युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलस (युसिएलए) को स्वास्थ्य विभागले कस्तो किसिमको ‘एक्सरसाइज’ गर्ने भन्ने कौतूहल बोकेका जमातलाई गत वर्ष सरल जवाफ दियो। ‘दर्जनौं अध्ययनको एउटै निष्कर्ष ः टहल्न कहिल्यै नछोड्नु’ भन्ने सन्देश थियो युसिएलएको। कसरत विद्यामा प्रकाशित भएका दर्जनौं अन्वेषणको विश्लेषण गरी धनी मुलुक र गरिब देशका स्वस्थ जीवन व्यतीत गर्न उद्यत जनतालाई हिँडाइको महत्व दर्शाउँदै जवाफ दियो अमेरिकी विश्वविद्यालयले। उपकरणले भरिपूर्ण जिमखाना धाउनेले मात्र व्यायामको फाइदा पाउँछन् कि भन्ने भ्रम पाल्नेलाई सहर–गाउँ, पहाड–तराई, खेतबारी, वनजंगललगायतका जुनसुकै भूगोलमा गरिने हिँडाइले सदैव फाइदा दिने निष्कर्ष थियो। हिँड्नका लागि कुनै पनि उपकरण नचाहिने तर स्वास्थ्य फाइदा भरपूर पाइने भएकाले उक्त खबरले गरिब मुलुकका नागरिकलाई थप उत्साही बनाउनु अस्वाभाविक होइन। हिमाली भेगलाई अपवाद मान्ने हो भने वर्षभरि नै घुमफिर गर्न मिल्ने मौसम भएकाले पनि नेपालीले स्वास्थ्य फाइदा लिन थप मेहनत गर्नुपर्ने रहेन। यस लेखको मुख्य लक्ष्य हिँडडुल र दिमागी स्वास्थ्यको अन्तर्सम्बन्ध स्थापित गर्नु हो।
आयुर्विज्ञान (मेडिकल साइन्स) को सफलता अनि खानपिन र जिउने तरिकामा आएको विश्वव्यापी परिवर्तनले मानिसको सरदर उमेर उकासियो। केही दशकअघिसम्म चारबिस नाघेका वृद्ध गाउँभरि एकदुई जना हुने गरेकोमा अहिले प्रत्येक घरमा वृद्धभत्ता पाउने हजुरपुस्ता भेटिन्छन्। आयुको बढोत्तरी अहिले नै रोकिने अवस्था छैन, बरु शताब्दी नागरिकको आँकडा थप चुलिने निश्चित छ। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयको लन्जिभिटी (दीर्घजीवी) विभागले सन् २०२२ मा प्रकाशित गरेको एक प्रतिवेदनले अहिले ५ वर्ष पुगेका दुई अमेरिकी बालबालिकामध्ये एकजना सजिलै एक शताब्दी बाँच्ने भन्यो। जन्मदर घट्ने तर शताब्दी पुग्नेको संख्या उकासिँदै जाँदा समाजमा बुढाबुढीको घनत्व बढ्छ नै।
उमेर पाको बन्दै जाँदा शरीरका अंगप्रत्यंग शिथिल बन्छन् भने दिमागी तागत पनि घट्दै जान्छ। घुँडा परिवर्तन गर्ने मात्र होइन, बरु मिर्गौला, कलेजो, फोक्सो, मुटुलगायतका महत्वपूर्ण तन्तु नै फेर्नुपर्ने अवस्थाका लागि समेत विज्ञान तयार हुँदै छ। मानवीय अंगको आपूर्ति सहज बनाउन जनावरको प्रयोग मात्र गरिएको छैन, बरु ल्याब निर्मित मेसिनहरूले समेत उत्साहजनक नतिजा दिएका छन्। हालै गरिएको क्लिनिकल परीक्षणले बाइभाकोर भन्ने कम्पनीले बनाएको कृत्रिम मुटुको सहारामा समेत मानिस लामो समय बाँच्न सक्ने देखियो। पार्टपुर्जा परिवर्तन गरी थोत्रो कारलाई चलायमान बनाएझैं वृद्धावस्थामा शिथिल भएका अंगलाई परिवर्तन गरी मानवलाई दुरुस्त बनाउने दिशामा विज्ञान धेरै माथि पुगिसक्यो। तर, पृथक् चरित्रका कारण ल्याब निर्मित मस्तिष्कको प्रयोग निकै चुनौतीपूर्ण देखिन्छ। पाको उमेरमा मस्तिष्कका कोष (न्युरोन)हरू मर्दै जान्छन्, दिमागको आकृति खुम्चन्छ।
