भदौ १० मा नेपालमा आकस्मिक बाढी काठमाडौंबाट करिब ४० माइल टाढा रहेको हिमनदी भत्किएपछि आएको थियो। करिब आधा किलोमिटर बाक्लो बरफको विशाल टुक्रा हिमनदीबाट छुट्टिएर ५.२ म्याग्निच्युडको भूकम्पीय शक्तिसहित नदीमा खसेको थियो। लाखौं टन तौलको यो बरफ पानीमा खस्दा टुक्राटुक्रा भएर तीव्र गतिमा बग्ने पानीमा परिणत भयो। यसले चीन–नेपाल सीमा क्षेत्रमा रहेको भोटेकोसी नदीको पानीको सतह नौ मिटर बढायो। भोटेकोसी नदी त्रिशूलीमा मिसिन्छ, जसले गर्दा त्रिशूलीको पानी पनि बढ्यो र बाढीको पानी नेपालबाट झन्डै सय माइल तल भारतसम्म पुग्यो।
सेप्टेम्बर १५ सम्म झन्डै १४ सय जनाको मृत्यु भएको र पाँच हजार जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ। प्रारम्भिक अनुमानअनुसार यस विपत्तिबाट पाँच अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत हो। नेपाल सरकारले यो विपत्तिलाई ‘प्राकृतिक’ मात्र नभएको बताउँदै ‘विश्वका प्रमुख उत्सर्जनकर्ता देशहरू’सँग ‘न्याय र क्षतिपूर्ति’ माग गरिरहेको छ।
नेपालमा तीन हजार आठ सय आठ वटा हिमनदी छन्, जसले तीन हजार नौ सय दुई वर्ग किलोमिटर क्षेत्रफल ओगटेका छन्। यी हिमनदीमा २८६.१ अर्ब घनमिटर पानी बराबरको बरफ रहेको छ। तर यी हिमनदी तीव्र गतिमा पग्लिँदै र क्षयीकरण हुँदै छन्। यसको मुख्य कारण तीव्र गतिमा बदलिँदै गएको विश्वव्यापी जलवायु हो।
नेपालका हिमनदी मात्र पग्लिरहेका छैनन्। नेपाल हिन्दकुश–हिमालय क्षेत्रमा रहेका कुल ५४ हजार हिमनदी भएका आठ देशमध्ये एक हो। यी हिमनदीमा ५.६ ट्रिलियन घनमिटर पानी छ। यी हिमनदीलाई ‘एसियाका पानीका टावर’ भनिन्छ किनभने यिनले एसियाका १० ठुला नदी प्रणालीलाई पानी उपलब्ध गराउँछन्। हिमालयलाई उत्तर र दक्षिण ध्रुवपछि विश्वको ‘तेस्रो ध्रुव’ पनि भनिन्छ।
अनुमानहरू फरक–फरक भए पनि विश्वको तापक्रम औद्योगिक युगअघिको स्तरभन्दा १.५ डिग्री सेल्सियसमाथि पुगेमा यस शताब्दीको अन्त्यसम्म यी हिमनदीमध्ये एकतिहाइ पग्लिसक्नेछन्। यसले यस क्षेत्रका दुई अर्ब मानिसका लागि अपूरणीय क्षति निम्त्याउनेछ किनभने उनीहरू खानेपानी र सिँचाइका लागि यी हिमनदीमा निर्भर छन्।
यसको एउटा उदाहरण दक्षिण एसियाको प्रमुख नदी प्रणाली सिन्धु हो, जसको वार्षिक पानी प्रवाहको ८० प्रतिशत हिमनदीमा निर्भर छ। विश्वव्यापी तापक्रम वृद्धिका कारण तीव्र गतिमा पग्लिरहेका हिमनदीले यस क्षेत्रको पारिस्थितिक प्रणालीका साथै कृषि र कृषिमा आधारित उद्योगका लागि गम्भीर खतरा निम्त्याइरहेका छन्।
हिमनदीलाई विशेषगरी मनसुनी वर्षाले निरन्तर पानी आपूर्ति गर्छ। जलवायु परिवर्तनका कारण मनसुनको अवधि छोटिँदै गएपछि हिन्दकुश हिमालय क्षेत्रमा हुने वर्षा पनि घटेको छ। अझ गम्भीर कुरा, विश्वव्यापी तापक्रम वृद्धिले हिमनदीमा रहेको बरफको तह पातलो बनाइरहेको छ।
नेपाली हिमनदीले आफ्नो बरफको एकतिहाइ हिस्सा गुमाइसकेका छन्। अझ महत्त्वपूर्ण कुरा हिमालय विश्वको औसतभन्दा ‘दुई गुणा छिटो तातिरहेको’ बताइएको छ। हिमालका माथिल्लो भागमा वर्षाका कारण केही हदसम्म बरफ थपिए पनि तल्लो उचाइमा जलवायु परिवर्तनले हिमनदीको बरफ तीव्र रूपमा घटाइरहेको वैज्ञानिक मत छ।
भदौ १० मा हिमनदीबाट छुट्टिएको विशाल बरफको टुक्रा पनि पाँच हजार दुई सय मिटरको उचाइमा थियो, जहाँको हिउँको तह कमजोर भएकाले त्यसलाई आफ्नो स्थानमा अड्याइराख्न सकेन। सन् २०११ देखि २०२० सम्ममा यस क्षेत्रका हिमनदी अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत छिटो पग्लिएका छन्।
यसरी जलवायु परिवर्तनले हिमनदीलाई तीन तरिकाले कमजोर बनाइरहेको छ। वर्षा घट्दा हिमनदीमा रहेको बरफ निरन्तर कम हुँदै गएको छ। विश्वव्यापी तापक्रम वृद्धिले पहिलेदेखि रहेको बरफलाई तीव्र गतिमा पगालिरहेको छ। घट्दो हिउँ तथा बरफले सूर्यको प्रकाश कम परावर्तन गर्ने भएकाले बढी ताप सोस्न थालेका छन्, जसले हिमनदी पग्लिने क्रमलाई अझ तीव्र बनाएको छ।
