राष्ट्रको स्थायित्व केवल संविधान, सरकार वा अर्थतन्त्रले सुनिश्चित गर्दैन। त्यसका लागि दुई आधारभूत शक्ति चाहिन्छ– राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा। यीमध्ये कुनै एक कमजोर भयो भने राष्ट्रको राजनीतिक स्थिरता, आर्थिक विकास र राष्ट्रिय स्वाभिमानमाथि गम्भीर असर पर्न सक्छ। इतिहासले यसको प्रमाण दिएको छ।
राष्ट्रिय एकता कमजोर हुँदा समाजभित्रको विभाजन गहिरिन्छ, राज्यका संस्थाप्रतिको विश्वास घट्छ र बाह्य शक्तिले समेत त्यसको लाभ उठाउने परिस्थिति निर्माण हुन सक्छ। त्यसैले राष्ट्रको दीर्घकालीन स्थायित्वका लागि भूगोल जोगाउनु मात्र पर्याप्त हुँदैन, त्यो भूगोलभित्र बस्ने नागरिकबिच साझा राष्ट्रिय भावनासमेत बलियो हुनुपर्छ।
युगोस्लाभियाको विघटन यस सन्दर्भमा एउटा महत्त्वपूर्ण उदाहरण हो। जातीय तनाव, राजनीतिक विभाजन र कमजोर साझा राष्ट्रिय आधारले अन्ततः हिंसा र विघटनको अवस्था सिर्जना गर्यो। यसको सन्देश स्पष्ट छ - विविधता आफैं समस्या होइन, विविधतालाई साझा राष्ट्रिय पहिचानमा जोड्न नसक्नु समस्या हो।
नेपाल पनि विविधताले बनेको मुलुक हो। यहाँ भाषा, धर्म, जातीय र सांस्कृतिक पहिचान फरक छन्, भूगोल फरक छ। तर यी भिन्नता विभाजनका आधार बन्ने होइनन्, राष्ट्रिय एकताको शक्ति बन्नुपर्छ। राष्ट्रिय एकता भन्नुको अर्थ सबैले एउटै भाषा बोल्नु, एउटै धर्म मान्नु वा एउटै विचार राख्नु होइन। यसको अर्थ हो - भिन्नताबिच साझा राष्ट्रिय हित पहिचान गर्नुपर्छ।
कुनै पनि राष्ट्रको दीर्घकालीन स्थिरता, समृद्धि र स्वाभिमानको मूल आधार दुई स्तम्भमा टिकेको हुन्छ - राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा। यी दुई तत्त्व कमजोर हुँदा राष्ट्रको अस्तित्व नै संकटमा पर्न सक्छ भन्ने कुरा इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ। त्यसैले, जबसम्म राष्ट्रिय एकता सुदृढ र राष्ट्रिय सुरक्षा सबल हुँदैन, तबसम्म देशले स्थिरता र स्थायित्व प्राप्त गर्न सक्दैन भन्ने यथार्थलाई बुझ्न आवश्यक छ।
इतिहासका पाना पल्टाउँदा, एकता कमजोर हुँदा राष्ट्रहरू कसरी टुक्रिएका छन् भन्ने धेरै उदाहरण भेटिन्छन्। उदाहरणका लागि, युगोस्लाभियाको युद्धको क्रममा जातीय द्वन्द्व, आन्तरिक विभाजन र कमजोर राष्ट्रिय एकताले युगोस्लाभियालाई टुक्रा–टुक्रा पार्यो। एउटै राष्ट्रभित्र रहेका विभिन्न समुदायबिच विश्वासको अभाव र साझा राष्ट्रिय पहिचानको कमजोर आधारले अन्ततः गृहयुद्ध र विघटनको स्थिति सिर्जना गर्यो। यसले स्पष्ट देखाउँछ कि राष्ट्रिय एकताबिना स्थायित्व सम्भव हुँदैन।
