विगत चारपाँच वर्षयता नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरूमा असभ्य आक्रामकताको विकास भएको छ। सामाजिक सञ्जालमा असभ्य शब्दहरूले टिप्पणी गरी प्रतिक्रिया जनाउने क्रम बढ्दो छ। प्रायः सज्जन भनी चिनिएकाले नै आफ्नो विचार, धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दा त्यो धारणासँग असहमत हुनेहरूले सभ्य भाषामा आफ्ना असहमतिको विचार उल्लेख नगरी केवल अपमानजनक टिप्पणीहरू गरेको देखिन्छ। यस्ता अपमानजनक टिप्पणीको भुक्तभोगी म स्वयं पनि भएको छु। यस्ता टिप्पणीहरू देख्दा टिप्पणीकारहरूको असभ्यताप्रति सहानुभूति जाग्छ। सायद उहाँहरूलाई असल शिक्षा र संस्कार सिकाउन योग्य गुरुको अभाव रह्यो।
हुन सक्छ, त्यस्ता व्यक्तिहरूको बाल्यकाल तथा किशोरावस्था कुसंगतिमा बितेको होस् तर नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरूमा यस्तो असभ्य आक्रामकताको विकास विगत चारपाँच वर्षयता हुनुलाई केवल बाल्यकालको संगत या खराब शिक्षा प्राप्त गरेको भनी दोषारोपण गर्नु उचित हुँदैन। यसलाई अहिलेको सामाजिक अवस्था, सामाजिक सञ्जालका अल्गोरिदम तथा वर्तमान विश्व राजनीतिमा विस्तार भइरहेको दक्षिणपन्थी आक्रामक राजनीतिक परिवेशको आलोकमा बुझ्नु उपयुक्त हुन्छ।
अस्ट्रेलियामा प्राथमिकताक्रमको मतदान र एकल संक्रमणीय मतदानको निर्वाचन प्रणालीबाट निर्वाचन हुन्छ। प्राथमिकताक्रमको निर्वाचनमा मतदाताले सबै उम्मेदवारलाई प्राथमिकताका आधारमा मत दिनुपर्छ। त्यसैले यस्तो निर्वाचन प्रणाली भएको देशको लोकतान्त्रिक राजनीतिमा सहिष्णुता हुन्छ।
हालै अस्ट्रेलियाको एउटा समाचार प्रकाशित भयो। १२ अक्टोबर, सोमबार, अस्ट्रेलियाको संसद्मा क्विन्सल्यान्ड राज्यबाट निर्वाचित लिबरल पार्टीकी सांसद एनजी वेलले क्रेडिट कार्डबाट कर तिर्ने व्यवस्था स्वीकार गरेको विषयमा लेबर पार्टीकी मन्त्री एन आली र प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई सार्वजनिक चोकमा ढुंगाले हानेर मार्नुपर्छ भन्ने आशयको अभिव्यक्ति दिइन्। त्यसको अघिल्लो शनिबार अस्ट्रेलियाको कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा सम्मेलनका अध्यक्ष तथा नेट–जिरो नीतिका विरोधी वारेन मुन्डिनले जलवायु परिवर्तनमन्त्री क्रिस बोवेनलाई देख्नेबित्तिकै आफ्नो शरीर सिरिंङ हुने र आफ्नो शरीरले मन्त्रीको हत्या गर्ने आशयको प्रतिक्रिया दिने भन्दै नेट–जिरो नीतिका विरोधी श्रोतालाई उत्तेजित बनाउने मन्तव्य दिए। अस्ट्रेलियाजस्तो उन्नत लोकतन्त्रमा यस्ता आक्रामक भाषाको विकास हुनु लोकतन्त्र र लोकतान्त्रिक संस्कार बोक्ने पार्टीका लागि चिन्ताको विषय हो।
यस सम्बन्धमा द गार्जियनका अस्ट्रेलियाली स्तम्भकार पल डेलीले अक्टोबर १४ को आफ्नो स्तम्भमा लेख्छन् – सांस्कृतिक रूपमा अस्ट्रेलियाका प्रायः सबै क्षेत्रमा अमेरिकी प्रभावको लामो इतिहासलाई हेर्दा अमेरिकाको मेक अमेरिका ग्रेट अगेन (मागा) आन्दोलनले प्रयोग गर्ने हिंसात्मक र अपमानजनक भाषाको प्रभाव अस्ट्रेलियाको राजनीतिमा पनि प्रवेश गर्नु अपरिहार्यजस्तै थियो।