शारीरिक बनोट परिवर्तन गरी अशक्तलाई हिँड्डुल गर्न सक्ने बनाउने विज्ञानले वृद्धावस्थामा शिथिल भएको मस्तिष्कलाई परिवर्तन गर्न भने निकै चुनौतीपूर्ण देखिन्छ। त्यस्तो हुनुमा दिमागको विशिष्ट चरित्र नै हो। कृत्रिम मुटुले रक्तसञ्चारलाई सुचारु गर्न सके थप उत्खननको आवश्यकता हुँदैन। तर, मस्तिष्कको कथा बेग्लै छ। जन्मेदेखि भोगेका अनुभवहरू मस्तिष्कका अर्बौं न्युरोनहरूमा भण्डारण गरिने भएकाले साबिकको दिमागलाई ल्याब निर्मित अंगले प्रतिस्थापन गर्दा विगतका अनुभवहरू स्मरणबाट हराउँछन्। पुराना परिदृश्य मानसपटलबाट मेटिँदा फरक व्यक्ति बन्न पुग्छ। व्यक्ति स्मरणशून्य बच्चाजस्तो बन्छ। तसर्थ, ल्याब निर्मित मस्तिष्क ‘ट्रान्सप्लान्ट’ गरिँदा व्यक्तिले आजन्म भोगेका स्मरणहरू नास हुने भएकाले समेत अन्य अंगहरूझैं दिमागको स्थानान्तरण सम्भव देखिँदैन।
स्वस्थ खान्की अनि संयमित आचरणले बहुआयामिक फाइदा दिन्छ। अन्य शारीरिक कसरतजस्तै नियमित रफ्तारी हिँडाइले मुटुसम्बन्धी रोग मात्र होइन, अर्बुदरोगलगायत रोगको सम्भाव्यलाई न्यून गरी व्यक्तिको आयु बढाउँछ।
सर्वाधिक महत्वपूर्ण अंग भएकाले प्रकृतिले दिमागलाई अत्यधिक सुरक्षित राखेको छ। बाह्य केमिकलहरू ‘ब्रेन’मा पुगेर क्षति नपुर्याऊन् भन्नका खातिर दिमाग र शरीरका बिच दरिलो पर्खाल बन्यो। रासायनिक तत्वहरू दिमागमा पुग्न नै कठिन भएकाले मस्तिष्क रोगको इलाज चुनौतीपूर्ण बन्यो। सन् २०२२ मा जर्नल वल्र्ड साइकियाट्रीमा प्रकाशित एक अध्ययनले दिमागी स्वास्थ्यका प्रचलित औषधिहरूले रोग बिसेक नपार्ने, बरु लक्षणको व्यवस्थापन मात्र गर्ने निष्कर्ष निकालेबाट नै मानसिक रोगको इलाजको भयावहता बुझिन्छ। यसरी औषधिबाट निको पार्न चुनौतीपूर्ण देखिनु अनि दिमागको स्थानान्तरण असम्भव भएको अवस्थामा मस्तिष्कलाई परहेजमार्फत स्वस्थ राख्न जरुरी देखियो।
म्यासाच्युसेट्स जेनरल हस्पिटलकी न्युट्रिस्नल साइकोलोजिस्ट डा. उमा नायडु भोजनले व्यक्तिको दिमागी स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने ठान्छिन्। लामो समयदेखि खाना र दिमागी स्वास्थ्यको अन्तर्सम्बन्ध स्थापनाका खातिर अनुसन्धानरत डा. नायडुको विचारमा प्रकृतिले दिएको खाद्यान्नलाई बिनाप्रशोधन सेवन गर्नु मेन्टल हेल्थका लागि लाभप्रद हुन्छ। उनी खैरो चामल, बोक्रा नफालेको सग्लो दाल अनि थोरै मासु तथा धेरै तरकारी, फलफूल र सागपात खाने बानीले दिमागलाई दीर्घकालीन लाभ दिने ठान्छिन्। फरक अनुसन्धानहरूले पाचन प्रणालीमा पाइने सूक्ष्माणु ‘गट माइक्रोबायोम’ले मानिसको ‘मेन्टल हेल्थ’मा समेत सकारात्मक प्रभाव पार्ने यथार्थ बाहिरियो। एउटा चिनियाँ अध्ययनले गुन्द्रुक, सिन्कीजस्ता फर्मन्टेड खान्कीले आन्द्राको जीवाणु सुधारमार्फत दिमागी स्वास्थ्यलाई सबल बनाउने देखियो। स्वास्थ्यवर्धक खानाका अतिरिक्त नियमित सुताइको तालिका, भजनकीर्तन अनि नैतिक शिक्षा प्रवर्धनले समेत दिमागलाई स्वस्थ राख्न सक्ने पाइयो।
युवा तथा अधबैंसे समूहमा हिँडाइले शारीरिक तथा मानसिक स्वास्थ्यलाई तन्दुरुस्ती दिने ठानिएकोमा संयुक्त राज्य अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयको स्नायु विभागका अनुसन्धानकर्ताहरूले यसै वर्ष ८० वर्ष उमेर कटेका हजुरपुस्ताले टहल्दा झन् बढी फाइदा पाउने बेहोरा प्रकाशित गरे जर्नल न्युरोलोजीमा। उक्त अन्वेषणले अन्य उमेर समूहलाई झैं आठ दशक कटेकालाई समेत हिँडाइले लाभ गर्ने भए पनि रफ्तारले भने दिमागी स्वास्थ्यमा