त्यसैगरी दोश्रो विश्व युद्धपछि कमजोर सुरक्षा संरचना भएका देशहरू बाह्य हस्तक्षेप र आन्तरिक अस्थिरताको सिकार बने। युरोपका कतिपय राष्ट्रहरूले आफ्नो सुरक्षा संयन्त्र बलियो बनाउन नसक्दा राजनीतिक अस्थिरता भोग्नुपर्यो। पछि ती देशहरूले सामूहिक सुरक्षा प्रणाली निर्माण गरेर मात्र दीर्घकालीन स्थिरता हासिल गर्न सके।
नेपालकै सन्दर्भमा पनि राष्ट्रिय एकता र सुरक्षा कमजोर हुँदा मुलुकले अस्थिरता भोगेको इतिहास छ। दश वर्षे जनयुद्धले देखायो कि जब राज्यको सुरक्षा संरचना चुनौतीमा पर्छ र समाजभित्र असन्तोष बढ्छ, तब देश राजनीतिक, आर्थिक र सामाजिक रूपमा कमजोर हुन्छ। त्यस अवधिमा विकासका कार्यहरू अवरुद्ध भए, जनजीवन असुरक्षित बन्यो र राष्ट्रले स्थायित्व गुमायो। भाद्र २३–२४ को विद्रोहले पनि राज्यको सुरक्षा संरचना कमजोर हुँदा त्यही नियतिलाई दोहोर्यायो।
तर, इतिहासले सकारात्मक सन्देश पनि दिन्छ। जब राष्ट्रहरू एकताबद्ध हुन्छन् र सुरक्षा प्रणाली सुदृढ बनाउँछन्, तब उनीहरूले चुनौतीलाई अवसरमा बदल्न सक्छन्। उदाहरणका लागि, द्वितीय विश्वयुद्धपछि जापानले आफ्नो आन्तरिक एकता र संस्थागत सुदृढीकरणमा ध्यान दिएकै कारण विश्वकै अग्रणी अर्थतन्त्र बन्न सफल भयो। यसले देखाउँछ कि एकता र सुरक्षा स्थायित्वको मात्र होइन, समृद्धिको पनि आधार हो।
अन्ततः राष्ट्रिय एकता केवल नारामा सीमित रहने विषय होइन, व्यवहारमा देखिनुपर्छ। राष्ट्र बलियो हुनु भनेको केवल अग्ला भवन, फराकिला सडक, ठुला आयोजना र बढ्दो अर्थतन्त्र हुनु मात्र होइन। राष्ट्र बलियो हुनुको पहिलो अर्थ हो– आफ्नो माटो, आफ्नो सीमा, आफ्नो स्वाभिमान र आफ्ना नागरिकको भविष्य सुरक्षित हुनु। राष्ट्रिय सुरक्षा कमजोर भयो भने विकासका सबै उपलब्धि असुरक्षित हुन्छन्।
आज बनाएको पूर्वाधार भोलि संकटको अवस्थामा कसरी जोगाउने ? आज कमाएको समृद्धि भोलि बाह्य दबाब र अस्थिरताबाट कसरी सुरक्षित राख्ने? त्यसैले राष्ट्रिय सुरक्षालाई विकासभन्दा अलग विषयका रूपमा हेर्नु नै गलत दृष्टिकोण हो। सुरक्षा नै विकासको आधार हो, स्थायित्वको आधार हो र राष्ट्रिय आत्मविश्वासको आधार हो।
यसै सन्दर्भमा हाम्रो सेनाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। सेना केवल युद्धका बेला बन्दुक बोकेर सीमामा उभिने संस्था होइन। विपद्का बेला नागरिकको उद्धार गर्ने, राष्ट्रिय संकटमा राज्यको साथमा उभिने, कठिन भूगोलमा राष्ट्रको उपस्थिति कायम राख्ने र आवश्यक पर्दा आफ्नो जीवन नै राष्ट्रका लागि अर्पण गर्ने संस्था पनि हो।