अहिलेका अमेरिकी राष्ट्रपतिले पश्चिमी देशहरूका दक्षिणपन्थी प्रियतावादी नेताहरूलाई कुरूप र हिंसात्मक विचारहरू सार्वजनिक रूपमा व्यक्त गर्न बाटो देखाएका छन्। यस्तो अवस्थामा अस्ट्रेलियाको कट्टर दक्षिणपन्थी धारले यो प्रवृत्तिलाई पछ्याउनु कुनै आश्चर्यको कुरा होइन।
नेपालमा अमेरिकाको प्रत्यक्ष सांस्कृतिक प्रभाव छैन। यहाँको राजनीतिक समाजमा पनि अमेरिकी राजनीतिक संस्कृतिको प्रभाव नगण्य छ। नेपाली कांग्रेस दक्षिणपन्थी प्रियतावादी पार्टी पनि होइन। नेपाली कांग्रेसभित्र असहमतिलाई तिरस्कार गर्ने तथा असहमतिप्रति हिंस्रक र आक्रामक बन्ने संस्कृति कहिल्यै रहेको थिएन। असहमतिलाई संवादद्वारा समाधान गर्ने संस्कृतिको लामो इतिहास छ।
बिपी–मातृकाबिचको असहमति होस्, गणेशमान–सुवर्णको व्यक्तित्वको टकराव होस्, गिरिजाप्रसाद–कृष्णप्रसादबिचको असहमति होस् वा गिरिजाप्रसाद–शेरबहादुरबिचको विवाद होस्, यी कुनै पनि विवादले मर्यादाको सीमा लंघन गरेनन्। लोकतान्त्रिक चरित्र भएको पार्टीको विशेषता नै हो कि त्यो पार्टीभित्र सम्झौता गर्ने सामर्थ्य हुन्छ। सम्झौता गर्ने सामथ्र्य नभएको पार्टीको नेतृत्व लोकतान्त्रिक हुन सक्दैन।
आलोचना सहन नसक्नु र आलोचनाप्रति असहिष्णु बनी अपमानजनक भाषा व्यक्त गर्नु अधिनायकवादी चरित्र हो। विगतमा कम्युनिस्ट विचारले प्रजातान्त्रिक विचार तथा प्रजातान्त्रिक विचार बोकेको पार्टीलाई अनेक अपमानजनक विशेषणयुक्त लाञ्छना लगाउँदा पनि नेपाली कांग्रेसले कहिल्यै अपमानजनक भाषा प्रयोग गरेन।
कम्युनिस्ट विचारले आफ्नै सहयोद्धाप्रति अपमानजनक भाषा प्रयोग गरेको लामो इतिहास छ। सन् १९९८ मा जर्मन विचारक तथा समाजवादी कार्ल काउत्स्कीले आफ्नो ‘द डिक्टेटरसिप अफ प्रोलेटरियट’ नामको किताबमा मार्क्सको प्रोलेटरियट डिक्टेटरसिप शब्दको व्याख्या गर्दै रुसी समाजवादी प्रयोगको आलोचना गर्दा लेनिनबाट ‘गद्दार’ उपाधि प्राप्त गर्नुपर्यो।
नेपालमा पुष्पलालले संयुक्त जनआन्दोलनको विचार प्रस्तुत गर्दा आनन्दबहादुर क्षत्रीको छद्म नामबाट मोहनविक्रम सिंहबाट ‘गद्दार’ उपाधि प्राप्त गर्नुभयो। आफ्नै सहयोद्धालाई गद्दार भन्नेहरूबाट प्रजातान्त्रिक खेमाले अपमानका शब्दबाण झेल्नु सामान्य मान्नुपर्छ।
फरक विचारलाई सम्मान गर्नु प्रजातन्त्रको चरित्र हो। विपक्षीबाट हुने आलोचनाले सत्तापक्षलाई आफ्ना कमजोरी सच्याउने अवसर मिल्छ तथा जनभावना बुझ्न मद्दत गर्छ। काम गर्दा कतै कमजोरी भयो भने विपक्षीबाट विरोध हुन्छ भन्ने विचारले सरकार सदैव सजग बन्छ र अन्ततोगत्वा सरकारमा रहेको पक्षलाई नै फाइदा पुग्छ।
आफ्नो सरकारको गल्ती औंल्याइदेओस् भन्ने अभिप्रायले नै २०१६ सालमा बिपीले समीक्षा प्रकाशन गर्न सहयोग गर्नुभएको थियो। विपक्षी विचार सुन्न आफैं सहयोग गर्ने नेतृत्व भएको इतिहास बोकेको पार्टीका कार्यकर्ताहरू फरक मत सुन्नै नसक्ने गरी अशिष्ट तथा आक्रामक बन्नुलाई प्रजातान्त्रिक तथा कांग्रेसी चरित्र भन्नु कति उचित होला ?
अभद्र र अशिष्ट शब्दहरू सबै मानिसको मनमा हुन्छन्। त्यस्ता शब्दहरू प्रकट गर्नु र नगर्नुमा नै अशिष्टता र सौम्यता रहेको छ। सभ्य व्यक्तिबाट अशिष्ट र आक्रामक भाषाको प्रयोग हुनु बिरलै कुरा हो। त्यस्तो भाषा वा शब्द प्रयोग भयो भने तत्काल सच्याउँछन् वा त्यसका लागि क्षमाप्रार्थी हुन्छन्। आफ्नो गल्ती–कमजोरी स्विकार्नु र त्यसका लागि क्षमा माग्नु हीनता होइन, महानताको परिचायक हो। अहंकारी व्यक्तिमा मात्र गल्ती–कमजोरी स्वीकार गर्ने साहस हुँदैन।
कतिपयले सामाजिक सञ्जालमा प्रयोग गरेका अपमानजनक शब्दलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर बचाउ गरेका छन्। प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता व्यक्तिको मौलिक अधिकार हो। यसमा बन्देज लगाउनु स्वीकार्य हुन सक्दैन तर आलोचना गर्नु र अपमानजनक भाषा प्रयोग गर्नु फरक हो। आलोचना सधैं स्वीकार्य हुन्छ। आलोचना सुन्नु पनि पर्छ। अधिनायकवादी चरित्र भएको व्यक्तिले मात्र आलोचना सुन्न र सहन सक्दैन। तर अपमानजनक भाषा किमार्थ स्वीकार्य हुन सक्दैन। यस्तो भाषा निन्दनीय हुन्छ।
प्रत्येक वस्तुका सबल र दुर्बल पक्ष रहेका हुन्छन्। सामाजिक सञ्जालका पनि दुर्बल पक्ष छन्। सामाजिक सञ्जालमा राम्रा, सकारात्मक समाचार तथा सूचना मात्र आउँदैनन्। घृणा फैलाउने नकारात्मक, कुरूप विषय पनि आइरहेका हुन्छन्। कुन सूचना वा समाचार छनोट गर्ने, यो कुरा प्रयोगकर्तामा नै निर्भर छ। बारम्बार नकारात्मक विषयहरू हेर्न थालियो भने सामाजिक सञ्जालले पनि त्यो प्रयोगकर्तालाई त्यस्तै विषयहरू छानिदिन्छ। सकारात्मक विषयलाई छनोट गरिरह्यो भने सकारात्मक अल्गोरिदम पनि निर्माण गर्न सकिन्छ।
नेपाली कांग्रेसको घृणायुक्त भाषा प्रयोग गर्ने ‘स्कुलिङ’ छैन। पश्चिमा दक्षिणपन्थीहरूको नेपालमा प्रत्यक्ष प्रभाव छैन। छिमेकी भारतका मध्यमार्गी पार्टीहरूले पनि यस्तो भाषा प्रयोग गर्दैनन्। भारतमा अहिले सरकारमा रहेको दक्षिणपन्थी हिन्दुत्ववादी पार्टीले केही मात्रामा यस्तो भाषा प्रयोग गर्छ। त्यसको प्रभाव नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरूमा परिमित मात्र छ। हुन सक्छ, यो बिस्तारै विस्तार भएको होस्।
२०७९ देखि नेपालमा एउटा नयाँ दक्षिणपन्थी प्रियतावादी पार्टीको उदय भएको छ। यो पार्टीका नेता आक्रामक र अपमानजनक भाषा प्रयोग गर्न पोख्त छन्। कार्यकर्ताहरूले नेताको अनुकरण गर्नु स्वाभाविक छ। यो पार्टीको स्कुलिङ नै आक्रामक तथा घृणा फैलाउने छ।
अत्यधिक सामाजिक सञ्जाल प्रयोग गर्ने नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरूमा पनि यो लुतो सरेको हुन सक्छ। प्रायः राम्रोको तुलनामा नराम्रो, नकारात्मक कुराको आदत छिटो बस्छ। मानिसको ध्यान पनि नकारात्मक कुराले बढी खिच्न सक्छ। मनोविज्ञानमा यसलाई नकारात्मकता प्रभाव भनिन्छ। आक्रामक र अशिष्ट भाषाले टिप्पणी गर्ने नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरूमा पनि यो नकारात्मकता प्रभाव परेको हुन सक्छ।
क्षणिक आनन्दका लागि नकारात्मकतातर्फ आकर्षित नभई सकारात्मक सोच राख्ने हो भने मानिसले आफूलाई परिवर्तन गरी विनयी, मधुर तथा मृदुभाषी बनाउन सक्छ। व्यक्ति आफू कस्तो बन्ने ? छनोटको निर्णयकर्ता स्वयं व्यक्ति नै हो।
प्रकाशित: ९ कार्तिक २०८३ ११:०३ सोमबार

