१७ भाद्र २०८३ बुधबार
image/svg+xml
विचार

भोटेकोसी बाढीपछिको स्वास्थ्य चुनौती

भदौ १० गतेको बिहानीसँगै अप्रत्याशित तर डरलाग्दो अनि नेपालमा दुर्लभै देखिने बृहत् ‘फ्ल्यास फ्लड’ अचानक नेपाल–तिब्बतको सीमा हुँदै विभिन्न जिल्लामा पुगी ठुलो जनधनको क्षति गर्‍यो। दुर्भाग्यवश, त्यही दिन मेरो पनि सासूआमा र बुबा गोसाइँकुण्ड जाने क्रममा सम्पर्कविहीन हुनुभएको थियो। यो लेख लेख्दै गर्दासम्म पनि कुनै जानकारी आएको छैन। यो लेख तयार पार्दासम्म ९०० भन्दा बढीले मृत्युवरण गरिसकेका छन् भने हजारौं सम्पर्कविहीन रहेका सरकारले जनाएको छ। सयौं अझै उद्धारको पर्खाइमा छन्। यसैबिच सबैमा अर्को चिन्ता भनेको स्वास्थ्यको चुनौतीलाई लिएर थपिएको छ। के अचानकको भयावह बाढीपछि प्रकोपको सम्भावना छ र?

बाढीपहिरो, भूकम्प, सुनामीजस्ता प्राकृतिक प्रकोपको अनुमान गर्ने गरिए तापनि यही समयमा आउँछ भनेर ठोकुवा भने गर्न सकिँदैन। तर ‘पोस्ट–डिजास्टर’पछि भने स्वास्थ्यसँग सम्बन्धित विपद्को आकलन गर्न सकिन्छ।

खासगरी बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपपछि भौतिक संरचनामा हुने क्षतिले गर्दा संक्रमण फैलने जोखिम उच्च हुने गर्छ र यो स्वाभाविक पनि हो। विभिन्न देशका अध्ययनलाई आधार मान्ने हो भने पानीजन्य, कीटजन्य संक्रामक रोगहरू बढेको पाइन्छ। नेपालमा पनि हाल ‘अचानक बाढी’ पछि अधिक भौतिक क्षति भएको छ। यसबाट विस्थापितहरूले सहजै सफा र सुरक्षित पानी तथा खानेकुराको पहुँच चुनौतीपूर्ण देखिन्छ। यो लेख तयार पार्दै गर्दा कतिपय सञ्चार माध्यममा बाढी प्रभावित क्षेत्रमा झाडापखाला देखिएको भन्ने समाचार पनि आउन थालेको देखिन्छ। ज्वरो तथा रुघाखोकी विशेषतः बालबालिकामा देखिन थालेको भनिएको पनि छ। यस्ता संक्रामक रोगहरू आगामी दिनमा अरू थप बढ्न सक्ने जोखिमलाई नकार्न सकिँदैन।

प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा सबैभन्दा बढी पानीजन्य संक्रमणको जोखिम हुने गर्छ। खासगरी सफा–सुरक्षित पानीको सहज पहुँच नहुनु र व्यवस्थित शौचालयको अभावमा पानीजन्य संक्रमणको जोखिम बढ्ने गर्छ। टाइफाइड, भाइरल हेपाटाइटिस ‘ए’ र ‘ई’, लेप्टोस्पाइरोसिस, हैजा तथा झाडापखाला गराउने विभिन्न प्रकारका संक्रमणहरूको जोखिम असुरक्षित पानीको कारणले हुने गर्छ।

हाल बाढी प्रभावित केही क्षेत्रमा झाडापखालाका बिरामी देखिएको भनेर प्रेषित समाचारबाट पनि पानीजन्य रोग फैलन थालेको संकेत गर्छ। यसबाट सम्भवतः उनीहरूसम्म विभिन्न कारणले गर्दा सफा पिउने पानी नपुगेको वा प्रयोग गर्न नपाएको भन्ने बुझिन्छ। यसलाई समयमा नै सम्बोधन गरिएन भने थप अरू प्रभावित क्षेत्रमा समेत फैलन सक्ने सम्भावना देखिन्छ। विशेषतः बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती महिलामा देखिए स्वास्थ्यमा जटिलता देखिन सक्छ।

झाडापखालाको कारक हैजा भए गम्भीर अवस्था आउनसक्ने छ। बाढी प्रभावित क्षेत्रमा रहेका विस्थापितको पहुँचमा हाल स्थापना अस्थायी स्वास्थ्य केन्द्रहरूसम्म सहज पहुँच नभए हेर्दा सामान्य लाग्ने झाडापखालाको कारणले मृत्युवरणसमेत गर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन।