भदौ १० मा भत्किएको नेपाली हिमनदीको स्थान चीनको तिब्बतसँग सीमा जोडिएको लाङटाङ राष्ट्रिय निकुञ्जनजिकैको लाङटाङ लिरुङ हिमाल क्षेत्रमा थियो। घटनास्थलबाट करिब सय माइल तल भारतमा पनि जनधनको क्षति भएको छ। त्यसैले यो एउटा देशमा मात्र सीमित विपत्ति होइन, अन्तरदेशीय विपत्ति हो। यसले विश्वव्यापी स्वरूप लिनुको अर्को कारण ३४ देशका हजारौं पर्यटकको ज्यान गएको आशंका हुनु हो, जसमा अमेरिकाका ७५ जना पनि छन्। ती देशहरू अफ्रिका, अमेरिका, एसिया र युरोप गरी चार महादेशका हुन्।
यो जीवाश्म इन्धनबाट हुने विपत्तिको विश्वव्यापी प्रभावको एउटा उदाहरण हो। यस्ता विपत्ति हरेक वर्ष संख्या र तीव्रता दुवैमा बढिरहेका छन्। अस्ट्रेलियामा निकालिएको वा अमेरिकामा जलाइएको जीवाश्म इन्धनको वास्तविक असर संसारको अर्को छेउमा पनि देखिन्छ। त्यसको असरबाट ती देशका आफ्नै हजारौं नागरिकसमेत सुरक्षित छैनन्।
विश्वव्यापी समस्याको कथा यत्तिमै सकिँदैन। चीनतर्फको सीमामा पनि सयौं पर्यटक बेपत्ता छन्। विपत्तिको दुई सातापछि चीनमा २३ देशका दुई सय ६१ जना विदेशी नागरिक अझै बेपत्ता थिए। नेपाल सरकारले प्रत्येक पर्यटकको अवस्थाबारे जानकारी लिन प्रयास गरिरहेको भए पनि दिन बित्दै जाँदा उनीहरू जीवित भेटिने आशा कमजोर हुँदै गएको छ।
बाढीको विनाशकारी शक्ति चीन–नेपाल सीमा नाकामा भएको क्षतिबाट अनुमान गर्न सकिन्छ। विपत्तिअघि सीमाका दुवैतर्फ चम्किला भन्सार तथा अध्यागमन भवनहरू ठडिएका थिए तर नौ मिटर अग्लो पानीको पर्खाल ती भवनमा ठोक्किँदा तिनको अवस्था भयावह बन्यो। ती भवनलाई जगबाट उखेलिएर पानीको भेलमा खेलौनाझैं बगाउन पानीलाई एक–दुई सेकेन्ड मात्र लाग्यो। भाग्न खोज्ने असंख्य कर्मचारी र वैदेशिक रोजगारीका लागि जाने मानिसहरूको अवस्था पनि त्यस्तै भयो। उनीहरू भाग्न खोज्दा आँखाको झिमिक्कमै बाढीको भेलमा हराए।
विश्व मौसम विज्ञान संगठनले सन् २०१५ यताका ११ वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्ष भएको पुष्टि गरेको छ। विश्वको तापक्रम औद्योगिक युगअघिको तुलनामा १.४ डिग्री सेल्सियससम्म बढिसकेको छ र शताब्दीको मध्यसम्म १.८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यो पेरिस जलवायु सम्झौताले तोकेको अधिकतम १.५ डिग्री सेल्सियसको सीमाभन्दा निकै माथि हो।
कतिपयले हालको तीव्र तापक्रम वृद्धिका लागि एल निनो प्रभावलाई जिम्मेवार ठहराउँदै यो सबै विश्वव्यापी तापक्रम वृद्धि अस्थायी र प्राकृतिक घटनाका कारण भएको बताउँछन् तर यो सही होइन। विश्वव्यापी तापक्रम वृद्धिका कारण एल निनो पनि ३७ प्रतिशत बढी शक्तिशाली भएको छ।
एल निनो भनेको मध्य तथा पूर्वी प्रशान्त महासागरको पानी सामान्यभन्दा बढी तातो हुने अवस्था हो र यो तापक्रम वृद्धि जलवायु परिवर्तनबाट प्रेरित छ। प्रशान्त महासागरको बढ्दो तापक्रमले एल निनोलाई अझ शक्तिशाली बनाइरहेको छ। एल निनोले पनि जलवायु परिवर्तनको प्रभावलाई थप गम्भीर बनाउँदै हिमनदी भत्किने घटना अझ बढी र घातक बनाइरहेको छ।
नेपालको बाढी विपत्ति कोइला खानीभित्रको खतरा देखाउने संकेतजस्तै हो। यसले विश्वलाई जीवाश्म इन्धनको निरन्तर प्रयोग र उत्सर्जन शून्यमा नझार्दाको खतराबारे सचेत गराउनुपर्छ। पृथ्वी तातिरहेको छ, हिमनदीहरू परिवर्तन भइरहेका छन् र विपत्तिहरू निरन्तर भइरहेका छन्।
–नियाजी अमेरिकामा रहेको विस्कन्सिन–इक्लेयर विश्वविद्यालयका वातावरणीय समाजशास्त्रका प्राध्यापक हुन्। (‘फरेन पोलिसि इन फोकस’बाट साभार)
प्रकाशित: ३१ भाद्र २०८३ ०७:४९ बुधबार

