८ मंसिर २०८३ मंगलबार
image/svg+xml
विचार

विज्ञान रोएरै मर्छ त?

नाट्यसम्राट बालकृष्ण समले आफ्नो कृति ‘प्रह्लाद’मा ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्दै ज्ञान र विज्ञानको विभेद बताएका छन्।

पूर्वीय दर्शनको खम्बा ‘ज्ञान’को खोजीले मानव मात्रलाई हँसमुख बनाउने अनि पश्चिमा मुलुकको विकासको जगका रूपमा रहेको विज्ञानका आविष्कारले अन्ततः रुदन हात लाग्ने नाट्यसम्राटको भाव देखियो।

संयुक्त राज्य अमेरिका र सोभियत संघबिच कायम रहेको शीतयुद्धकालमा लेखिएको ‘प्रह्लाद’मा विज्ञानले हासिल गरेको विनाशकारी आणविक हतियारमार्फत विश्व नै नासिन्छ कि भन्ने त्रासबिच साहित्यकार समबाट आएको अभिव्यक्तिलाई अन्यथा भन्न सकिन्न। तर, के विज्ञान पीडाकै द्योतक हो त?

आधुनिक समाजमा स्वयं निकटका अधिकांश चिजबिज विज्ञानका वरदान हुन्। समाचार हेर्ने टेलिभिजनदेखि संवादको माध्यम बनेको टेलिफोन मात्र होइन, बरु खाएका अन्नको उत्पादनमा समेत विज्ञानको भूमिका छ। जर्मन रसायनशास्त्री फ्रिट्ज हेबरले ल्याबमा विकास गरेको रासायनिक तत्त्व ‘अमोनिया’ उत्पादन विधिले मलखादको क्रान्ति ल्यायो, कृषि उत्पादकत्व बढ्यो।

त्यस्तै, अमेरिकी कृषिविज्ञ नर्मन बोरलागले पत्ता लगाएको अत्यधिक उत्पादनशील गहुँको नवीन प्रजातिको विकासले भोकमरी हट्यो। वैज्ञानिकद्वय हेबर र बोरलागलाई उदाहरणका रूपमा प्रस्तुत गरिए पनि विज्ञानका लाखौं सर्जकहरूको मेहनतले कृषि, स्वास्थ्य, साइन्स, अन्तरिक्षलगायतका प्राविधिक क्षेत्रलाई नवीन उचाइमा पुर्‍यायो। खाना र स्वास्थ्यमा चमत्कारी सुधारपछि मानिसको आयु बढ्यो। अहिले जन्मने दुईमा एक बच्चा शताब्दी मानव बन्ने आकलन छ।

यसरी विज्ञानले दीर्घायु मात्र दिएको छैन, आरामदायी जीवनको आश्वासनसमेत प्रदान गरेको छ भने साहित्यकार समले भनेझैं कसरी विज्ञानलाई रुदनको स्रोत मान्ने ? भन्ने प्रश्न उठ्छ। भौतिक सुख, समृद्धि र दीर्घायुको सपनालाई सार्थकता दिने विज्ञानले मानिससँग धेरै कुरा खोसेको पनि छ। जस्तो कि साइन्सले आविष्कार गरेको आणविक बमका कारण जापानका हिरोसिमा र नागासाकी सहरका लाखौं निर्दोष जनता मारिए।

अध्ययनले मानिसको दिमाग परिष्कृत बन्दै जान्छ अनि अनुभवले बुद्धि खारिन्छ। अल्बर्ट आइन्स्टाइन महान् वैज्ञानिक बन्नुमा तत्कालीन अवस्थामा प्रकाशित अन्वेषणको अध्ययन र ज्ञानको विश्लेषण गरी सम्भाव्यताको सही ठम्याइ नै हो। कदाचित् संसारमा अहिलेसम्म भएका सबै किसिमका वैज्ञानिक आविष्कारहरूको अध्ययन, मनन र सही विश्लेषण गर्न सक्ने कुनै महामानव जन्मन्छ भने उक्त व्यक्ति आइन्स्टाइनभन्दा अझ बढी बौद्धिक हुन सक्ने कुरामा दुईमत छैन। दुर्भाग्य, संसारमा भएका सबै आविष्कारको रसपान गर्न केवल एक जन्ममा सम्भव छैन, बरु बारम्बार जन्मनुपर्छ।

मानिसले संसारका सबै पुस्तक अध्ययन गर्न नसक्ने भएपछि वैज्ञानिकहरूले लाखौं पुस्तकहरू नबिराईकन पढ्न, स्मरण गर्न अनि संकलित तथ्यांकको विश्लेषण गर्न सक्ने कम्प्युटररूपी कृत्रिम मेसिनको निर्माण गरे, जसलाई कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पनि भनिन्छ। त्यसो त उक्त प्राणविहीन जीवले आफ्नो स्मरण क्षमता र कार्यकुशलता प्रदर्शन गरिसक्यो। अब यो कृत्रिम बौद्धिकताले संसार कता लग्ला त ?