विभिन्न देशमा बाढीको प्रकोपपछि लेप्टोस्पाइरोसिस संक्रमण बढ्ने गरेको देखिन्छ। पाकिस्तान, भारतजस्ता देशहरूमा यो संक्रमण बाढीको प्रकोपपछि देखिने गरेको अध्ययन देखिन्छ। बाढी आउँदा बाढीको पानीसँगै संक्रमित जनावर विशेषतः मुसाको पिसाबबाट मानिसमा यो संक्रमण देखिन सक्छ।

लेप्टोस्पाइरोसिसको संक्रमण वर्षा सुरु भएसँगै काठमाडौंमा पनि देखिएको छ। तसर्थ बाढीको पानी, बगाएर ल्याएको माटो वा हिलोमार्फत यो संक्रमण विस्थापितको शरीरमा भएका ससाना चोट र घाउमार्फत प्रवेश गरी संक्रमित गराउन सक्छ। समयमा पहिचान र उपचार गर्न नसके मिर्गौला, कलेजोलगायतका अंगहरूमा जटिलता निम्त्याउन सक्छ। असुरक्षित पानीबाट भाइरल हेपाटाइटिस ‘ए’ र ‘ई’ को संक्रमणको जोखिम पनि उच्च हुने गर्छ। भाइरल हेपाटाइटिसको समस्या काठमाडौंलगायत विभिन्न जिल्लामा विगतमा देखिने गरेको छ। यी माथि उल्लेखित संक्रमणहरू सामान्यतयः वर्षातको समयमा देखिने र आएको बाढी पनि यही समयमा भएकाले यी पानीजन्य संक्रमणहरूको जोखिम थप बढेको हो।

बाढीबाट बच्न स्थानीयहरू माथि जंगलतिर जानुपर्ने बाध्यता आएको विभिन्न सामाजिक सञ्जालहरूमा देखिन्छ। उनीहरू उद्धारको पर्खाइमा रहँदासम्म त्यहीं बास बस्नु भनेका छन्। यसबाट विभिन्न प्रकारका किरा–किर्नाले टोक्ने जोखिम उच्च हुन्छ। यसमा विशेषतः स्क्रब टाइफसको जोखिम बढी हुन्छ।

नेपालको पहाडी इलाकाहरूमा यो संक्रमण मनसुनको समयमा बढी सक्रिय हुने गरेको पाइन्छ। यो ‘माइट’ नामक किर्नाको टोकाइले हुने गर्छ। यो किर्ना मुसामा हुने भए तापनि कुनै कारणले खस्दा–झर्दा बाक्लो झाडीहरू हुने अनि त्यहाँ मानिसको नजिकको सम्पर्कमा हुँदा यो एक्सिडेन्टली मानिसको शरीरमा टोकेर स्क्रब टाइफस गराउँछ। २०७२ सालको भूकम्पमा पनि विस्थापितहरू घरबाहिर बस्नुपर्ने अवस्थाले गर्दा स्क्रब टाइफस बढेको भन्ने अनुसन्धान लेखहरू प्रकाशित भएका देखिन्छन्।

कीटजन्य रोगमा अर्को समस्या डेंगीको पनि हो। डेंगीको सिजन पनि सुरु हुँदै गर्दा हालको बाढी प्रभावित क्षेत्र यसबाट अछुतो हुने कुरै भएन। अबको कयौं हप्तासम्म बाढी प्रभावित क्षेत्रमा पानी जम्न सक्ने प्रबल सम्भावना देखिन्छ।

बाढी प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्यामा सरुवा रोग मात्र नभई नसर्ने रोगको पनि समस्या देखिन्छ। खासगरी उच्च रक्तचाप, मधुमेह, मानसिक रोगजस्ता समस्या मुख्य हुन्। मैले जापानमा विद्यावारिधि गर्दै गर्दा सो बेला एसियाका केही देशमा सामुद्रिक सुनामी आएको थियो। सो समय नागासाकी विश्वविद्यालयअन्तर्गत हाम्रो डिपार्टमेन्टबाट श्रीलंकामा सम्भावित विकसित हुनसक्ने संक्रमणको अध्ययन अनुसन्धान गर्न गएका थियौं। चाखलाग्दो के देखिएको थियो भने त्यहाँ उनीहरू धेरैमा पहिलो पटक मधुमेह तथा उच्च रक्तचापजस्ता समस्याहरू देखिएको थियो। तसर्थ यस्ता नसर्ने रोगबारे पनि उनीहरूलाई सचेत गराउने र देखिएको अवस्थामा उपचारको तयारी समेत हुनुपर्छ।