निकै ठुलो भूमिका खेल्ने देख्यो। उमेर समूहका शालाखालाभन्दा अधिक गतिमा हिँड्न सक्ने हजुरपुस्ताको दिमाग निकै चनाखो हुने देखियो। उदाहरणका लागि ८० कटेका मानिसको सरदर हिँडाइको रफ्तार दुई किलोमिटर प्रतिघण्टा हो भने तीन किलोमिटरको दरले हिँड्ने व्यक्तिको मानसिक अवस्था निकै राम्रो हुने उक्त अध्ययनको निष्कर्ष हो। कम्तीमा ८० वर्ष पुगेका चार हजार मानिसमा गरेको उक्त अध्ययनले छिटो हिँड्न सक्ने हजुरबुबाको स्मरणशक्ति एक वयस्कको भन्दा साह्रै कम नहुने भन्छिन् उक्त अध्ययनकी संयोजक एवं अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनकी प्राध्यापक डा. सोफिया मिल्म्यान। त्यही उमेर समूहकै भए पनि ढिलो हिँड्नेले उक्त लाभ नपाउने भन्छ उक्त अन्वेषणले।
हिँडाइले व्यक्तिको मुटु, फोक्सोलगायत शारीरिक प्रक्रियालाई समेत सकारात्मक प्रभाव पार्नु अस्वाभाविक होइन। तर छिटो हिँड्ने मानिसले कसरी पाको उमेरमा पनि स्मरणशक्तिलाई कायम राख्छ त? छिटो हिँड्ने आदत भएको मानिसको मुटु र फोक्सोको चाल पनि अधिक हुन्छ। अनि रक्तसञ्चार र श्वासप्रश्वास प्रक्रियाको चक्र बढ्दा अन्य भागले झैं दिमागले समेत अत्यधिक पोषण पाउँछ। अत्यधिक खान्की पाएपछि मस्तिष्कका कोषहरू शिथिल बन्दैनन्, बरु लामो समयसम्म सशक्त नै रहन्छन्। रफ्तारमा हिँड्ने व्यक्तिको दिमागले अर्को समूहभन्दा अधिक पोषणतत्व पाउने भएकाले दिमागी शक्तिको प्रचुरता अस्वाभाविक होइन भन्ने अन्वेषणकर्ताको दाबी रह्यो।
आयुर्विज्ञानको सफलता अनि खानपिन र जिउने तरिकामा आएको विश्वव्यापी परिवर्तनले मानिसको सरदर उमेर उकासियो। केही दशकअघिसम्म चारबिस नाघेका वृद्ध गाउँभरि एकदुई जना हुने गरेकोमा अहिले प्रत्येक घरमा वृद्धभत्ता पाउने हजुरपुस्ता भेटिन्छन्। आयुको बढोत्तरी अहिले नै रोकिने अवस्था छैन, बरु शताब्दी नागरिकको आँकडा थप चुलिने निश्चित छ।
जीवनको पूर्वार्धदेखि नै रफ्तारमा हिँड्ने व्यक्तिले मात्र उत्तरार्धमा आफ्नो उच्च गति कायम गर्न सक्ने भएकाले बुढेसकालमा बिर्सने रोग नलागोस् भन्ने सोच्ने मानिसले आफ्नो आदतलाई तदनुरूप नै ढाल्नुपर्ने देखियो। एक फरक अध्ययनले बुद्धधर्मावलम्बीहरूले पालन गर्ने ‘वाल्किङ मेडिटेसन’को अभ्यास गर्ने समूहले पाको उमेरमा समेत आफूलाई मानसिक रूपले सशक्त पाए। त्यस्तै जापानको चिबा युनिभर्सिटीका प्राध्यापक योसिफुमी मियाजाकीको समूहले सन् २०१८ मा जंगल, खोलाजस्ता प्राकृतिक दृश्यको अवलोकन गर्दै टहल्दा दिमागी समस्या भएकाले समेत अतिरिक्त लाभ पाउने बेहोरा प्रस्तुत गरे।
स्वस्थ खान्की अनि संयमित आचरणले बहुआयामिक फाइदा दिन्छ। अन्य शारीरिक कसरतजस्तै नियमित रफ्तारी हिँडाइले मुटुसम्बन्धी रोग मात्र होइन, अर्बुदरोगलगायतका सम्भाव्यलाई न्यून गरी व्यक्तिको आयु बढाउँछ। दिमागी स्वास्थ्यका औषधिहरू प्रभावकारी नभएको अनि बुढेसकालमा स्मरणशक्ति घट्दै गई व्यक्ति पूर्ण रूपले मानसिक अपांग बन्न सक्ने सम्भाव्यलाई मध्यनजर राख्दै हिँडाइलाई सबैले आफ्नो कार्यतालिकामा राख्नुपर्ने देखियो। सफ्तारी हिँडाइको आदतमार्फत शारीरिक तथा मानसिक रूपले स्वस्थ बन्न सकिन्छ भन्ने स्मरण गरौं अनि अरूलाई पनि सम्झाऔं।
प्रकाशित: २ भाद्र २०८३ १३:१० मंगलबार