एआईले आधुनिक सभ्यतालाई अभूतपूर्व गतिमा रूपान्तरण गरिरहेको छ। एउटा कुशल चिकित्सकले भन्दा पनि सही ढंगले स्वास्थ्य विश्लेषण गर्न सक्ने एआई मात्र होइन, ल्याबका जटिल परीक्षणसमेत मानिसका झैं दुई हातखुट्टा भएका ‘ह्युमनोइड रोबोट’ले सफलतापूर्वक सम्पन्न गरेको बेहोरासम्बन्धी ‘रिसर्च जर्नल’मा प्रकाशित भइसकेका छन्।

प्रविधिको विकास बिजुलीगतिमा हुने भएकाले स्मरण क्षमतासमेत भएका रोबोटहरूले छिट्टै नै सबै काममा मानिसलाई प्रतिस्थापन गर्ने देखिन्छ। त्रुटिरहित अनवरत काम गर्ने कृत्रिम मानवको आगमनपछि व्यक्तिगत श्रमको औचित्य कम हुने देखियो। एक वैज्ञानिक आकलनले केही वर्षभित्रै फलामको काँटीको आवश्यकता परेको जानकारी गराउँदा कम्प्युटररूपी मानवले फलामको खानी पत्ता लगाएर, लवण प्रशोधन अनि धातु गलाउने मेसिनसमेत स्थापना गरी उपभोक्तासमक्ष उत्पादन पु¥याउने भन्छ।

त्यस्तै, अहिलेको प्रविधिले छोटो समयमै कोभिडभन्दा धेरै गुणा घातक भाइरस उत्पादन गरेर अर्को उत्पात मच्चाउन पनि सक्छ भन्ने बिर्सनु हुँदैन भन्ने वैज्ञानिक ठहर हो। दुरुपयोग भएमा एआईले राष्ट्रिय सुरक्षा, आर्थिक स्थिरता, व्यक्तिगत गोपनीयता र मानव सुरक्षामा जोखिम निम्त्याउँछ भन्ने कुरा बिर्सनुहुँदैन। प्रविधिमा सज्जन र दुर्जन दुवैको समान पहुँच हुने भएकाले नवप्रवर्तनको सम्भाव्यता बोकेको विधिलाई आपराधिक तथा आतंकवादी समूहले दुरुपयोग गर्दैनन् भन्ने होइन।

गत महिना मात्र बाइनान्स भन्ने बिटक्वाइन कारोबार कम्पनीको खजानाबाट विद्युतीय विधिमार्फत झन्डै ६ अर्ब अमेरिकी डलर चोरी भएको खबर बाहिरियो। त्यस्तै, गत हप्ता मात्र संयुक्त राज्य अमेरिकी सरकारको सबैभन्दा सुरक्षित कागजात भण्डारणमा साइबर आक्रमण भयो।

उल्लिखित परिदृश्यले कम्प्युटर प्रविधि कति दयनीय छ भन्ने बुझ्न पर्याप्त देखिन्छ। कदाचित् नेपालका सबै बैंक अनि हवाई सेवाका विद्युतीय सूचना प्रणालीलाई कुनै खराब पात्रले विच्छेद गर्‍यो भने कस्तो हाहाकार मच्चिएला ? कसैको आदेशबिना नै मानवरूपी कम्प्युटरले सनकको भरमा कुनै विध्वंस गर्‍यो भने कस्तो होला?

च्याटजिपिटी बनाउने कम्पनी ‘ओपनएआई’ र गत हप्ता मात्रै सेयर कारोबारकै इतिहासमा पहिलो दिन नै सर्वाधिक पैसा जम्मा गर्ने ‘एन्थ्रोपिक’ कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा काम गर्ने संसारकै भीमकाय कम्पनी हुन्। मेडिकल साइन्स, अनुसन्धान विज्ञान, खेलकुदजस्ता विधाका लागि आवश्यकताअनुरूपको विशेषज्ञ क्षमता भएका कम्प्युटर प्रोग्राम बनाउँछन् तिनीहरूले।