सीमामा उभिएको एउटा सैनिक केवल एउटा व्यक्ति होइन– ऊ राष्ट्रको सार्वभौमिकताको पहरेदार हो। उसको काँधमा राखिएको बन्दुकमा केवल गोली हुँदैन, त्यसमा राष्ट्रको स्वाभिमान, नागरिकको सुरक्षा र भावी पुस्ताको भविष्यको जिम्मेवारी पनि हुन्छ। त्यसैले सेनालाई बलियो बनाउनु युद्ध खोज्नु होइन, युद्ध नआओस् भन्ने राष्ट्रिय सामथ्र्य निर्माण गर्नु हो। बलियो सेना युद्धको निम्तो होइन, शान्तिको सुरक्षा कवच हो। जसको प्रतिरक्षा क्षमता बलियो हुन्छ, उसको सार्वभौमिकतामाथि आँखा लगाउनुअघि अरूले हजारपटक सोच्नुपर्छ।
सेना बलियो भन्नुको अर्थ केवल संख्या बढाउनु वा हतियार थप्नु मात्र होइन। आधुनिक प्रविधि, सूचना–प्रणाली, साइबर सुरक्षा, गुप्तचर क्षमता, दक्ष जनशक्ति, आवश्यक स्रोत–साधन र स्पष्ट राष्ट्रिय सुरक्षा नीतिसहितको सक्षम सेना आजको आवश्यकता हो। सेनालाई राजनीतिक विवादको विषय होइन, राष्ट्रिय हितको साझा संस्थाका रूपमा हेर्न सक्नुपर्छ।
हामीले एउटा कुरा कहिल्यै बिर्सनुहुँदैन - राष्ट्र रहे मात्र राजनीति रहन्छ, राष्ट्र रहे मात्र सत्ता रहन्छ, राष्ट्र रहे मात्र विकासको अर्थ हुन्छ। राष्ट्रको अस्तित्व नै संकटमा परेपछि हामीले बनाएका विचार, दल, सत्ता र व्यक्तिगत उपलब्धिहरू सबै अर्थहीन बन्न सक्छन्।
त्यसैले राष्ट्रिय सुरक्षालाई तत्कालीन राजनीतिक स्वार्थभन्दा माथि उठाएर हेर्नुपर्छ। सरकार फेरिन सक्छन्, दलका नीति बदलिन सक्छन्, नेताहरू आउँछन् जान्छन् तर राष्ट्रको सुरक्षा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान कुनै दलको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नेपालीको साझा जिम्मेवारी हो।
हाम्रो सेनाको मनोबल उच्च राख्नु, आवश्यक स्रोत–साधन उपलब्ध गराउनु र संस्थागत क्षमता अभिवृद्धि गर्नु भनेको सैनिकलाई मात्र सम्मान गर्नु होइन, राष्ट्रको भविष्यलाई सुरक्षित गर्नु हो।
विकसित राष्ट्रले मात्र समृद्धि बाँड्न सक्छ र आत्मविश्वासी राष्ट्रले मात्र आफ्नो स्वाभिमान जोगाएर विश्वसामु शिर ठाडो पार्न सक्छ। आज हामीले सेनालाई बलियो बनाउने कुरा गर्दा युद्धको भाषा बोलिरहेका छैनौं। हामी त आफ्ना सन्तानले भोलि सुरक्षित आकाशमुनि, सुरक्षित सीमाभित्र र आफ्नै निर्णयमा बाँच्न पाऊन् भन्ने सुनिश्चित गर्ने कुरा गरिरहेका छौं। राष्ट्रको सुरक्षा कुनै विलासिता होइन, राष्ट्रको अस्तित्वको पहिलो सर्त हो। त्यो अस्तित्वको पहरेदारी गर्ने सेनाको मनोबल, क्षमता र प्रतिष्ठा बलियो बनाउनु सबल, सुरक्षित र सुदृढ नेपाल निर्माणतर्फको अपरिहार्य कदम हो।
भाषा, धर्म, जातीयता वा क्षेत्रीय भिन्नताभन्दा माथि उठेर साझा राष्ट्रिय पहिचान निर्माण गर्नु आजको आवश्यकता हो। त्यस्तैं, राष्ट्रिय सुरक्षा केवल सेनाको जिम्मेवारी मात्र होइन, यो समग्र राज्य संयन्त्र, राजनीतिक स्थिरता, आर्थिक सुदृढता र नागरिकको विश्वाससँग जोडिएको विषय हो।
- गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री हुन्।
प्रकाशित: ३ भाद्र २०८३ ०६:१९ बुधबार