बाढीबाट बचेका व्यक्तिमा मानसिक समस्या पनि देखिन थालेका जानकारी आउन थालेका छन्। बाढीको वितण्डा आफ्नै आँखाअगाडि देखिनु, आफ्ना प्रिय आफन्तहरू गुमाउनु, आफ्नो जिन्दगीभरि दुःख गरी बनाएका भौतिक संरचना क्षणभरमा ध्वस्त भएको देख्नुजस्ता कारणले उनीहरूमा मानसिक समस्या देखिनु स्वाभाविक छ। बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन रूपमा नै मनोचिकित्सकको आवश्यकता पर्न सक्छ।

व्यावहारिक रूपमा विस्थापितहरूलाई सफा पानीको प्रयोग गर्न अनुरोध गरेर मात्र हुँदैन। गास, बासको समस्या बेहोरिरहेको अवस्थामा उनीहरू आफैंले पानी शुद्धीकरण, प्रशोधित वा निर्मलीकरण गरेर प्रयोग गर है भन्ने अवस्था हुँदैन। तसर्थ शुद्ध र सुरक्षित पानीका लागि सम्बन्धित निकाय वा सहयोगार्थ खटिएका संघ–संस्थाहरूले नै उपलब्ध गराउनु बुद्धिमानी हुन्छ।

त्यस्तै पानीजन्य संक्रमणबाट जोगिन व्यवस्थित शौचालयको आवश्यकता पनि अनिवार्य हुन्छ। कीटजन्य संक्रमण रोक्न जनचेतनामूलक कार्यक्रमको उपयोग गर्न सकिन्छ। सम्बन्धित निकाय, विशेषतः स्थानीय सरकारले बाढी प्रभावित आफ्नो क्षेत्रमा लामो समयसम्म पानी जम्न सक्ने ठाउँ वा सामग्रीहरूको नष्ट गर्नुपर्छ। यसबाट लामखुट्टेको वृद्धि विकास वा जीवनचक्र रोक्न मद्दत मिल्नेछ। बाढी आउनुअगाडि फ्लु तथा कोभिडजस्ता संक्रमण पनि बढ्दो क्रममा थियो। बाढी विस्थापित ठुलो संख्यामा एकै छानामुनि बस्नुपर्ने बाध्यताले फ्लु तथा कोभिडजस्ता संक्रमणहरू फैलन सक्ने जोखिम पनि छ। यसका लागि मास्क तथा साबुनपानीको व्यवस्था गर्नुपर्छ र थप फैलन सक्ने सम्भावनालाई रोक्न सकिनेछ।

पछिल्लो समय सतहमा देखिन सुरु भएको अव्यवस्थित मानिसको लाश तथा मृत पशुचौपायाबाट महामारी फैलन्छ भन्ने विषयले ठुलै बहस र चासो निम्त्याएको छ। तर मानिसको लाश र मृत पशुचौपाया तथा प्रकोपबिच प्रत्यक्ष सम्बन्धबारे हालसम्मको अनुभव÷अनुसन्धानले देखाउँदैन तर यसैको कारणले उत्पन्न फोहोरी वा प्रदूषित वातावरणले गर्दा विभिन्न प्रकारका संक्रमणहरूको सम्भावना भने रहन्छ। तसर्थ यस्ता मानिसको लाश तथा मृत पशुचौपायालाई व्यवस्थापन गर्नु स्वास्थ्यको दृष्टिकोणले महत्त्वपूर्ण मान्न सकिन्छ।

अन्तमा, हाल हामी ‘फ्ल्यास फ्लड’पछिको अवस्थामा छौं भने यसबाट सिर्जित अवस्थाको कारणले सम्भावित संक्रमण प्रकोपको अवस्थामा छौं। समयमा नै सम्भावित संक्रमणबारेमा सुसूचित गर्ने अनि देखिए तत्काल समाधान/प्रयत्नहरू गर्न सके प्रकोप/महामारी अनिवार्य हुने छैन। यसका लागि बाढी प्रभावितहरू स्वयं र सम्बन्धित निकाय स्वास्थ्यप्रति चनाखो हुनु जरुरी छ।

– पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ चिकित्सक हुन्।

प्रकाशित: १७ भाद्र २०८३ ०९:३० बुधबार