 ओपनएआईले कृत्रिम बुद्धिमत्ता भर्ने क्रममा आफूले बनाएको एउटा प्रोग्राम बिनाकुनै आदेश स्वेच्छाले बाहिर निस्किएर अरू कम्पनीको सर्भरमा पसेर हानि पुर्‍याएको बतायो। आफ्ना इन्जिनियरले नअह्राउँदै अर्को कम्पनीको क्षेत्राधिकारमा पसेर हानि पुर्‍याउन खोजेको ओपनएआईले जानकारी गराएको केही दिनपछि नै एन्थ्रोपिकले समेत आफ्नो ‘आर्टिफिसियल’ मेसिनले समेत परीक्षणको क्रममा त्यस्तै हर्कत गरेको बतायो। उल्लिखित परिदृश्यले उपकरण बनाउने निकायको आदेशबिना एआईले आफ्नो सीमा नाघेर विनाश गर्न सक्छ भन्ने देखायो।

विकासको क्रममा एआईलाई आवश्यकताअनुसारको सन्दर्भ सामग्री घोकाएर बुद्धि भर्ने काम गरिन्छ। क्यान्सरको डाटा विश्लेषण गर्न बनाइएको मेसिनलाई अर्बुदरोगसँग सम्बन्धित तथ्यांक पढाइन्छ, तालिम दिइन्छ। अनि उक्त प्रविधिले महारोगका आँकडालाई प्रशोधन गरी नतिजा भन्छ, चिकित्सकलाई रोग पहिचानमा सहयोग पु¥याउँछ तर एआईसँग विवेक र नैतिकता भने हुँदैन।

एआई बहुलाउँदाको भयानकताको परिदृश्य कल्पना गरौं। एउटा कम्प्युटर मानवलाई विश्वको जनसंख्या नियन्त्रण गर्ने उपाय पत्ता लगाउन तालिम दिइयो। जनसंख्या वितरणलगायतका उपलब्ध सबै तथ्यांक घोकाइसकेपछि जनसंख्या व्यवस्थापनमा विशेषज्ञता हासिल गर्छ संयन्त्रले। तालिमपछि कम्प्युटरले जनसंख्याको भयानकता महसुस गर्नु अनि नियन्त्रणको उपाय खोज्नु अन्यथा भएन।

आफूलाई घोकाइएको पाठ्यमध्ये जनसंख्या नियन्त्रणका लागि नरसंहारलाई एआईले उत्तम विकल्प देख्यो भने के होला ? विगतमा समेत आदेशबेगर काम गरेको एआईले कदाचित् अमेरिका तथा रुसले सुरक्षित पासवर्डमार्फत भण्डारण गरेको आणविक हतियारमा पहुँच पायो र ठुला सहरहरूमा प्रहार ग¥यो भने के होला ?

स्मरण रहोस्, झन्डै दुई सय वर्षदेखि कसैले पनि हल गर्न नसकेको हिसाबको रहस्य ‘रिमान हाइपोथेसिस’को समाधान गर्न सक्ने एआईले संसारको जस्तोसुकै जटिल पासवर्ड सजिलै पत्ता लगाउन सक्छ भन्ने कुरा बिर्सनुहुँदैन। तसर्थ, वर्तमान अवस्थामा संसारका कुनै पनि ‘इलेक्ट्रोनिक फाइल’ तथा आणविक भण्डारण सुरक्षित छैन भन्ने बुझ्न आवश्यक छ। एआईका सर्जकहरू स्वयं नै यो प्रविधिले संसारलाई कता लैजान्छ भन्ने कुरामा यकिन छैनन्।

केही महिनाअघि आर्टिफिसियल इन्टेलिजेन्सका पिता अनि उक्त विधि स्थापित गरेबापत भौतिकशास्त्रको नोबेल पुरस्कार पाएका जेफ्री हिन्टनले सोच्न सक्ने कम्प्युटरका कारण आउँदो ३० वर्षभित्र मानव सभ्यताको विनाश हुने सम्भाव्यता झन्डै २० प्रतिशत रहेको बताए।

सन् २०२४ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेता अनि गुगलका एआई वैज्ञानिकसमेत रहेका डेमिस हसाबिस पनि एआईले विश्वलाई ध्वस्त पार्ने जोखिम देख्छन्। ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईसमेतको सोच पृथक् छैन।

मानिसभन्दा बुद्धिमान् प्रविधिले सभ्यतालाई विनाश गर्ने जोखिम भएकाले उक्त आघातबाट कसरी बच्ने भन्ने कुरामा अविलम्ब सोच्नुपर्ने ठान्छन् एआई विशेषज्ञसमेत मानिने युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक स्टुअर्ट रसेल र एमआइटीका प्राध्यापक म्याक्स टेगमार्क।

आविष्कारकहरूले नै एआई प्रविधि विनाशको हतियार बन्न सक्ने सम्भाव्यता देखेपछि सर्वसाधारणले चिन्ता गर्नु अन्यथा भएन। सम्भाव्यता भनेको पक्का होइन भन्ने कुरा सोचेर आनन्द लिऔं।

 

प्रकाशित: ८ मंसिर २०८३ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %