा बढी पहुँचयोग्य छ भन्ने अवधारणा विकास गरे। उनीहरू यो अङ्कशास्त्रलाई धेरै नै विश्वास गर्थे।
युगौंदेखि नै विश्वका धेरै राष्ट्रले यस अङ्कशास्त्रको सामान्य अवधारणालाई पछ्याएको पाइन्छ। यसमा जापान, ग्रिस, भारत र प्राचीन इजिप्टजस्ता देशले अङ्कशास्त्र र यसका विधिको प्रयोग हरेक क्षेत्रमा पहिलेदेखि नै गरिसकेका थिए। अझ यो भारतवर्षमा यसको प्रयोग धेरै भएको पाइन्छ। खोज, अध्ययन, अनुसन्धान गर्दै जाने हो भने हाम्रो पुरातन सभ्यताको समयमा नै रोम र चीनजस्ता राष्ट्रले अङ्कशास्त्रको अवधारणालाई राज्यको उन्नति र विकाससँगै मानिसको भविष्यका लागि प्रयोगात्मक अभ्यास गरेका रहेछन् भन्ने प्रमाण भेटिन्छन्।
अङ्कशास्त्रको इतिहास अध्ययन गर्दा यसले हामी विश्वमा बसोबास गर्ने मानिसको भविष्य र विशेषतालाई पत्ता लगाउने सबैभन्दा पुरानो विधि मानिन्छ। अङ्कशास्त्रको प्रयोगमा फरक तरिका र फरक फरक धर्म पनि जोडिएको पाइन्छ। फलस्वरूप अङ्कशास्त्रको इतिहास के थियो? यसको उत्पत्ति कसरी भयो? भन्ने जान्नु सबैका लागि अहिलेको आवश्यकता हो।
अङ्कशास्त्र विधि र प्रयोग
अङ्कशास्त्रको इतिहास अध्ययन गर्दा यसको प्रारम्भिक प्रयोग बेबिलोनियन, इजिप्टियन र ग्रिकमा भएको भेटिन्छ। मानिसले सङ्ख्याको महत्त्वलाई मान्यता दिँदै गए भने अर्कातर्फ ग्रिक गणितज्ञ र दार्शनिक पाइथागोरसको प्रख्यात कार्यले पनि समकालीन अङ्कशास्त्रलाई आधार प्रदान ग¥यो।
अङ्कशास्त्रले भविष्यमा हुने घटनाको भविष्यवाणी गर्न सक्छ त? यो प्रश्न नै यस लेखको उद्देश्य हो। तर त्यो प्रश्नको उत्तर दिनुअघि हामी पहिले अङ्कशास्त्रले कसरी काम गर्छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता छ। रोडरिकले टिप्पणी गरेका छन् कि धेरै आधुनिक जादुगरहरू सिरियल अंग्रेजी–कबालाह प्रणालीमा भर पर्छन्। जुन सबैभन्दा सरल र सजिलै बुझ्न सकिने विधि हो।
अङ्कशास्त्रको इतिहासमा सबैभन्दा प्राचीन विधिहरू चाल्डियन अङ्कशास्त्र र कब्बालाह अङ्कशास्त्र मानिएका थिए। पछि ग्रिक दार्शनिक पाइथागोरस अङ्कशास्त्रलाई स्थापित गरेका हुनाले नै उनलाई अङ्कशास्त्रका पिता भनियो। जसलाई पाइथागोरियन अङ्कशास्त्रको विधि पनि भनिन्छ।
अङ्कशास्त्रलाई सामान्यतया पश्चिमी अङ्कशास्त्र वा आधुनिक अङ्कशास्त्र पनि भनिन्छ। अङ्कशास्त्रलाई अध्ययन गर्ने विधि धेरै छन्। हाल आएर चाल्डियन प्रकारको अङ्कशास्त्रलाई सम्पूर्ण अङ्कशास्त्रको आधार मानेको भेटिन्छ। चाल्डियन, पाइथागोरियन वा पश्चिमी र कब्बालाह गरी अङ्कशास्त्रका धेरै विधि छन्।
अङ्कशास्त्र विज्ञानमा दुई मास्टर नम्बरहरू मानिएका छन्। यी नम्बरसहित कुल १ देखि ९ नम्बरहरू छन्। मास्टर वा एन्जेल नम्बर ११ र २२ लाई मानिएको छ। कतै ३३ नम्बरलाई मास्टर नम्बर मानेको पाइन्छ। यसमा केही विविधता छन्। अङ्कशास्त्रमा १ देखि ९ सम्म र मास्टर नम्बरहरूका प्रत्येक सङ्ख्याले आफ्नै महत्त्व राखेका हुन्छन्। यी नम्बरले व्यक्तिको व्यक्तित्व र विशेषतासँगै हाम्रो ब्रह्माण्डमा भएका ग्रह नक्षत्रलाई समायोजन गरी ती ग्रह नक्षत्रको प्रतीकात्मक भाव प्रकट गर्ने गरेको पाइन्छ।
अङ्कशास्त्रमा निम्न तीन महत्त्वपूर्ण सङ्ख्या छन्। यसलाई विभिन्न तरिकाले व्याख्या गरिएको हुन्छ। जस्तो मानिसको जीवन मार्गको सङ्ख्या हुन्छ। यसलाई हामी भाग्याङ्कस भनिन्छ। यसमा सम्पूर्ण जन्ममितिको जोड र नामबाट आएको अङ्कसँगै कुवा नम्बरको सङ्ख्याको सम्पूर्ण फललाई निर्धारण गर्छ।
व्यक्तित्व सङ्ख्या भन्ने अर्थमा व्यक्तिको जन्मका नाममा वा प्रचलित नामबाट भएका व्यञ्जनहरूद्वारा अङ्कशास्त्रमा परिणत गरेर कुनै नम्बर निर्धारित हुन्छ। यसले मान्छेले व्यक्तिको बाहिरी विशेषता र व्यक्तित्व कसरी बुझ्छन् भनेर मार्गदर्शन गर्छ। यसले व्यक्ति वा मानिसको जीवनमार्गको आधारभूत विशेषता, उद्देश्य र जीवनमार्गका लागि प्रतीकात्मक रूपमा व्याख्या गर्छ। अर्को हुन्छ, जसलाई मूलाङ्क पनि भनिन्छ। यो नम्बर जन्मतिथिबाट व्युत्पन्न हुन्छ। यसले जीवन वा व्यक्तिको विशेषता र उद्देश्य के हो भन्ने कुराको व्याख्या गर्छ।
कुनै व्यक्तिको जन्ममिति र नामका आधारमा नम्बर निकाल्ने प्रयास गरिन्छ। यदि कसैको जन्ममिति सन् १९७६ अप्रिल २३ छ। उसको मूलाङ्क चाहिँ जन्मतिथि २ जोड ३ बराबर ५ हुन्छ भने उसको भाग्याङ्कंस चाहिँ सबै जन्ममिति जोडेर निकालिन्छ। जस्तो २, ३, ४, १, ९, ७ र ६ अङ्क जोड्दा ३२ हुन्छ। फेरि यी दुईवटा नम्बरलाई एक नम्बरमा ल्याउनका लागि ३ जोड २ बराबर ५ हुन आउँछ। यसमा कुवा नम्बर र नाममा भएका व्यञ्जनहरूको नम्बर पनि यस चाइनिज ल्होसो ग्रिडमा राखेर भविष्यको व्याख्या गरिन्छ। यसको एउटा नमुना छ। यो ग्रिडको आफ्नै इतिहास छ। यसलाई अर्को अङ्कमा गहन रूपमा अध्ययन गर्न सकिन्छ।
यसरी आएका नम्बरलाई ल्होसो ग्रिडको नमुनामा राखेर व्यक्तिको भाग्य र भविष्यको व्याख्या गरिन्छ। यसको सम्पूर्ण ज्ञान अङ्कशास्त्री विज्ञबाट लिन सकिन्छ।
जीवनमार्ग र भविष्यवाणी
अङ्कशास्त्रले कसरी व्यक्तिको भविष्यवाणी गर्छ? के हामी यस प्रश्नको उत्तर खोज्दै छौं? यसले गर्ने मुख्य काम जीवनका मार्गहरूलाई कसरी व्याख्या गरिएको रहेछ भन्ने कुरा माथिको अध्ययनबाट प्राप्त हुन्छ। एउटा आलेखबाट सम्पूर्ण ज्ञान पाउन सम्भव पनि हुँदैन। यसका लागि गहन अध्ययन गर्नुपर्छ वा भविष्यवाणीका रूपमा अङ्कशास्त्रीको सहयोग लिनुपर्छ।
अहिले नेपाली समाजमा पनि अङ्कशास्त्र, अवचेतन मनको महत्त्व, आकर्षण सिद्धान्त, न्युरो भाषा कार्यक्रमको महत्त्व बढ्दै गएका कारण हरेक मानिसले यसको प्रशिक्षण लिएको पाइन्छ। अझ स्कुल तथा अन्य संघसंस्थामा पनि यसले व्यापकता लिँदै गएको छ। भारतीय समाजमा त यसको ठुलो स्थान छ।
प्रत्येक व्यक्तिसँग व्यक्तिको जन्मतिथिमा महत्त्व राख्ने अद्वितीय नम्बर हुन्छन् भन्ने अङ्कशास्त्रीहरू विश्वास गर्छन्। तिनै नम्बरले व्यक्तिका प्राकृतिक विशेषता, शक्ति र उसको जीवनमा आउने राम्रा र नराम्रा पक्षका अवरोधलाई सङ्केत वा दिशानिर्देश गरेका हुन्छन्। जस्तो कुनै व्यक्तिको जन्ममिति प्रयोग गरेर गणना गर्दा आउने सङ्ख्याले उसको जीवनको उद्देश्य, पेसामार्ग, भविष्यमार्गसँगै पारिवारिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धबारे महत्त्वपूर्ण जानकारी दिएको पाइन्छ। फलस्वरूप यो अङ्कशास्त्रबाट छिमेकी देशका प्रख्यात सेलिब्रेटीहरूले आफ्नो प्रसिद्धिका लागि आफ्नो पेसामा अङ्कशास्त्रको धेरै नै प्रयोग गरेको पाइन्छ। उनीहरूको भविष्यको जीवनमार्गमा अङ्कशास्त्रले मार्गनिर्देशकका रूपमा काम गरेको प्रशस्त भेटिन्छ।
आजको यो भौतिक दुनियामा अङ्कशास्त्रले विगत, आगत र भविष्यबारे मार्गदर्शन गर्न सक्छ वा सक्दैन, अध्ययनको विषय हो। तर, यसको विश्लेषण र अनुशरणले पक्कै पनि मानिसको बहुमूल्य अन्तरदृष्टि, सकारात्मक सोचको विकास, व्यक्तित्व विकास र सम्भावनालाई दर्शाउन सक्छ।
अङ्कशास्त्रीले जन्ममितिका आधारमा विभिन्न परिदृश्य वा घटनासँग सम्बन्धित सङ्ख्याहरूको विश्लेषण गरेर प्रवृत्तिको व्याख्या गरेका हुन्छन्। फलस्वरूप अङ्कशास्त्रले पनि जीवनलाई सुख, शान्ति र समृद्धिसँगै सकारात्मक सोचको विकास गराउन मद्दत गर्छ। यस शास्त्रले कसरी उपयुक्त जीवन छनोट गर्ने, उपयुक्त अवसरहरू कसरी छनोट गर्ने भन्ने कुरामा सहजीकरण गर्न सक्छ। आज समाजमा जसको जे परिचय छ, सबै अङ्कले नै निर्धारण गरेको हो। यसको ज्ञान र उपयोगिताले भविष्यको जीवनमार्ग सहज बन्न सक्छ।
प्रकाशित: ३१ श्रावण २०८२ ०६:४० शनिबार

